स्नेह साय्मि
ओई काठमाडौँ
उनीहरू कहाँ छन् ?
उनीहरू
उनीहरू अर्थात्
मेरो काखमा
बीउ हालेर जन्माएका बोटहरू
गमलामा राखेर पठाएको थिएँ
पठाएकै दस वर्ष नाघिसकेको छ
न खोज खबर
न चिठीपत्र
केही त भन्दैनन्
केही पनि लेख्दैनन्
भेट्न त झन् आउँदै आउँदैनन्
भन काठमाडौँ
उनीहरू कहाँ छन् ?
जल्जलाका चट्टानमा हुर्काएका
मेरा विश्वास उनीहरू
भन काठमाडौँ उनीहरू कहाँ छन्
कुनैबेला
मेरा सपनाहरूको
हिउँमाथि आगो बाल्ने गर्थे
अहिले
हिउँ ओढेर सुतिरहेका छन् कि
शताब्दीयौँदेखि पुरिएका अधिकार
उत्खनन गर्ने मेरा सन्तान
पुरेर खाल्डोहरूमा
नयाँ बिरुवाको आश गरेको थिएँ
भनन काठमाडौँ
त्यहाँ उम्रिएको पो छ कि पुरानै पीपल
वा पलाएको छ नयाँ कुनै
जो छन्
युद्धले खोसेका
हात खुट्टाको
कथा सुनाएर बसेका छन्
अहिले भनन काठमाडौँ
तिनीहरू कुन
खाल्डामा पुरिएका छन्
वा कुन कुन ढिस्कोमा
उभिएका छन्
जो बचे युद्धबाट
नयाँ मृत्यु रोज्न खाडी पुगेका छन्
नया सत्ताका गीत यतै छोडेर
पुरानो सत्ताको राजधानी ए काठमाडौँ
लौ न भनीदेऊ
उनीहरू त्यहाँ के गरिरहेका छन्
जसका जीवनका निम्ति
बाटो र विचारका निम्ति
मेरा सन्तानहरू शहीद भए
उनीहरू ठीकै गरिरहेका छन्
वा पुरानै बाटो लागिरहेका छन्
अहिले उनीहरू कहाँ छन्
उनीहरू के गरिरहेका छन् ?