केदार वाशिष्ठ
विक्रम संवत् १९१३ मा श्री ५ सुरेन्द्रबाट कास्की र लमजुङका महाराजाको उपाधि पाएपछि श्री ३ बनेका जङ्गबहादुर राणा औपचारिक रूपमा ‘श्रीप्राइमिनिन्ष्टर् यान् कम्यान्डर इन् चीफ् जनरल जङ्गबहादूरकुँवर रारााजी वर्मा’ (यसै लेखमा प्रस्तुत जङ्गबहादुरका पत्रहरु, केहीमा पदवियोग गरिएको छ) भनेर चिनिन्थे र यो पहिचान अगाडि ‘श्रीमद्राजकुमारात्मज’ पनि थपिएको पाइन्छ । उनको यो पहिचान र प्रशस्ति उनको युरोप यात्राको विवरण ‘जङ्गबहादुरको बेलाइत यात्रा’ (सं. कमल दीक्षित, २०१४, मदन पुरस्कार पुस्तकालय) लेख्ने अज्ञात लेखकले पनि दिएका छन् ।
बाहिरी दुनियाँमा भने जङ्गबहादुर ‘युरोप भ्रमण गर्ने पहिलो नेपाल प्रमण्डलका नेता’ (जोन वेल्पटन, सन् २०१६, हङकङ विश्वविद्यालय) भनेर चिनिन्छन् । वि.सं. १९०३ मा कोतपर्वमा र त्यसपछिका अरु पनि घटनाहरुमा आप्mना सबै प्रतिस्पर्धीहरूको अन्त्य गरेर एकछत्र राज गर्न थालेपछि जङ्गबहादुरले वि.सं. १९०६ (सन् १८५०–५१) मा युरोप यात्रा गरेका थिए । बेलायत र फ्रान्समा गएका उनको व्यापारिक उद्देश्य भने पूरा नभएको युरोपेली विद्वान्हरुको निष्कर्ष पाइन्छ ।
उनको यात्रामा सहभागी रहेको मानिएका अज्ञात लेखकले भने जङ्गबहादुरको बेलायत यात्राको उद्देश्य “अंग्रेज वात्साहाको र हाम्रो सीवाना जोरियाको छ; इन्को फौज, पल्टन्, षजाना, हात्हतियार, मुलुक, दौलथ, आम्दानि षर्च, थिति वन्दोवस्त क्या रहेछ पात्साहि तषत् वेलायेत् काहा रहेछ, लन्डन् सहर कस्तो रहेछ, ताहाका भारदार दुनिञा गैह्रको मीजाज कस्तो रहेछ” भन्ने थाहा पाउनु रहेको उल्लेख गरेका छन् ।
अझ जङ्गबहादुर “आजतक् हिन्दूस्थान्का मानिस् लन्डन् बेलायेत् पुगी आयाको कोहि छैनन्, इन्का मुष जमान् अकवारको वेहोरा सुन्दा सारा हिन्दूस्थान्का राजा नवाव पात्साहाका मुलुक् लीखा पनि अंग्रेज्का अवस्थान अंग्रेजका वादसाहका वल पराक्रम् तहकीत गरि चिन्ह हिन्दूस्थान्, मध्येस, पाहाड भोट्, चीन कसैले सकेनन्” भन्ने निष्कर्षमा पुगेको देखिन्छ । त्यसै कारण ती लेखकले नेपालको तत्कालीन छिमेकी बेलायतको शक्ति आफ्नै आँखाले नियालेर रणनीति तय गर्नु जङ्गबहादुरको युरोप यात्राको उद्देश्य रहेको जनाएको पाइन्छ ।
यस आलेखको उद्देश्य भने उनको त्यस्तो रणनीति वा कार्यनीतिको खोजी गर्ने वा व्यापारिक सफलता वा असफलताको खोजी गर्ने नभई जङ्गबहादुरले उनका बेलायती मित्र ब्रायन हटन हड्सनलाई लेखेका तीन वटा व्यक्तिगत पत्रका आधारमा जङ्गबहादुरका व्यक्तिगत र शासकीय विशेषताको खोजी गर्नु रहेको छ । यी पत्र यस आलेखका लेखकको अनुसन्धानमूलक कृति नेपाल विद्या लेखनको क्रममा प्राप्त भएका हुन् ।
