शिवप्रसाद भट्टराई
अध्यात्म अत्यन्त गहन र गम्भीर विषय हो । यसप्रतिको आकर्षण र यसको यथेष्ट ज्ञान प्राप्ति गर्न उद्यत पिपासुले आफूमा छाएको अज्ञानरूपी अन्धकारलाई ज्ञानको प्रकाशले हटाउन सक्छ । अनि आफ्नो जन्म र जीवनलाई सार्थक तुल्याउन पनि सक्छ । अध्यात्म भन्नु नै एक अर्थमा आत्मासँग साक्षात्कार गर्नु हो । आत्मालाई चिन्नु, जान्नु र बुझ्नु हो । आपूmले आफैँलाई राम्ररी चिनेर आत्मा र परमात्मासम्बन्धी तìवज्ञान प्राप्त गर्नु हो ।
श्रुति, स्मृति, वेद, पुराण, विविध धर्मग्रन्थ र शास्त्र आदिले पनि मूल रूपमा अध्यात्मकै अनुष्ठानमा विशेष जोड दिएका छन् । संयमी जीवनको आवश्यकतामाथि महनीय प्रकाश पारेका छन् । यसकै कसीमा तर्क, प्रमाण आदिद्वारा सिद्ध भएको वा गरिएको विचार वा दर्शनकै आधारमा विविध किसिमका अध्यात्म प्रसङ्गहरू (सन्दर्भ, परिवेश, प्रकरण) लाई लिएर तीर्थराज पाठक आफ्नो दोस्रो कृति ‘अध्यात्म प्रसङ्ग’ मार्पmत देखापर्नु भएको छ । अत्यन्त सरल, सहज भाषा अनि रोचक शैलीमा लेखिएको यो कृतिलाई एक किसिमले अध्यात्म विज्ञानकै संज्ञा दिन सकिन्छ ।
नेपालको सुदूरपश्चिमस्थित कैलालीको धनगढी निवासी लेखक पाठक (टि.आर. पाठक ‘अनुपम’) को यसअघि २०७५ सालमा ‘अध्यात्म चिन्तन’ नामक कृति सार्वजनिक भइसकेको छ । यी दुवै कृतिले धर्मपालनलाई महìव दिएको छ । धर्मपालना कर्मसिद्धान्तमा आधारित हुन्छ र छ । मानिसको परम धर्म र परम कर्तव्य भनेकै त्याग, समर्पण र आदर्शमा आधारित नित्य नैमित्तिक कर्म हो । यही नै शाश्वत धर्म र स्वधर्म पनि हो । हाम्रा वेद, पुराण, गीता आदिले यही नै भनेका छन् । यही धर्मपालना र कर्मसिद्धान्तको कसीमा लेखक पाठकले यो ‘आध्यात्म प्रसङ्ग’ शीर्षकको कृतिमा विविध किसिमका पौराणिक पात्र, प्रसङ्ग र चरित्रहरूको उल्लेख गर्दै त्यसमा आधारित भएर आफ्ना मौलिक व्याख्या विश्लेषण गर्नुभएको पाइन्छ । आफ्ना सनातन धर्मका विविध विशेषताहरूलाई प्रकाश पार्ने क्रममा उहाँले यो कृतिलाई जीवनीमूलक, शास्त्रमूलक र ज्ञानमूलक गरी तीन खण्डमा विभाजित गर्नुभएको छ ।
