logo
२०८१ मंसिर १० सोमवार



कथा : मरणासन्न

शनिवार |


कथा  : मरणासन्न


रासा

एकाबिहानै दुई भाइहरू आए । मलाई भेट्न आएका उनीहरूले पहिला मेरी स्वास्नीलाई भेटे । भेटेर के भने, थाहा भएन ।
एकदम जाडो थियोे । बिउँझिसकेको थिएँ । सिरकभित्र गुटमुटिएको थिएँ । मेरी स्वास्नी बाहिरै थिई । उनीहरू आउँदा म भने एक्लो थिएँ, कोठामा ।
“दाजु, नमस्कार !” दुवैले समवेत स्वरमा भने । जवाफमा म मौन रहेँ । केवल मुस्कुराएँ ।
उनीहरूलाई सोफामा बस्न सङ्केत गरेँ । म भने ओछ्यानमै बसेँ ।
“के कामले पाल्नुभो ?” मेरो यो प्रश्नको जवाफमा उनीहरूमध्ये एकले अनकनाई भने, “अचेल के गर्दै हुनुहुन्छ ? दाजुको लेखन केकस्तो चल्दैछ ?’’
बोलिनँ । कुनै उत्तर दिइनँ । एकछिन गम खाएँ । पछि, सुस्तरी बोलेँ “जागिरबाट अवकाश पाएँ, स्वैच्छिक अवकाश । अरू खास काम छैन ।” एकले पुनः बोले, “हामीले एउटा नयाँ साहित्यिक पत्रिका निकाल्दैछौँ, त्यसका लागि हजुरको एउटा ताजा कथा चाहिएको ।”
मैले पुनः बोलेँ, “अहिले लेख्न सकेको छैन । लेख्न सकेँ भने दिन्छु । हुन्न ?” उनीहरू स्वीकृतिमा टाउको हल्लाएर बिदावारी भए ।
साँच्चि, कथा नलेखेको पनि वर्षौं भएछ । कहिले कार्यालयको व्यस्तता, कहिले घरायसी तनाव । करिब डेढ दशकअघि एउटा कथा लेखेर छपाएको थिएँ एउटा चर्चित पत्रिकामा । ‘विदेश’ शीर्षकको त्यो कथा निकै प्रशंसित रह्यो । र, विवादास्पद पनि । सकारात्मक एवं नकारात्मक प्रतिक्रिया थुप्रै आए । एक सम्पादक महोदयले त बिना प्रमाण चोरीको बातसमेत लगाए । म निरपेक्ष रहेँ । विरक्त लाग्यो । मोहभङ्ग भयो । साहित्यिक क्षेत्रमा व्याप्त विकृति–विसङ्गतिप्रति क्षोभ उत्पन्न भयो । त्यसपछि लेख्नै छोडेँ ।
टोलका एक भाइ मकहाँ आइरहन्थे । उनी एकदम अध्ययनशील थिए । बेलामौका मलाई केही न केही लेख्न उक्साइरहन्थे । म पनि लेख्थेँ । उनलाई देखाउँथेँ । उनी सल्लाह सुझाव दिन्थे । साह्रै असल थिए । अचेल त्यति आउँदैनन् । देखभेट नभएको पनि धेरै भयो । सायद विदेशतिर पलायन भए कि !
०००
“खाना खान आउनू”, स्वास्नीको कर्कश आवाजले म झसङ्ग भएँ । तन्द्रा भङ्ग भयो । खान पटक्कै मन लाग्दैन । रुच्दै रुच्दैन । के भएको हो यस्तो !
“तिमी खाएर बस, म पछि खाउँला,” मेरो जवाफले ऊ फनक्क फर्किन् र फतफताएर गइन् ।
केही क्षण त्यत्तिकै बसेँ । बसिरहेँ । निष्क्रिय बस्नुभन्दा... । सरासर भान्सातिर गएँ ।
उसले खाना खाइसकेकी थिई । भाँडाकुँडा माझ्ने सुरसारमा थिई । मलाई देखेर झट्ट खाना पस्कन थाली । उही दाल, भात र तरकारी । राँगाको मासु पकाएकी थिई । गोलभेँडाको पिरो चटनी पनि । मन नलागी नलागी खान थालेँ । निकै समय लगाएर खाइभ्याएँ । उठेँ । सीधा कोठामा आएँ ।
०००
हालसालै मेरो नवीनतम कथा सञ्चयन ‘अवाक्’ देशकै पुरातन एवं प्रतिष्ठित प्रकाशन संस्थाले छाप्यो । पुस्तकले सर्वत्र चर्चा र प्रशंसा पायो । पछि मदन पुरस्कार पनि प्राप्त ग¥यो । म पुलकित भएँ ।
खाटमा पल्टिएर यसो आँखा चिम्लेको मात्र थिएँ, झपक्कै निदाएछु । सपना पो देखेको रहेछु दिउँसै । कहाँ मेरो पुस्तक छापिनु, कहाँ म पुरस्कृत हुनु ! फगत दिवास्वप्न !
०००
हठात् उठेँ । आफैँदेखि लाज लाग्यो । वितृष्णा जाग्यो । सरासर ट्वाइलेटतिर गएँ । पसेँ । सु गरेँ । निस्केँ । हातमुख धोएँ । कोठामै फर्किएँ ।
