अर्जुन थापा
घर अगाडि मासु पसलमा राखेको खसीको रुवाइले बिउँझन्छु । सायद त्यस खसीको पनि अन्तिम रुवाइ हुनुपर्छ आज । घडीमा बिहानको साढे चार मात्र भएको छ । एक हप्ता अगाडि गाडीबाट छ वटा खसी झारेको थियो । आफ्नै अगाडि आफ्ना साथीहरूको विभत्स हत्या गरेको देखेर त्यस खसीले यो सोचेको थियो होला कि मलाई पनि यसैगरी हत्या गर्नेछन् भनेर ! आज मेरो अन्तिम बिहानी हो भन्ने बुझेर हुनसक्छ खसी त्यसरी रोएको । यो पनि त हुन सक्छ कि मलाई मेरो जीवन दान देऊ भनेर त्यस मासु पसलेसँग आफ्नो जीवनको भिख मागेको । एक्कासि त्यस खसीको रुवाइ बन्द भयो । सायद मारिसक्यो जस्तो छ । बिचरा लामो धारिलो छुरी लिएर आफ्नो अगाडि बढ्दै गरेको देख्दा कति डरायो होला त्यो खसी ?
थोरै झ्याल उघारेको मात्र के हुन्छु । चिसो स्याँठ सोझै नाकमा आएर ठोकिन्छ । मेरो ध्यान अझै त्यस खसीबाट हटेको हुँदैन । कहाँ जन्म्यो, कसको हातबाट बेचिँदै मेरो घर अगाडि मासु पसलमा मारिनका लागि आइपुग्यो । हरेक पल आफ्नो मृत्युको क्षण कुरी बुस्नुजस्तो ठूलो पीडा अरू के हुन सक्छ र ? आज त्यस खसीको अन्तिम बिहानी रहेछ भने मेरो ... ।
घरमा अझै कोही उठेका छैनन् । भित्ताको घडी आफ्नै तालमा घुमिराखेको छ । आँखा भित्तामा रहेको फोटोमा गएर अड्किन्छ । बत्ती बाल्छु । कोठाका भित्ताहरूमा सजिएका फोटोहरू एकएक गरेर नियाल्न थाल्छु । कति जतनले, रहरले भित्ताहरूमा सजाएको थिएँ ती फोटोहरू । फोटोहरूमा कति खुसी देखिएको छु म । कति रमाइला क्षणहरू थिए मेरा लागि । कोठाको एक कुनामा रहेको ठूलो दराजमा पुग्छ, अब मेरो नजर । ओछ्यानबाट उठेर दराज खोल्छु । मिलाएर राखिएका लुगाहरू जुन मेरो प्रिय छन् । त्यस लुगाहरूमा पनि धेरै याद र माया जोडिएका छन् । त्यहाँ भएका कतिपय लुगा म आफैँ गएर मेरो च्वाइसअनुसार किनेको थिएँ । त्यसमध्ये पनि मेरो मनपर्ने अरेन्ज कलरको लुगा निकाल्छु । त्यस लुगाबाट अझै मिठो स्मेल आइराखेको छ । बेडसँगै रहेको डे«सिङ टेबलमा गएर उभिन्छु । क्रमैसँग मिलाएर राखिएको क्रिम, बडीलोसन, हेयर ब्रसहरूलाई एकएक गरेर केलाउँछु । झट्ट त्यसै माथिपट्टि रहेको एउटा सानो चाँदीको बट्टामा गएर मेरो नजर फेरि जाम पर्छ । बिस्तारै जतनका साथ त्यस बट्टालाई उठाएर त्यसको बिर्को खोल्छु ।
कैयौँ वर्ष, दिन, रात, घण्टा, मिनेट, सेकेन्ड लगाएर बनाएका सुन्दर सपनाहरू सब यसै बट्टाभित्र समालेर राखेको मैले । जसलाई हरदम सँगै लिएर हिँड्ने गर्थें । यसैसँग खेल्ने गर्थेँ । जस्तै परिस्थितिमा पनि हरदम मेरो साथ हुन्थ्यो मेरो सपना । एउटा आमालाई आफूले जन्म दिएको शिशुको पहिलो स्पर्श गर्दा मिलेको आनन्द जस्तै मलाई पनि मेरो सपनालाई वास्तविकतामा पाउँदा त्योभन्दा दोब्बर आनन्द मिलेको थियो ।
