जीवनाथ धमला
बालकृष्ण सम सम्पन्न शासक परिवारमा जन्मेका हुनाले घरवरिपरिको वातावरण पनि मनमोहक एवम् चित्ताकर्षक हुनु स्वाभाविक थियो । त्यहाँका पुष्पवाटिका, लतालहरा एवम् चिडियाको चिर्बिराहटले बाहै्र महिना वसन्त ऋतुको प्राञ्जलतालाई अनुभूत गराइरहन्थे । नजिकका पोखरी, वनवाटिका, फलोद्यानबाट ग्रीष्म ऋतुमा बहने मन्द हावाले दरबारका शृङ्गारिक कक्षलाई सुगन्धमय पाथ्र्यो । दरबारको कम्पाउन्डबाहिर निस्केर पर गल्लीमा फाटेका भोटो, कछाड लाएर नाङ्गा पैताला हिँडिरहेका र नुन, तेल, मसला किन्न सहर आउँदै जाँदै गरेका नेपालीको अनुहारलाई चिन्न पाउने स्वतन्त्रता बालक समलाई थिएन । तर, दरबारपरिसरकै एकान्त स्थलमा गएर उनी प्रकृतिसित साउती गर्थे । दरबारमा प्रायः नाटक मञ्चन भइरहन्थ्यो । पौराणिक नाटकका पात्रले दरबारिया दर्शकलाई सन्तुष्टि दिन कुनै कसर राख्दैनथे । कहिलेकाहीँ नाटक हेर्दाहेर्दै दर्शक सुँक्सुँकाउन पनि थाल्थे । बालक समलाई सुखान्तभन्दा दुःखान्त नाटकले बढी प्रभाव पाथ्र्याे । उनी परिसरका एकान्त स्थलमा गएर मनमनै दुःखान्त नाटकको अभिनय पनि गर्थे । यस्तै एकान्तले समलाई नाटक, कविता लेख्न अज्ञात रूपमै प्रेरणा दिए । उनले भनेका छन्, ‘अज्ञात भावले मनमनमा नाटकको अभिनय म त्यहीँ गएर गर्थें । मलाई थाहा थिएन, हृदयमा कविता, नाटकले गर्भाधारण गरेको रहेछ, चरीलाई जस्तै आन्तरिक प्रेरणाले गुँड तयार गर् भन्दो रहेछ । मचाहिँ त्यसैले आँसुका त्यान्द्रातुन्द्री पातपतिङ्गर जम्मा पार्दै हिँड्दोरहेछु । त्यही कवितालाई आह्वान रहेछ ।’ (मेरो कविताको आराधना)
बालकृष्ण समलाई घरमा अक्षरारम्भ गराउने गुरु महाकवि लक्ष्मीप्रसाद देवकोटाका पिताजी तिलमाधव देवकोटा थिए । १९५९ साल माघ २४ गते जन्मेका समले १९६३ सालदेखि नै पढ्न थाले । समले सम्झेका छन्, ‘१९६३ साल श्रीपञ्चमीको दिन थियो । हाम्रो नाच बैठक
(नाट्यशाला) भित्र गुरु तिलमाधव देवकोटाले मलाई आफ्नो काखमा राखेर अबिर दलेको पाटीमा खरीले लेख्दै सेतो कपुरी ‘क’ चिन्हाएका हुन् । त्यो कविताको पहिलो अक्षर रहेछ ।’
समले नेपाली वर्णमालाको पहिलो अक्षर ‘क’ लाई, आफ्नो सिर्जनात्मक यात्रामा आजीवन साथमै रहेको कविताको पनि पहिलो अक्षर भएको अनुभूत गरेको स्मरण गरेका छन् । तिलमाधव देवकोटा समका पिताजी जनरल समरशमशेरका पनि गुरु भएकाले उनीहरूका बीचमा कविताका विषयमा कुराकानी भइरहन्थ्यो । समरशमशेर पनि कविता लेख्थे । घरमा भइरहने गुरु र पिताबीचका कविता चर्चाबाट समलाई कविता स्फुरण हुने वातावरण बन्यो । १९६७ सालमा उनले पहिलो कविता लेखे–
माषा (खा) मुठीको सबलाई हेरी
