केदार वाशिष्ठ
अशोकले लुम्बिनीमा खडा गरेको शिलास्तम्भ र त्यसमा उत्कीर्ण अभिलेख बुद्धको जन्म स्थल रहेको अकाट्य प्रमाण थियो । त्यसलाई अन्यत्रबाट घिसार्न सकिँदैनथ्यो र अन्यत्र लैजान पनि सकिँदैनथ्यो ।
यस अवस्थामा बौद्धग्रन्थहरूमा उल्लेख भएअनुसारको र मौर्य साम्राट अशोकले गरेका कामका आधारमा तीसँग मिल्ने गरी चिनियाँ यात्रीले दिएको विवरण अनुसार त्यसै स्तम्भलाई केन्द्र मानेर अब बुद्धको जीवनका अरू स्थलहरूका पनि खोजी गर्नुपर्ने हुन्थ्यो । तिनमा महìवपूर्ण कपिलवस्तु थियो ।
तथापि बौद्ध ग्रन्थहरूले सङ्केत मात्र गरेको र चिनियाँ यात्रीद्वयले दिएको विवरण पनि स्पष्ट नरहेको बरु परस्पर बाझिने खालको भएका कारण खोजी असहज बनेको थियो । तैपनि तिनैका आधारमा कपिलवस्तुको खोजी सुरु भएको थियो । सन् १८९६ मा सुरु गरिएको उत्खनन कार्य पनि नेपाल सरकारले बिचमा नै रोकेको थियो । तर फुहररले कपिलवस्तुबारे पनि जानकारीसहित कपिलवस्तु क्षेत्रको पनि विस्तृत नक्सा र तिलौराकोट कपिलवस्तु रहेको विवरण नै आफ्नो प्रतिवेदनमा दिइसकेको पाइन्छ ।
मिश्रित प्रतिक्रिया
खड्ग शमशेर र फुहररले लुम्बिनी र कपिलवस्तु पत्ता लगाएपछि स्थानीय भारतविद् (नेपाली सिमाना नजिकका ब्रिटिस इन्डिया सरकारमा आबद्ध इतिहासकार र पुरातìव अन्वेषक) मा मिश्रित प्रतिक्रिया ल्याएको पाइन्छ । खासगरी ती दुवै स्थान बेलायत शासित भारतमा नपरेकोमा उनी चिन्तित रहेको अनुमान गर्ने आधार पाइन्छन् । लुम्बिनी र कपिलस्वतुको नै खोजी गर्ने गरी बेलायत शासित भारतीय सीमा क्षेत्रमा उत्खनन हुँदै गरेको पिप्रहवा स्तूपको गतिविधिलाई प्रचारमा ल्याई अब उक्त स्तूप नै कपिलवस्तु रहेको प्रमाणित गर्नु उनीहरूको ध्येय रहेको पाइन्छ ।
बुह्लरले अशोक स्तम्भमा रहेका शिलालेखको अनुवाद गर्ने बित्तिकै गोरखपुरका मजिस्टे«ट डा. विलियम होईले नेपाल र तत्कालीन बेलायतबीच सिमाना नै नरहेको जसरी ‘रुमिन्देही (लुम्बिनी) को हतारको भ्रमण’ गरेको पाइन्छ । यसो गर्दा उनले सम्भवतः काठमाडौँबाट अनुमति नलिएको बरु उनका साथी खड्ग शमशेरको चाहिँ स्वीकृति लिएको हुन सक्ने अनुमान गरिएको पाइन्छ । त्यसै भ्रमणमा मायादेवीले बुद्धलाई जन्म दिएको मूर्ति रहेको मन्दिर फेला पार्ने सौभाग्य पाएको दाबी पनि गरिएको पाइन्छ । तर मायादेवी मन्दिरका मूर्तिहरूबारेको जानकारी पनि फुहररले नै दिइसकेको पाइन्छ ।
