वसन्त महर्जन
हनुमानढोका परिसरमा काष्ठमण्डपको पूर्वी भागमा पश्चिमाभिमुख त्रैलोक्यमोहन मन्दिरको सामुन्ने ढुङ्गानिर्मित एउटा ठूलो गरुडको सुन्दर र आकर्षक मूर्ति देख्न पाइन्छ । नारायण मन्दिरको सामुन्ने गरुडको मूर्ति राख्ने गरिन्छ । नारायण मन्दिर अगाडि स्थापना गरिने यस्ता प्रायः गरुडको मूर्तिमा पखेटाबाहेक सम्पूर्ण अड्ढ मानवकै हुने गरेको पाइन्छ । मूर्ति विनित भावमा घुँडा टेकेर बसेका पनि हुन्छन् । काठमाडौँ उपत्यकाका धेरैजसो नारायण मन्दिरको अगाडि राखिने यस्ता गरुड मूर्तिको अनुहार मन्दिर निर्माता वा कीर्ति राख्ने व्यक्तिको हुने गरेको पाइन्छ । यही परम्पराअनुसार चाँगुनारायण मन्दिर अघिल्तिरको ठूलो गरुड मूर्तिको अनुहार राजा मानदेवको हुन सक्ने मान्यता छ । अभिलेखहरूमा उल्लिखित राजा मानदेवको व्यक्तित्वसँग यो मूर्ति मिल्ने भएकाले यस्तो अनुमान गरिएको बुझ्न कठिन छैन । यही परम्परा त्रैलोक्यमोहन मन्दिर सामुन्नेको गरुडमा पनि पाइन्छ । ठूलो र आकर्षक तथा कलाका दृष्टिले उत्कृष्ट भएकै कारण यस मूर्तिले धेरैको ध्यान तान्ने गरेको छ । यही गरुडको मूर्तिलाई अलि नियालेर हेर्ने हो भने सर्वसाधारणमात्रै नभएर, मै हुँ भन्ने मूर्तिविज्ञलाई पनि रनभुल्लमा पार्ने अर्को दृश्य देख्न पाइन्छ । त्यहाँ एउटामात्र नभएर महिला पुरुष दुवैको अनुहार र बेग्लाबेग्लै आभूषण देख्न पाइनु अर्को ताजुबको कुरा हो । वास्तवमा यही एउटा मूर्तिले इतिहासको एउटा पाटो बताइरहेको हुन्छ ।
राजा प्रताप मल्ल (इस्वी संवत् १६४१–१६७४) को असामयिक मृत्युपछि काठमाडौँको राजनीतिमा अस्थिरता छायो । उनका छोराहरू कोही पनि राजगद्दी सम्हाल्ने र राजकाज चलाउने हैसियत राख्ने उमेरका थिएनन् । थपनाका लागि मात्रै भए पनि बालक छोरा नृपेन्द्र मल्ल (राज्यकाल इसं १६७४–१६८०) लाई राजगद्दीमा राखिएको थियो । यस्तो अवस्थामा राज्यको बागडोर सबै मन्त्रीहरूको हातमा पुग्योे । त्यतिबेला प्रधानमन्त्रीको पद चिकुटी नामक भारदारले पाएका थिए । नृपेन्द्र मल्ल करिब छ वर्षमात्रै राजगद्दीमा बस्न पाएका थिए र त्यसपछि उनको पनि मृत्यु भयो । उनको मृत्युपछि भाइ पार्थिवेन्द्र मल्ल (इसं १६८०–१६८७) राजसिंहासनमा बसे । पार्थिवेन्द्र मल्लको पनि अकालमा नै मृत्यु भयो । यसअघि यिनै राजाले दाजु नृपेन्द्र मल्लको सम्झनामा त्रैलोक्यमोहन नारायण मन्दिरको निर्माण इसं १६८० मा गरेका थिए । यी राजाको मृत्युपछि बालक छोरा भुपालेन्द्र मल्ल (इसं १६८७–१७००) काठमाडौँको