रमेश खनाल
इटालीको मिलान, अनि मिलानको सान्तामारियाडेल्ला ग्राजी ! विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्जीले बनाएको एक भित्तेचित्रका कारण ग्राजी विश्वप्रसिद्ध नै छ । चारपाटे ज्यामितिको स्वरूपमा लियोनार्दोले चौडाइभन्दा लम्बाइ दोब्बरमा ४२० सेमि × ९१० सेमिमा ‘अन्तिम भोज’ नामक भित्तेचित्र बनाएका थिए । लियोनार्दोको उक्त भित्तेचित्र हेर्न फ्रान्सका राजा विजयी भएर मिलान पसे । उनी उक्त चित्र हेर्न ग्राजी पुगे । यहीबेला गिनीका महन्तहरू हस्याङफस्याङ गर्दै यताउता दौडिँदै छन् ।
“राजाको सवारी हुनै लाग्यो । ए.......सबै ठीक गर है ।”
“अनि लियोनार्दो कहाँ छन् ?”
“उनी मिलान छोडेर अन्त कतै गए । राजाको सवारी हुँदा उनी पनि उपस्थित भए राम्रो हुन्थ्यो,” गिनीका प्रमुख महन्तले भने ।
फ्रान्सका राजाको सवारी भयो । समय अपराह्नको ४ बजेको थियो । मौसम घमाइलो थियो ।
लियोनार्दोको भित्तेचित्र नियालिसकेपछि राजाले सोधे, “मलाई यस चित्रका बारेमा केही बताउनुहोस् ।”
सरकार ! दुरान्तरको नियमानुसार एउटा लामो कोठामा लामो टेबुलको तीनतिर चेलाहरू र एकापट्टि मध्यभागमा क्राइस्ट बसेका छन् । क्राइस्टको दाहिनेपट्टि छजना र देब्रेपट्टि छजना चेला गरी बाह्रजना छन् । टेबुलमाथि केही भाँडाकुँडा राखिएका छन् । धर्मग्रन्थमा आधारित यस चित्रमा क्राइस्टले “तिमीहरूमध्ये एकजनाले मलाई धोका दिनेछौ” भन्छन् । क्राइस्टका कुरा सुनेर सबै मुखामुख गर्छन् । तर, एकजना जुडास भन्ने व्यक्ति भावशून्य देखिन्छ । ऊ दुविधामा अल्झिन्छ । कलाकार लियोनार्दोको विशेषता भनेको मानिसको मानसिक चित्रण सही ढङ्गमा उतार्न सक्नु नै हो सरकार ।
हामीले लियोनार्दोलाई ‘अन्तिम भोज’ नामक भित्तेचित्र बनाइदिन अनुरोध ग¥यौँ । उनले हाम्रो अनुरोध सहर्ष स्वीकार्दै केही दिनपछि नै उक्त चित्र बनाउन सुरु गरे । चित्र बनाउँदै जाँदा उनी निराश भए । उनलाई ईश्वरको जस्तो मुहार, शालीनता भएको व्यक्ति पाउन मुस्किल प¥यो । ईश्वरको जस्तो कोमल मुहार भएको व्यक्ति खोज्न उनी मिलानको गल्लीगल्ली घुमे तर कतै भेट्टाउन सकेनन् । थकित भएर घुमिरहँदा उनले एक दिन गिर्जाघरमा भजन गाउँदै गरेका एक युवक देखे । उनले त्यस युवकमा ईश्वरको शालीनता, दया, कोमलता देखे र उनले उक्त युवकलाई ‘क्राइस्ट’का रूपमा चित्राङ्किकत गरे । त्यस युवकको नाम पिइत्रोबन्देलिनो थियो । चित्र बनाइसकेपछि क्राइस्टलाई धोखा दिने जुडासको पनि चित्र बनाउन उनी पुनः मिलानको गल्लीगल्ली घुमे । छली र धोखेबाजजस्तो मुहार भएको व्यक्ति भेट्टाउन मुस्किल प¥यो । र, एक दिन उनले एउटा चोरजस्तो मुहार भएको व्यक्ति हात पसार्दै पैसा मागेको बेला त्यस व्यक्तिको मुहारमा ‘जुडास’ देखे । त्यसपछि उनले त्यस ठिटोलाई आफ्नो स्टुडियोमा लगेर धमाधम जुडासको चित्र बनाए । हेर्दाहेर्दै केही दिनभित्र लियोनार्दोले चाहेकोजस्तो बदमास, छली, धोखेबाज जुडासको चित्र बन्यो । जुडासको चित्र बनिसकेपछि त्यस ठिटोले सोध्यो, “तपाईंले पहिले मेरो मुहार हेरेर क्राइस्ट बनाउनुभयो र अहिले अर्को चित्र बनाइसक्नुभयो । त्यस ठिटोको कुरा सुनेर लियोनार्दो छक्क परे । यो माग्ने त त्यही पिइत्रोबेन्देलिनी पो रहेछ । रोममा सङ्गीत पढ्न जाँदा खराब सङ्गतमा परेर रक्सी, रण्डी र जुवा, तास खेल्ने भयो । खराब सङ्गतमा परेपछि एक असल मान्छे पनि बिगँ्रदोरहेछ भन्ने उदाहरण हो सरकार ।
