सुमन सङ्गम
समय निरङ्कुश भएर छातीमाथि
टेकेर हिँडेको बेला
मैले मेरो छाती थापेकी थिएँ
पक्षी पिँजडा मुक्त भई उडून् भनेर
उन्मुक्तिका लागि
मैले मेरो मुटुको सिमाना भत्काएकी थिएँ
समुद्री छालहरू रोक्ने सामथ्र्य राखेर
मेरा हत्केलाहरू स्वयं फैलाएकी थिएँ
आँखाका परेलीहरू
घाम बोकेर बिउँझन खोज्छन्
पाइतालाले देशको सीमारेखा कोरेर
आकाङ्क्षाका हिमालहरू बोकेर हिँड्न खोज्दा
अविभाजित आकाशझैँ
मैले स्वतन्त्र सपना कोरेकी थिएँ
सपनाले पूर्णता पाउनुअघि
ढलेका विभत्स दृश्यहरूले बिथोल्छ र
चट्टानका पहाडहरू नाघेर पुग्न मन लाग्छ गन्तव्य
जसै पुग्न खोज्छु
छेक्छन् चट्टानी पहाडहरूले
आकाश रित्तो हुने भयले
एकतमास निदाएझैँ गर्छ पहाड तर
स्वतन्त्रताको पहिरनमा
कहिले बतासिएर
कहिले सुस्तरी पहिरो भएर आफैँ छेक्छ बाटोहरू
अचेल !
भिन्न लाग्छ– सुनिरहेका धूनहरू
भिन्न लाग्छ– हिँडिरहेका सडकहरू
भिन्न लाग्छ– बोलिरहेका आवाजहरू
थुनिएझैँ लाग्छ स्वतन्त्र बोल्ने ओठहरू पनि
समयको स्पन्दन गुमाएका
पाइलाहरूबाट
नित्य थिचिँदैछ स्वाधीनताको सुवासिलो हावा
ऋतुहरू फेरिए
ऋतुसँगै फेरियो आकाशको घाम
ऋतुहरूसँगै फेरिए धेरै थोक
तर, निसासियो मैले पाएको स्वतन्त्रता ।