होईले लुम्बिनीको मात्र नभई पिप्रहवाको पनि भ्रमण गरेको र पिप्रहवा उत्खननबाट प्राप्त अभिलेखको प्रति उतार गरी गोरखपुर फर्केर २७ फेब्रुअरीमा अलाहवादको पायोनियरलाई विवरण आफैँले लेखेर दिएका थिए । सबै कुरा आफँैले लेखेर पनि उनी सरकारी कर्मचारी भएका कारण त्यसरी लेख्दा आफ्नो नाम दिन नमिल्ने भएका कारण उनले आफ्नो नामको साटो समाचारदाताबाट भन्ने लेखाएको पाइन्छ । होईको मुख्य चासो लुम्बिनीभन्दा पनि पिप्रहवा नै रहेको पाइन्छ ।
उता लुम्बिनी र कपिलवस्तु पत्ता लागेको थाहा पाउने बित्तिकै भिन्सेन्ट ए. स्मिथले पनि सबैभन्दा पहिले पिप्रहवाको उत्खनन गर्दै रहेका विलियम क्लाक्स्टन पेप्पेका साथमा लुम्बिनीको अनधिकृत भ्रमण गरिसकेको पाइन्छ । तर फुहररको यस कार्यलाई उनले आफ्नो खोजी कार्यका लागि एउटा महìवपूर्ण कडीका रूपमा लिए र यसपटक नेपाल दरबारको अनुमति लिएर नेपालको तराईमा केही दिन खोजीमा लागेको पाइन्छ ।
श्रावस्ती–जितवनको खोजी गर्ने ध्येय बताइए पनि सन् १८९७ को मध्य अक्टोबरमा उनले पेप्पेको मौजा रहेको बर्दपुर हाउसबाट नै यात्रा सुरु गरेको र पिप्रहवाको उत्खनन गर्न पेप्पेसँग थप परामर्श गरेको पाइन्छ । त्यसपछि मात्र उनी लुम्बिनी गएर अशोक स्तम्भको छोटो अवलोकन गरेर भारतीय भूमिमा रहेको गोन्डा स्टेसन गएको पाइन्छ । तर यस भ्रमणमा उनले केही उपलब्धि हासिल गर्न सकेनन् बरु नेपालीबाट आफूले चाहेको जानकारी नपाएकोमा आक्रोश व्यक्त गरेको पाइन्छ ।
फुहररका हरेक काममा खोट लगाउन स्मिथ हात धोएर नै लागेको देखिन्छ । उनले त्यसमा विलियम होईभन्दा पनि विलियम क्लाक्सटन पेप्पेलाई साथ लिएको र पिप्रहवाको उत्खननका सामग्रीलाई प्रमाणको रूपमा लिएको पाइन्छ । पछिल्लो समयमा आएर स्मिथ तिनै दुईका आधारमा फुहररलाई गलत स्थापित गर्ने अभियानमा जुटेका देखिन्छन् । त्यसका लागि नै उनी पेप्पेका साथ अनधिकृत रूपमा नेपालको सीमा पार गरेर फुहररको कामको चियो गर्न पुगेका तिलौराकोट गएर एक रात त्यहीँ बसेका पाइन्छ ।
उक्त भ्रमणलाई स्मिथ आफँै र अरूहरूले पनि बडो महìवसाथ उल्लेख गर्ने गरेको पाइन्छ । फुहररलाई गलत साबित गर्ने योजनाबद्ध रूपमा निर्देशन (निर्देशनहरूबारे बेग्लै अध्ययन गरिएको छ) दिएर स्मिथले कपिलवस्तु पठाएका पी.सी. मुखर्जीको प्रतिवेदनमा नयाँ तथ्यहरू स्थापित गर्दै बुद्धकालीन कपिलवस्तु तिलौराकोट नै रहेको ठहर भएपछि पनि स्मिथ चाहिँ त्यसै प्रतिवेदनमा दुई कपिलवस्तुको (तिलौराकोट र पिप्रहवा) अवधारणामा पुगेको पाइन्छ । उनको यो कार्यको भारतमा नै चर्को विरोध भएको पाइन्छ । यो विरोध अन्यत्र पनि भएको देखिन्छ ।
