कुमारी लामा
नेपाली युवाले तय गरेको वैदेशिक रोजगारीको यात्रा निकै लामो छ । केही समय अघिसम्म पनि वैदेशिक रोजगारीमा गएकाहरूलाई लाहुर लागेको या लाहुरे भनी सम्बोधन गर्ने गरिन्थ्यो । त्यसको पछाडि एक खास ऐतिहासिकता जोडिएको छ । कम्पनी सरकारको लाहोरस्थित फस्ट गोर्खा फौजमा नेपाली युवालाई भर्ना लिन थालेको १८७२ सालपछि नै भारतको जुनसुकै ठाउँमा कामका लागि जानेलाई लाहुरे भन्न थालियो (सरदार भीमबहादुर पाँडे) । दुई शताब्दीअघि नै सुरु भएको लहुर चलनमा होमिएका नेपाली युवामध्ये धेरैले पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान पनि गुमाए । लाहुरेहरूले देश भिœयाएको पैसाको रौनकले एक समय गाउँघर झिलिमिली पारेकै हो । त्यसैको सिको र मानिसमा बढ्दै गरेको सुखी जीवनको महìवाकाङ्क्षाको परिणाम आज पर्यन्त लाहुर लस्कर चलेकै छ । पहिला भर्ती भई लाहुर लाग्नेहरू आज मानव तस्करका एकसे एक एजेन्टमार्फत विदेशी भूमिमा श्रम बेच्नका लागि तँछाडमछाड गर्दैछन् । सहज छैन, अर्काको भूमिमा पसिना बगाई पैसा फलाउन । कतिपय ऋणसम्म तिरेर फर्कन्छन् भने कति त काठको बाकसमा पार्सल भई देश पस्छन् ।
वैदेशिक रोजगारीले दिएका अनेकन कहरिलो समयको संस्मरणसहित लेखक बीएन जोशी आफ्नो पछिल्लो कृति ‘श्रमाटन’ लिई आउनुभएको छ । ‘श्रमाटन’ रोजगारीका लागि मलेसिया छिर्ने असफल प्रयत्न गर्दाको जोखिमपूर्ण यात्रादेखि, कतार र दुबईमा काम गर्दाका पीडादायी अनुभवको फेहरिस्त हो । साथमा यस पुस्तकले देशमै रोजगारीका अवसर खोज्नुभन्दा विप्रेषणको भरमा देश चलाउन उद्दत सरकारप्रति पनि गतिलो व्यङ्ग्य गरेको छ ।
नेपाली जनतामा ठूलो आशाको सञ्चार गर्दै २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भयो । त्यसैताका नेपालीहरूका लागि विस्तारै खुल्दै थियो विश्व श्रम बजार । मलेसियालगायतका कतिपय देशले भने विदेशी श्रमिकहरूलाई कानुनीरूपमा भिœयाउन आनाकानी नै गर्दै थिए । त्यसैताका गैरकानुनी तवरबाट मलेसिया छिराइदिने प्रलोभनमा पार्ने धेरै एजेन्ट सलबलाइसकेका थिए हाम्रै समाजमा । गैरकानुनीरूपमा छिरेका उनीहरू परिणामस्वरूप थाइल्याण्ड र मलेसियाको सीमा जङ्गलमा अलपत्र पर्न थालिसकेका पनि थिए । तिनै एजेन्टहरूको मीठो कुराले अभरमा पारेको देखिन्छ लेखक जोशीलाई पनि । कैयौँ दिनको जङ्गल, समुद्र पार गराउँदै रातारात मलेसिया बोर्डरमा पु¥याइएका उनीहरू अन्तमा पक्राउ पर्छन् । १२ दिनसम्म मानव अधिकारका न्यूनतम कुराबाट पनि वञ्चित भई मलेसियाको जेलमा बस्न बाध्य हुन्छ त्यस टोली । जेलमा आधा पेट फुक्को भात खानु र मात्र कट्टु लगाई नाङ्गै बस्नुपर्ने लाजमर्दो अवस्थाबाट आहत छन् ती युवा ।
जेलबाट निस्कँदा घुसखोर मलेसियाली प्रहरीले टुथपेस्ट र किताबभित्र लुकाइएका डलर पनि सफाचट पारिसकेका हुन्छन् । नाङ्गो हात र अनेकन मानसिक यातनासहित त्यस जत्था बोर्डर कटाइन्छन् (पृ.५४) । सुखको चाहमा वैदेशिक रोजगारीमा होमिएका युवा अनेकन बहानामा विदेशी जेलमा सढेकै छन् आजपर्यन्त । कतिपयले त मृत्युदण्डको सजायसम्म पाएका घटनाहरू समाचारमा आइरहन्छन् । तर ज्याद्रो छ मानव स्वभाव । लेखक र उहाँको टोलीमा भएका अन्य नेपालीहरू फेरि पनि मलेसिया छिर्ने प्रयत्नमा झन् बढी विजोगमा परेको देखिन्छ । निकै दिन जङ्गलमा भोकै भौँतारिनु, जङ्गली जनावरदेखि सर्पसम्मको डर त्रासमाझ अनेकन मानसिक अवसादमा फस्छन् युवा । लेखक भोगाइ एक प्रतिनिधि अनुभव मात्र हो । मलेसियालगायतका देशहरू जान आज त्यसखाले जोखिम मोल्नु नपरे पनि अमेरिकातिर छिर्ने सपनामा लाखाँै लाख स्वाहा पार्दै जङ्गल र समुद्रको जोखिमपूर्ण यात्रा गर्दैछन् युवा । विदेश मोह, पैसासँग जोडिने खुसी र सुखले खासमा आजको पिँढीको मनोविज्ञान निकै भिन्न बन्दै गएको छ । श्रमाटनभित्र जोशीले वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा नौ वर्ष बिताएका पीडापूर्ण समय समेटिएका छन् । कामदारको पक्षमा बोल्दाको परिणामस्वरूप १२ दिन कतारी आउटजेलमा बसी देश फिर्ता भएको घटनादेखि अरबको मरुभूमिमा सुकुटी (लास) भेटेका अतीव अनपेक्षित घटनाका साक्षी हुनुहुन्छ लेखक जोशी ।
