logo
२०८१ मंसिर १० सोमवार



कार्टुनको लत

शनिवार |


कार्टुनको लत


कौशिक नवराज

भारतीय टेलिभिजन च्यानलहरूले दर्शकको सोच, उमेर र रुचिअनुसार कार्यक्रम बनाउँदै आएका छन्् । महिलाका लागि सिरियल, युवाका लागि खेलकुद र चलचित्र, बालबालिकाका लागि कार्टुन र वृद्ववृद्वाका लागि धार्मिक कार्यक्रम । अझ उमेर र रुचिअनुसार च्यानल नै छुट्टाछुट्टै प्रसारण हुने गरेको छ । ‘प्रपग्यान्डा’मा रुचि राख्नेहरूका लागि ‘न्युज’ च्यानल त छँदैछ ।
नेपालमा क्लिनफिड लागू भएपछि प्रसारणमा प्रभुत्व जमाएका यस्ता धेरै भारतीय टेलिभिजनहरू अहिले प्रसारणमा छैनन् । यसले नेपाली टेलिभिजन प्रसारकहरूलाई अवसर र चुनौती दुवै थपिदिएको छ । यस अवस्थामा विदेशी वा हिन्दी कार्टुन च्यानलहरूको प्रभाव बालबालिकामा कस्तो परेको छ त ? यसबारे छोटो चर्चा गरौँ
कामकाजी भएपछि अभिभावकसँग बालबालिकाका लागि समय हुँदैन । अनि बालबालिकाले आमाबुवासँग खेल्न र रमाउन पाउँदैनन् । उनीहरूको गुनासो पोख्ने माध्यम पनि हुँदैन । त्यसैले उनीहरू विदेशी भाषाका कार्टुनमा आफूलाई भुलाउँछन् । कति अभिभावकहरू बा(लबालिकासँग खेल्न, कुरा गर्न रुचाउँदैनन् । यस्तो अवस्थामा बालबालिकाले एक्लो र असहायपनको महसुस गर्छन् । त्यही भएर उनीहरू विदेशी भाषाका कार्टुनको शरणमा पुग्छन् ।
बालबालिकाले आफूले चाहेको मनोरञ्जन लिन नपाउनुको कारण घरबाहिर खेल्न पर्याप्त स्थानको अभाव छ । घरमा खेल्न ठाउँ र खेलौनाको अभाव छ । अनि विदेशी भाषाको कार्टुनमा शरण नलिएर के गर्नु ? हिजोका दिनमा संयुक्त परिवार हुन्थे । हजुरबा, हजुरआमा, काकाकाकीले बालबालिकसँग समय व्यतीत गर्थे । तर, आजका दिनमा एकल परिवारका कारण बालबालिकासँग खेल्ने साथीहरू नहुनाले पनि उनीहरू यसतर्पm लाग्न बाध्य छन् ।

