राधा दुलाल कार्की
शालीन अक्षरहरूको पहाडबाट
आक्रोश पोखे केही मान्छेहरूले
स्वीकृति जाहेर गरे केही मान्छेहरूले
नाटकीय अभिनय गरे केही मान्छेहरूले
चुपचाप मौन रहेरै गरे !
मान्छेलाई मान्छेकै रूपमा नदेख्दा
चित्त काट्दै दुःखै साटे मान्छेहरूले
नदी जस्तै बगिरह्यो विरही जीवन
मान्छेहरूले मन लागी नलागी तरे
अनमोल जीवनको अविराम डुङ्गा ।
रगत जस्तै बगे मान्छेका मनहरू
धाँजा धाँजा भए मान्छेका तनहरू
जलाशयभित्र समयको अनुहार
टुलुटुलु हेरिरहेछन् मान्छेहरू
कस्तो विडम्बना,
मृत्युको त्रासदी बिर्सेर
आफैँबाट बन्दी भए मान्छेहरू
कालकुट स्तब्धताको निरस ओडारभित्र ।
वैmयौँ पटक आमाको काख रित्तिँदा
वैmयौँ पटक स्त्रीत्वहरण हुँदा
आफ्नै सपनाहरूको विसर्जन हुँदा
आफ्नै मलामी गए संवेदनाविहीन मान्छेहरू
ओहो ! कसरी हेर्न सकेका टुलुटुलु
यो पीरको पिरामिड !
उठ ! मान्छेहरू उठ !
दिग्भ्रमभन्दा माथि उठ
खोज अब एउटा सग्लो परिचय
स्वाधीन भूगोलको
सुकसुकाउँदो संस्कृति
रोज अब एउटा मौलिक चिनारी
स्वाभिमानी जलवायुको
भर्भराउँदो आकृति ।