रामदयाल राकेश
मैथिली साहित्यका महाकवि विद्यापतिले वसन्त ऋतुको अनुपम सौन्दर्यको चित्राङ्कन गर्दा फागु महोत्सवको वासन्ती र सांस्कृतिक पक्षमाथि प्रकाश पार्नुभएको छ किनभने फागु वसन्त ऋतुमा मनाइने सबैभन्दा ठूलो लोकोत्सव हो ।
वसन्त ऋतुको पदार्पण जब प्रकृतिको प्राङ्गणमा हुन्छ तब भमरा सबैभन्दा पहिले मातेको हुन्छ । रसिक भमरा फूलको सुवास एवं सुगन्धले भरिएको बाटोतिर अर्थात् आफ्नो गन्तव्यतिर लम्किन थाल्छ । यस्तै मादक मनोहर र मस्त तथा मधुर वातावरणको सिर्जना गर्नमा वसन्त ऋतु सफल हुन्छ । अनि मिथिलावासीहरू पनि मदमस्त भएर फागु लोकोत्सव मनाउन थाल्छन् । मस्ती नै यस लोकोत्सवको मूलमन्त्र हो । जीवनमा आनन्द प्राप्त गर्नु नै मानिसको ठूलो अभिलाषा हुन्छ । फागु लोकोत्सव मनाउनुका पछाडि आनन्दको अन्वेषण पनि एउटा मुख्य कारक तŒव हो । यसको प्रारम्भ वसन्तपञ्चमीदेखि नै हुन्छ । जब मिथिलावासीहरू जो अधिकांश कृषक छन्, आफ्नो मुख्य धानबाली भिœयाउँछन् तब मस्तीले भरिएको लोकोत्सव फागु मनाउनमा चिन्ताविहीन भएर दत्तचित्त हुन्छन् । जब मानिस चिन्ताविहीन हुन्छ, कामकाजको बोझबाट उन्मुक्त हुन्छ । अनि ऊ आमोदप्रमोदमा लाग्न खोज्छ । आजको आधुनिक मनोविज्ञानले पनि यस तथ्यलाई पुष्टि गर्छ । स्वभावतः मानिस उत्सवप्रिय हुन्छ । तसर्थ यस अनुरुप सुरम्य एवं सुरुचिपूर्ण वातावरणको सिर्जना हुनु सर्वथा स्वाभाविक मानिन्छ ।
संसारका विभिन्न जातिले सांस्कृतिक परम्परा अनुसार आफ्नो मौलिक लोकोत्सव मनाउनुका पछाडि पनि यही तथ्य लुकेको छ । अमेरिका र युरोपमा क्रिस्मस, मुस्लिम देशहरुमा ईद (रमजान) र हिन्दू देशहरूमा दशैँ, दीपावली र फागु मनाउनु यसै तथ्यका ज्वलन्त उदाहरण हुन् । यस किसिमका लोकोत्सव मनाउँदा संस्कृतिको संरक्षणका साथै मनोरञ्जनको पनि भावना पुष्ट हुन्छ । यस अर्थमा फागुको सांस्कृतिक पक्ष झन् प्रष्ट हुन्छ । कामसूत्रको ‘जय मङ्गला टीका’ मा सुवसन्तलाई ‘मदन महोत्सव’ भनिएको छ ।
प्रस्फुटित पूर्ण यौवनको वासन्ती पृष्ठभूमिमा जब प्रकृति आफ्नो पीत परिधानमा परिवेष्टित हुन्छिन् र मधुमासको मन्द–मन्द मलयानिल पनि सङ्गीतमय गाना गाउँदै प्रवाहित हुन्छ तब फागुको सांस्कृतिक पर्व सबैतिर मनाइन्छ । सङ्गीतमय तिहारमा ‘फागु’ को तिहार सर्वोत्कृष्ट र सबैभन्दा सरस तथा सुहाउँदो किसिमको मानिन्छ । यसको पृष्ठभूमिमा आँपका बगैँचाहरूमा कर्णप्रिय कोइलीको सरस एवं सुमधुर पञ्चमतान, पपिहाको पी–पीको पुकार, पुष्पहरुको मधुमय मुस्कान, भमराहरूको सङ्गीतमय स्वरलहरीले गर्दा सम्पूर्ण वातावरण प्रतिध्वनित हुन थाल्छ । चारैतिर नयाँ उत्साह, नौलो उमङ्ग, रमाइलो रमझमको सुमधुर र सङ्गीतमय वातावरण दिगन्तमा परिव्याप्त हुन्छ । वन–उपवन, खेत–खलिहान, गाउँ–गल्ली