logo
२०८१ मंसिर १० सोमवार



व्यङ्ग्य शिल्पी भैरव अर्याल

शनिवार |


व्यङ्ग्य शिल्पी भैरव अर्याल


निर्मल अर्याल

मागी पाइने भिखभन्दा आफ्नै भोक मीठो
रोई–रोई बाँच्नुभन्दा हाँसी मर्नु निको’
नेपाली हास्यव्यङ्ग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालले सायद आफैँलाई केन्द्रमा राखेर यी कालजयी हरफ रच्नुभएको थियो कि ! रोग तथा भोकले आक्रान्त अर्यालले निरश जीवनलाई पूर्णविराम दिनेक्रममा अन्ततः ४० वर्षको अल्पायुमा आत्महत्या गर्नुभयो– गोकर्णस्थित पुलबाट बागमती नदीको खोँचमा हामफालेर । विक्रम संवत् १९९३ असोज ५ गते जन्मनुभएका अर्यालले २०३३ असोज १९ गते मृत्युवरण गर्नुभयो । मोतीराम भट्टपछि सम्भवतः सबैभन्दा कम उमेरमा निधन भएका स्थापित नेपाली साहित्यकार अर्याल नै हुनुहुन्छ । नेपाली साहित्यकारहरूको ज्ञात इतिहासमा आफैँ आफ्नो देहपात गर्ने अर्याल नै पहिलो साहित्यकारका रूपमा पनि दर्ज हुनुभएको छ । २००९ सालबाट कवितामार्फत उहाँको साहित्यिक यात्रा सुरु भएको थियो । कुन्तादेवी भट्टराई सम्पादक रहनुभएको ‘प्रतिभा’ पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशित गरी उहाँ औपचारिक रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । ४० वर्षमा देहत्याग गरे पनि नेपाली साहित्यका लागि उहाँको उमेर करिब दुई दशकसम्म मात्र उर्वर रह्यो । ३५ वर्ष पूरा भएपछि उहाँको सिर्जनाशक्तिमा ठूलो ह्रास आएको वरिष्ठ समालोचकसमेत रहनुभएका प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी बताउनुहुन्छ । त्रिपाठीका अनुसार अर्यालको साहित्यिक यात्राको मोटामोेटी चरण–विभाजन यसप्रकार गर्न सकिन्छ ।
१. पृष्ठभूमि र पूर्वाभ्यासको अवधि (२००५–२०१२) ः प्रथम चरण
२. उदय र अभ्यासको अवधि (२०१३–२०१७) ः द्वितीय चरण
३. विकासशील र परिपाकोन्मुख अवधि (२०१८–२०२८) ः तृतीय चरण
४. ह्रासोन्मुख अवधि (२०२९–२०३३) ः चतुर्थ चरण
(शाश्वत् व्यङ्ग्य शिल्पी–२०७२)
जीवनप्रतिको चरम निराशाका कारण अन्तिम दशकमा अर्यालले पटक–पटक आत्महत्याको प्रयास गर्नुभएको थियो । यस अर्थमा नेपाली साहित्यले अत्यन्त कम समयमात्र उहाँको ऊर्जाशील तथा सिर्जनशील दिमागको सामीप्यता पायो भन्न सकिन्छ । अर्यालले स्थापित गरेको हास्यव्यङ्ग्य साहित्यको फाँटले समग्र नेपाली साहित्यको परिधिलाई अझ बलशाली बनाएको छ । अर्यालले हास्यव्यङ्ग्य साहित्यको खुला मैदानमा आफ्नो परिचय स्थापित गराउनुभएको भने बिल्कुल होइन । केशवराज पिँडाली, वासुदेव लुइँटेल, दाताराम शर्माजस्ता मूर्धन्य हास्यव्यङ्ग्यकारकै युगमा जन्मिएर व्यङ्ग्य साहित्यको कुरुक्षेत्रमा अर्यालले आफ्नो उच्च श्रेष्ठता प्रमाणित गर्नुभयो । समग्र जीवन ४० वर्षसम्म बिताए पनि अर्यालकै शब्दमा बेला–बेलाको मरणासन्न अस्वस्थता र घनघोर गरिबीसँगको निरन्तर युद्धले उहाँको जीवन २० वर्षपछि नै थिलथिलो हुन पुगेको थियो । अन्य शारीरिक कमजोरीसँगै असाध्यै पीडा दिएको घाँटीको समस्याले उहाँलाई पटक–पटक गाँजेको थियो । आफूबाट सम्भव नभएपछि विभिन्न स्रोत–साधन जुटाउँदै उपचारका लागि भारत र जर्मनीसम्म पुगे पनि उहाँको शारीरिक अवस्था सुध्रिएन, झन् कमजोर हुँदै गयो, मानसिक स्वास्थ्यसमेत अझ जटिल हुन पुग्यो ।
