प्रजित शाक्य
नेपालको महिला टेबलटेनिसमा करिब एक दशकदेखि नविता श्रेष्ठले एकछत्र राज गरिरहनुभएको छ । घरेलु टेबलटेनिसको पुरुष वर्गमा कडा प्रतिस्पर्धा छ । तर, महिला टेबलटेनिसमा नविताले विपक्षी खेलाडीलाई जितको मौका नदिएको धेरै भइसक्यो । अहिले स्वेच्छा नेम्वाङ, एलिना महर्जन, दीक्षा तामाङ, शिखा सुवाल, रविना महर्जनजस्ता महिला खेलाडीबीच निकै प्रतिस्पर्धात्मक खेल हुन्छ । तर, नविताको उपस्थितिमा उहाँहरूले पनि खेल जित्ने हिम्मत गर्नुहुन्न ।
पछिल्ला आठपटक लगातार राष्ट्रिय च्याम्पियन रहनुभएकी नविताको खेलाडी जीवन अहिले पनि निरन्तर छ । महिला टेबलटेनिसमा उहाँको दबदबा चाँडै समाप्त हुने छाँट देखिँदैन । यसबीच नविता यही खेलमा फरक भूमिकामा प्रस्तुत हुनुभएको छ । नविताले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएर आफूलाई व्यवस्थापकका रूपमा पनि उभ्याउनुभएको छ । काठमाडौँको खुसिबुस्थित पलेस्वाँ मार्गमा यो टेबलटेनिस एकेडेमी छ । उहाँले आफ्नै खर्चमा यो एकेडेमी खोल्नुभएको हो । एकेडेमीमा हाल छवटा टेबलटेनिस बोर्ड रहेका छन् । प्रशिक्षार्थीको सङ्ख्याको हिसाबमा तीन सत्रमा प्रशिक्षण दिइन्छ । राकेश महर्जन प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको छ । यसैगरी, च्याम्पियन नविता र एलिना महर्जनले पनि प्रशिक्षण दिनुहुन्छ । उहाँहरू सबै एकै परिवारका हुनुहुन्छ । नेपाली टेबलटेनिसमा राकेश पनि परिचित नाम हो । उहाँ पनि अहिले खेलाडी तथा राष्ट्रिय प्रशिक्षकको दोहोरो भूमिकामा हुनुहुन्छ । एलिना १२औँ र १३औँ सागमा नेपाललाई कास्य पदक दिलाउने खेलाडी हुनुहुन्छ । साथै उहाँ दुईपटक जुनियर राष्ट्रिय च्याम्पियन पनि बन्नुभएको छ । चीनमा भएको ग्वान्जाओ र दक्षिण कोरियामा भएको इन्छन एसियाडमा उहाँले खेल्नुभएको छ । टेबलटेनिस खेलाडी इरिका महर्जन पनि नविताकै परिवारकी हुनुहुन्छ । एक समय नविता, एलिना र इरिका नेपालकी नम्बर एक, दुई र तीन टेबलटेनिस खेलाडी हुनुहुन्थ्यो । त्यसैले टेबलटेनिसमय परिवारबाट सञ्चालनमा आएको यो एकेडेमीबाट नेपाली टेबलटेनिस वृत्तले नै ठूलो अपेक्षा राखेको छ ।
नविताका लागि प्रशिक्षकको भूमिका नौलो होइन । प्रशिक्षक बनेर आफूले जानेका कला नयाँ खेलाडीलाई उहाँले सिकाउँदै आउनुभएको छ । केही स्कुलमा टेटे प्रशिक्षण दिनुका साथै फुर्सद भयो कि जुनियर खेलाडीलाई टेबलटेनिस सिकाउन उहाँ लैनचौरस्थ्तिि टेटे हल पुग्नुहुन्थ्यो । नेपाली टेबलटेनिसमा पुरुष नम्बर एक स्यान्टु श्रेष्ठ नविताकै शिष्य हुनुहुन्छ ।
नवितालाई थाहा थियो, आफ्नै खर्चमा एकेडेमी खोल्नु चानचुने कार्य होइन । त्यसैले यसबारे श्रीमान् राकेशलाई अवगत गराउनुभयो । नविता भन्नुहुन्छ, ‘उहाँले सधैँजस्तै यस कार्यका लागि पनि सहयोग र समर्थन गर्नुभयो । श्रीमान्ले मात्र होइन, परिवारले नै यसमा साथ दिएर मेरो हौसला बढाइदियो ।’ त्यसपछि नवितालाई के चाहियो ? यस योजनाबारे अखिल नेपाल टेबलटेनिस सङ्घमा पनि उहाँले जानकारी गराउनुभयो । नविताले सङ्घका पदाधिकारीसँग आफू ‘कोचिङ करिअर’मा जान चाहेको बताउनुभयो । नविता भन्नुहुन्छ, ‘१३औँ सागपछि नै कोचिङ करिअरमा जान्छु भन्ने निर्णय गरिसकेको थिएँ । म आफ्नो एक दशकभन्दा लामो अनुभव नयाँ खेलाडीलाई बाँड्न चाहन्थेँ ।’