र चौबाटो–चौतारी तथा गोरेटो–घोडेटो फागुको लोकलहरीबाट निनादित हुन थाल्छ । फागुको सुमधुर सम्झनामा वासन्ती मादकता तन्नेरी र तरुणीहरूको प्रेमासक्ति आँखामा गाजलको रूपमा खेल्न थाल्छ र नीलो आकाशमा सेतो बादल मादल लिएर सङ्गीतको सरस धारा प्रवाहित गर्न थाल्छ । ऋतुराजको यस्तै मधुरतम एवं मादक बेलामा फागु सम्पन्न हुन्छ । यसलाई मैथिलीभाषामा ‘पÞmगुआ’ र ‘होरी’ भनिन्छ । प्राकृतिक सौन्दर्यका अमर गायक महाकवि कालिदासले यसलाई ‘अभिज्ञानशाकुन्तलम्’ ‘रघुवंश’ र ‘मालविकाग्निमित्र’मा ऋतु उत्सवको उपाधिबाट अलङ्कृत गरेका छन् ।
यो लोकोत्सव हिरण्यकशिपुकी बहिनी होलिकासँग सम्बन्धित भएकाले यसलाई होलिका दहन पनि भनिन्छ । हिरण्यकशिपुको आतङ्क र अत्याचारबाट सबै प्रजाजन प्रताडित एवं पीडित थिए । उसको छोरा प्रह्लाद भगवान्को सच्चा भक्त थियो । उसले प्रह्लादलाई मार्नका लागि एउटा षड्यन्त्र रच्यो । होलिकाको काखमा राखेर प्रह्लादलाई मार्ने योजना बनाइयो तर प्रह्लाद भगवान्को असीम कृपाबाट बचे । होलिकाचाहिँ आगोमा जलेर मरिन् । त्यसैबेलादेखि होलिका दहनको परम्परा चल्दै आएको मानिन्छ । के गाउँ के शहर सबै ठाउँमा यो समान रूपमा मनाइन्छ । रङ र अबिरको खुलम् खुला प्रयोग हुन्छ । सम्पूर्ण वातावरण रङ्गीन हुन्छ । यो रङ लोकोत्सवमा के बच्चा, के युवक र के बूढा सबै समानरूपमा सहभागी हुन्छन् । त्यस्तै के बच्ची, के तरुणी र के बूढी सबै समान भएर एक आपसमा रङ र अबिरले सरोबर भएर यस लोकोत्सवलाई सार्थकता र जीवन्तता प्रदान गर्छन् । वर्षभरिको दमित एवं कुण्ठित मनोग्रन्थीलाई फुकाउने अवसर प्रदान गर्दछ यो पÞmगुआ तिहारले । अश्लील लोकगीत गाइन्छ । गालीगलौज गरिन्छ तर कसैले नराम्रो मान्दैन । तरुणीहरूलाई जिस्क्याउने गरिन्छ तर यसलाई पनि नराम्रो मानिँदैन । देवर र भाउजुको बीचमा छेडछाड स्वच्छन्दतापूर्वक चल्छ तर यसलाई पनि सामाजिक स्वीकृति नै मानिन्छ । सालीसँग पनि यस्तै निर्बन्ध सम्बन्ध गाँसिन्छ पÞmगुआभरि । यसै सन्दर्भमा एउटा पÞmगुआ लोकगीतको टुक्रा प्रस्तुत गरिन्छ– नकवेसर कागा ले भागा, सैयाँ अभागा न जाना’ अर्थात् लोग्ने र स्वास्नी साथसाथ सुतेका छन् तर कागले स्वास्नीको नाकको फुली लिएर भागिसक्यो । लोग्ने अभागीलाई थाहै भएन किनभने ऊ मस्त भएर बेहोश अवस्थामा सुतिराखेकै छ । यस कथनको पनि सांस्कृतिक पृष्ठभूमि छ । पÞmगुआभरि माछा, मासु र मदिरा प्रशस्त खाने परम्परा छ । यस बाहेक भाङ र अन्य नशालु पदार्थको सेवन स्वतन्त्रतापूर्वक गरिन्छ । जबसम्म मानिस बेहोस हुँदैन तबसम्म यसमा कुनै व्यवधान आउँदैन । यो त भो मांसाहारीको हाल ।