छजना सन्तानको भरणपोषणका लागि उहाँ कहिले शिक्षकको भूमिकामा देखिनुभयो त कहिले पत्रकारको । २०११ सालदेखि २०१३ सम्म पोखरा कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा उहाँ शिक्षक रहनुभयो । तर, त्यहाँ आफ्ना एक प्रिय विद्यार्थीको पौडी खेल्नेक्रममा निधन भएपछि अत्यन्त संवेदशनील व्यक्तित्वका अर्याल मानसिक रूपमा विक्षिप्त हुँदै पोखरा छाडेर राजधानी प्रवेश गर्नुभएको थियो । कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा अर्यालका शिष्य रहनुभएका पूर्वसभामुख तारानाथ रानाभाट उहाँलाई अत्यन्त मेहनती तथा विलक्षण शिक्षकका रूपमा स्मरण गर्नुहुन्छ ।
२०१३ देखि २०१५ सम्म राजधानीको पासिखेलस्थि इन्द्रायणी विद्यालयमा उहाँ आबद्ध रहनुभयो । भाषामा विशेष दख्खल राख्नुहुने अर्याल २०१५ सालपछि
‘हालखबर’ दैनिकमा आबद्ध भएर पत्रकारितातर्फ आर्कषित हुनुभएको उहाँका आत्मीय मित्र वरिष्ठ पत्रकार भैरव रिसाल बताउनुहुन्छ । हालखबरमा अर्यालका चोटिला व्यङ्ग्यहरू छापिन थालेपछि पत्रिकाको बिक्री पनि ह्वात्तै बढेको रिसाल स्मरण गर्नुहुन्छ । समाजका बेथिति र काला कामविरुद्ध हास्यव्यङ्ग्यमार्फत अर्यालले हान्नुभएको बेजोड वाणप्रति आफ्नो सधैँ ठूलो सराहना र सम्मान रहेको रिसाल बताउनुहुन्छ । हालखबर दैनिक, सगरमाथा संवाद समिति हुँदै गोरखापत्र संस्थान पुग्नुभएका अर्यालले उपसम्पादकबाट सहायक सम्पादकसम्मको भूमिका निर्वाह गर्नुभयो । सम्पादन कलामा माहिर अर्यालको रोहबरमा तत्कालीन समयमा धेरै नवआगन्तुक साहित्यकार तथा पत्रकारले पछिसम्मका लागि दह्रो लय समातेको उहाँका अर्का घनिष्ठ मित्र रोचक घिमिरेको बुझाइ छ ।
घिमिरे भन्नुहुन्छ, ‘अर्यालकै कडा मेहनतका कारण गोरखापत्रको शनिवारीय अङ्क निकै स्तरीय बन्न पुग्यो ।’ अर्यालकै प्रत्यक्ष निगरानी र सरसल्लाहमा धेरै प्रतिभाशाली लेखकको जन्म भएकाले आजसम्म पनि पत्रकारितामा अर्याललाई ‘रोलमोडल’ मान्नेको जमात ठूलै छ । संस्कृत पृष्ठभूमिबाट आए पनि पछि अंग्रेजी भाषा सिक्दै अर्यालले विदेशमा समेत गई पत्रकारितको तालिम लिनुभएको थियो । घिमिरेका अनुसार नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट स्थान कायम गरेको ‘रचना’को नामकरण पनि अर्यालकै अगुवाइमा भएको थियो । त्यसो त उच्चकोटिका हास्यव्यङ्ग्यकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेत अर्यालबाट आफूहरू निकै प्रभावित भएको बताउनुहुन्छ ।
‘भैरव दाइले स्थापना गरिदिएको व्यङ्ग्य साहित्यको जगमै हामीले पछि हालीमुहाली तथा थप रोमान्स गरेका हौँ,’ श्रेष्ठ बताउनुहुन्छ । त्यस्तै आचार्य पनि भैरव अर्यालकै व्यङ्ग्य साहित्यबाट प्रभावित भएर व्यङ्ग्य साहित्यमा प्रवेश गरेको र नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा ‘महाकवि’ भएझैँ अर्याल
