डा. बमबहादुर थापा ‘जिताली’
दुई थरीका कवि छन् सगोलमा
दुई थरीका कविता खगोलमा ।
सुनिन्छ मीठो लयमा छ बाँसुरी
छ छन्द वंशस्थ कला जडेसरि ।।
भए त राम्रो सुखको परिस्थिति
भए अनौठो कविको मनस्थिति ।
सकिन्छ नौलो कविता बनाउन
सकिन्न यल्ले घरबार छाउन ।।
शरीरका अङ्गहरू सबै गले
परन्तु मेरा कविता झनै फले ।
सबै मिले गर्न सकिन्छ उन्नति
सबै गले हुन्न कुनै समुन्नति ।।
सुसाउँदैछन् मनमा नदीसरि
टुसाउँदैछन् जमरा उठेसरि ।
समाजका अन्तरबाट निस्किए
विभिन्न खाले लहरा उकासिए ।।
मुनाल, डाँफे वनमा रमाउँने
टुनामुनाले मनमा समाउँने ।
निनाद छायो सुरताल सूक्त यो
आनन्द आयो रस–रागयुक्त यो ।।