रामगोपाल आशुतोष
तिमी गए पनि
तिम्रो मायाको उपहार रहिरहनेछ ।
जस्तो
–चन्द्रसूर्य आकाशमा
–धरतीमा हावापानी
जस्तो
–सासमा न्यानोपन
–रहिरहन्छ मुटुमा धड्कन
–हावामा चञ्चलता
–उस्तै हुने छन् मेरा बदमासी
जस्तो
–फूलमा सुबास
–इन्द्रेणीमा रङ
–खोलाको छङछङ
–चराको चिर्बिर
सबै सबै रहिरहनेछन्
नासो बनेर
बाँचेसम्म –यो मुटुको गहिराइमा
रहेसम्म –यो ब्रह्माण्डको विशालतामा
लौ !
लाटी –किन रोएकी यसरी !?
सम्हाल आफूलाई
रोक –रोक, आँसु बगाउन रोक !
र, हाँस !
जून जसरी हाँस्न आउँदैन होला –ठीक छ !
फूलजस्तै मुस्काउन आउँदैन होला –केही छैन !!
तर हाँस !!
–जसरी हाँस्छ
अघोर अँध्यारोसँग लड्दै उषाको पहिलो किरण
–जसरी मुस्काउँछ
घनघोर वर्षातमा बादलसँग युद्ध गर्दै चट्याङ
जोड जोडले हाँस्न नआए पनि
बत्तीसी देखाएर,
छाती खोलेर हाँस्न नसके पनि
एकचोटि हाँस ......
वा मुसुक्क हाँस ........ !
हिजोसम्म हामी
प्रेम सम्बन्धमा थियौँ
आजपछि –श्रद्धामा हुनेछौँ !
भोलि त
तिमी र मलाई
भूगोलको आधाआधा गोलाद्र्ध हिँड्नु छ !
लौ, अब त हाँस !
र, मपनि हाँस्छु
..............बिस्तारै ................. !!!