यमबहादुर दुरा
सञ्चार संस्कृति हो र संस्कृति सञ्चार हो ।’ अमेरिकी मानवशास्त्री एडवर्ड टी हल (सन् १९१४–२००९) को यो उद्धरणले सञ्चार र संस्कृतिबीच विद्यमान अन्योन्याश्रित सम्बन्धलाई प्रस्टसँग चित्रण गर्छ । सञ्चार र संस्कृतिबीच रहेको घनिष्ठ अन्तरसम्बन्धलाई दर्शाउने यत्तिको सरल र सरस उद्धरण अरू भेटिँदैन । हलको यो बहुश्रुत उद्धरण सन् १९५६ मा निस्किएको उनकै पुस्तक ‘द साइलेन्ट ल्याङ्गुएज’बाट लिएको हो ।
सञ्चार र संस्कृतिबीच अन्तरसम्बन्ध
सञ्चार र संस्कृति एक–अर्काका परिपूरक हुन् । अर्को शब्दमा भन्दा यी दुई एउटै सिक्काका दुई पाटा हुन् । सञ्चार र संस्कृतिलाई एक–अर्काबाट अलगथलग गरेर हेर्न मिल्दैन । यी दुईबीच जति घनिष्ठता सम्बन्ध छ, त्यति नै जटिलता पनि । सञ्चार र संस्कृतिमध्ये कुन पहिले अस्तित्वमा आयो ? यी दुईबीचको सीमारेखा के हो ? यस्ता प्रश्नको कुनै बनिबनाउ र सहज उत्तर छैन । सञ्चार र संस्कृतिले एक–अर्कालाई प्रभावित पार्छ । तर, यी दुईमध्ये कुन शक्तिशाली र प्रभावशाली भनेर खुट्याउनै सकिँदैन ।
सञ्चार जति विशाल, असाधारण र जटिल छ, संस्कृति पनि त्यति नै विशाल, असाधारण र जटिल छ । संस्कृतिमा व्यक्ति, समूह, सङ्गठन र सिङ्गो समाजको यावत् क्रियाकलाप समेटिन्छन्, जसमा एउटा व्यक्तिको मनोवृत्तिदेखि सिङ्गो समाजको मनोविज्ञानसम्म समेटिएका हुन्छन् । संस्कृतिमा तमाम भौतिक र अभौतिक पक्ष जोडिन आइपुग्छन् ।
संस्कृतिका अनेकन् परिभाषा छन् । अमेरिकी मानवशास्त्री एडवार्ड बी टेलर (सन् १८३२–१९१७) ले आफ्नो कृति ‘प्रिमिटिभ कल्चर’ (सन् १८७१) ले दिएको परिभाषा बहुउद्धृत परिभाषामध्ये एक पर्छ । उनका अनुसार समाजको सदस्य भएको नाताले मानिसले प्राप्त गरेको ज्ञान, विश्वास प्रणाली, कला, नैतिक मूल्य–मान्यता, कानुन, परम्परा, क्षमता, बानीबेहोरा आदिको जटिल गठजोड नै संस्कृति हो ।
सञ्चारविद् जेम्स वास्टनले संस्कृतिलाई अझ फराकिलो दायरामा प्रक्षेपण गरेर परिभाषित गरेका छन् । उनी आफ्नो कृति ‘मिडिया कम्युनिकेसन ः थ्यौरी एन्ड प्रसेस’ (सन् २००३) मा लेख्छन्,
‘भाषा, इतिहास, परम्परा, जलवायु, भूगोल, कला तथा आर्थिक, सामाजिक मूल्य–मान्यताबाट संस्कृति बनेको हुन्छ’ (पृ.४९) ।
सञ्चार मानव अन्तरक्रियाको माध्यम हो, जुन संस्कृतिको मूलभूत चालक शक्ति पनि हो । सञ्चारबाट नै संस्कृति निर्माण हुन्छ । सञ्चारकर्मबाट नै एक स्थान र समयमा निर्मित संस्कृति अर्को स्थान र समयमा संस्कृति स्थानान्तरित हुन्छ । सञ्चारबाट संस्कृतिको यात्रा सुरु हुन्छ । सञ्चारबाटै संस्कृतिले निश्चित आकार ग्रहण गर्छ ।
‘एट्लान्टिस प्रेस जर्नल’ (सन् २०१८) मा प्रकाशित एक खोजमूलक लेखमा सञ्चारलाई यावत् मानवीय क्रियाकलाप समेटिने सामाजिक कार्य भनेर चित्रण गरिएको छ । लेखमा सञ्चारले संस्कृतिलाई निश्चित आकार र आकृति दिने दिशामा मुख्य भूमिका खेल्छ भन्ने तथ्यलाई पनि जोड दिएको छ ।