राज हुन्छ नारायण बीष्नु मेरी ।।
नारायण विष्णु सृष्टिकर्ता हुन् । उनले झिँगा, कीराफट्याङ्ग्रादेखि मानिससम्म सबैको सृष्टि गरेका हुन् । हामी मनुष्य विष्णुका हातको माखाजस्तै हौँ भन्ने आसय कवि समको रहेको पाइन्छ । उक्त कविता अंशलाई १९६८ सालमा राजा त्रिभुवनका पिता पृथ्वी वीरविक्रम शाहको निधनपछि उत्पन्न भाव परिवेशमा पूरा गरेको कुरा समले उल्लेख गरेका छन् । पछि पूरा गरिएको उक्त कवितामा आठ पङ्ति रहेका देखिन्छन् । समको दोस्रो कविता त्यसबेला ज्योतिषीले भुइँचालो जाने हल्ला चलाएपछि दरबारमा उत्पन्न मानसिक चिन्ता र छट्पटीबाट प्रेरित भएर लेखेको भन्ने बुझिन्छ । भुइँचालो जाने ज्योतिषीको भविष्यवाणीबाट सारा थरहरी भए । त्यसबेलाको धर्मभीरू समाजले भुइँचालो जाने कुरालाई ईश्वरीय कुदृष्टि परेको सम्झनु स्वाभाविक थियो । बाँचेकै बेला दान–पुण्य गरे परत्र सपार्न सकिन्छ भन्ने विश्वास उसबेलाको राणा परिवारमा पनि छँदै थियो । सबैका मनमा भय र मुखमा हरिको नाम थियो । बालक कवि समले लेखेका छन्, ‘...बालकैमा मर्न डराएको मलाई एउटा कोपिलासित समवेदना हुन थाल्यो– नफुल्दै त्यो मर्न लागिरहेछ, त्यस सन्तापमा कविता जन्म्यो –
हरे यो संसारमा जलथल हुन्या जानि मनमा ।
ति ज्ञानी जन्हेरु फरक नगरुन् राम मनमा ।
तिनै लोकका पिता स्वरग ति उज्याला गगनमा ।
अधिक सोभा हुन्या मणिजडित पाऊ उपरमा ।”
समको यो कविता आठ पङ्तिमा विस्तारित छ । कवितामा हुनेवाला दुःखबाट मुक्तिको कामना गरिएको छ । आठ÷नौ वर्षका बालक समले ईश्वरीय अनुकम्पाप्रति जीवनको भरोसा राखेर त्यसबेला लेखेको यस कविताले उनीभित्र भुलभुलाएको कवि प्रतिभाको संवेदनशीलतालाई सहजतापूर्वक प्रस्फुटन गरेको पाइन्छ । सममा सहज कवित्व थियो; त्यसले घरायसी वातावरणबाटै निष्कासित हुने अवसर पायो । उनमा रहेको सुकोमल र तीव्र भावोद्वेगलाई दरबारभित्रको धार्मिक परिवेशले भुल्भुलाएर प्रवाहित हुन प्रेरित ग¥यो । समका बाल्यकालीन अन्य केही कविता पनि ईश्वरप्रतिका बाल्यचिन्तनको केन्द्रीय भावभूमिमा रचिएका छन् ।
समका प्रारम्भिक चरणका कविताले तत्कालीन राणा दरबारभित्र रहेको धार्मिक, आध्यात्मिक विश्वासलाई बुझ्न मद्दत पु¥याउँछन् । राणा शासक परिवार जतिसुकै वैभव र सम्पन्नताप्रदत्त आडम्बरी जीवनमा चुर्लुम्म डुबेको भए पनि उनीहरूमा आन्तरिक शान्ति र सन्तुष्टिको माध्यम भने ईश्वरभक्ति नै रहेको कुरा समका तत्कालीन कविताबाट थाहा पाउन सकिन्छ ।