अखिल नेपाल टेबलटेनिस सङ्घ पनि नविताको योजनामा सकारात्मक बन्यो । त्यसपछि टेबलटेनिस सङ्घबाट प्रशिक्षकका रूपमा नविताले पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट पाउनुभयो । नवितालाई एसियाली टेबलटेनिस युनियनको ‘एम फर फ्युचर’मा प्रशिक्षक नियुक्त गरिएको थियो । जुन प्रोजेक्टअन्तर्गत नविताको प्रशिक्षकत्वमा नेपालका जुनियर खेलाडीका टिम भारत पुग्यो । उहाँले त्यहाँ एक प्रशिक्षकका रूपमा धेरै कुरा सिक्नुभयो । उहाँ भन्नुहुन्छ, ‘टेबलटेनिसमा भारत हामीभन्दा धेरै माथि छ । यद्यपि, भारतले यस खेलमा छोटो समयमा प्रगति गरेको हो । जसको एउटा प्रमुख कारण त्यहाँ धेरै टेबलटेनिस एकेडेमी हुनु पनि हो । मैले त्यहाँ एकेडेमी कसरी चल्छन्, प्रशिक्षकले कसरी काम गर्छन् । एकेडेमीमा के–कस्ता सुविधा हुन्छन्, कसरी सञ्चालन हुन्छन् सबै अध्ययन गरेँ । अन्य देशमा खेल्न जाँदा पनि त्यहाँका खेलाडीले आफ्नो प्रदर्शन कसरी सुधार गरिहेका छन्, एकेडेमी कसरी चलिरहेका छन्, त्यसबारे अध्ययन गर्थें । त्यसपछि एकेडेमीका लागि हल खोज्यौँ र बन्दाबन्दीको समयमा टेबलटेनिस एकेडेमी हलको पनि निर्माण गर्यौं ।’
नविता खेलसामग्री उत्पादन गर्ने प्रतिष्ठित कम्पनी स्ट्याग इन्टरनेसनलको सद्भावना दूत पनि हुनुहुन्छ । नविताको एकेडेमी खोल्ने सपना पूरा गर्न स्ट्याग इन्टरनेसनलको पनि साथ रहेको छ । स्ट्यागमा २०९ राष्ट्र आबद्ध छन् । ती राष्ट्रमा नविताको एकेडेमीको खेलाडी र प्रशिक्षक एक्चेन्ज कार्यक्रममा सहभागी हुन सक्नेछन् । यसैगरी, नविताको एकेडेमीले त्यहाँको प्रोफेसनल लिगमा नेपाली खेलाडीलाई खेलाउने पहल पनि गर्नेछ । जसले नेपाली टेबलटेनिसमा व्यावसायिकताको विकास हुने विश्वास उहाँको छ । टेबलटेनिस एकेडेमीका लागि स्ट्यागले खेलसामग्रीमा पनि निश्चित् प्रतिशत छुट दिनेछ ।
‘पैसा कमाउन यो एकेडेमी खेलेका होइनौँ । धेरैभन्दा धेरै राम्रा टेबलटेनिसका खेलाडी जन्माउन चाहन्छौँ । म र स्यान्टु श्रेष्ठभन्दा पनि राम्रा खेलाडी जन्माउने मेरा लक्ष्य छ,’ उहाँ भन्नुहुन्छ,
‘एकेडेमी नहुँदा क्षमता भएका कति खेलाडी यो खेल नै छाडेको मैले देखेको छु । यो समस्याको हल पनि अब एकेडेमीले गर्छ ।’
एकेडेमीमा छात्रवृत्तिको व्यवस्था पनि छ । प्रतिभा भएका तर शुल्क तिर्न नसकेका खेलाडीलाई छात्रवृत्ति प्रदान गरिनेछ । अहिले नै यस एकेडेमीमा दुईजनालाई छात्रवृत्ति प्रदान गरिएको छ । काठमाडौँबाहिरका खेलाडीलाई आवासीय सुविधा दिएर प्रशिक्षण दिने लक्ष्य पनि एकेडेमीले राखेको छ ।
नविताले आफ्नो खेलजीवनमा सानैदेखि सहयोग पाउनुभयो । सुरुमा विजेश्वरी स्कुल, त्यसपछि प्राइम कलेजबाट पूर्ण प्रायोजन प्राप्त गर्नुभयो । अन्य खेलाडीलाई पनि आफूलाई जस्तै सहयोग मिलोस् भन्ने उहाँको चाहना छ । यसबाहेक स्थानीय रूपमा टेबलटेनिसको लोकप्रिता बढाउने उद्देश्य पनि यस एकेडेमीको छ ।