ज्ञाननिष्ठ ज्ञवाली
आमाहरू हुन् सब दुःख हर्ने
यी ढुक्ढुकी हुन् कहिल्यै नमर्ने
आत्मा महात्मा जति जे तिनै हुन्
यो सृष्टि भर्ने विधि रूप नै हुन्
आमाकहाँ के गुणगान गाऊँ
तिम्रो छहारी कसरी म पाऊँ?
निर्जीव पिण्डैसरि थेँ म पैले
प्राणत्व पाएर उठेँ म ऐले
आमा तिमी हौ रमणीय झाँकी
संसार तिम्रै तिमी उर्वराकी
पाएर आएँ ममता अपार
सम्झन्छु आमा अब बारबार
मौरीसरि छ्यौ मह रित्तिदैन
हिमाल नौनी हिउँ सिद्धिदैन
पहाडपाखा वनकी छहारी
तराइझैं उन्नतकी भकारी
आनन्दले सन्तति छन् बसेका
पाएर माया सब ती रमेका
आमा सबैकी प्रिय पाठशाला
ज्ञानी बनी बग्दछ भावधारा
पलापलामा रस जिन्दगीको
पिलाउँछिन् शिल्प बुनी कलाको
आमा कलाकार म काव्य बन्दै
सिँगार गर्छिन् दिनरात गन्दै
माटो मुटुमा तिमीले मिलायौ
यो सिर्जनामा वरदान ल्यायौ
हाल्दै सुसेली जनगीत गायौ
सन्तानका निम्ति सबै गुमायौ