ब्रिटिस सञ्चार सिद्धान्तकार डेनिस मक्वेल (सन् १९३५–२०१७) ले सञ्चारलाई संस्कृतिको सबैभन्दा महŒवपूर्ण गुण मानेका छन् । उनका अनुसार सञ्चारविना संस्कृति विकास हुन, बाँच्न र विस्तार हुन सक्दैन (मक्वेल्स् मास कम्युनिकेसन थ्यौरी, सन् २०१०, पृ.११३) ।
हुन पनि सञ्चारले साँस्कृतिक जीवनमा निर्णायक भूमिका खेल्छ । यसका अनेकन् दृष्टान्त छन् । हाम्रा बाजेबज्यैले भूतप्रेतको कथा नहालिदिएको भए हामीलाई भूतप्रेतको अस्तित्वबारे जानकारी हुने नै थिएन । हामीलाई स्वर्ग–नर्कबारे भलिभाँती नघोकाइएको भए पाप–धर्मबारे ज्ञान हुने थिएन । धर्मगुरु वा पुरेत वर्गले भगवान् र आध्यात्मिकताबारे ज्ञान नबाँडिदिएको भए यस्ता अदृश्य संसार हाम्रो कल्पनामा आउने थिएन कि !
परिवार, विद्यालय र समाजले हामीलाई जीवन र जगत्का तमाम पक्षबारे ज्ञान नपिलाइदिएको भए हाम्रो दिमाग बाँझोबारीजस्तै हुन्थ्यो, सायद । पुस्तौँदेखिको वास्तुकला र अन्य शिल्पकला एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण नभएको भए कलाजगत्को विराटपनसँग हामी सायदै परिचित हुन्थ्यौँ । अघिल्लो पुस्ताले सामाजिक जमघटमा नाचगान नगरिदिएको भए हामीलाई जीवनको साङ्गीतिक आयामबारे कमै जानकारी हुन्थ्यो ।
सामाजिक आचरण, धार्मिक मूल्य–मान्यता र कलाकारिताबारे अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा सञ्चार नभएको भए समाज, धर्म र कलाबारे हामी निरक्षर अवस्थामै रहने थियौँ होला । यी सबै विचार प्रवाह सञ्चारकै कमाल हुन्, जुन सञ्चार नभनीकनै गरिएका सञ्चार हुन् । हामीलाई जीवन र जगत्बारे जानकार तुल्याउने काम सञ्चारले नै ग¥यो । सञ्चारले नै हामीलाई संस्कृति सिकायो ।
मूक भाषा
सञ्चार र संस्कृतिको मूक (निःशब्द) भाषा पनि हुन्छ । कतिपय अवस्थामा यस्ता मूक भाषा शाब्दिक सञ्चारभन्दा पनि शक्तिशाली हुन्छन् । अनेकन् मूक भाषाले व्यक्ति र समाजको ताल र लय प्रवाह गर्छन् । यिनीहरूले बहुधा सांस्कृतिक अर्थ बोक्छन् । यसबारे केही दृष्टान्तहरू हेरौँ ः
पूजापाठ गर्दा शङ्ख फुक्ने एवम् विवाहजस्ता शुभकार्यमा पञ्चेबाजा बजाउने चलन हामीकहाँ छँदै छ, जसले थुप्रै साँस्कृतिक सन्देश प्रवाह गर्छन् । त्यसमा पनि बाजाको ताल र लयले पनि विभिन्न सन्दर्भ र प्रसङ्गलाई इङ्गित गर्छ । बाइसे–चौबीसे राज्यकालमा शत्रुको हमलाबारे सिपाहीले ढोल पिटेर सहकर्मीहरूलाई जानकारी दिन्थे भन्ने लोक कहावत छ । राणाकालमा महŒवपूर्ण राजनीतिक परिवर्तन हुँदा धराहराबाट विगुल फुकेर रैतीलाई त्यसबारे जानकारी दिइन्थ्यो भन्ने प्रसङ्ग इतिहासमा पढ्न पाइन्छ । गाउँठाउँमा धामीझाँक्रीले जोखाना हेर्दा ढ्याङ्ग्रो बज(ाउने चलन पनि छँदै छ । कतिपय समुदायमा मृत्यु संस्कारमा झ्याली–ढ्याङ्ग्रो बजाउने चलन छ । यस्ता वाद्यसामग्रीले निःशब्द रूपमै महŒवपूर्ण जानकारी सञ्चार गर्छन् ।
