logo
२०८१ मंसिर ९ आईतवार



धार्मिक कथाका चलचित्र

शनिवार |
मनोरञ्जन |


धार्मिक कथाका चलचित्र


विजयरत्न तुलाधर

कुनै पनि समाज वा देशको धार्मिक मूल्य–मान्यता तथा परम्परालाई पनि चलचित्रको पर्दामा प्रस्तुत गर्ने चलन छ । हलिउड भनिने अमेरिकाका चलचित्रमा इसाई धर्मका प्रवर्तक यशुको कथामा आधारित चलचित्र ‘द टेन कमान्डमेन्ट’ देखि ‘द लास्ट टेम्पटेसन अफ क्राइस्ट’जस्ता अनगिन्ती चलचित्र बनेका छन् भने बलिउड भनिने हिन्दी चलचित्रमा रामायण, महाभारतलगायत थुप्रै धार्मिक कथामा चलचित्र र टीभी सिरियल निर्माण हुँदै आएका छन् । चीनका एक बौद्ध भिक्षु ह्वेन साङ्गले बौद्ध धर्मग्रन्थ त्रिपिटकको खोजीमा चीनबाट पश्चिमतिर गरेको यात्रामा आधारित कैयौँ चलचित्र र टीभी सिरियल बनेका छन् । तीमध्ये ‘सि यउ ची’ नामक एउटा टीभी सिरियल विश्व प्रसिद्ध छ । विश्वका अनगिन्ती भाषामा स्वराङ्कन भएको यो सिरियल नेपाली भाषामा समेत ‘पश्चिमतिरको यात्रा’ शीर्षकमा प्रसारण भइसकेको छ । यस्तै, ह्वेन साङ्ग र ऊसँग हिँड्ने एउटा चतुर बाँदरको दन्त्यकथालाई जोडेर ‘द मङ्की किङ’ नाम गरेको चलचित्र चीनले हलिउडसँग मिलेर बनाएको छ । यस्तै भारतसँग मिलेर ‘सुयान चाङ्ग’ नाम गरेको चलचित्र बनाएको छ । ‘सुयान चाङ्ग’को पनि नेपाली भाषामा अनुवाद भई प्रदर्शन भइसकेको छ ।
धार्मिक मान्यताका कथालाई चलचित्रको पर्दामा प्रस्तुत गरिएको उदाहरण विश्वमा धेरै भेटिन्छन् । नेपालको सन्दर्भमा भन्ने हो भने, पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ नै धार्मिक कथा बोकेको चलचित्र हो । यसपछि धार्मिक मान्यताका कथा बोकेका चलचित्र खासै बनेको पाइँदैन । तर, चलचित्र निर्माणको इतिहास भने करिब ७० वर्षको भइसकेको छ । बुद्ध धर्मका कथामा आधारित ‘चण्डालिका’, ‘पटाचारा’, ‘कृषा गौतमी’, ‘सेरी बन्जा’ जस्ता केही चलचित्र नेपाल भाषामा बनेर प्रदर्शन भइसकेका छन् । ‘घोषक’ र ‘कर्म’ शीर्षकका यही भाषाका प्रदर्शोन्मुख चलचित्र हुन् । बुद्ध धर्ममा आधारित ‘अङ्गुलिमाल’ भने नेपाली भाषामा नै बनेको टेलिचलचित्र हो ।
यसरी बुद्ध धर्ममा आधारित केही चलचित्रबाहेक नेपालमा बनेका धार्मिक चलचित्रमा निर्माता उद्धव पौड्यालले निर्माण गर्नुभएको ‘जय बाबा पशुपतिनाथ’ तथा निर्देशक यादव खरेलको निर्देशनमा बनेको ‘श्रीस्वस्थानी’ चलचित्र मात्र प्रदर्शनमा आएको छ ।