दुई कपिलवस्तुमा आपत्ति
भारतमा नै पनि स्मिथलाई राम्ररी हेर्ने गरेको पाइँदैन । उनले पिप्रहवालाई नै कपिलवस्तु मान्ने गरी स्पष्ट अडान लिएनन्, बरु द्वैध नीति लिए भन्ने आरोप भारतीय पुरातìवविद्हरूको पाइन्छ । विलियम पेप्पेपछि स्वतन्त्र भारत सरकारको तर्फबाट पिप्रहवाको उत्खनन गर्ने के. एम. श्रीवास्तवले स्मिथमा तिलौराकोटलाई कपिलवस्तु भनेर पहिचान गरिएको फुहररको दाबीलाई अस्वीकार गर्ने पर्याप्त साहस हुनुपर्नेमा त्यसो नगरेर स्मिथ फुहररको लाइनतर्फ एक पाइलो अगाडि बढेको र पहिचानमा ठूलो द्विविधा सिर्जना गरेको आरोप लगाएको पाइन्छ ।
स्मिथ र फुहरर दुवैप्रतिको श्रीवास्तवको आक्रोश अझै सकिएको देखिँदैन । पिप्रहवा उत्खननबाट प्राप्त घैलामा लेखिएका आधारमा स्मिथ पिप्रहवालाई कपिलवस्तुका रूपमा स्वीकार गर्न सक्नेजस्तो देखिए पनि फुहररका विरुद्ध अभिव्यक्ति दिने साहस उनमा नभएको भनेर श्रीवास्तवले आलोचना गरेको पाइन्छ । श्रीवास्तवले फा सियानले पिप्रहवालाई र हुएन साङले तिलौराकोटलाई कपिलवस्तु मानेको जस्तो आधारहीन तर्कलाई जायज मान्दै स्मिथ विना हिच्किचाहट दुई कपिलवस्तुको अवधारणामा पुगेको गुनासो गरेका छन् । उनी लेख्छन् –
“दुई कपिलवस्तुको अस्तित्वको औचित्य स्थापना गर्न उन(स्मिथ)को असक्षमताको अभिव्यक्तिका लागि कत्ति पनि ढिलाइ नगरी सबै प्रशंसा गर्न उनी लायक छन् । उनी त्यही अवधारणासहित प्रस्तुत भए र टिप्पणी गरे “यदि मलाई किन इसाको ४०६ मा वा आसपास पिप्रहवालाई कपिलवस्तुका रूपमा मानिएको थियो जबकि इसाको ६३५ मा वाणगङ्गाको किनारको सहरलाई त्यही ठाउँ मानिएको थियो भनेर प्रश्न गरिन्छ भने मलाई कारण थाहा छैन भन्ने मात्र म जवाफ दिन सक्छु । साथै, पन्ध्र सय वर्षअघि भएको घटनाका सम्बन्धमा अज्ञानता हुनु क्षम्य हुन्छ भनेर तर्क गर्दछु ।”
वास्तवमा यो स्मिथको तर्क नभई तर्काइ मात्र थियो । फेरि उही विद्वान् अर्को तथ्यमा आउनु अचम्म लाग्दो देखिन्छ । पछिल्लो अनुच्छेदमा स्मिथले लेखेका छन् –
“कपिलवस्तु पिप्रहवामा पर्छ भन्ने मेरो पहिचान फा सियानको तीर्थयात्रा भ्रमणको विवरणमा आधारित छ । प्राध्यापक रिस डेभिड्स्ले पूर्णतः स्वतन्त्र रूपमा गरेको अध्ययनले पनि कपिलवस्तु पिप्रहवाको भग्नावशेषको समूहमा पर्ने निष्कर्ष निकालेको छ । म प्राध्यापक रिस डेभिड्स्को तर्कसँग सहमत छु, जुन सटिक छ । साथै, श्री पेप्पेको स्वामित्वको स्तूपमा शाक्य मुनिको अस्थिधातु छ, जुन शाक्य भाइभारदारहरूले उनको मृत्यु र अन्तिम संस्कारको केही समयपछि राखेका थिए ।”
