कथाकार शशी थापा पण्डितको पन्ध्र कथाहरूको एउटा सङग्रह छ– ‘उठ तिलोत्तमा’ । साँच्चिकै यी कथाहरू पढ्दा मनलाई झकझ(क्याइरहन्छन् । मस्तिष्कलाई सचेत गराइरहन्छन् । सरल भाषा, मिठो शैली र सललल बग्ने प्रस्तुतिले यी कथाहरूलाई आजको कथा बन्न बल पु¥याएको छ । कथाहरू मिठा छन् । उम्दा छन् । अब्बल छन् । पात्र छनोट र संवादलगायत अधिकांश कथा आञ्चलिक परिवेशमा घुमेका छन् ।
पहिलो कथा ‘लिमीको त्यो रात’ रहेको छ । (समाचारअनुसार बन्दबन्दीपछि हुम्ला–हिल्सा रुटको साटो मानसरोवर यात्राका लागि हुम्ला–लिमी रुट प्रयोग गर्न थालिएको छ । लिमीको लाप्चा समुद्र सतहदेखि झण्डै पाँच हजार मिटर उचाइमा छ, जहाँबाट कैलाश पर्वत र मानसरोवरको अधिकांश भाग देख्न सकिन्छ ।) नेपालको सुदूरपश्चिमको त्यो विकट गाउँ लिमी जहाँ चरम गरिबी छाएको छ । दुई चार महिना अन्न फल्छ भोक टार्नलाई । खेतीको काम सकेपछि तिब्बत जाने हो ज्याला मजदुरी गर्न । पेटको आगो त जसोतसो बुझ्ला तर यौवनको आगो केले बुझाउने ? जहाँ बिहे गर्न केटा पाइँदैन । छिमेकमा अर्को गाउँ छैन । बाध्यतावश यौनभोक मेट्न बैँसले राताम्मे भएका युवती कुनै पुरुषबाट आफ्नो कौमार्य तोडछ्न् र नतिजा कुमारी आमा बन्न विवश हुन्छन् । नेपालको हिमाली जिल्लामा हुने बहुपति प्रथाभन्दा फरक देख्छन् लेखक कुमारी आमाको संस्कार ।
सधैँ छिमेकी मुलुक भारतले साँध सिमानाको जङ्गे पिलर सारेर तराईका खेती किसानी गर्ने किसानहरूका जग्गामाथि कब्जा जमाइरहे पनि सरकार मौन रहेको व्यङ्ग्य छ ‘माटो पलायन’ कथामा ।
कथाहरू मन छुने छन् । मस्तिष्क झनझनाउने छन् । कथानक आकर्षक छ । प्रस्तुतीकरण सललल बगेको छ । सबै कथाले सङग्रह पढ्ने सबैलाई उठाउँछ । झकझकाउँछ । कथामा महिला हक हित, लैङ्गिक विभेद, महिला सशक्तीकरणका आवाज, पचास डिग्री सेल्सियसमा उम्लिरहेको खाडी र त्यहाँ रगत पसिना बगाउने युवाको दर्दनाक भविष्य, मालिक छोरो र पाहुनाहरूलाई समेत अनिच्छामै आफ्नो इज्जत सुम्पनुपर्ने श्रमजीवी महिलाहरूका त्रूmर वेदना, द्वन्द्वकालीन घाउ र विद्रोह, कोभिड आतङ्क र रेमिटेन्स, डिप्रेसन, सम्बन्ध विच्छेद, विधवा वा कुमारी आमा बन्नु पर्दाका पीडा र सामाजिक विभेदहरू छन् । समग्रमा मिठो यौन मनोविज्ञान, यौन उद्ववेग र रासलीलाका झड्काहरू कथाका अन्तर्य विषयहरू हुन् ।
सङ्ग्रहमा थोरबहुत भाषा अशुद्धि छन् र कुनै कुनै कथामा यो पापी पेट नभइदिएको भए दुःख गर्नु नपर्ने र आफ्नै नाभीको कस्तुरीको वासना थाहा नपाएको जस्ता प्रसङ्ग दोहरिएका छन् र कुनै कथाको उपासना पात्रको नाउँ उपमा पनि हुन गएको छ । यी साना त्रुटिहरूलाई ओझलमा राखेर हेर्ने हो भने लेखकले सङ्ग्रहलाई उत्कृष्ट बनाउन धेरै मिहिनेत गर्नुभएको छ । सङ्ग्रह सङ्ग्रणीय बनेको छ । आगामी दिनमा लेखकको अर्को सर्वोत्कृष्ट कथासङ्ग्रह आउन सकोस् भन्ने शुभकामना छ ।
लव गाउँले