 कार्टुनको प्रभाव
हिन्दी तथा अन्य भाषामा प्रसारण हुने टेलिभिजन च्यानलहरूले नेपालमा भाषिक अतिक्रमण बढाउँदै लगेको त जगजाहेर नै छ । त्यसमाथि बालबालिकाका लागि कार्टुन च्यानलहरू मन्दविष साबित हुँदै गएका छन् । यस्ता कार्टुनबाट आफ्नो मौलिक भाषा अतिक्रमण हँुदै जान्छ । नेपाली भाषाको स्तर खस्किँदै जान्छ । बालबालिकामा पनि नेपालीभन्दा हिन्दी भाषाप्रति मोह बढ्दै जान्छ ।
कार्टुनमा सम्बन्धित देशको संस्कृति प्रदर्शित हुँदा बालबालिकाले यही संस्कृतिप्रति अपनत्व बढाउँदै लैजान्छन् । यसले सानै उमेरदेखि उनीहरूमा हाम्रोभन्दा विदेशी संस्कृति र क्रियापलापमा मोह बढ्दै जान्छ । अनि विदेशी संस्कृति र रीतिरिवाज चालै नपाई नेपाल भित्रिएको हामीमध्ये धेरैलाई थाहा नै हुँदैन । त्यसैले त दीपावलीजस्ता चाडमा रङ्गोली र पटकाजस्ता चीजहरू अनिवार्यजस्तै भइसक्यो ।
बालबालिकाको सिकाइमा समेत कार्टनु, अझ हिन्दी भाषाका कार्टुनको प्रभाव परेको देखिन्छ । हिन्दी कार्टुनका पात्रले जसरी सिक्छन्, नेपाली बालबालिकाले समेत त्यही किसिमले सिक्ने कोसिस गरेको पाइन्छ । अभिभावकले कार्टुन च्यानल परिवर्तन गरेमा उनीहरूलाई दिक्क लाग्ने, सानो–सानो कुरामा झर्को मान्ने, कार्टुनमा लगाएजस्तै लुगा लगाउनुपर्ने, कार्टुनमा देखाएजस्तै खेलौना किनिदिनुपर्ने अवस्थाको विकास हँुदै गएको छ । बजारमा पनि विदेशी भाषाका कार्टुनमा प्रयोग भएका खेलौनाका साथै सामग्रीको माग उच्च हुने गरेकोे छ । यसले नेपालको व्यापार घाटादेखि अर्थतन्त्रमा समेत प्रभाव पारेको छ ।
बालबालिका कार्टुनमा धेरै समय बिताउँछन् । ओछ्यानबाट उठ्नसाथ कार्टुन हेर्ने, राति सुत्नुअघि पनि कार्टुन नै हेर्ने बानी धेरै बा(लबालिकामा हुन्छ । बालबालिका दिनभर कार्टुन हेर्दा हेर्दै आफू स्वयम् कार्टुनजस्तै हुन्छन् । उनीहरू अनौठो नक्कल गर्छन्, त्यस्तै भाषा बोल्छन् । कार्टुनको पात्र जस्तै बन्ने अभ्यास गर्छन् । अनौठो हर्कत गर्न थाल्छन् ।
विदेशी कार्टनमा बढी आकर्षित हुने बालबालिका आक्रामक स्वभावको हुने गरेका छन् । साथसाथै धेरै नै जिद्दी पनि हुन्छन् । एकै स्थानमा निरन्तर बसेर कार्टुन हेर्दा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने पनि अनुसन्धानहरूले देखाएका छन् । उनीहरूको शारीरिक र मानसिक गतिविधि शून्यप्रायः रहेको हुन्छ । कार्टुनसँगै आउने पत्रु खानाको विज्ञापनले पनि उनीहरूको ध्यान त्यसतर्फ आकर्षित हुन्छ । यस्ता खानाप्रति लगाव बढ्न थाल्छ । जसले गर्दा उनीहरूमा मोटोपनसँगै अन्य कुपोषणसँग सम्बन्धित् रोगको खतरा पनि हुन्छ ।

