बद्रीप्रसाद दाहाल
भाते छाते र खाते, कलम नबन है, ब्रह्म हो लेखनी ता ।
तिल्के झिल्के र मिल्के, कलम नबन है, सभ्यताका पताका ।।
नाम्ले दाम्ले र साङ्ले, कलम यदि बने, देश उक्लन्न माथि ।
भोजी मोजी र झोजी कलम नबन है, चेतनाका समाधि ।।
हट्छन् सन्ताप चर्का, कलम मलम हो, खोज गद्र्यौ सुयन्त्र ।
स्रष्टा द्रष्टा दुवैका, नव–रस बहने, लेखनी हुन् सुमन्त्र ।।
हार्छन् तर्बार भाला, कलम दम बने, शान्ति–सद्भाव खुल्छ ।
मात्रै झुट्टा र बुट्टा, कलम गरम बने, सिर्जना टुट्छ छुट्छ ।।
निन्द्रा तन्द्रा जुगुप्सा, बेथिति कलमले, चिर्न सक्छन् धरामा ।
नौला आँखा खुलाए, अभिनव सिर्जना, फुल्न थाल्छन् गरामा ।।
यै हो ब्रह्मास्त्र रच्ने, भुवनभर कैयौँ, सृष्टिको मूल धार ।
चोखो यै लेखनीमा, जन हक हितका, झन्न बज्छन् सितार ।।