गोविन्द मरासिनी
धादिङ सदरमुकाम धादिङबेँसीबाट करिब छ कि.मी.पार गरेपछि नीलकण्ठ नगरपालिका–७ स्थित निबुवा स्वारा पुगिन्छ । निबुवा स्वारा नजिकैको हिटी भन्ने स्थानको डाँडामा चिटिक्क पारेर बनाइएका टहराहरूले मन नै लोभ्याउँछ । टहराले मात्र होइन, यहाँ पुग्ने जो कोहीको मन प्रकृतिक वातावरणले पनि आकर्षित गर्छ । यस ठाउँबाट धादिङ जिल्लाका केही रमणीय स्थलहरुको दृश्यावलोकन गर्न सकिन्छ । टहरा नजिकै श्री शुभारम्भ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरिएको छ । यही कृषि फार्मले यहाँ टहराहरू पनि बनाएको हो ।
कृषि फार्ममा कालिज पालन गरिएको छ । अहिले यहाँ कारिब एक हजार तीन सय जति कालिज पालिएका छन् । यो कालिज फार्म धादिङ जिल्लाकै पहिलो फार्म पनि हो भने यही फार्मबाट कालिजका चल्लाहरू लगेर अन्यत्रका युवाले व्यावसायिक कालिज पालन पनि गरेका छन् । फार्मका अलवा भविष्यमा रिसोर्ट पनि सञ्चालन गर्ने उद्देश्यका साथ टहराहरु निर्माण गरिएको रहेछ ।
कालिज फार्म बामदेव अधिकारी र सुदर्शन कोइरालाले सञ्चालनमा ल्याएका हुन् । नातामा दाजुभाइ पर्ने यी दुई उद्यमीले करिब एक करोड रुपियाँभन्दा बढीको लगानीमा दुई वर्ष अघि यस फार्म सुरु गरेका हुन् । अहिले कालिज व्यवसायबाट व्यावसायिक उत्पादनसमेत शुरु भइसकेको फार्मका सञ्चालक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३५ लाख रुपियाँभन्दा बढीको कालिज बिक्री भइसकेको छ । अब चल्ला उत्पादनका लागि ह्याचरी मेसिन ल्याउन तथा त्यसको पूर्वाधार तयार गर्न उहाँहरूले फार्ममा अझै लगानी थप्ने योजना बनाउनु भएको छ ।
‘भविष्यमा रिसोर्ट पनि सञ्चालन गरी व्यवसायलाई फराकिलो पारेर पर्यटकलाई समेत कालिज फार्मको अवलोकन गराउने योजना छ’, अधिकारीले भन्नुभभयो । करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको यस कालिज फार्म सञ्चालनका लागि आफूसँग पर्याप्त रकम नभएपछि बैंकबाट ऋण निकालेर व्यवसायमा लगानी गरेको उहाँले बताउनुभयो । प्राकृतिक वातावारणमा गरिएको कालिज फार्मलाई चारैतिरबाट तारले घेरिएको छ । वन्यजन्तुको कुनै डर छैन । कालिजको सुरक्षाका लागि उहाँहरू ढुक्क हुनुहुन्छ । नेपालमा कालिज फार्मको व्यावसायिक सुरुवात खुला गरिएसँगै उहाँहरूले यो व्यवसाय सुरु गर्नुभएको हो ।
कालिजको व्यावसायिक पालन उहाँहरूले २५० वटा चल्लाबाट शुरु गर्नुभयो । प्रति चल्ला एक हजार आठ सय रुपियाँ तिरेर किन्नु भयो । चल्ला युरोपको इटालीबाट ल्याइएका हुन् । यसपछि समय–समयमा चल्लाहरु थप्दै जानुभयो । अहिले एक कालिजको तीन हजार पाँच सय रुपियाँसम्ममा बेच्ने गरेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो । फार्ममा एकै प्रजाति (रिङ नेक)का कालिज छन् । यस प्रजातिको कालिजले चैत, वैशाख र जेठको सिजनमा अण्डा पार्छ । एक सिजनमा ४० देखि ५० वटासम्म अण्डा उत्पादन गर्छ । यहाँ उत्पादित कालिज राजमार्गका होटेल र आसपासका जिल्लामा विक्री हुने गरेको छ । कालिजलाई जीवितै ओसार–पसार गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ । त्यसैले यसको मासु मात्र बिक्री वितरण हुने गरेको छ । सुत्केरी र युरिक एसिडका बिरामीका लागि कालिजको मासु निकै उत्तम मानिन्छ । युरोपमा त चिकित्सकहरुले यसको मासुलाई औषधिकै रुपमा प्रयोग गर्न सल्लाह दिने गरेका छन् । नेपालमा पनि अचेल यसको विक्री वितरण बढ्दै गएको छ । व्यावसायिक कालिज फार्मको सुरुवात गरिरहेका अन्य साथीभाइको सङ्गतले अधिकारीलाई पनि कालिज पालन गर्ने हुटहुटी जागेको हो । अचेलका युवाको मानसिकता नै जसरी हुन्छ विदेश जाने बनिरहेको छ । तर यी दुई उद्यमी स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । रचनात्मक सोच राखी स्वदेशमै केही गर्न उहाँहरू अन्य युवालाई सुुझाव पनि दिनुहुनछ ।
अधिकारीको परिचय यो व्यवसायमा मात्र सीमित छैन् । उहाँ पद्यमकन्या क्याम्पसमा अध्यापन गराउनुहुन्छ । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुहुन्छ । जीपी कोइराला फाउन्डेसन धादिङको अध्यक्ष पनि हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबाट दुईवटा बिषयमा स्नातकोत्तर हासिल गर्नुभएको छ । उहाँको व्यवसायमा साझेदार सुदर्शन कोइराला पनि पेशाले अवकाश प्राप्त सैनिक हुनुहुन्छ । राष्ट्रसेवाबाट अवकाश पाएसँगै बिदेश भांैतारिने संस्कारलाई पन्छाउँदै आफ्नै देशमा केही गर्ने जोसका साथ उहाँ पनि कालिज पालनमा लाग्नुभएको हो ।
राजनीतिक अस्थिरता र बेरोजगारीले युवा पीडित छन् । राजनीति स्थिर होला, देशले बिकासको गति समाउला र रोजगारीका लागि भाँैतारिनु नपर्ला भनेर युवा हेरिरहेका छन् । तर यो वातावरण नबनेपछि युवामा विदेश मोह बढेको हो । तर यसलाई लत्याउँदै नेपालमै नयाँ–नयाँ व्यबसाय गर्नेहरुको संख्या पनि अचेल वृद्धि भइरहेको छ । नेपालमै व्यबसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा उहाँहरू यतिखेर चिनिनु भएको छ । ■