नेपालको एक तिहाई भूभाग तत्कालीन बेलायत (ब्रिटिस इन्डिया सरकार) र हालको भारतमा पर्ने गरी वि.सं. १८७२ मा बेलायतसँग भएको सुगौली सन्धिपछि नेपालमा बेलायती दूतावास (रेसिडेन्सी) पनि राखिएको थियो । हड्सन त्यही रेसिडेन्सीमा वि.सं. १८७७ देखि असिस्टेन्ट रेसिडेन्ट (सहायक राजदूत) र विभिन्न पद हुँदै वि.सं. १८८९ देखि वि.सं. १९०० सम्म रेसिडेन्ट (राजदूत) रहेका थिए ।
हड्सनले नेपालमा रहँदा विभिन्न विषयमा अध्ययन गरेका थिए र धेरै नेपाली सामग्री बेलायत पठाएका थिए । उनका अध्ययनका सामग्रीलाई आधार बनाएर धेरै अध्ययन हुने गरेका छन् । नेपालबाट अवकास पाएपछि उनी दार्जिलिङमा बसेका थिए र त्यही बसाइका क्रममा जङ्गबहादुरले हड्सनलाई लेखेका तीन वटा पत्रबारे यहाँ उल्लेख गरिएको छ ।
हड्सनको जीवनीमा आधारित यी पत्र भने हड्सनबाट नभई उनकी पत्नी सुसनको सङ्कलनबाट लिइएका हुन् । यी पत्र नेपाल बेलायत कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सयौँ वार्षिकोत्सवका अवसरमा मार्च २२, २०१६ मा रोयल एसियाटिक सोसाइटीबाट सार्वजनिक गरिएका हुन् । पत्रमा व्यक्तिगत र राजनीतिक तथा सामरिक महŒवका सूचनासमेत छन् ।
पारिवारिक सम्बन्ध
जङ्गबहादुर र हड्सनबीच औपचारिक पारिवारिक सम्बन्ध स्थापना नभए पनि निकटता ज्यादै पाइन्छ । ‘संवत् १९१२ साल वैशाष शुदि १५ रोज ४’ मा जङ्गबहादुरले कान्तिपुरबाट दार्जिलिङमा रहेका हड्सनलाई लेखेको पत्रमा निकट पारिवारिक सम्बन्ध देखाइएको पाइन्छ । पत्रमा जङ्गबहादुरले बेलायत जाँदा हडसनका छोरालाई भेटेको स्मरण गरेका छन् ।
हडसनको पत्रको जवाफमा लेखिएको उक्त पत्रमा हडसनले कसैको कुरा उल्लेख गरेको अनुमान गर्न सकिन्छ । त्यसको जवाफमा जङ्गबहादुरले एउटा पत्र (पत्र १) मा ती आफ्ना जुवाञी (ज्वाइँ) रहेको र अर्को पत्र (पत्र २) मा ज्वाइँ नभनी कप्तान् गजराजसिंथापा भनेका छन् ।
पत्रमा जङ्गबहादुरले आप्mना ज्वाइँलाई आफ्नो छोरा झैँ मानी सिकाउन र सधाउन हडसनलाई अनुरोध गरेका छन् । जङ्गबहादुरका ज्वाइँलाई हड्सनले काम दिलाएको र त्यसबाट जङ्गबहादुर सन्तुष्ट रहेको पनि पत्रबाट स्पष्ट हुन्छ । त्यसै क्रममा उनले आफूले बेलायत यात्राको क्रममा लन्डनमा हड्सनका छोरालाई भेटेको र भाइ जस्तै व्यवहार गरेको पनि उल्लेख गरेका छन् (पत्र १) । हड्नसन नेपालमा रहँदा नै उनका छोरा जन्मेकाले पनि निकटता बढेको पत्रबाट थाहा हुन्छ ।
तेस्रो पत्रमा ज्वाइँको आचरणबारे हड्सनले दिएको जानकारीबाट आफू खुसी भएको जनाउ छ । लेखिएको छ “मेजरकप्तान् गजराज सिंथापाका चालचलन् सवै वढियाछ भनी लेषनु भयाका कुरालाई आफुदोस्का तालिममा रह्यापछि सवैकुराले वढिया हुनछन् भनि चीत्तले देष्णकोछ” ।