छुट्कारा कसरी पाउने ?
बालबालिकामा विदेशी कार्टुनको लत बढ्नुमा सबैभन्दा बढी जिम्मेवार परिवार तथा अभिभावक नै हुन् । उनीहरू बच्चासँग घुलमिल गर्दैनन्् र हुन पनि चाहँदैनन् । बालाबालिकासँग नजिक हुने, खेल्ने, कुराकानी गर्ने, मनोरञ्जन गर्ने गरेमा उनीहरूको ध्यान टीभीमा कम जान्छ । कति अभिभावक बालबालिकाको कुरा सुन्न, उनीहरूसँग तार्किक गफ गर्न, खेल्न र रमाइलो गर्न झर्को र दिक्दार मान्छन् । त्यसैले बच्चाबाट सजिलै उन्मुक्ति पाउन उनीहरूलाई टेलिभिजन खोलिदिने र कार्टुन च्यानल लगाइदिने गरिएको पाइन्छ । यस किसिमको खराब बानीले पनि बा(लबालिकामा कार्टुन हेर्ने लत लाग्छ ।
बच्चालाई कार्टुन हेर्नै नदिने भन्ने होइन । यो त झन् खराब विचार हो । बरु यसका लागि समय निर्धारण गरिदिनुपर्छ । कुन समयमा कार्टुन हेर्ने, कुन समयमा होमवर्क गर्ने, कुन समयमा घरको काम गर्ने, खाना खाने र गफ गर्ने । त्यसो त कार्टुन च्यानलहरूमात्र होइन, अन्य मनोरञ्जनात्मक एवम् जानकारीमूलक च्यानल पनि हेराउने अभ्यास गर्नुपर्छ । यसमा विदेशीभन्दा पनि नेपाली च्यानललाई प्राथमिकतामा राख्न सकिन्छ । कस्तो–कस्तो कार्टुन हेर्दा हुन्छ, कस्तो हेर्नुहुँदैन, कुन कार्टनुले गलत सन्देश दिन्छ भन्ने कुरा बच्चालाई सिकाउनुपर्छ । धेरै हिंसात्मक तथा द्वन्द्वका दृश्य भएका, मारकाट र लडाइँ झगडा भएका कार्टुन हेर्न दिनुहुँदैन । कार्टुन हेरिरहेको समयमा बालबालिकालाई त्यसै छाड्नुहुन्न । बालबालिकासँगै बसेर कार्टुन हेर्ने गरेमा उनीहरूमा यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ । उनीहरूले के हेर्दै छन्, के गर्दै छन् भन्ने कुरामा सोचविचारसहित निगरानी गर्नुपर्छ । बालबालिकालाई दिनभरि टीभी हेराउनुभन्दा बाहिर घुम्न लैजाने गर्नु सबैभन्दा राम्रो हुन्छ । उनीहरूसँग अभिभावकहरूले खेल्नुपर्छ । घरबाहिरका खेलहरूमा प्रेरित गरेपछि मात्रै बिस्तारै विदेशी भाषाका कार्टुनको लत छुट्दै जान्छ ।
विदेशी भाषाका कार्टुनको बेफाइदामात्रै छैन, यसबाट बालबालिकाले धेरै कुरा सिकिरहेका पनि हुन्छन् । अभिभावक र परिवारका सदस्यलाई थाहा नभएका कतिपय विषयवस्तु बालबालिकाले कार्टुनबाट सिकिरहेका पनि हुन्छन् । खासगरी उनीहरूले सूचना प्रविधि, खेल र फेसनसम्बन्धी ज्ञान प्राप्त गरिरहेका हुन्छन् ।
विदेशी भाषाका कार्टुनको विकल्पमा नेपाली भाषाका कार्टुन निर्माण गर्नु हो भनेर सबैले भन्छन् । तर नेपाली टेलिभिजन च्यानल, निर्माता, निर्देशक र कलाकारहरूले अहिले नै नेपाली भाषामा कार्टनु तयार गरेर दिन सक्छन् भनेर सोच्नु पनि हतार हुन सक्छ ।
कुनै बेला रेडियो नेपालको बाल कार्यक्रम सुनेर बालबालिका हुर्किन्थे । तर, आजका बालबालिका हिन्दी तथा विदेशी भाषाका कार्टुन हेरेर हुर्किरहेका छन् । हिजोका बाल कार्यक्रम र चुट्किलाले मात्रै आजका बालबालिकालाई मनोरञ्जन र ज्ञान दिन सक्दैन । अब नेपाली टेलिभिजन च्यानलहरूले पनि बालबालिकाका लागि विदेशी स्तरका कार्टुन हाम्रो संस्कार संस्कृतिअनुरूप नेपाली भाषामै निर्माण गर्नुपर्छ । विदेशी भाषाका कार्टुन देखाउनैपरेमा नेपाली भाषामा डबिङ गरेर प्रसारण गर्नुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?