यसबाहेक पहिरनले पनि मूक भाषा बोल्छ । मानिसले लगाउने गेरुवस्त्र, श्वेतवस्त्र तथा अन्य रूप–रङ्गका वस्त्रले मौन रूपमै महŒवपूर्ण जानकारी प्रवाह गर्छन् । मूलतः यस्ता पहिरनले धार्मिक, आध्यात्मिक तथा सामाजिक रीतभातबारे सन्देश प्रवाह गर्छन् । अर्को कुरा, कुनै व्यक्तिले धारण गरेको पहिरनको ढाँचा, शैली र डिजाइनले उसको चारित्रिक विशेषता र साँस्कृतिक पृष्ठभूमि बताउँछ । भनाइ नै छ, ‘पहिरनले व्यक्तिको चरित्र प्रदर्शन गर्छ ।’
संस्कृतिको आयात–निर्यात
सञ्चारले संस्कृति आयात र निर्यात दुवै गर्छ । खासगरी आमसञ्चारमाध्यमले यस प्रक्रियालाई तीव्रता दिन्छ । संस्कृति आयात–निर्यातको प्रसङ्ग उठाउँदा सबैभन्दा पहिले सञ्चारमाध्यममार्फत कसरी संस्कृति आयात हुन्छ भन्नेबारे एउटा ठेट नेपाली दृष्टान्त हेरौँ ः
विगतमा नेपालका बहुसङ्ख्यक नागरिक क्रिकेट खेलसँग परिचित थिएनन् । विदेशमा बसेर आएका सीमित सङ्ख्याका मानिसमात्र यस खेलसँग परिचित थिए । २०३० को दशकको मध्यदेखि नेपालमा भारतीय टेलिभिजन च्यानल बिस्तारै भित्रिन थाले । सहरका सम्भ्रान्त वर्गले डिस एन्टेना राखेर टेलिभिजन हेर्न थाले । बिस्तारै सर्वसाधारणका घरमा टेलिभिजन पुग्न थाले ।
अङ्ग्रेजले वीजारोपण गरेको क्रिकेट भारतको लोकप्रिय खेलमध्ये एक पर्छ, जसको प्रत्यक्ष प्रसारण र कमेन्ट्री भारतीय च्यानलको नित्यकर्मजस्तै हुन् । नयाँ कुराप्रति नयाँ पुस्ताको चासो स्वाभाविक रूपमा बढ्छ । क्रिकेट खेलप्रति युवा पुस्ताको चासो बढ्दै गयो । उनीहरूले देखासिकी गरेर खाली चौरमा क्रिकेट खेल्ने थाले । क्रिकेटमा अभ्यस्त हुँदै गए । यसले संस्कृतिको रूप ग्रहण गर्दै गयो । एकपछि अर्को गरी क्रिकेट टिमहरू स्थापना हुन थाले ।
क्रिकेट संस्कृतिले नेपालमा पनि जरो गाड्न थाल्यो । अहिले आएर नेपाली क्रिकेट टिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत खरो उत्रिसकेको छ । वास्तवमा क्रिकेट सञ्चारमार्पmत आयात भएको खेल संस्कृति हो । यो त एउटा प्रतिनिधि दृष्टान्तमात्र हो । नेपालमा भित्रिएका अङ्ग्रेजी गीत, विदेशी कुजिन (परिकार) र पहिरनको किस्सा पनि यही हो । यिनीहरू सञ्चारमाध्यममार्फत भित्रिएका संस्कृति (मिडिएटेड कल्चर) हुन् । अब संस्कृति निर्यातबारे कुरा गरौँ । नेपालजस्ता विकासशील मुलुकले उतिविधि संस्कृति निर्यात गर्न सकेको देखिँदैन । मूलतः धनी र वैभवशालीले संस्कृति निर्यात गर्छन् । यहाँनेर, अमेरिकी समाजशास्त्री तथा आर्थिक इतिहासकार इम्यानुअल वलरस्टाइन (सन् १९३०–२०१९) ले सन् १९७० को दशकमा प्रतिपादन गरेको विश्व प्रणाली सिद्धान्त (वल्र्ड सिष्टम थ्यौरी)लाई सम्झनुपर्ने हुन्छ ।