जीवनीमूलक अन्तर्गत राजा नृग, परशुराम, देवर्षि नारद, मृत्युकी देवी, मन्दोदरी, मान्धाता, महर्षि वाल्मीकि, महादानी वीर कर्ण, महादानी इन्द्रसेन बलि, लङ्काका शासक, कुन्ती (पृथा), पुरुषोत्तम, श्रीकृष्ण, हनुमान, गौतम बुद्ध, महारानी गान्धारी, ब्रह्मर्षि वसिष्ठ, सङ्घर्षण बलराम, उर्मिला, आदिकवि भानुभक्त आचार्य र पार्वती शीर्षकका जम्मा २० वटा रचना समावेश गरिएका छन् । उहाँले विविध कृतिहरूको गहन अध्ययन, अनुसन्धान र अनुभवमा आधारित भएर अत्यन्त मर्मस्पर्शी र रोचक व्याख्या–विश्लेषण गर्ने सार्थक प्रयास प्रत्येक रचनामा गर्नुभएको पाइन्छ ।
दोस्रो खण्डमा लेखकले शास्त्रमूलक १५ वटा आलेखलाई समावेश गर्नुभएको छ । यस अन्तर्गत
‘शाश्वत काल नै परमात्मा श्रीराम’ शीर्षकको पहिलो आलेखमा भगवान् श्रीरामको लीलामाथि सङ्क्षिप्त प्रकाश पारिएको छ । ‘निमित्त मात्र’ शीर्षकको दोस्रो आलेखमा महाभारत समर समाप्त भएपछि अनेकौँ विद्वान्, वीर र आफन्तहरू मारिएकोमा युधिष्ठिर निकै चिन्तित भएको प्रसङ्ग उल्लेख गर्दै महाभारत गर्ने–गराउने साक्षात् ब्रह्माण्ड नायक हुन्, तिमी त निमित्त मात्रै हौ भनेर पितामह भीष्मले युधिष्ठरलाई सम्झाउनु भएको प्रसङ्ग छ । ‘मन जित्नेको अवश्य विजय’ शीर्षकको तेस्रो आलेखमा पनि महाभरतकै प्रसङ्ग छ । यसले विविध मनको व्याख्या–विश्लेषण गरेको छ । दुर्गुणी मनभन्दा सद्गुणी मन सदैव उच्च हुन्छ । शक्तिका आडमा दुर्गुणले भरिएको कुनै पनि कुरा पछि गएर उसकै लागि भयावह साबित हुन पुग्छ । दुर्योधनले शक्तिका आडमा १३ वर्षसम्म एकलौटि शासन चलाउँदा पनि उसले जीवनमा एक निमेष पनि भित्री शान्ति प्राप्त गर्न नसकेको र उसको सर्वनास नै भएको कथा प्रसङ्ग यसमा छ । ‘कर्मको प्रधानता’ शीर्षक आलेखमा आत्माको अमरता र अजरता अनि पूर्वजन्मको कर्मफल र वर्तमानमा त्यसको प्रभावका बारेमा विविध उदाहरणसहित चर्चा गरिएको छ । ‘सञ्जीवनी विद्याको लुट’ शीर्षकको आलेखमा देवताहरू र स्वयं देवराज इन्द्रले सत्ता प्राप्तिका लागि के–कस्ता कार्य गर्नसमेत पछि परेनन् भन्ने रोचक वर्णन छ ।
यो खण्ड अन्तर्गतका ‘महाकुम्भ’, ‘सत्यभामाको दान ः स्वयं खरिद’, ‘हाम्रो होइन राम्रो’, ‘लाएको गुन, खाएको नुन बिर्सनु हुँदैन’, ‘दानको महìव’,
‘गजेन्द्रमोक्ष’, ‘हनुमानजीमा उत्पन्न दम्भ’, ‘निर्धाको उही दैव’, ‘चरित्रवानबाट रत्नको उत्पत्ति’ र ‘सीमा नाघ्नु हुँदैन’ शीर्षक–लेख पनि सुरुचिपूर्ण छन् ।
लेखकले तेस्रो खण्डमा ज्ञानमूलक लेख अन्तर्गत जम्मा नौवटा आलेखलाई समावेश गर्नुभएको छ । ‘ज्ञान’ शीर्षकको आलेखबाट सुरु गरिएको यो खण्डमा ‘श्रीमद्भागवत गीताको रहस्य’, ‘गुरुदक्षिणा’, ‘महाभारत युद्धमा बाँचेका वीरहरू’, ‘असुर भनेको के हो ?’
