विमल भौकाजी
कविता विधाका नौ वटा र पाँच वटा नियात्रा सङ्ग्रहका अतिरिक्त दर्शनसम्बन्धी एउटा पुस्तक प्रकाशन गरिसक्नुभएका दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित पछिल्लो कृतिको नाम हो ‘हिमालका आवाज’ । कृतिमा नेपाली साहित्यमा त्यति धेरै प्रयोगमा नआएको एउटा शैली अपनाइएको छ । करिब–करिब नयाँ प्रयोग नै भन्न मिल्ने खालको यो कृति कविता प्रवृत्तिमा लेखिएको छ र यसको विशेषता भनेको यो सिङ्गै पुस्तक एउटै शीर्षकमा सिर्जित भएर शृङ्खलाबद्ध रूपले ५० भागसम्म तन्किएको छ । प्रत्येक कविताको अन्तमा दिइएको स्थान र मितिबाट बुझ्न सकिन्छ, सगरमाथा–यात्रामा गएका बखत पाँच हप्ताको समयमा उहाँले यो कृति तयार पार्नुभएको हो ।
शीर्षकले नै बताउँछ, यो पुस्तक हिमालमाथि केन्द्रित छ । कविता सँगसँगै मूलतः नियात्रा लेखनमा यो समय अघिल्लो पङ्क्तिमा उभिएका पुडासैनीले स्वभावतः आफ्नो नियात्रा शैली मिसाउनुभएको छ, ‘हिमालको आवाज’ मा । हिमालको फेदमा उभिएर, प्रकृतिमा उसले खेल्ने भूमिका लेख्नुहुन्छ उहाँ–
‘तिमी र म अडिएकै चोखो मायाले हो
म नरहेको बेला
तिमीले कुनै गीत गाउन सक्ने छैनौँ
रोकिने छन् पाइलाहरू जीवनका
र चुहिएरै सकिनेछ
पृथ्वीको अनौठो आयतन ।’
हिमालहरू आपूm अचल रूपमा बसेका छन्, गजधम्म । तर यसको अर्थ आवाजविहीन भएर रहेका छन् भन्ने होइन । नबोल्नु एउटा कुरो, तर नबोल्नेसँग पनि आवाज हुन्छ भन्ने वास्तविकता घामजत्तिकै सत्य हो । यस अर्थमा हिमालको आवाज नसुनिएलावा सुनिए पनि नबुझिएला, त्यो आफ्नो ठाउँमा छ तर हिमाल ‘हिमाल’ हो– कहीँ सगरमाथाको पहिचान दिन्छ, कहीँ कञ्चनजङ्घा बनेर हाँस्छ, कहीँ माछापुच्छे«को रूपमा नाच्छ ।
सिमानाको सेना मानेका छन् कविले हिमाललाई । भन्नुहुन्छ– विश्वकै सेनापति हो हिमाल । चिसो हिउँमा समाहित भएर के भो, आइपरे आगो बर्साउन सक्छ हिमाल, फेरि शीतलता पनि दिलाउन सक्छ । यात्रीको थकाइ मेटाउन सक्छ, प्यासीको तृष्णा मेटाउन सक्छ, अनिकालको भोक मेटाउन सक्छ । ध्यान दिएर सुन्ने हो भने हिमालले गीत गाइरहेको सुन्न सकिन्छ । त्यो गीतमा प्रेम–गीत हुन्छ, जीवनको लय भेटिन्छ ।
मान्छे जस्तो छ ठीक त्यस्तै छ हिमाल । मान्छेभित्रकै जस्तो हिमालबाट नदी बग्छ उत्साहको, त्यही प्रकार खुशीको–उमङ्गको समुद्र तरङ्गिन्छ । हिमाल आपूm निःस्वार्थी छ र’त उसलाई पनि समाज चाहिन्छ । विभेदले भरिएका सन्तानको उन्मूलन खोज्छ ऊ । विकृत–विसङ्गतमुक्त समाज निर्माण गर्न चाहन्छ । समष्टिमा, सपना पनि देख्छ हिमालले मान्छेकै जस्तो । फरक के छ र ! एउटै त छ कामना ! विश्वमा शान्ति होस्, मानवता कायम रहोस्; ईष्र्या–डाह, रिस–इवि समूल नष्ट होस् संसारबाट । बस्, योभन्दा अर्को शुभ–कामना के हुन्छ मान्छेको, के हुन्छ हिमालको ?
तथापि हिमालको वरिपरि उडिरहन्छ विषाक्त धुलो । थाहा छ हिमाललाई, एकछिनको कुहिरोले उसको मोहकता छोप्न सत्तैmन । एकछिनको हुरीले उसको सुगन्ध उडाउन सत्तैmन । कुनै पनि किसिमको प्रदूषणले उसको पर्यावरण धमिल्याउन सत्तैmन ।
‘... आँधीहरू मेरा श्वास हुन्
ठक्करहरू मेरा बाटाहरू हुन्
गन्तव्य एउटै हो तिम्रो र मेरो
म तिमीलाई पनि
आँधी र ठक्करहरूले शुद्धीकृत गर्न चाहन्छु...’
कहिले सुनजत्तिकै जाज्वल्य छ हिमाल, कहिले चाँदीजत्तिकै कञ्चन ! परिवर्तनकामी छ । प्रगतिशील छ । कोसिस गर्नेहरूले हेक्का राख्नू, जस्तै हलचलमा पनि हिमाल ढल्दैन । आत्मसम्मानमा बाँच्न चाहन्छ, स्वाभिमानको अग्लाइमा चुलिन चाहन्छ । अन्यथा राष्ट्रकविले पनि यत्तिकै किन लेखे होलान् र; ‘उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे !’
हिमाल र मानिसको सम्बन्ध, यी दुईको एकरूपता काव्यिक रूपमा जसरी यो कृतिमा खुलेर आएको छ, सम्भवतः यसअघिका हिमाल विषयक कुनै पनि पुस्तकमा पढ्न पाइन्न । धूवाँधार वाक्यहरूद्वारा सिँगारिएको यो
‘हिमालको आवाज’ प्राप्त हुँदा पाठकहरूको हृदय प्रफुल्ल हुनेमा कुनै आशङ्का छैन । किटानीका साथ भन्न सकिन्छ, पाठक मात्रै होइन धुरन्धर समीक्षकहरूको मस्तिष्कमा समेत यसले भिन्न किसिमको तरङ्ग ल्याइदिनेछ, यत्ति ठोकुवा गरेरै भन्न सकिन्छ । यसलाई फेरि पनि दोहो¥याउने हो भने पक्कै पनि यसको अर्थ बेग्लै आउँदैन । यसका लागि हिमाली स्वरका प्रतिपादक दामोदर पुडासैनी
‘किशोर’ ठूलो मात्रामा निक्षेप गर्न सकिने धन्यवादका पात्र बनेका छन् ।
नेपाली साहित्यको खास गरेर काव्यिक क्षेत्रमा हिमालजत्तिकै उच्च स्थान कायम गराउन सक्ने हैसियतको ‘हिमालका आवाज’को उपलब्धतामा साँच्चिकै भन्न मन लाग्छ–हिमाल हुनुजस्तो उच्चधारा–उपधारा, दफा–उपदफा कहाँ छ ? कुन संविधानमा ?