श्रीस्वस्थानीको कथासँग माघ महिनाको गहिरो सम्बन्ध छ । हिन्दु धर्मावलम्बीको घर–घरमा श्रीस्वस्थानीको कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म अर्थात् एक महिना कथावाचन र श्रवण गरिन्छ र व्रत पनि बसिन्छ । श्रीस्वस्थानी महात्म्यको जनजीवनमा ठूलो प्रभाव रहँदै आएको छ । श्रीस्वस्थानी कथामा वर्णन गरिएको पवित्र धार्मिक स्थल शाली नदी हो । यो नदी काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा छ । पौराणिककालमा स्वर्गका अप्सरा र त्यतिबेला लावण्य देश भनिने साँखुका राजा नवराजकी पत्नी चन्द्रावती गहिरो सङ्कटमा परे । यो सङ्कटलाई टार्न शाली नदीकिनारमा बसेर उनीहरूले श्रीस्वस्थानीको कठिन व्रत बसे । फलस्वरूप सङ्कटबाट मुक्त भई पति नवराजसँग चन्द्रावतीको मिलन भएको र अप्सराको पनि दुःख निवारण भएको वर्णन स्वस्थानी कथामा छ । यही कथामा आधारित भएर ‘श्रीस्वस्थानी’ चलचित्र बनेको हो । यसको सम्पूर्ण सुटिङ नेपालमै भएको थियो ।
यसैगरी, ‘जय बाबा पशुपतिनाथ’ हिन्दुहरूको आराध्यदेव पशुपतिनाथप्रतिको आस्थामा आधारित चलचित्र हो । नेपाली र हिन्दी भाषा गरी दुई भाषामा निर्माण गरिएको यस चलचित्रका निर्माता उद्धव पौड्याल हुनुहुन्छ भने निर्देशन भारतका सतिश कुमारले गर्नुभएको हो । यो चलचित्रको कतिपय सुटिङ भारतको गुजरातस्थित वृन्दावन स्टुडियो गरिएको थियो ।
माघ महिनामा वाचन गरिने श्रीस्वस्थानी कथा र साँखुको शाली नदीमा बसिने यो व्रतमा आधारित ‘श्रीस्वस्थानी’ चलचित्रमा अभिनेत्री जल शाहले श्रीस्वस्थानी माताको भूमिका निर्वाह गर्नुभएको छ । यसैगरी, महादेवको भूमिकामा राकेश खड्का, शिव ब्राह्मणको भूमिकामा उमेश मायालु, भगवान् विष्णुको भूमिकामा रघु गौतम, पार्वतीको भूमिकामा पूजा चन्दलगायत कलाकारले अभिनय गर्नुभएको छ । ‘श्रीस्वस्थानी’ चलचित्रबाहेक ‘तिलहरी’ चलचित्रमा पनि श्रीस्वस्थानी व्रतकथाको महिमा वर्णन गरिएको छ ।
सन् १९७५ मा प्रदर्शित ‘जय सन्तोषी माँ’ नामक हिन्दी चलचित्रबाट प्रभावित भई ‘तिलहरी’ चलचित्र निर्माण गरिएको हो । यसका निर्देशक बन्नी प्रधान र रेशराज आचार्य हुनुहुन्छ । मौसमी मल्ल, भुवन केसी र कृष्टि केसीको यसमा प्रमुख भूमिका छ । मौसमी मल्लले घरपरिवारबाट दुःख–कष्ट बेहोर्नुपरेकी एक महिला पात्रको भूमिकामा अभिनय गर्नुभएको छ । दुःख–कष्टमा परेकी पात्र मौसमी मल्लले श्रीस्वस्थानीको कठिन व्रत बसेको र दुःख–कष्टबाट मुक्त पाएको कथा यसमा देखाइएको छ । यो चलचित्रको ‘जयजय श्रीस्वस्थानीमाता महिमा तिम्रो अपार’ बोलको गीत अत्यन्त लोकप्रिय भएको थियो भने अहिले पनि श्रीस्वस्थानी कथा वाचन गर्ने र व्रत बस्ने महिनामा यो गीत बजाइन्छ ।
‘जय सन्तोषी माँ’बाट प्रभावित एक अर्को नेपाली चलचित्र ‘महामाया’ पनि हो । बाघ निर्देशकका रूपमा ख्यातिप्राप्त प्रकाश थापाले निर्देशन गर्नुभएको यो चलचित्रमा अभिनेत्रीहरू गौरी मल्ल र मिथिला शर्माले दुःख–कष्ट बेहोर्नुपरेका नारीको भूमिका निर्वाह गर्नुभएको छ । महामाया देवीको व्रत बसेर यो दुःख–कष्टबाट मुक्ति पाएको पनि चलचित्रमा देखाइएको छ ।
