रमेश गोर्खाली
मान्छे सबल र सफल जिन्दगीको खोजमा लालायित छ । अल्लारे र विद्यार्थी जीवनमा प्रत्येकले सफलातीत जीवनको चाहना राखेको हुन्छ र राख्नु पर्छ पनि । नागरिकको सफलता र सामथ्र्यमा समुदाय, समाज र राज्यको परोक्ष प्रत्यक्ष भूमिका रहने गर्छ । राज्यको सफलताको पुँजी एकप्रकारले कूटनीतिक व्यवहार हो तथा त्यसैले दूरगामी नीतिलाई संरक्षण गर्दछ । वैयक्तिक स्वार्थसाधनाले गर्दा थुप्रैपल्ट सामूहिक हितले दिशा नलिएको पाइन्छ । स्वार्थ र चरम स्वार्थीले गर्दा समष्टिसूचक अन्तरविकास भ्रमित भएको हुनु चिन्ताजनक छ । दशकौँ दशक वरिपरिको सीमा र सीमाङ्कनमा टेक्दासमेत यस हिमालीभूमिका असङ्ख्य नागरिक एवं कतिपय पुस्ताले पद्धतिमा विश्वसनीय अनुभूत्यात्मक सत्ताको आभास प्राप्त नगरेको देखिन्छ । विसङ्गतिपूर्ण वर्गीय परिधिमा यस्ता कतिपय परिस्थिति झुल्किनु अस्वाभाविक होइन । वस्तुतः कतिपयको दुष्टताले ओतप्रोत बर्बरता प्रतिबिम्वित हुनु खेदजनक ठान्नुपर्छ ।
प्रत्येक नागरिकले सहजीवनमा सहबन्धन र सहबन्धनमा सहजीवन रहेको अनुभूति गर्दो हो त सामाजिक न्याय सदा सन्तुलित रहन्थ्यो होला । तर किन हो यस्तो हुँदैन र मैमत्त ठहरिने एकथरीले यसो हुन दिँदैन । व्यावहारिक जीवनमा प्रत्येकले आआफ्नो किसिमको सहजीकरणमा अपनत्व फेला पार्दछ । यस्तो स्थिति त्यसै सुलभ हुँदैन । वैयक्तिक वा गुटगत अहङ्कार नत्याग्दासम्म एउटा सुदिशाको उदय नहुने निश्चित छ । प्रणाली थुप्रै आदर्शले अभिषिक्त भए पनि तिनको परिचालन सर्वग्राह्य रहनु आवश्यक छ । बहुसङ्ख्यकले समानुभूति नगरेसम्म विविध प्रयासहरू एकप्रकारले निरर्थक हुन्छ । विकासगतिको सूचकाङ्कले मात्र नहुने रहेछ, सङ्क्षेपतः ती वस्तुगत रूपमा देखिनुपर्छ र त्यसको दृश्याङ्कन जरुरी छ । विकासको विकासशील अवस्था र स्तरोन्नति सबैलाई प्रिय रहनु स्वाभाविक हो । अग्रगामी समुत्थानका लागि सचेत र चेष्टारत समस्त तह एवं तप्काको कर्तव्यनिष्ठा आवश्यक हुन्छ । सामूहिक सहजता र सरलीकरण कुन रूपमा अगाडि बढ्छ, त्यसैमा सबैको ध्यान आकृष्ट हुने गर्छ ।
‘बाँच र बाँच्न देऊ’ भन्ने शब्दाडम्बरले मात्र कुनै पनि कुरा पूरा हुँदैन । पद्धतिगत राजनीतिक तरलता, सामूहिक अनुशीलन र प्रतिबद्धताले सहजीकृत हुने गर्छ प्रत्येक परिस्थितिहरू । जटिलतम स्थितिका विविध गाँठाहरुलाई समयचेत किसिमले फुकाउँदै जानुपर्छ । दशक दशकको इतिहास नियाल्दा राष्ट्रिय सन्दर्भका कतिपय बुँदामा सहजताभन्दा बेपत्ता किसिमले विषमता र विद्रूपता वृद्धि भएको हामी पाउँछौँ । भौतिक परिवेशले परिवर्तन र द्रुत