समले लेखेका कैयाँै नाटकमा ईश्वरीय चिन्तनमा केन्द्रित संवाद पर्याप्त पाइन्छन् । जोकोहीमा पनि उसका ईश्वरलाई हेर्ने र बुझ्ने दृष्टिकोणलाई समयसँगै हुने अध्ययन र चिन्तनले परिष्कृत बनाउँदै लैजान्छ । समद्वारा आफ्नो उमेर र साहित्यिक साधनाको प्रौढावस्थातिर लेखिएको ‘म पनि देवता मान्छु’ (यो कविता सर्वप्रथम २०२० सालमा लैनसिंह वाङ्देललगायतका साहित्यकारको सम्पादनमा प्रकाशित हुन थालेको हिमानी साहित्यिक पत्रिकाको वर्ष १, अङ्क ३ मा पहिलोपटक प्रकाशित भएको बुझिन्छ ।) शीर्षक कविता एक उत्कृष्ट कविता हो । यस कवितामा समको ईश्वर चिन्तनको परिपक्वता झल्किन्छ । यस कवितासम्म आइपुग्दा सम काल्पनिक ईश्वरप्रतिको धर्मभिरुतामा विश्वास गर्दैनन् । उनी ईश्वरलाई मानव मस्तिष्ककै उपज भएको ठान्छन् । उनी मानवभित्रकै मानवीयतामा ईश्वर देख्छन् । उनी नास्तिक छैनन् तर आस्तिक हुनुको अर्थमा उनी ईश्वरीय अन्धता र जडतामा विश्वास गर्दैनन् । प्राकृतिक शक्ति जसले मानवलाई मानव हुनुको सामथ्र्य प्रदान गरेको छ; जसले सारा जीव–जगत्लाई आ–आफ्नो भौतिक अस्तित्वभित्रको चेतन तŒवलाई जन्म दिएको छ; जसले पृथ्वीलाई गतिशील एवम् चलायमान बनाउँदै यसभित्रका प्राणीमात्रमा जीवन सञ्चार गराइरहेको छ; सम त्यहाँ र त्यसमा ईश्वर देख्छन् । जोगीलाई कवि समले अमूर्त विश्वासका आधारमा ईश्वरीय दर्शनको खोजीमा लागिरहेका मानिसको विम्ब बनाएर उसैसँगका एकालाप संवाद शिल्पमा अभिव्यक्त कविताका माध्यमबाट वास्तविक ईश्वर के हो भन्ने चिन्तनलाई प्रस्तुत गरेका छन्–
तिमी उस्लाई आँखा चिम्लँदा अमूर्त चिन्तनको बादलमा देख्छौ
म उस्लाई आँखा उघार्दा प्रत्येक मानिसको प्रिय दर्शनमा देख्छु ।
ईश्वरीय शक्ति र स्वरूप मनुष्यभित्रको सत्यम्, शिवम्, सुन्दरम्मा रहन्छ । मानिस स्वयम् ईश्वरीय प्रतिरूप हो । आफैँले आफैँलाई नियाल्न, अनुभूत गर्न सक्यो भने प्रत्येक मानिसमा ईश्वरको प्रतिविम्ब छ । ईश्वर खोज्न आँखा चिम्लेर शून्यताको आकाश चढ्नुपर्दैन । एउटा मानिसले अर्को मानिसलाई ईश्वरको रूपमा भेट्टाउन सक्छ । स्वर्ग र नरक भन्ने यसै धर्तीमा छन् । धर्तीलाई मानव श्रम, सीप, बुद्धि एवम् सिर्जनाले स्वर्ग बनाउन सकिन्छ । आँखा चिम्लेर स्वर्ग देखिन्न, अमूर्त चिन्तन गरेर स्वर्ग भेटिन्न । कल्पनाको स्वर्गमा कहिल्यै पुगिँदैन । कर्म गर्ने हो भने पृथ्वीमै स्वर्गको प्राप्ति हुन सक्छ । आत्मरतिमा रमाउँदै समयबाट विमुख बनेर ईश्वरको प्राप्ति हुँदैन । मानिसले मानिसप्रतिको दायित्व निर्वाह गर्न सकेमा ईश्वरप्रतिको दायित्व पूरा गर्न सकिन्छ । पारिवारिक जीवनको त्याग वा पारिवारिक बन्धन भन्दै कर्तव्यबाट अलग्गिएर ईश्वर भेट्न सकिन्न भन्दै कवि सम भन्छन्–
तिम्रा बा तिम्रो अघिल्तिर हात पसारी उभिएका छन्