ड्रेसिङ टेबलमा जोडिएर रहेको ऐनामा आफूलाई राम्ररी नियाल्छु । म त्यही व्यक्ति हुँ । जुन योभन्दा पहिला हुने गथ्र्यो ? प्रश्न गर्छु आफैँलाई । प्रश्नै प्रश्नमा अल्झिएको म । ऐना अगाडिबाट आफूलाई हटाउँछु । फेरि ओछ्यानको छेउमा गएर बस्छु र ऐनालाई परबाट हेर्न थाल्छु । प्यारो लाग्न थाल्छ मलाई यो ऐना पनि । यस ऐनामा पनि त कति सम्झनाहरू लुकेका छन् मेरा । बिहान र बेलुका ऐना अगाडि बसेर बिताएका क्षणहरू फेरि सम्झन्छु । कति सुखद क्षणहरू थिए ती सब ।
ओहो ! कति चाँडो छ बजिसकेछ । आज किन समय यति चाँडो बितिराखेको होला । बाहिर अझै अँध्यारो नै छ । आजको एघार नबजिदिए पनि हुने । आजको एघारपछि पूर्णबिराम लाग्नेछ । आफ्नै हातबाट अन्त्य गर्न जाँदैछु त्यो जुन मेरा लागि सबैभन्दा प्रिय थियो । हे भगवान् ! ज्वरो आउलाजस्तो भइराखेको छ । धेरै दिनदेखि नसुतेर र खाना नखाएर पनि होला सायद । मनलाई सम्झाउन खोज्छु । ओछ्यान मिलाएर एकपल्ट यसलाई पनि हेर्छु । ठूलो ओछ्यान । बुट्टाधारी तन्नाले कति राम्रो देखिएको छ । छेउमा सानो पुतलीले झन् राम्रो देखिएको । त्यही पुतली छेउमा गएर बिस्तारै बस्छु ।
‘थाहा छ तिमीलाई ? आजबाट सबै कुराको अन्त हुनेछ । धेरै वर्षबाट जोगाइराखेको कुराको यिनै हातबाट अन्त्य गर्न जाँदैछु म । जसका लागि एघार बजेको समय तोकिएको छ । तिमीसँग छ त्यस्तो केही जसले गर्दा सबै कुरा टरेर जाओस् ?’ म प्रश्न गर्छु ।
तर बिचरा निर्जीव पुतली मलाई ट्वाल्ल हेरिरहन्छ । बोकेर माया गर्छु । त्यही मिठो स्मेल पाउँछु । जुन अघि दराजभित्रको लुगाबाट निक्लिएको थियो ।
‘ठीक दश बजेर तीस मिनेटमा आइपुग्नु होला’ मोबाइलमा मेसेज आउँछ । आज मलाई किन यति प्यारो लागिराखेको छ यो कोठा र कोठाभित्र भएका हरेक वस्तुहरू । के आज अन्तिम दिन भएर पो हो कि मेरो यस कोठामा ? अझै यो डस्टबिनको फोहोर फ्याँक्नु नै छ । आज फ्याँकिएन भने त सधैँ यत्तिकै रहनेछ फोहोर । एउटा प्लास्टिकको झोलामा खन्याउँछु । कागजका टुक्राहरू र केही सामान देख्दा पनि माया लागेर आयो । होइन भयो के मलाई आज ? अब यी सब कुरामा मोह गरेर पनि फाइदा त केही छैन । अब आफूलाई समाल्नुपर्छ । म त केटा मान्छे पो त । के भन्छन् झन् अरूले यी सब थाहा पाएमा ? म झटपट लुगा लगाउँछु । आज मेरो मन किन यस्तो छटपटाइराखेको छ । कतिपय कुरा आफ्नो बसमा नभएपछि र कोसिस गर्दागर्दै पनि नभएपछि त्यसलाई समयको जिम्मा लगाइदिनु नै बेस हुन्छ । यत्रो वर्ष सकिनँ, अब बाँकी रहेको तीनचार घन्टामा के नै हुन्छ होला र ? किन मनमा झिनो आशा राखेको मैले अझै पनि ?
