केशवराज खनाल
संस्कृति र सभ्यताको मुहानका रूपमा नेपाल परिचित छ । हाम्रा विभिन्न ऐतिहासिक स्थानको उत्खनन गर्दा पाइएका विभिन्न मूर्ति भाँडाकँुडा र हस्तकलाका सामग्रीले यो तथ्यलाई प्रस्ट पार्छ । यस सन्दर्भमा हस्तकला पनि नेपाल र नेपाली सीपको परिचायक हो । मानव जातिको उत्पत्तिसँगै यो कलाको विकास भएको इतिहास पाइन्छ ।
के हो त हस्तकला ? मनमा प्रश्न उब्जिन सक्छ । हातबाट निर्मित दैनिक जीवनमा प्रयोग गर्न वा सजाउनका लागि प्रयोग गरिने साधन नै हस्तकला हुन् । परम्परामा आधारित वस्तुलाई उपयोगितासँगै सौन्दर्य थप्दै लैजाने पद्धति हस्तकलाभित्र पर्छ । यस मानेमा हामीले प्रयोग गर्ने डोको नाम्लो, भाँडाकुँडादेखि टेक्ने लौरो, गुन्द्री राडीपाखी धातुमूर्ति, चित्रकला आदि सबै हस्तकला नै हुन् ।
हस्तकलामा एकातर्फ यसको विशेष शैली देखापर्छ भने अर्कातर्फ साँस्कृतिक, भौगोलिक परिचय, स्थानीयपनसँग जोडिएको सम्बन्धलाई पाउन सकिन्छ । यो कलामा विशेषगरी महिलाको सहभागिता बढी रहेको भए पनि पुरुषको योगदान पनि सँगसँगै रहेको छ । विशेषतः ग्रामीण भेगका महिला पुरुषले आफ्ना दैनिकीलाई सहजीकरण गर्दै सौन्दर्य चिन्तनबाट प्रेरित भई उत्पादन गरेका सामग्रीका रूपमा रहेको छ– हस्तकलाका सामग्री ।
लोकजीवनमा हस्तकलाको विशेष महŒव छ । चाडपर्वविशेषमा त यो कलाको महŒव अझ बढ्छ । तराईमा मनाइने मेलापर्व होस् वा पहाडी, हिमाली भेगका जात्रापर्वमा हस्तकलाका सामानको प्रयोग अत्यधिक भएको पाइन्छ । समय र अवस्थासँगै यो कलाको विस्तार, परिमार्जित स्वरूप देख्न सकिन्छ । मानिसको बसाइँ सर्ने प्रवृत्ति, प्रविधिको व्यापक प्रयोग र विविधतामा मानिसको रुचि जाग्नुका कारण यो कलाले फल्ने फुल्ने मौका प्रशस्त पाएको छ । एक संस्कृतिको मानिसले अर्को संस्कृतिलाई सहजै अपनाउनाले पनि यो कला र यसका प्रविधि सहज रूपमा एक समुदायबाट अर्को समुदायमा सम्प्रेषण भएको छ । बसाइँ सराइको क्रम बढेसँगै एक भौगोलिक क्षेत्रमा प्रयोगमा आएको हस्तकलाका सामग्री अर्को क्षेत्रमा बसेका व्यक्तिसम्म पनि पुगेको छ ।
हस्तकलाका सामग्रीले स्थानीय बजारलाई त आकर्षित गर्छ नै स्वदेश तथा विश्वबजारसम्म पुग्न पनि बाटो प्रशस्त गरिसकेको छ । यसो हुनुमा विश्वबजारीकरणको प्रभाव हो । नेपाल हस्तकला महासङ्घको वार्षिक आँकडा हेर्दा पनि नेपालबाट बर्सेनि १२÷१५ अर्ब रुपियाँभन्दा बढीको निर्यात हस्तकलाका सामग्रीमात्र हुने गरेको छ । अन्य निकायबाट हुने निर्यातलाई पनि लिने हो भने यसको निर्यात २०÷२२ अर्ब रुपियाँभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यसलाई अझ व्यवस्थित गर्न सकेको खण्डमा हस्तकलाको बजार अझ ठूलो बन्नेमा दुईमत नहोला ।