राजगद्दीमा बसे । यतिन्जेल प्रधानमन्त्री चिकुटीको हत्या भइसकेको थियो । चिकुटीको हत्या स्थानीय लक्ष्मीनारायण जोशीबाट गराइएको थियो र भुपालेन्द्र मल्लको बेला उनले प्रधानमन्त्री पद पाए । वास्तवमा यी प्रधानमन्त्रीलाई राजमाता ऋद्धिलक्ष्मीको पूर्ण समर्थन थियो । तसर्थ, प्रधानमन्त्री नै राज्यको हर्ताकर्ता हुन पुगे ।
प्रधानमन्त्री लक्ष्मीनारायणको प्रभाव कतिसम्म थियो भन्ने सन्दर्भमा न्हुघःटोलमा एउटा ठूलो र भव्य यज्ञेश्वर महादेव (जोशीदेगल वा जैसी देगल) मन्दिरको निर्माण गराएबाट बुझ्न सकिन्छ । त्यतिबेला ठुल्ठूला मन्दिरहरूको निर्माण राजपरिवारको तर्फबाट मात्रै बन्थ्यो । तर, राज्यका तर्फबाट रोकतोक केही नभएपछि प्रधानमन्त्री आफैँले पनि मन्दिरको निर्माण गर्न सकेका हुन् । यी प्रधानमन्त्रीको चकचकी कति हदसम्म बढेको भन्ने सन्दर्भमा त्रैलोक्यमोहन मन्दिरको अगाडि विक्रम संवत् १७४६ कात्तिक (इसं १६८९) मा स्थापना गरिएको गरुडको ठूलो मूर्तिमा राजमाता ऋद्धिलक्ष्मी र आफ्नो आकृतिलाई संयुक्त रूपमा कुँद्न लगाए । वास्तवमा यिनीहरूबीच राजनीतिक सम्बन्धमात्रै नभएर व्यक्तिगत सम्बन्ध पनि बाक्लो थियो । अर्को शब्दमा भन्नुपर्दा नाजायज यौनसम्बन्धको कुरा दरबारको चारकिल्लाबाट नाघेर तत्कालीन समाजमा पनि चर्चाको विषय बनेको थियो । लक्ष्मीनारायणको निवास राजदरबारबाट केही मिनेटको दूरीमा भए पनि उनले राजदरबारमै रात बित(ाउँथे ।
राजमाता र प्रधानमन्त्रीबीचको यो सम्बन्ध तत्कालीन समाजलाई पाच्य हुने त कुरै भएन । तर, यस कुरालाई लिएर कसैले केही गर्न सकेको पनि थिएन । यो सम्बन्धबारे हुर्कंदै गरेका राजालाई पनि मन परेको थिएन । तर, उनी पनि लाचार थिए । प्रधानमन्त्रीको चकचकी अन्य भारदारलाई मन नपर्नु स्वाभाविकै थियो । त्यसमाथि राजमातासँगको उक्त सम्बन्ध निहुँ हुन पुग्यो । प्रधानमन्त्री लक्ष्मीनारायण जोशीविरुद्ध राजा र भारदारको एउटा मोर्चा बन्यो र षड्यन्त्रका तानाबानाहरू बुन्न थालियो ।
एक दिन प्रधानमन्त्री लक्ष्मीनारायण जोशीको हत्या गर्ने योजना बन्यो । तत्कालीन कान्तिपुर राज्यमा रहेका खस सेनासँग लक्ष्मीनारायणको सम्बन्ध राम्रो थिएन । बदलाको भावनाले खस सेना पनि लक्ष्मीनारायणविरुद्ध मौकाको खोजीमा थियो । अन्य भारदार तथा राजाकै साथ पाएपछि खस सेनालाई सोह्रमा सत्र परेजस्तै भयो । हत्या कार्यमा यिनै खस सेनाको प्रयोग हुने भयो ।