पत्र १ मा भोटका चरा र हरिणबारे हड्सनले लेखेको सन्दर्भमा जङ्गबहादुरले आफू पनि सिकारमा सौखिन भएको जनाएका छन् । अघि युद्धमा जाने सिपाहीहरुले भुmँगामा अनौठा चरा र अनौठा जनावर पाइने बताएकाले श्री ५ मा जाहेर गरी आफू झुँगातर्फ गएको तथा राजमान चित्रकारिले हड्सनका किताबमा नलेखेका चरा जनावर आफूले सिकार गर्दा पाइए आफैँ पठाइ दिने वचन दिएका छन् ।
भाषिक अध्ययन
तत्कालीन समयका पत्र भाषिक अध्ययनका लागि आफँैमा महŒवपूर्ण स्रोत रहेका छन् । नेपाली भाषाको ऐतिहासिक र तुलनात्मक अध्ययनका लागि यिनको महŒव ठूलो रहेको छ । तर अर्को पत्र (पत्र २, पत्रको मिति उल्लेख भएको भाग भने काटिएको अवस्थामा छ, पत्र सार्वजनिक गरिएको विवरणमा ती पत्र सन् १८५५ का हुन् भनिएको छ) अनुसार तत्कालीन समयमा पनि नेपालको बहुभाषिक विशेषताको अध्ययनको पाटो पनि उल्लेख्य रहेको पाउन सकिन्छ ।
हड्सनले नेपालको अध्ययनको क्रममा नेपालका भाषालाई पनि विषय क्षेत्र बनाएका थिए । त्यसक्रममा उनले भाषाका नमुना सङ्कलन गरेका थिए र जङ्बहादरको समेत सहयोग मागेको पत्रमा देखिन्छ । बोलीका कुरालाई र ताहाबाट आएका कुरालाई पाएसम्मको उतार गरी पठाउनू भनी भाइ मिनिस्टर जनरल वँम्वहादूर कुंवरराराालाई आफूले भनेको र उनले उतारी पठाउने जानकारी जङ्गबहादुरले हड्सनलाई दिएका छन् ।
जङ्गबहादुरले नेपालका चार वटा भाषाका नमुना हड्सनलाई पठाएको उल्लेख पत्रमा पाइन्छ । यसबाट जङ्गबहादुर आफैँ पनि नेपालको बहुभाषिक विशेषतामा चासो राख्थे भन्ने पनि देखिन्छ ।
जङ्गबहादुरले हड्सनलाई लेखेका पत्रमा भनिएको छ –
‘जातजातका.वोलीकाकुरालाई.तपाञीबाटलेखिआउनीवित्तिकै.ठाउ ठाउमा.पठाई.कुसुंडा वोली १ पाष्या वोली १ थाक्सा वोली १ थारु वोली १ ई.चारवोली उतार्न लगाइ.फर्द १ पठायाकोछ’ ।
यी चार वटा बोली अर्थात् भाषाका नमुना अध्ययन विश्लेषणका लागि जङ्गबहादुरले हड्सनलाई पठाएको र हड्सनको अध्ययनमा उनको सहयोग देखिन्छ । पठाएका भाषाका नमुनामा कुसुन्डा, पाष्या (पाखे ?), थाक्से (तामाङ वा शेर्पा वा भोटे ?) र थारु भाषा छन् । पाष्या भन्नाले पाखे भाषा भनेर केलाई भन्न खोजेको हो बुझिँदैन । नेवार समुदायले पहाडेलाई ‘खेँ’ भन्ने भएको हुँदा यो पाखेँ, पाखे, पाषे, पाष्या हुन सक्छ । थाक्से भाषाले पनि तामाङ वा शेर्पा भोटतिरको भोटे भाषा हो कि भन्ने अनुमान गर्न सकिन्छ । कुसुन्डा र थारु भने बोली अर्थात् भाषा भनी स्पष्टतः बुझिने गरी आएका छन् ।
सामरिक सूचना
तीन वटै पत्र (पत्र १, २ र ३) को मुख्य विशेषता भनेको नै सामरिक सूचना हो । नेपाल–भोट (तिब्बत) युद्ध सुरु भएदेखिका र थापाथली सन्धि भई युद्ध समाप्ति भएसम्मका विवरण पहिलोदेखि अन्तिम पत्रसम्म उल्लेख छ ।
पहिलो पत्रमा ‘भोटसंंग हाम्रावेपारका.