शाकाहारी मानिसहरू पनि भिन्न भिन्न किसिमका स्वादिष्ट भोजन हलुवा, खीर, मिठाई र फलफूलका साथै भाङ र कुसु (भाङ, धतुरो दूध, किसमिस, अलैँची, काजु, नरिवल मिसाएको पेय पदार्थ) खाने गर्छन् । यस्ता पौष्टिक खाना खानुको पछाडि कामोत्तेजना बढोस् भन्नु नै हो । प्रेमका देउता कामदेवले पनि यो बेला प्रत्येक मान्छेमा कामवासनाको सञ्चार गर्छन् भन्ने मान्यता छ । तसर्थ यस लोकोत्सवको एउटा पक्ष कामुक भावनालाई उत्तेजित पार्नु पनि हो ।
यस लोकोत्सवलाई कृष्ण र राधाको रासलीलासँग पनि जोडिन्छ । कृष्णले जसरी मायावी एउटा साधारण मानिस जस्तो राधा र उसकी सखीहरूसँग सहवास र सुखसयलको आनन्द लुटेका थिए, यमुनाको तटमा कदम्ब रूखमुनि कृष्णले राधा तथा गोपिनीहरूसँग ‘होरी’ खेलेका थिए, जनकपुरमा राम र सीताले एक आपसमा फागु खेलेका थिए, हिमालयमा शिव र पार्वतीले ‘होरी’ खेलेका थिए, त्यस्तै आजका तरुण र तरुणीहरूबीच रङ र अबिर पिचकारीमा भरेर एक अर्कामाथि रङ्गीन आक्रमण गर्ने परम्परा शताब्दीऔँदेखि चल्दै आएको छ ।
यो लोकोत्सव साम्प्रदायिक सद्भावको प्रतीक हो । यसमा सबै जाति, सबै वर्ग र सबै वर्णका मानिस समभावले सरिक हुन्छन् । जातिपातीको कुनै बन्धन हुँदैन । धनी र गरिबबीच कुनै भेदभाव हुँदैन । यसको मूल उद्देश्य नै साम्प्रदायिक सद्भाव हो । अनि एकआपसमा रहेका रिस, राग, द्वेष हटाउनु हो ।
मिथिलाञ्चलका हरेक गाउँमा महिना दिन अघिदेखि नै गाउँभरिको कसिङ्गर एक ठाउँमा जम्मा गरिन्छ । फागु पूर्णिमाको रात अन्तिम प्रहरमा त्यसमा आगो लगाइन्छ । यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ । यो कार्यलाई समभाव र सद्भावको सूचक नै मान्न सकिन्छ । सम्मतको प्रदक्षिणा गरेर र त्यसको खरानी शरीरमा घसेर मानिसहरू विभिन्न बाजागाजाका साथ गाउँका हरेक घरमा घुम्छन् । ‘भले हो भले’ र ‘सुनलो मोर कबीर’ भन्दै पÞmगुआ लोकगीत गाउँदै हरेक घर पुग्छन् । प्रत्येक घरधनीले यथोचित स्वागत गर्छन् । रङ र अबिर हालेर पान र सुपारी खान दिएर खुला हृदयले यो टोलीलाई बिदा गरिन्छ । यो धेरै राम्रो परम्परा हो । तर अचेल गाउँलेहरूमा राजनीतिक मतमतान्तर एवं अन्य मतभेदले यो परम्परा लोप हुँदै गएको भान हुन्छ । यो सामाजिक लोकोत्सव साँघुरो भएर पारिवारिक पर्वका रूपमा सीमित हुँदै गएको छ । पारिवारिक परिधिमा सीमित यस उत्सवलाई फेरि पहिलेकै अवस्थामा ल्याउनु जरुरी छ ।
सङ्क्षेपमा भन्नुपर्दा फागु आमोदप्रमोद, हास–परिहासको उल्लासमय र विलासमय लोकोत्सव हो । यसको सन्देश ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ हो । सामाजिक एकता, समता र समरूपताको पर्व हो । यसलाई यही सामाजिक र सांस्कृतिक सन्दर्भमा मनाउनु सर्वथा उपयुक्त होला । समयको साथमा यसमा आएका केही विकृति र केही कुरीतिलाई हटाउँदै यसलाई आफ्नो लोकपरम्परामा नै मनाउनु मनासिव देखिन्छ ।