हरि कट्टेल
कस्तो काल सुरम्य शान्त धरती आइ रुवाइ गयो
छैनन् ती नमिताहरू तर यहाँ बाँकी छ चीत्कार त्यो
कालो बादलमा लुक्यो कि छवि त्यो झन्झन् अँध्यारो भयो
छोरी आँगनमै बलात्कृत हुने कस्तो छ संसार यो !
छेवैमा बिरुवा उखेलिन पुगे हाँस्दैछ माली किन ?
पर्ला देख्नु कि भोलि सृष्टि सब यो नाङ्गो भएको दिन
सुन्दा ती घटना कठै ! मुटु सबै पोलेर जल्दैछ यो
देवी मन्दिरमै बलात्कृत भइन् धिक्कार ! संसार यो !
जाने हो कि बनेर शून्य भव यो ? आमा बिनाको दिन
आमा छिन दिनमै बलात्कृत यहाँ छोप्छौ नि आँखा किन ?
जो जन्माउँछ फेरि बन्छ कसरी ब्याधा उही दुर्जन
मान्छे हो तर छैन चेतन भने धिक्कार ! त्यो जीवन ।
आइ चोर चुँडेर चट्ट जसरी टिप्छन् यहाँ कोपिला
टिप्दैछन् त्यसरी यहाँ पशुहरू ती सम्झना, निर्मला
गुञ्जन्नन् घर गाउँमा किन कुनै ती कोइलीका कला ?
यो बेला अवरुद्ध छन् सबजना आमाहरूका गला ।
बन्दा वाग झरेर फूल मरुझैँ, को हर्षले हाँस्दछ ?
कस्तो ईश्वर हो र ? आँसु नुनिला घट्घट् पिई बाँच्दछ
खोपिन्छन् किन चस्स चस्स मुटुमा तीखा फलामे किला
कस्तो सृष्टि छ यो र बन्छ मुटु यी मान्छेहरूको शिला ?