विश्व प्रणाली सिद्धान्तअन्तर्गत केन्द्र (कोर), अर्धबाहिरी परिधि (सेमी–पेरिफेरी) र बाहिरी परिधि (पेरिफेरी) गरी तीन श्रेणीका मुलुक हुन्छन् । केन्द्रमा रहेका मुलुकले बाहिरी परिधिमा रहेका मुलुकतर्फ संस्कृति निर्यात गर्छन् । यहाँ, केन्द्र (कोर) भन्नाले अमेरिका, बेलायतजस्ता शक्तिशाली मुलुक पर्छन् भने बाहिरी परिधि (पेरिफेरी)मा रहेका मुलुकमा नेपाल, भुटानजस्ता विकासशील देशहरू पर्छन् ।
विश्व प्रणालीको केन्द्रमा रहेका मुलुकसँग बीबीसी, सीएनएनजस्ता शक्तिशाली सञ्चारमाध्यम छन् । ‘सफ्ट पावर’का रूपमा रहेका यस्ता सञ्चारमाध्यमको पहुँच र प्रभावकारिता अतिशय चर्को छ । विश्वमा हुने कुल समाचार प्रवाहको ८० प्रतिशत हिस्सा पश्चिमी गोलाद्र्धकै समाचार संस्था एपी, एएफपी, रोयटर्स तथा युनाइटेड प्रेस इन्टरनेसनल (युपीआई)ले ओगट्छन् भन्ने भनाइ छ ।
विश्व प्रणालीका बाहिरी परिधिमा रहेका मुलुकसँग पनि सञ्चारमाध्यम नभएका होइनन् तर तिनको पहुँच र प्रभावकारिता नितान्त कमजोर छ । यस्ता मुलुकले आफ्ना संस्कृति निर्यात गर्न पाएका छैनन् । बरू, एचबीओ, सिनेम्याक्स, एमटीभीजस्ता पश्चिमा साँस्कृतिक उद्योगले निर्यात गरेका संस्कृति ग्रहण गर्ने काम भइरहेको छ ।
एकोहोरो रूपमा अरूको संस्कृति ग्रहण गरिरहँदा हामी आफ्नो मौलिक संस्कृति भुलेर बाह्य संस्कृतिमै रमाउन थालिसकेका छौँ । शक्तिशाली मुलुकले निर्यात गरिरहेका संस्कृतिलाई निर्वाध ग्रहण गर्दा विश्व प्रणालीको बाहिरी परिधिमा रहेका मुलुकको मौलिक संस्कृति तीव्र गतिमा अधपतनतर्पm गइरहेको छ । शक्तिशाली मुलुकबाट भइरहेको साँस्कृतिक अतिक्रमण विकासशील मुलुकले चुपचाप सहिरहेको छ ।
उपसंहार
पाकिस्तानी लेखक जमिल जलिबी (सन् १९२९–२०१९) आफ्नो पुस्तक ‘पाकिस्तान द आइडेन्टिटी अफ कल्चर’ (सन् १९८४, पृ.१४) मा लेख्छन्, ‘मानिस प्राकृतिक रूपमै साँस्कृतिक प्राणी हो, जो सामाजिक प्रणालीमा जिउन चाहन्छ । उसले आफ्नो र अरूको संस्कृतिबीच भिन्नता छुट्ट्याउँछ ।’ जलिबीले भनेकोजस्तै मानवीय गुण हामीमा पनि छ । हामी अरूको संस्कृतिप्रति सम्मानभाव पोख्दै आफ्नो संस्कृतिलाई पृथक देख्छौँ ।
ठेट संस्कृतिको रखबारी गर्नेसम्बन्धमा कतिपयले डच इतिहासकार योहान हाइजिङ्गा (सन् १८७२–१९४५)को स्मरण गर्छन् । हाइजिङ्गाले भनेका छन्, ‘संस्कृति जोगाउनु छ भने त्यसलाई लगातार सिर्जना गरिरहनुपर्छ ।’ अब यतिले मात्र नपुग्ने भयो । समय धेरै चुनौतीपूर्ण बन्दै गएको छ ।
शक्तिशाली मुलुकका सञ्चारमाध्यमले एकतर्फी रूपमा साँस्कृतिक साम्राज्यवाद पैmलाइरहेको यो समयमा धेरै अघि बढेर सोच्नुपर्ने अवस्था आएको छ । अब, हामीले पनि हाम्रो संस्कृतिको उत्पादन, पुनःउत्पादन र निर्यातको दायरा व्यापक बढाउनुपर्ने भएको छ । तर, कसरी ? सञ्चार र संस्कृतिबीच विद्यमान अन्योन्याश्रित सम्बन्धलाई केलाउँदै यस अहम् प्रश्नको उत्तर तपाईं–हामीले खोज्नैपर्ने समय आएको छ ।