यी चलचित्रका अलावा गत वर्ष युट्युबमा ‘श्रीस्वस्थानी महिमा’ शीर्षकको एउटा चलचित्र प्रदर्शन भएको थियो । यो चलचित्र करिब चार घण्टाको छ । युट्युब यतिखेर सञ्चारको एक प्रभावशाली माध्यम बनेको छ । रेशम सापकोटाको परिकल्पना र निर्देशनमा बनेको यस चलचित्रमा रेशम सापकोटा स्वयम्ले महादेवलगायत केही भूमिकामा अभिनय गर्नुभएको छ । कथा वाचनको शैलीमा निर्माण गरिएको यस युट्युब चलचित्रमा रेशम सापकोटा स्वयम्ले सशक्त ढङ्गमा कथा वाचन गर्नुभएको छ । चलचित्रलाई सिँगार्न गीत–सङ्गीत र नृत्यको सहारा लिइएको छ ।
चलचित्र श्रव्य–दृश्यको माध्यमबाट प्रस्तुत गरिने विधा हो । त्यसैले यसमा कथालाई सकेसम्म श्रव्य–दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । यो चलचित्र पूरै हेर्दा करिब चार घण्टाको छ । यसलाई विभिन्न खण्डमा विभक्त गरी प्रस्तुत गरिएको पाइन्छ । करिब आधा–आधा घण्टाका विभिन्न भागमा महादेवको जालन्धर युद्ध, गोमालाई श्राप, स्वस्थानीको प्रसाद लुटे विष्णुले, गोमाको स्वस्थानी व्रतलगायत कथालाई छुट्टाछुट्टै पनि राखिएको छ ।
तरेली सङ्गीत कुञ्जले प्रस्तुत गरेको ‘श्रीस्वस्थानी महिमा’ चलचित्रलाई करिब तीन लाख पैँतीस हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । श्रीस्वस्थानी व्रत कथा वाचनकै शैलीमा प्रस्तुत गरिएको यस चलचित्रको निर्माताका रूपमा मीरा सापकोटा रहनुभएको छ । नेपाली चलचित्र जगत्का लोकप्रिय कलाकार लोकनाथ अधिकारीको पनि यसमा प्रमुख भूमिका रहेको छ । यसैगरी, रेशम सापकोटाको साथमा चिरन अधिकारी, वसन्ती भट्ट, सपना वली, नन्दा बस्याल, पवित्रा रिजाल, कुमार बोगटी, अर्जुन कँडेल, रोशनी सापकोटा, कुमार बोगटी, चन्दा बोगटीलगायत धेरै कलाकारले अभिनय गर्नुभएको छ । प्रविधिको विकास सँगसँगै श्रव्य–दृश्यको विशेष प्रभाव (भीएफएक्स) पनि सरल हुँदै गइरहेको वर्तमान अवस्थाको लाभ उठाउँदै कतिपय दृश्यलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको यो चलचित्र यादव खरेलको ‘श्रीस्वस्थानी’ जति प्रभावकारी नभए पनि श्रीस्वस्थानी कथालाई पूर्ण रूपमै प्रस्तुत गरिएको हुनाले यसको महŒव बेग्लै छ । अझ कथालाई आवश्यकताअनुसार खण्ड–खण्डमा पनि विभक्त गरेर प्रस्तुत गरिएको यो चलचित्रलाई श्रीस्वस्थानीको कथा बोकेको एक महŒवपूर्ण चलचित्रका रूपमा लिनु पर्छ । विश्वभर फैलिएर रहेका श्रीस्वस्थानीका श्रद्धालु दर्शकमाझ युट्युबमार्पmत पुगेकाले यो चलचित्रको महŒव आफ्नै छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?