मुखर्जीको प्रतिवेदनमा स्मिथको टिप्पणीमाथि खनिएका श्रीवास्तव मुखर्जीप्रति भने नरम देखिएको पाइन्छ जबकि मुखर्जीले त स्पष्ट रूपमा कपिलवस्तु तिलौराकोट नै रहेको भनेर किटानी गरेको पाइन्छ । श्रीवास्तवको प्रतिक्रिया आउनु धेरैअघि नै मुखर्जीको प्रतिवाद गर्ने क्रममा मात्र स्मिथले दुई कपिलवस्तुको अवधारणा ल्याएर घुमाएर कान समाउनु परेको प्रतीत हुन्छ । प्रतिवेदनमा मुखर्जीले स्मिथले दिएको निर्देशन पालना नगरी कपिलवस्तुका सम्बन्धमा पुराताìिवक अध्ययनका आधारमा स्वतन्त्र र अकाट्य प्रमाणयुक्त निष्कर्ष दिएको पाइन्छ । जसलाई चिनियाँ यात्रीको यात्रा विवरणले समेत पहिले नै पुष्टि गरेको पाइन्छ ।
स्मिथको दुई कपिलवस्तुको अवधारणाका विरोधी पछिल्ला र भारतीय पुरातìवविद् मात्र नभएर उनका समकालीन बेलायती पनि देखिन्छन् । तीमध्ये डब्लु. भोस्ट र डा. विलियम होई प्रमुख रहेको पाइन्छ । भोस्टले स्मिथको आरम्भिक टिप्पणीले आश्चर्य लाग्दो अवस्था सिर्जना गरिदिएको बताएको पाइन्छ । लेखको आरम्भ नै ‘चिनियाँ तीर्थयात्रीहरूले दुईवटा कपिलवस्तु चिनेका थिए ?’ भनेर प्रश्न सुरु गरी दुई कपिलवस्तुको अवधारणालाई उनले ठाडै अस्वीकृत गरेको पाइन्छ । उनले लामो आलेख लेखेर कपिलवस्तु तिलौराकोट वा पिप्रहवामा नभई तिलौरकोटको पूर्वीद्वारभन्दा ६०० फिट दक्षिण पूर्वमा रहेको दाबी गरेको पाइन्छ ।
स्मिथका ‘पुराना साथी र कहिलेकाहीँका प्रतिद्वन्द्वी विलियम होई’ पनि दुई कपिलवस्तुको अवधारणामा सहमत नभएको पाइन्छ । उनले स्मिथले मुखर्जीको प्रतिवेदनमा गरेको आरम्भिक टिप्पणीको पाना नं १६ मा गल्ती लेखेको र चिनियाँ यात्रीले दुई वटा कपिलवस्तु देखेको भन्ने आधार कमजोर रहेको भनेको पाइन्छ । होईले अशोक स्तम्भको अभिलेखको फ्लिटले गरेको अनुवाद गलत मात्र भनेका छैनन् पिप्रहवालाई कपिलवस्तु मान्न गरेको तर्क तथ्यले पुष्टि नगर्ने समेत उल्लेख गरेको पाइन्छ ।
यी तथ्यका आधारमा लुम्बिनीको दाबीको आधार कमजोर बनेपछि कपिलवस्तुको दाबी गर्न थालिएको तर त्यसमा मतभेद रहेको देखिन्छ । पछिल्ला अध्ययनहरू पनि यही विषयमा केन्द्रित पाइन्छन् । त्यसबारे चर्चा पछिल्ला शीर्षकहरूमा पनि गरिएको छ ।
(वाशिष्ठको अनुसन्धानात्मक कृति नेपाल विद्याबाट)