स्वास्नीले आँखा तरेर हेरिरहेकी थिई । “के हेरिरहेकी”, भन्न सकिनँ । तत्काल ऊ ठमठम बाहिर निस्किई ।
क्षणमै ऊ आइपुगी, हातमा चियाको कप लिएर । मुसुमुसु हाँस्दै पनि । ऊ किन हाँसिरहेकी छ ! मलाई गिज्याइरहेकी त छैन ! म असमञ्जसमा परेँ ।
“अघि बिहान आएका भाइहरूले मलाई हजार रुपियाँ दिएर गएका छन्, त्यो काम छिट्टै गर्दिनू !” स्वास्नीको कुराले म झसङ्ग भएँ । केही जवाफ दिन सकिनँ । दिइनँ पनि ।
चिया स्वाट्ट पारेँ । लुगा फेरेँ । लगत्तै घरबाट निस्केँ केही नभनीकन । ऊ टोलाइरहेकी थिई । खासमा म एउटा कथा लेख्नका लागि कथाको खोजीमा निस्केको थिएँ ।
सडकमा निस्किएँ । एकदम चहलपहल छ । गाडीहरू गुडिरहेका छन् । मान्छेहरू ओहोरदोहोर गरिरहेका छन् । म भने एकोहोरो हिँडिरहेको छु ।
मलाई कहीँ पुग्नु छैन । फगत कथा खोज्नुछ । एउटा कथा लेख्नुछ जसरी पनि ।
मन्दिरछेउ आइपुगेँ । प्राङ्गणमा पाइला टेकेँ । अलिक पर सानो पाटी । त्यहाँ केही मगन्ते गफ चुटिरहेका छन् । भुस्याहा कुकुरहरू सुस्ताइरहेका छन् । छिनमै एउटी आइमाई एक लोग्नेमान्छेलाई धारे हात लाएर कराई,
‘‘मलाई दिनदिनै मनलागी गर्न मात्र जान्या छ, ख्वाउनु पर्दैन !’’
लोग्नेमान्छे रिसले आगो भयो, “तँलाई त्यै गर्ने त हो नि, अरू... ।’ कोलाहल व्याप्त । म अघि लम्किएँ । हिँडिरहेकै छु । कुनै निश्चित गन्तव्य छैन । यताउता पल्याकपुलुक हेर्ने, अनि हिँड्ने । बस् । नजिकै घाट । यहीँ रोकिएँ । खोला फोहोर बगिरहेको छ । पारिपट्टि मानिसहरू रमिता हेरिरहेका छन् । पर्यटकहरू वरिपरिका दृश्यलाई आआफ्ना क्यामेरामा कैद गरिरहेका छन् । अझ माथि वनमा एक हुल बाँदर रुखका हाँगाहाँगामा उफ्रिरहेका छन् । यता वारि ब्रह्मनालमा एउटा लास सुताइएको छ । वरिपरि मलामी आएका आफन्तजनहरू कोही गफमा निमग्न छन्, कोही सुँकसुँकाइरहेका छन् । अन्य दुई चितामा दुई लास जलिरहेका छन् । अन्य मानिस आवाजहीन छन् । म पनि चुपचाप उभिएर तमासा हेरिरहेको छु । अर्थात् कथा खोजिरहेको छु ।
०००
सन्ध्या ओर्लिने तरखरमा छिन् । मन्दिरमा आरतीका लागि मानिसहरू एकत्रित हुँदैछन् । म चाहिँ निःसहाय घर फर्किने मनस्थितिमा छु ।
घर फर्किरहेको छु । बाटामा अनेक मान्छेहरू भेट हुन्छन् । कोहीसित बात मार्छु, कोहीसित हात मिलाउँछु र कोहीसित टाउको हल्लाउँछु मात्र । घरमा आइपुग्छु । सँघारमै ऊसित जम्काभेट हुन्छ । तत्क्षण ऊ चर्किन्छे, “कहाँ पुगेर आउनु भो ? कि आज पनि रक्सी धोकेर...?”
म जवाफहीन उभिन्छु । ऊ पुनः प्रश्न गर्छे, “मलाई नढाँटी भन्नू, कहाँ के गरेर फर्किनु
भो ?” रिस नउठेको त होइन तर पनि शान्त भावमा उत्तरित हुन्छु, घाटतिर डुलेर आएको ।”
“किन ?” उसको सोधाइमा म किञ्चित आवेशमा बोल्छु, “मर्न गएको, मर्न सकिनँ र फर्केर आएँ ।” यसपछि..., हामी दुवै निःशब्द ।
कोठामा प्रविष्ट । सँगसँगै ऊ पनि । सबैसबै चुप । सुनसान ।मनमा अनेकौँ तर्कना उठेका छन् । र, तनमा आलस्य टाँसिएको छ ।
एउटै कथा फेला परेन । जाबो एउटा कथा पनि लेख्न सकिएन ! मानसमा ग्लानिबोध छ । लाग्छ, म मर्दैछु । होइन, मभित्रको कथाकार चाहिँ मरणासन्न छ । के गर्ने होला ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?