एक दिन प्रधानमन्त्री आफ्नो निवास (माजुदेवलको पछाडि कुनै एउटा घर) मा पुगेको बेला उनको हत्या गर्न हातहतियारले सुसज्जित भई खस सेना त्यहाँ पुगे । प्रधानमन्त्रीले यो कुराको चाल पाए । सेनाहरू भ¥याङ चढिरहेककै बखत लक्ष्मीनारायण जोशी आफ्नो बचावटका लागि झ्यालबाट हाम्फालेर बाहिर निस्के । आफ्नोमातहतका विश्वस्त सेना दरबारमा थियो । उनी दरबारतिरै दौडिए । तर, खस सेनाले लखेट्न छाडेन । प्रधानमन्त्री माजुदेवलको अगाडिसम्म पनि पुग्न पाएको थिएनन्, पछाडिबाट लखेट्दै आएका सेनाले भेटाइहाले र छप्काए ।
हत्याको खबर राजदरबारमा पुग्यो र राजमाताको कानमा ठोक्कियो । यो खबर राजमाताका लागि वज्रपातसरह थियो र त्यो चोटले उनी अस्थिर र अनियन्त्रित हुन पुगिन् । राजमाता आलापविलाप गर्दै दरबारबाट दौडेर बाहिर आइपुगिन् । राजमाताको हविगत आफ्नै लोग्नेको मृत्युको खबर सुन्दा विचलित हुने कुनै महिलाको भन्दा फरक थिएन । उनी लक्ष्मीनारायणकै निवासतर्फ दौडन लागेकी थिइन् । राजमाताको यो चर्तिकला राजदरबारलाई सुहाउने त हुँदै होइन । तसर्थ, कसैले रोकेर उनलाई दरबारतिर फर्काइदियो । राजमातासँग राजाको सम्बन्ध लक्ष्मीनारायण जोशीको हत्या हुनुअघिबाटै बिग्रिसकेको थियो । राजा यही समयको प्रतीक्षामा थिए ।
प्रधानमन्त्री लक्ष्मीनारायण जोशी राजमाता ऋद्धिलक्ष्मीका लागि सबथोक थिए । तर, हत्यापछि अब राजमाता स्वतः शक्तिहीन र निःसहाय भइन् । राजदरबारमा उनी छिःछिः र दूरदूरको पात्र भइन् । जोशीदेगलमा ढुङ्गानिर्मित लक्ष्मीनारायण जोशीको एउटा ठूलो मूर्ति थियो तर हत्यापछि त्यहाँबाट उक्त मूर्ति झिकियो । अहिले उक्त मूर्तिबारे अत्तोपत्तो छैन । विरोधीलाई लक्ष्मीनारायणको हत्याले मात्रै पनि चित्त नबुझेको र मूर्तिसमेत फुटालेर नष्ट गरिदिएको अनुमान गरिएको छ । राजमातालाई पनि दरबारबाट निष्कासित गरी शेष जीवनका लागि बस्न दोलखाछेउछाउको कुनै एउटा गाउँमा बन्दोबस्त गरियो । केही समयपछि राजमाताको मृत्यु सोही गाउँमा भयो । मृत्युको खबरले राजालाई खासै प्रभाव परेन । बरु, उतै साधारण रूपमा दाहसंस्कार गर्न सन्देश पठाउने काम भयो ।
नेपालको इतिहासमा एउटा अध्यायका रूपमा रहेको यो प्रसङ्गले आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य कुरामा के–कति असर प¥यो भन्ने बेग्लै प्रश्न हो । यो प्रसङ्गमा शङ्का गर्ने वा काल्पनिक भनेर टार्नेहरू पनि होलान् । तर, महिला पुरुष दुई अनुहार रहेको गरुडको यो मूर्ति भने ऐतिहासिक स्रोतका रूपमा ठडिएर सम्पूर्ण वृत्तान्त सुनाइरहेको छ ।