अन्तिम पटक कोठामा भएका सबै सामानलाई सर्सर्ती हेर्छु । सब यथास्थानमा हुन्छन् । ढोका बाहिर रुममा लगाउने मखमलको कालो चप्पल रहेछ । त्यसलाई पनि रुमभित्र राख्छु । आजबाट यो मेरो रुम सदाका लागि छुट्टियो । ढोका लक गर्छु । तल भ¥याङमा ओर्लिंदा झट्ट रुमभित्र रहेको चाँदीको बट्टा सम्झन्छु । दौडेर रुमतिर फर्कन्छु । ढोका खोलेर त्यस चाँदीको बट्टाभित्रको मेरा सपनाहरूलाई एउटा कागजमा पोको पारेर त्यस खाली बट्टा त्यसै छोडेर फर्कन्छु ।
ठीक दश तीसमा बोलाइएको स्थानमा पुग्छु । सबैजना पहिला नै आइसकेका थिए । मलाई देख्नेबित्तिकै सबै आपसमा कुरा गरेको प्रस्ट थाहा पाउँछु । भित्रबाट सेतो दाँत देखाउँदै एक व्यक्ति नजिक आइपुग्छ । मलाई एउटा ठूलो घरभित्र जान आग्रह गर्छ । थाहा छैन एक्कासि दिमाग र मनमा केही अड्किएजस्तो हुन थाल्छ । भित्र कोठामा सबै जना मेरै प्रतीक्षामा थिए । अगाडि राखिएको चेयरमा बस्न आग्रह गर्छ । मेरो अगाडिको मान्छेले बोल्न सुरु गर्छ । तर मेरो ध्यान उसले बोलेको कुरामा भन्दा पनि बिहान हत्या गरिएको खसीको रगतका छिटाहरू मासु पसलेको भित्ताहरूमा लागेका थिए । जसलाई अघि बाटोबाट देखेको थिएँ, त्यसमा नै गइरहेको हुन्छ ।
‘यस निर्णयबाट खुसी हुुनुहुन्छ तपार्इं ? अब यस कागजमा तपाईंको हस्ताक्षर पछि पूर्ण रूपमा अन्त हुन्छ’ भनेर कलम अगाडि बढाउँदा, मेरो ध्यान भङ्ग हुन पुग्छ ।
मलाई त्यस कलम यस्तो लाग्छ, मानौँ धारिलो धार भएको छुरी हो । जसले मेरो सपनाको हत्या गर्न खोजिराखेको छ । बिचरा खसी पनि त यसरी नै डराएको थियो होला बिहान । त्यो धारिलो छुरी देखेर । जुन अहिले मेरो मन डराइराखेको छ । मनमा औडाहा भएर आउँछ । कागजलाई सर्सर्ती हेर्छु । हस्ताक्षर मेरो मात्र बाँकी थियो हुनलाई । केही नबोली हस्ताक्षर गर्छु म ।
‘ल तपाईं दुई जना आजबाट पूर्ण रूपमा अलग हुनुभयो । श्रीमान् श्रीमतीको सम्बन्धबाट आजदेखि मुक्त हुनुभयो’ बोलेको सुनिरहन्छु । मेरा आँखा मेरै छेउमा बसेकी मेरी श्रीमतीमा पु¥याउँछु । कति खुसी देखिएकी छिन् उनी अहिले । झट्ट खल्तीमा रहेको जुन अघि चाँदीको बट्टाबाट खन्याएको रातो सिन्दूर र बिहान हत्या गरिएको खसीको गाढा रातो रगतलाई सम्झन्छु । दुवैको कुनै मूल्य नै छैन । म जुरुक्क उठेर बाहिर निस्किदिन्छु ।