‘महाहास्यव्यङ्ग्यकार’ भएको सगर्व बताउनुहुन्छ । मह जोडीले विगतमा भैरव अर्यालको तस्बिरमा माल्र्पापण गरेरमात्र गाईजात्रा कार्यक्रम सुरु गरेको इतिहासबाट पनि अर्यालप्रतिको उहाँहरूको असीम श्रद्धा देखाउँछ । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे अन्तर्राष्ट्रियस्तरको हास्यव्यङ्ग्य साहित्यसँग समेत प्रतिस्पर्धा गर्न सक्ने ल्याकत केवल अर्यालमा रहेको बताउनुहुन्छ । पाठ्यक्रममा रहेका अर्यालका लेखहरूबाट प्रभावित हुने अहिले पनि हजारौँ छन् । यसै प्रसङ्गमा साहित्यकार कृष्ण धरावासी लेख्नुहुन्छ, ‘पाठ्यपुस्तकमा अरू क–कसका लेख र कथा थिए, थाहा छैन, तर भैरव अर्याल फलामको अक्षर भएर बसेका थिए मेरो मस्तिष्कमा । व्यङ्ग्यको तीक्ष्णताबाट हेर्दा उहाँले अरूलाई धेरै नै तल छाड्नुभएको छ, उहाँलाई पढेरै मैले व्यङ्ग्य लेखनको कला सिकेको हुँ ।’
व्यङ्ग्य साहित्यमार्फत अर्यालले सामाजिक विकृति विसङ्गतिमाथि निर्मम प्रहार गर्नुभएको छ । राजनीतिलाई मागिखाने भाँडो बनाउने नेताहरूको पृष्ठभूमिमाथि कटाक्ष गर्दै ‘नेता नम्बर एक सय एक’ (जयभुँडी) शीर्षकको निबन्धमा अर्याल लेख्नुहुन्छ–
‘चोरी चकारी नगरी चतु¥याइँ हुन्न
दङ्गा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औँ बलमा’
अर्यालले अहिलेको भद्रगोललाई कल्पना गर्दै झन्डै पाँच दशकअघि लेखेका लेखले उहाँको दूरदर्शिता झल्काउँछ । ‘जयभोलि’ शीर्षकको निबन्धले हाम्रो प्रशासन संयन्त्रको आजको काम गराईलाई दुरुस्त चित्रण गरेको छ । त्यस्तै राजधानीको अहिलेको कुरूप अवस्था ठ्याक्कै मिल्नेगरी ‘अमरावती कान्तिपुरी नगरी’ (जयभुँडी)मा अर्याल लेख्नुहुन्छ ।
‘पथ सात फुटे बस नौ गजको
सिट बीस भए भीड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी’
त्यसो त अर्याल शृङ्गारिक कवितामा पनि उत्तिकै सिद्धहस्त देखिनुहुन्छ । प्रज्ञाप्रतिष्ठानले २०२२ सालबाट सुरु गरेको राष्ट्रिय कविता महोत्सवको पहिलो संस्करणको स्वर्णधारी अर्याल नै हुनुभयो । ‘आराधना नैतिकताको’ शीर्षक कवितामार्फत पहिलो स्थान हासिल गर्दै अर्यालले कवितामा पनि आफू अब्बल रहेको साबित गरिदिनुभयो । उहाँको पहिलो कवितासङ्ग्रह
‘उपवन’बाट प्रभावित भएर नाट्य सम्राट बालकृष्ण समले सोही पुस्तकमा लेख्नुभएको भूमिकाको सार यसप्रकारको छ, ‘अर्यालजी उदीयमान एक तारा हुनुहुन्छ, हाम्रो साहित्याकाशले उहाँलाई गौरवान्वित भई धारण गर्नेछ ।’
तत्कालीन शासन प्रणालीमाथि कटु व्यङ्ग्यसहित उहाँले लेखेको ‘कुकुर स्वर्गे हुँदा’ शीर्षकको कविता उत्कृष्ट हुँदाहुँदै २०३३ सालको ‘गाईजात्रा’मा वाचन गर्न प्रतिबन्ध लगाइएको थियो । पछि उहाँले यो कविता न्युरोड र रत्नपार्कका गल्ली–गल्लीमा वाचन गर्नुभएको थियो ।
पितृसत्तात्मक युगमा पनि महिलाको आत्मसम्मानलाई उच्च प्राथमिकता दिने उहाँका कालजयी हरफले अहिले पनि निर्मला हत्याकाण्डजस्तै दैनिकका बलात्कारका घटनाबाट बदनामित तथा लज्जित हाम्रो समाजलाई गतिलो झापड दिएको छ ।
‘जुन राज्यभित्र गुञ्जन्छ एउटी नारीको क्रन्दन
कसरी त्यसले उन्नति गर्ला भनेर मानूँ म’
(विरही राम)