अत्यास लाग्दो समयमा थाइल्यान्डमा पाएको सोमिकितको साथ र आबुधावीमा भेटिएकी किर्गिस्तानी डिना सुलोभाको दुःखद कथाले उहाँलाई केही राहत र केही आहत पारेको देखिन्छ । सपनाको उडान भरेर आबुधावी उत्रिएकी डिनालाई पत्तै हुँदैन उहाँ कसरी धनीहरूको विलासिताको साधन बन्नुभयो । आजको पुँजीवादी युगले महिलालाई वस्तुकरण गरेको एक ज्वलन्त उदाहरण हुनुहुन्छ डिना । उहाँजस्तै मारमा परेका हाम्रै देशका महिलाहरू पनि छन् । घरायसी काममा अरब छिरेका महिला अनेकन शारीरिक र मानसिक हिंसामा परी देश फिरेका बग्रेल्ती घटना छन् । पैसा र भोगका लागि मरिहत्ते हाल्ने उपभोक्तावादी मानव झुण्डको कुकृत्यमा डिनाजस्ता युवती परेकै छन् र पछि पनि परी नै रहने देखिन्छ । लेखकले उठाउनुभएको डिनाको कथाले एक पीडादायी वैश्विक समस्याको पनि उजागर गरेको छ ।
वैदेशिक रोजगारीको कहरिलो समय उठान गरी लेखिएका बेन्यामिनको ‘गोट डेज’ देखि उमा सुवेदीको ‘तोदा’ या मीनराज वसन्तको ‘मुदिर’ जस्ता आख्यान कृतिमा त केही कल्पनाशीलता पनि आए होलान् तर लेखक जोशीको श्रमाटनले आख्यानझैँ लाग्ने यथार्थहरू पस्केका छन् । जोशी परिवारको माइला छोरा गोविन्द काठको बाकसमा बन्द भई देश छिर्छन् । वैदेशिक रोजगारीले त्यस परिवारलाई दिएको पीडाको सघनता पाठकले सजिलै आकलन गर्न सक्नेछन् । एउटा छोरा, लोग्ने या बाबुको असमय मृत्युले वृद्धा आमाबा, उमेरदारी श्रीमती र नाबालक नानीहरूमा पर्ने मानसिक र आर्थिक अप्ठेरो सम्भवतः त्यही परिवारबाहेक अरूले खास अनुभव गर्न सक्दैनन् । जोशी परिवारले भोगेको यस खाले समस्या नेपालका अनेकन परिवारले भोगिरहेका छन् । आज श्यामलको ‘रित्तो गाउँ’ मात्र नभई परिवार रित्तिनुको वेदनाले कैयौँ परिवार आक्रान्त छन् ।
श्रमाटन, लेखक बीएन जोशीको आँसुको लेखन हो । यसमा दिमागको भन्दा बढी मनको ढुक्ढुकी र भावुकता भेटिन्छ । परिणामस्वरूप भावावेसमा पोखिएका कतिपय नमिल्दा शब्द र वाक्याहरू पनि पाठकले भेट्लान् । भाग्यमा विश्वास गर्दिन भन्दा भन्दै पनि कैयौँपटक लेखक ईश्वर र भाग्यकै कुरा गर्नुहुन्छ । डिना र सोमकित भेट प्रसङ्गमा पाइने केही नाटकीयपनले एकातिर रोमाञ्चक अनुभूति त गराउँछ पाठकलाई तर अर्कोतिर थोरबहुत काल्पनिकी त होइन भन्ने पनि लाग्न सक्ला । धेरैजसो संस्मरणमा तिथिमितिहरू नभएकाले ती घटना कहिलेका हुन् भन्ने केही अलमल पनि हुन सक्छ । सामान्य अवस्थामा कल्पनासम्म नगरिने घटनाहरूका भोक्ता लेखक जोशीको संस्मरणले निश्चय नै महìवाकाङ्क्षाले निम्त्याउने कहरबारे भने पाठकलाई सजग गराउन सफल हुने देखिन्छ ।
श्रमाटन वैदेशिक रोजगारीको रहरले दिएको पीडाको दस्तावेज हो । ठूलो सङ्ख्यामा नेपाली युवाको विदेश पलायन भइरहेको आजको अवस्थामा राज्यले यस विषयप्रति जिम्मेवारीपूर्ण ढङ्गमा काम गर्न निकै ढिला भइसकेको छ । देशमै रोजगारीको प्रशस्त अवसर सिर्जना भए पक्कै दुःख खेप्नका लागि कोही विदेशतिर लाग्ने थिएनन् । बीएन जोशीले यही विषय केन्द्रित अनेक प्रश्न उठाउँदै आफ्नो श्रमाटन अनुभवको जीवन्त संस्मरण यस पुस्तकमार्फत प्रस्तुत गर्नुभएको छ ।