तिम्री आमा झुत्रो मजेत्रोको टुप्पा फैलाइरहेकी छन्...।
मानवको सेवा नै ईश्वर प्राप्तिको प्रथम कर्म हो, कविताका पङ्तिमा सम सविस्तार वर्णन गर्छन् । पृथ्वीतलका मानिस सबै आमा, बाबु, छोरा, छोरी र आफन्तमात्र हुन् । मनको उच्च चैतन्यावस्थामा सबै समान छन् । तिनलाई हँसाउन सक्नु नै ईश्वरसँग साक्षात्कार हुनु हो । सम भन्छन्, ‘भित्री आँखा चिम्लेर त अन्धकारमात्र पाइन्छ । उज्यालो त खुला अन्तरचक्षुको हेराइमा छ–
आँखाभित्र त अन्धकार मात्र छ
उज्यालो तिम्रो बाहिर छ
तिनलाई हँसाई धरणीमा
कैलाश, स्वर्ग, बैकुण्ठ उमार...।”
सम भन्छन्– जोगी तिमी आँखा उघार, तिमीले संसारलाई उज्यालो स्वर्गझैँ हाँसिरहेको पाउनेछौ ।
समलाई मानिस अपमानित भएको मन पर्दैन । धर्मको नाममा लेखिएका कतिपय दर्शनमा मानिस अपमानित भएको छ । जातपात, छुवाछूत, उचनीचलगायतका अनेक बेथितिका अध्याय लेखिएका छन् । तिनमा सत्य छैन, तिनमा भएका असत्यलाई जलाएर त्यसबाट निस्केको प्रकाशमा सत्य के हो भनेर देखाउन आफूले कविताका माध्यमबाट अग्रसर हुन चाहेको समले बताउन खोजेका छन्–
जोगी, म दर्शनको नामले कवितामा
कल्पना गरी मानिसलाई
अपमान गरेको देखिसहन्न
कविताको नाममा
असत्यलाई सल्काएर
त्यस्को प्रकाशमा दर्शन स्पष्ट्याउन चाहन्छु...।
कवितारूपी दर्शन गीताझैँ होस्; जसले मानिसलाई सामान्य कुपमण्डुकताबाट उचालेर उच्च मानवत्वको चैतन्य घाममा पु¥याउन सकोस् भन्ने सम चाहन्छन् ।
ईश्वरको नाममा मानिसलाई बिर्सेर गरिने प्रार्थनाको कुनै अर्थ नहुने एवम् निराकार ईश्वरभन्दा साकार मानवमा ईश्वरको निवास हुन्छ भन्ने सन्देश समले यस कवितामार्फत दिएका छन् । कतिपय साहित्यकार, समालोचकले समलाई अनिश्वरवादी वा नास्तिक हुन् भनेका छन् । तर, आस्तिकता वा नास्तिकता के हो ? सनातन धार्मिक साँस्कृतिक विश्वासका आधारमा रचित साहित्यमा ईश्वरीय रूपहरू निराकारमय छन्, शून्यतातर्फको चिन्तनमा आधारित छन् । सम कल्पित ईश्वरमा नभई, मानिस नै ईश्वरको प्रतिरूप हो भन्नेमा विश्वास गर्छन् । देवता मानिएका राम, कृष्ण आदिद्वारा मानवीय क्षमताकै असाधारण प्रदर्शन गरिएको पाइन्छ । मानिसले आफ्नै प्रतिभा र क्षमताले पृथ्वीमै स्वर्गको रचना गर्छ, गरिएको छ । अमूर्त परिकल्पनामा नभई मूर्त, दृश्यवान् मानवमा नै ईश्वरीय गुण देख्ने समलाई यथार्थवादी आस्तिक भन्न सकिन्छ । आँखा चिम्लेर अविदित रहस्यतर्फको चिन्तन गर्ने जोगीको निराकार ईश्वर समका ईश्वर होइनन् । समका ईश्वरमा मानवता प्रत्यक्ष मुस्कुराउँछ । दीनहीन मानिसको सेवातर्फ निःस्पृह रहँदै शून्यवत् चिन्तनमा मग्न जोगी आस्तिक हुन सक्दैन भन्ने समको दृष्टिकोण रहेको पाइन्छ । समले जोगीको विम्ब प्रयोग गर्दै जोगीकै समान अमूर्त, निराकार ईश्वरको चिन्तन गर्ने मानिसलाई पनि सुकर्म एवम् मानवसेवातर्फ प्रवृत्त रहन आह्वान गरेका छन् । समले ‘म पनि देवता मान्छु’ कवितामा ईश्वरको विरोध गरेका छैनन्, जोगीको ईश्वरप्रतिको दृष्टिकोण र व्यवहारप्रति भने असहमति राखेका छन् ।