त्यसो त माइकेल एन्जेलो, कास्टानो रिन्टेरेलेले पनि क्राइस्टको अन्तिम भोज अर्थात् ‘लास्ट सफर’ चित्र बनाएका छन् । उनीहरूले बनाएका चित्रमा छली जुडासलाई अलिक टाढै बसाएका छन् । तर, लियोनार्दोले इटालियन सम्प्रदायमा पुरानो मान्यतालाई तोडेर क्राइस्टसँगै जुडासलाई बनाएका छन् । उनले यस चित्रमा जुडास भन्ने व्यक्ति एक धोखेबाज, छली हो भन्ने भाव उब्जाइदिए ।
राजाले गिनीका महन्तको कुरा सुनिसकेपछि आदेश दिँदै भने, “जति खर्च र जति मानिसको परिश्रम लागे पनि यस भित्तेचित्रलाई जुरुक्कै भित्तोसमेत उठाएर, नबिगारीकन फ्रान्समा पु¥याउने ।” राजाको उक्त हुकुम÷आदेश सुनेर ग्राजीवासीले गर्नुसम्म विरोध गरे । अन्ततः लियोनार्दोको उक्त भित्तेचित्र इटालीममा नै बस्यो र राजाको सो इच्छा कहिले पूरा भएन ।
लियोनार्दोले उक्त भित्तेचित्र इ.स.ं १४९५ मा बनाएका हुन् । टेम्परा, मास्टिक, मेसो, डामर माध्यम प्रयोग गरेका छन्, उनले यस चित्रमा । उच्च पुनर्जागरणकालमा बनाइएको यो भित्तेचित्र धेरै प्रसिद्ध छ । मिलानको ड्युक लुडोभिसो सो फ्रोजाले गिर्जाघर पुनःनिर्माण गरेपछि लियोनार्दोलाई ‘अन्तिम भोज’ भित्तेचित्र बनाउन लगाएका हुन् । त्यसो त इटालीका अन्य प्रख्यात कलाकारले पनि अन्तिम भोज नामक भित्तेचित्र बनाएका छन् । यी भित्तेचित्र गिरलान्डीओले १४८० मा ‘ओनिस्सान्ती’मा, आन्द्रे डे कास्टाङ्गोले १४४५ मा ‘सान्ट अपलोनिया’मा र लियोनार्दोले सान्तमारिया डेल्ला ग्राजीमा छन् । यी तिनवटै भित्तेचित्र थरीथरीको बनाइएको भए पनि सबैको विषय ‘अन्तिम भोज’ नै हो ।
लियोनार्दोले आफ्नो ‘अन्तिम भोज’ नामक भित्तेचित्रलाई निर्माण गर्न भित्तामा प्लास्टर लगाए । त्यसपछि उनले पातलो क्लालसियम कारबोनेट, म्याग्नासियम र सरेस (जनावरको छाला बोसोबाट उत्पादित गम) लगाएर बलियोसँग बाँध्ने काम गरे । त्यसपछि लिड ह्वाइटका लागि प्राइमर कोट गरे । लिड ह्वाइट लगाउने प्रचलन, पुनर्जागरणकालमा सामान्य नै थियो । लिड ह्वाइटमाथि रातो चक र कालो पेन्ट लगाएर चित्रको प्रभाव स्केच गरे । त्यसपछि उनले धेरैपटक अन्य रङहरू लगाएर चित्र बनाउन सुरु गरेका हुन् ।
सन् १४९५ मा बनाइएको ‘अन्तिम भोज’ नामक भित्तेचित्रलाई पटक–पटक मर्मत गरिएको छ । दोस्रो विश्वयुद्ध अगस्ट १६ तारिख १९४३ मा रोयल एयर फोर्सबाट प्रहार गरिएको बमले ग्राजीको छत र केही भाग ध्वस्त भयो । तर, ‘अन्तिम भोज’ नामक भित्तेचित्रलाई बोरा, पाल र अन्य सुरक्षका उपाय अपनाएर सुरक्षित गरियो । उक्त भित्तेचित्रलाई सन् १९९९ मा पुनः मर्मत गरिएको थियो ।
आज पनि उक्त भित्तेचित्र हेर्नका लागि बर्सेनि लाखौँ कलाप्रेमीहरू मिलानको सान्तामारियोडेल्ला ग्राजी पुग्छन् । उक्त भित्तेचित्र माथि धेरै साहित्यकार, कला इतिहासकार, कला समीक्षकहरूले पुस्तकहरू लेखेका छन् । उक्त भित्तेचित्रले इटाली मिलानको ग्राजीको शोभा बढाइरहको छ भने लाखौँ पर्यटकको ध्यान पनि खिचिरहेको छ ।