महेश प्रसाईं
रङपर्वका, सनातनी लयहरूमा
सप्तरङ्गी किरणहरूको
कुनै अविश्रान्त होली खेलिरहेकी
कलकल सुन्दरी इन्द्रेनीले
एकदिन मेघनादसित भनी,
तिमी निरभ्र छविका धनी
मौनव्रती भयौ किन
किन भयौ प्रकम्पित कापुरुष,
हतास मानस सरोवरमा
डुबुल्की खेल्दै–खेल्दै,
निष्पन्द क्रीडागङ्गामा
रसहीन लहर लहरिँदै छचल्किँदै
आत्म विसर्जनमा रमाइरहेको
मेघाच्छादित संचेतनाले भन्यो,
धर्ती रजउष्ण
स्कन्धसित
मैले प्रणय गर्न सकिनँ
कदाचित् सकिनँ, कामोत्सव प्रदर्शन गर्न,
सौर्य मण्डलका धारक
कुनै अधुनातन आदम र इभको
रूमानी कन्तविजोग माथि
करुणाले द्रविभूत भएर
अश्वरथि सवार तेजारथले
ढाडस दिँदै भन्यो,
पर्ख कामदेव,
मलाई आफ्नै
स्वैरकल्पनामा, फर्कन देऊ ।