यसक्रममा नेपालको हस्तकलाको प्रवद्र्धन र बजारीकरणका लागि ‘रोड टु कोप २६’ कार्यक्रम अगाडि सारिएको छ । विशेषतः यो कार्यक्रमले नेपाली मौलिक हस्तकलालाई वातावरण अनुकूलन कायम गरी आमसमुदायको जीवनस्तरमा परिवर्तन ल्याउने मुख्य उद्देश्य लिएको छ । प्रकृतिमा आधारित रही व्यक्ति वा समूहले यो अभियानमा भाग लिन सक्नेछ । यो कार्यक्रम विशेषतः अनुदानमा आधारित हुने र व्यक्ति वा समूहले प्रस्तुत गरेको आवेदनका आधारमा पहिलो चरणमा ५० वटा आवेदन स्वीकृत गरिने कार्यक्रमका संयोजक कलाकार तथा प्राध्यापक सुजन चित्रकार बताउनुहुन्छ । ती ५० वटा आवेदनमा विभिन्न कोणबाट छलफल गरेर पाँचवटा आवेदनलाई स्वीकृत गरिने आयोजकको योजना छ ।
छानिएका विशिष्ट हस्तकला प्रवद्र्धक योजनालाई काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्, अप्लाईड आर्टस् स्कटल्यान्ड र एडिनवर्ग विश्वविद्यालयको साझेदारीमा सञ्चालन गर्न लागिएको छ । कार्यक्रमलाई बेलायतको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस नेपालको सहयोगमा ब्रिटिस काउन्सिल नेपालले कार्यान्वयनमा ल्याउनेछ । साथमा राष्ट्रिय आविष्कार केन्द्रले पनि यस कार्यक्रमलाई साथ दिइरहेको छ । नेपालमा दिगो व्यवसायका लागि जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न सघाउने र प्रकृतिमा आधारित हस्तकलासम्बन्धी अभ्यास प्रवद्र्धन गर्ने यो कार्यक्रमको मुख्य लक्ष्य रहेको बताइएको छ । यसका अतिरिक्त युवती र सीमान्तकृत समुदायलाई टेवा दिनु यो कार्यक्रमको लक्ष्य रहेको छ । निश्चय पनि हस्तकला विशेषतः स्थानीय सामग्रीको प्रयोग, कमभन्दा कम मेसिनको प्रयोग र जनजीवनसँग गाँसिएको विशिष्ट कला भएकाले यो वातावरणमैत्री र समाजमैत्री हुन जरुरी हुन्छ । विश्वको जुन कुनामा पुगे पनि मानिसले आफ्नो जन्मे–हुर्केको समाज, समय र कलालाई अपनाइरहेको हुन्छ । तसर्थ, यो कार्यक्रमले नेपाली हस्तकलालाई एक फड्को माथि लैजान सक्ने देखिन्छ । कार्यक्रममा व्यावसायिक कलाकारले मात्र आवेदन दिनुपर्छ भन्ने छैन । ‘पहिला ‘कन्सेप्ट’मा हामी छलफल गर्छौं । यदि व्यक्तिको ‘कन्सेप्ट’ले प्रकृति, वातावरण र कलालाई साथ लिएर स्थानीय हस्तकलालाई प्रमुखतामा राखेको छ भने जोकोहीले पनि यो ‘ग्रान्ट’ पाउन सक्नुहुनेछ ।’ यसर्थ, यो कार्यक्रमले व्यावसायिक कलाकारलाई मात्र नहेरेर कुनै पनि तह र तप्काका हस्तकलाका अध्येयता, अभियन्ता वा सामान्य अनुरागीलाई प्रोत्साहित गर्नेछ ।
हस्तकलाको प्रवद्र्धन गर्ने कार्य नेपाल हस्तकला महासङ्घले गर्दै आएको छ । प्रवद्र्धन कार्यका लागि यो संस्थाले हरेक वर्ष विविध कार्यक्रमको आयोजना पनि गर्छ । यद्यपि, महासङ्घका कार्यक्रमले मात्र पुगेको देखिँदैन । अन्य निकायबाट पनि यो कलाको प्रवद्र्धन र प्रचार–प्रसार जरुरी छ । यसका लागि ‘रोड टु कोप २६’ कार्यक्रम एउटा कोसेढुङ्गा बन्न सक्छ । हाम्रा लोकजीवनमा रहेका र लुकेका हस्तकलालाई थोरैमात्र बाटो बनाइदिने हो भने विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतका रूपमा यो क्षेत्र रहनेछ ।