कुरामा.हाम्रामानिसमारिदिदा लडाञीभयो’ भन्दै व्यापारिक विवाद युद्धमा परिणत भएको जनाइएको छ । वि.सं. १९१२ वैशाखमा लेखिएको पहिलो पत्रमा नै नेपालबाट भोटतिर धेरै क्षति र हताहती भएको विवरण छ ।
मितिको भाग काटिएको तर वि.सं. १९१२ आसारको पत्रको जवाफमा लेखिएको दोस्रो पत्रमा चीनले लडाइँ नगर्न र सन्धि गर्न सुझाएको र त्यसका लागि नेपाललाई १० लाख रुपियाँ दिने प्रस्ताव गरेको तर नेपालले ९० लाख मागेको र त्यतिको रकम दिन नसक्ने जनाएको उल्लेख छ । त्यसपछि लडाइँ जारी नै रहेको तर हिउँ पर्ने सिजनमा रोकिएको र हिउँ खुल्ने बित्तिकै फेरि लडाइँ वर्षभरि नै चल्ने सम्भावना रहेको सूचना दिइएको छ । त्यस्तो लडाइँमा भोटलाई चीनको पनि सहयोग हुनसक्ने जनाउ छ ।
एक महिनासम्म पात्राचार नहुँदा हड्सनलाई चिन्ता लागेकाले कुशलक्षेम लेखी पठाउन अनुरोध गरेको । भोटको लडाइँमा झँुगा जानुपरेकाले पत्र पठाउन ढिला भएको जङ्गबहादुरको जानकारी पनि पत्रमा छ ।
माथिल्लो भाग काटिएको तेस्रो पत्र (पत्र ३) वि.सं. १९१३ असार ७ मा लेखिएको छ । पत्रका बायाँ किनारामा अरू तीन जनाको पनि नाम उल्लेख छ । यी तीन जनामा नरसम्सेरजङ्ग कुवरराराा, कह्मधोज कुवरराराा र धीर सम्सेर जङ्गकुँवर राराा रहेका छन् । यिनीहरुलाई क्रमशः ३, २ र १ अङ्कले पत्रमा पहिचान गराइएको छ । अङ्क ४ ले जङ्गबहादुर आफैँलाई चिनाएका छन् ।
सुरुमा गोर्खातर्फका फौजले भोटलाई जित्दै गएको र घा (सन्धि) को कुरा हुँदाहुँदै भोटतर्फको ठूलो सङ्ख्याको स्थल सेना र घोडचडीले गोर्खा सेनामा ठूलो क्षति गराएको जानकारी उक्त पत्रमा दिइएको छ । त्यसपछि फेरि धेरै दिनसम्म लडाइँ हुँदा गोर्खा फौजले भोटका सेनालाई परास्त गरेको र सन्धि भएको जानकारी दिइएको छ । वि.सं. १९१२ चैत १२ मा भएको थापाथली सन्धि भनेर चिनिने नेपाल–भोट सन्धिपछि पठाइएको हो । पत्रमा सन्धि भएको मिति उल्लेख नभए पनि सन्धिका सर्तहरुबारे जानकारी हड्सनलाई गराइएको छ ।
पत्र अनुसार भोटले सालिन्ने १० हजार रुपियाँ गोर्षासर्कार (नेपाल) लाई दिइने, नेपालले डिगर्चामा नयाँ कोठी राखी व्यापार सुरु गर्ने जस्ता सर्तमा सन्धि भएको जनाइएको छ । नेपालले सन्धिमा छल नभएको बरु भोटका तर्फबाट के कसो हुन्छ त्यो हेरेर नेपालले पनि भावी रणनीति बनाउने जानकारी पनि पत्रमा दिइएको छ ।
निष्कर्ष
जङ्गबहादुरका यी पत्र यति मात्र होइनन् अरु पनि रहेको जानकारी पाइन्छ । तर यी तीन वटा पत्र मात्रै पनि नेपालको राजनीतिक र भाषिक अध्ययनको पाटो केलाउन उपयोगी देखिन्छन् । व्यापारिक कारणबाट भोटसँग भएको नेपालको युद्धको छोटकरी तर जीवन्त वर्णन यी पत्रमा पाइन्छ । यसले नेपालको ऐतिहासिक अध्ययनमा सहयोग गर्दछ । यसै सन्दर्भमा एउटा अर्को पाटो बेलायतको सामरिक अध्ययन गर्न आफैँ गएका जङ्गबहादुर आफैँले आफ्नो सबै सामरिक सूचना बेलायतलाई दिएको पनि देखिन्छ ।
तत्कालीन नेपाल सरकारलाई गोर्षा सरकार भनिए पनि भाषालाई भने गोर्षा भन्ने गरेको यी पत्रबाट पाइएन बरु पाष्या भाषा भन्ने गरिएको पाइन्छ । पत्रको भाषाले तत्कालीन समयको नेपाली भाषाको स्वरूप पनि देखाउँछ ।
विदेशमा रहेका नेपाल सम्बन्धी यस्ता ऐतिहासिक मूलस्रोतसम्म पुगी नेपाल विद्याको पाटो अझ सशक्त बनाउनु आवश्यक देखिन्छ ।