सर्वव्यापी, सर्वज्ञ, सर्वशक्तिमान् आदिलाई म शब्द मान्दछु,
यिनका स्रष्टा मनुष्यकै मस्तिष्कलाई म वेद मान्दछु,
विशुद्ध मनुष्य स्वभावलाई म बुद्ध मान्दछु,
विश्वका मान्छेलाई नै सर्वोच्च अनन्तकोटी द्यौता मान्छु...।
यस कविताले समको बौद्धिक उच्चता, अध्यात्मप्रतिको यथार्थ चिन्तन एवम् मानवतावादप्रतिको विश्व दृष्टिकोणलाई स्पष्ट पारेको छ । उनका अनेक सिर्जनाकृतिभित्र व्यक्त भएका धर्म, अध्यात्म एवम् मानवतावादसम्बन्धी सापेक्ष चिन्तनहरू यस कवितामार्फत सघन रूपमा उद्बोधित भएका छन् । कवितामा सन्निहित विषयवस्तुगत बहुपक्षीयताका दृष्टिले समद्वारा रचित ‘म पनि देवता मान्छु’ कविताको आयाम निकै फराकिलो प्रतीत हुन्छ । निराकार एवम् अमूर्त ईश्वरवादी चिन्तनको दार्शनिक धरातललाई मानवतावादी एवम् यथार्थवादी दार्शनिक चेतद्वारा अभिसिञ्चन गराउन महाकवि देवकोटाको ‘यात्री’ र नाट्यसम्राट बालकृष्ण समको ‘म पनि देवता मान्छु’ शीर्षक कविताहरूले झण्डै समान काव्यिक शिखरत्व प्राप्त गरेका छन् भन्न सकिन्छ । यद्यपि, यहाँ यी दुवै स्रष्टाका दुई अमर कवितामा तुलनाको ध्येय राखिएको होइन ।
समद्वारा आफूमा अङ्कुरित स्रष्टाचेतको सुदूरपूर्वमा लेखिएका अध्यात्म भावभूमिमा आधारित कविता र जीवनको मध्योत्तर प्रौढावस्थामा लेखिएको ‘म पनि देवता मान्छु’ कविताका बीचमा तुलना हुन सक्दैन । प्रारम्भमा ईश्वरीय अस्तित्वप्रतिको घनिभूत विश्वाससहितको पारिवारिक वातावरणमा हुर्कंदै गरेका समले त्यसबेलाको आफ्नै ईश्वरानुभूतिलाई जीवनको गतिसँगै ज्ञान, बुद्धि, विवेक र चिन्तनको कसीमा घोट्दै गए । कवितायात्राको प्रारम्भमा रहेको काव्यचेतले उत्कर्षता प्राप्त गरेपछि त्यसबेलाका अनुत्तरित जिज्ञासा एवम् प्रश्नहरूले उत्तर प्राप्त गर्दै आए । त्यसकै सार्थक उपलब्धिस्वरूप ‘म पनि देवता मान्छु कविताको जन्म भएको मान्न सकिन्छ । यस कवितामा जे–जति र जस्ता दार्शनिक एवम् मानवतावादी चिन्तनको प्रवाहशीलता, प्राबल्य र घनत्व छ, तिनको खोजी र प्राप्तितर्फका प्रश्नका अङ्कुरहरू भने १९६० को दशकका उनका बालकविताहरू नै थिए भन्ने महसुस गर्न सकिन्छ । सम निराकार ईश्वरवादी नभएर साकार ईश्वरवादी कवि हुन् भन्न सकिन्छ । उनको साकार ईश्वर ‘मान्छे’ हो ।