आफ्ना उत्कृष्ट व्यङ्ग्य रचनाका कारण अर्याल आमनेपालीको मनमस्तिष्कमा विराजमान भइसक्नुभएको थियो । भनिन्छ– कुनै समय नेपालीको घरमा तीनवटा पुस्तकविनाको दराज नै भेटिँदैनथ्यो । भानुभक्त आचार्यको रामायण, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र भैरव अर्यालको जयभुँडी । यस अर्थमा अर्याललाई भाग्यमानी मान्न सकिन्छ । तर, अफसोस अर्यालले सधैँ आफूलाई भाग्यले ठगेको महसुस गरिरहनुभयो । अर्यालकै शब्दमा कार्यालयका सहकर्मीसहित केही साथीभाइ, प्रकाशकका कारण उहाँ निरन्तर बौद्धिक शोषणमा पर्नुभएको थियो । त्यसैले बाहिरी आवरणमा सबैलाई हँसाउने भए पनि भित्री वृत्तमा उहाँभित्रको भैरव क्रमशः जागा भइरहेको थियो । निरन्तरको कमजोर शरीरले उहाँमा थप ग्लानि सिर्जना गरिरहेको थियो । जीवन रथसँगै आइपर्ने चौतर्फी चुनौती सामना गर्दै अर्याल अघि बढ्नुभएको भए परिमाण र गुण दुवै हिसाबले नेपाली साहित्यको भण्डार अझ समुन्नत हुने निश्चित थियो ।
तर, अर्यालले त्यसो गर्नुभएन । रोगमाथिको भोक, ज्ञात अज्ञात व्यक्तिबाट भएको लगातारको बौद्धिक शोषणबाट शिथिल भएका अर्यालले आत्महत्यालाई नै उत्तम विकल्प ठान्नुभयो । अर्यालको आत्महत्यालाई लिएर त्यतिबेलाका सञ्चारमाध्यममा मात्र नभई, चोक–चोकमा समेत सार्वजनिक टीका–टिप्पणी भए । तर, उहाँलाई नजिकबाट चिन्नेका लागि भने यो अप्रत्याशित घटना थिएन किनकि अर्यालले विगतमा पनि पटक–पटक आत्महत्याको प्रयास गरेको घटनाबारे उहाँहरू जानकार नै हुनुहुन्थ्यो । कतिले उहाँलाई कायर भने त कतिले लाछी । तर, उहाँका अत्यन्त निकटका मित्र लोकप्रिय आख्यानकार रमेश विकल भने अर्यालको आत्महत्यालाई ‘युगचेतनाले गरेको हत्या’को संज्ञा दिनुहुन्छ । अर्यालको आत्महत्याको समाचारले आफन्त, शुभचिन्तक तथा साहित्यप्रेमी स्तब्ध हुनु स्वाभाविक नै थियो । आत्महत्याभन्दा ठीक अघि आफू कार्यरत संस्था (गोरखापत्र संस्थान)लाई पठाएको पत्रमा अर्यालले कलम व कोदाली केही पनि चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशका निम्ति केही गर्न नसक्ने भएकाले अब बाँच्नु पनि बेकार भएको उल्लेख गर्नुभएको छ । आत्महत्या गर्नुभन्दा ११ दिनअघि आफ्ना छजना सन्तानको नाममा मार्मिक पत्र लेख्दै अर्यालले आफूले जानी–जानी कुनै पनि अपराध नगरे पनि बेहोश–बेहोशमा दुनिँयाभरिका पाप आफ्नो थाप्लामा थाप्नुपरेको उल्लेख गर्नुभएको छ । कुनै अपराध गरिनँ तर धेरै अपराध लाग्यो भनेर उहाँले चिट्ठी टुङ्ग्याउनुभएको छ । आफूलाई निर्दोष पुष्टि गर्न उहाँले २०३३ साल भदौ ५ मा लेखेको मर्मस्पर्शी हरफ यस्तो थियो–
‘तँ कतै छस् भन्ने सुन्लास्
मेरो चित्कारभित्रको
सुनिस् भने भनिहाल्लास्
यो निर्दोष अजान थ्यो’
साहित्यकार कृष्ण धरावासी लेख्नुहुन्छ, ‘भैरव अर्यालको मृत्युलाई म आज पनि सहज मान्दिनँ । कुनै पनि असहज मृत्युहरू मानव सभ्यताका लागि नै दुर्भाग्य हो । भैरव दाइलाई भौतिक रूपमा उसैबेला (२०३३) गुमाए पनि बौद्विक रूपमा कहिल्यै गुमाउनुहुँदैन ।’ पक्कै पनि बौद्विक रूपमा अर्याललाई गुमाउनु भनेको नेपाली साहित्यको एक विशिष्ट कालखण्डबाट सदाका लागि विस्मृत हुनु हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?