‘शास्त्राज्ञानले कुमार्गबाट जोगाउँछ’, ‘शास्त्रमा अठार सङ्ख्या’ र ‘औक्षौहिणी’ शीर्षकका लेखहरू ज्ञानयोगमा आधारित भएर लेखिएका छन् । यसै खण्डअन्तर्गत रहेका ‘पक्षपातले अधोगतितर्पm धकेल्छ’ शीर्षक लेखमा उहाँले लेख्नुभएको छ–
‘शक्ति भनेको निर्बललाई वशमा राख्नलाई होइन, रक्षका लागि हो । ज्ञान घमण्डका लागि होइन, सिधासादालाई बाँड्नका लागि हो । रूप सधैँ रहने चिज होइन, संसारी चक्र हो । शील भनेको वास्तविक सौन्दर्य हो ।’ (पृष्ठ सङ्ख्या ः ३५४)
यसरी यो र यस खण्डमा समावेश गरिएका सबै आलेखहरूले विविध किसिमका ज्ञानका माध्यमबाट जीवनमुक्तिका लागि गर्नुपर्ने साधनाका सम्बन्धमा समीचीन प्रकाश पारेका छन् ।
क्षुद्रताग्रस्त विचारले मानिसमा मनोविकार उत्पन्न गराउँछ र अन्ततोगत्वा स्वयंमा यसले मानिसलाई चिन्ताग्रस्त पनि तुल्याउँछ । यही कारणले गर्दा मानिसले बाहिर होइन, आपूmले आफैँभित्र हेर्नुपर्छ । आफ्नो विवेक र बुद्धिलाई बहिर्मुखी होइन, अन्तर्मुखी बनाउन सक्नुपर्छ । उच्च चिन्तन, उत्कृष्ट र रचनात्मक स्वभाव, आदर्श र अनुकरणीय चरित्रको विकास एवं समाजका सबैसँग सद्व्यवहार प्रदर्शन गर्ने गुण यसैबाट विकसित हुन्छ । यसबाट नै मानिसले आफैँमा उच्च आध्यात्मिक स्थिति विकसित गर्न सक्छ । आपूmमा व्याप्त, कुसंस्कार, अज्ञानता, विविध किसिमका दोष–दुर्भावना आदि दुर्गुण आदिबाट मुक्त भई मानिसले आफैँभित्र सज्जनता र सदाशयतालाई स्थापित गर्न सक्छ । यसका लागि आत्मसाक्षात्कार गर्न सक्नुपर्छ । आत्मालाई परमात्मासँग जोड्न सक्नुपर्छ । यसो गर्न सकेमा नै मानिसले सत्, चित् आनन्दको महासागरमा पौडी खेल्न सक्छ । तीर्थराज पाठकको ‘अध्यात्म प्रसङ्ग’ शीर्षकको प्रस्तुत कृतिमा यही यथार्थमाथि विविध उदाहरण सहित प्रकाश पारिएको छ ।
पुस्तकमा केही शब्दको हिज्जे र कतै कतै वाक्यगठन त्रुटिपूर्ण देखिएका छन् । आउँदा प्रकाशनहरूमा लेखकले आवश्यक सचेतता सहितको सावधानी भने अपनाउनुपर्ने देखिन्छ । ३५९ पृष्ठमा विस्तृत पुस्तकको मूल्य ५५०÷– रुपियाँ त्यति महँगो मान्न सकिँदैन । सङ्क्षेपमा भन्नुपर्दा यो पुस्तकले अध्यात्म दर्शनसम्बन्धी विविध किसिमका मननयोग्य विचार सम्प्रेषण गर्न सकेको छ र विभिन्न प्रकारका रोचक प्रसङ्गहरूले गर्दा पठनीयसमेत बनेकाले यसले पाठकहरूको मनलाई राम्ररी स्पर्श गर्नसक्ने देखिन्छ ।