विकासलाई किन ठिक ढङ्गले पहिल्याउन सकिरहेको छैन, त्यस्ता बाध्यता परीक्षेय छ । कुन कदम ठीक र कुन चाल बेठीक भन्नुभन्दा अन्तरबाह्य दृष्टिले पीडाग्रस्तको आत्मवेदना न्युूीकृत गर्नुपर्छ । देवकोटोत्तर आठौँ दशक र दशक वरिपरिसमेत कतिपय बौद्धिक पुरस्सरले शान्ति र सिर्जनाका लागि आफूलाई पूर्णरूपेण समर्पित गरेको ऐतिहासिक मीठो गाथा विद्यमान छ रचनाधर्मितामा । उच्चस्तरीय शिक्षा र ज्ञान प्राप्त गरेर मात्र कोही पूर्णज्ञानी नहुने रहेछ । ठूल्ठूला सम्मान र उपाधि प्राप्त गर्दैमा कतिपय कलुषित व्यक्ति सज्जनमा परिणत नहुन सक्छ । समूह, समुदाय, समाज र राज्यको परिवेश तथा परिधिको नियमित कल्याण गरौँ भन्ने अनुभाव हृदयमा नफुरेमा थुप्रै गन्तव्य अपूर्ण हुने देखिन्छ ।
एउटा दूरगामी ‘कोर्स’ पुरा गर्न थुप्रै परिपथहरूलाई सुगम नतुल्याएसम्म सर्वइच्छित दिशा नउघ्रिने स्पष्ट छ । परम्परागत परिपाटीबाट आधुनिकताचेत समाजमा प्रवेश गर्नु सुखद हुन्छ । समयचेत सीमान्त वरिपरिदेखि चिरप्रतीक्षित संविधानवादमा अनेकौँ नयाँ नयाँ तथ्य एवं तर्क थपिँदै गएको यथार्थ हो । नवीन परिवेशका समाजार्थिक सूचकाङ्क कस्तो हुँदै जालान् त्यसमा ध्यान जानुपर्छ । समयसँगै समानान्तर दृष्टिगत युगीन सामयिक अभिज्ञान, भावना र अनुभव आवश्यक छन् । अन्यान्यको सम्मान यथावत राख्दै ‘सामाजिक पारिस्थितिकी’को अनुशक्ति बढाउनु पर्छ । समयप्रदत्त सहुलियत अभिग्रहण गर्न प्रत्येक नागरिकको चिन्तनको स्तरीकरण आवश्यक छ । मर्यादा आफैँले बढाउन तत्पर रहनुपर्छ । अनिवार्य ठाउँमा बाहेक परावलम्बन प्रत्येकका लागि त्याज्य छ । इच्छाशक्ति दरिलो पार्दै र तुल्याउँदै निर्दिष्ट गन्तव्य पहिल्याउनुपर्छ, त्यसैमा इच्छित समुद्देश्य अन्तर निहित हुने गर्दछ । स्वेच्छाचारिता पूरा नहुनुमा कारक छन्– वस्तुगत ज्ञानको सीमा । समुदाय र समाजसित मिलेर (नारिएर) सहपीडाको अनुभूति हुनु एकप्रकारले श्रेष्ठता तथा अग्रताको परिचायक हो । सामाजिक र राष्ट्रिय क्षमता यसैको माध्यमले वृद्धि हुन पुग्दछ त्यसलाई विस्मृत गर्न मिल्दैन ।
अरूको दुःख सुख नाप्दा प्राप्त हुने आगन्तुक वा भावी ऊर्जा (शक्ति) लाई ठम्याउनु जरुरी छ । अरूप्रतिको अनुरागी चेष्टा र संचेतनाले अज्ञात रुपमा अनायास व्याख्येय आत्मिक ऊर्जाको प्रादुर्भाव हुन पुग्दछ । सुसम्बन्धन र सहअस्तित्वको प्रकरणले प्रादुर्भूत ऊर्जाशीलताले वृहत् एवं बहुसङ्ख्यक मानवीय जमात लाभान्वित हुँदै जाने परिदृश्यको गम्भीरताले पूर्वानुमान गरौँ, त्यसैमा वास्तविक आनन्द प्रतिविम्बित हुने सहजता हामी भेट्छौँ ।