यलु जोशी
नेवार समुदायमा सामान बोक्न प्रयोग गरिने ‘खर्पन’ लोप हुने अवस्थामा पुगेको छ । जन्मदेखि मरणसम्मका काम र तरकारी व्यापारदेखि बिरामी बोक्नसम्म खर्पन प्रयोग गरिन्थ्यो । बढ्दो सहरीकरण, ढुवानीका अन्य साधनको उपलब्धता र बजार संस्कृतिमा आएको परिवर्तनले खर्पनको प्रयोग निकै कम भइरहेको छ ।
युवापुस्तामा मोह घटे पनि बूढापाका भने अझै खर्पनमा तरकारी बेच्दै हिँड्छन् । भक्तपुर लोकन्थलीका हरिभक्त द्वारेले भन्नुभयो, ‘सामान बोक्नुपरे खर्पन नै प्रयोग गर्छु ।’ आफैँले उत्पादन गरेको तरकारी बेच्न उहाँ खर्पनमा राखेर बानेश्वर पुग्नुहुन्छ । ‘नेवार समुदायमा खर्पन बोक्ने चलन पहिलेदेखि नै चलिआएको हो, यसैमा बानी प¥यो,’ उहाँले भन्नुभयो ।
खर्पन राजधानी र वरपर बस्नेका लागि नौलो होइन । तर, अहिले विभिन्न सवारीसाधन तथा खेती गर्ने जग्गा घट्दै गएका कारण खर्पनमा तरकारी बेच्नेहरू धेरै कम भएको द्वारेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिका पुस्ताले अब खर्पन बोक्दैनन् होला । अहिले नै मेरो छोराले मोटरसाइकलमा लगेर तरकारी बेच्छ । म भने खर्पनमै राखेर बेच्छु ।’
नयाँ पुस्ताले यसमा रुचि देखाउन छाडेका छन् । आफ्नो खेतबारीमा उत्पादित तरकारी बेचेरै घरखर्च चलाउँँदै आएका थिमीका कृष्णभक्त श्रेष्ठ पनि खर्पनको प्रयोग घट्न थालेको बताउनुहुन्छ । ‘नेवार समुदायभित्रका ज्यापूले खेतबारीमा उत्पादन भएका वस्तुलाई बजारसम्म पु¥याउने साधन नै खर्पन हो, पहिला–पहिला खर्पनविना दिनचर्या नै चल्दैनथ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले नेवार समुदायमा पनि नाम्लोले टाउकोमा भारी बोक्ने चलन आइसक्यो ।’ छोराछोरीले खर्पन प्रयोग नगर्दा यो संस्कृति नै लोप हुन्छ कि भन्ने चिन्ता उहाँ गर्नुहुन्छ ।
खर्पनमा कसैले दही, कसैले भुटेको तोरीको तेल, कसैले माटाका भाँडा, कसैले अन्डालगायत सामग्री राखेर बेच्ने गरेका छन् । यसरी सामान राखेर बेच्न गाह्रो हुने व्यापारी बताउँछन् ।
सुरुमा खर्पनमा व्यापार गर्ने साथीहरू सबैले छाडे पनि आफूले भने अझै खर्पनमा नै सामग्री राखेर व्यापार गर्ने गरेको श्रेष्ठले बताउनुभयो । ‘हिँडेर व्यापार गर्न कहाँ सजिलो छ र ? तर पनि बच्चैदेखि खर्पन बोकेर व्यापार गर्ने बानी नै परिसक्यो ।’ शिरमा लगाएको मैलो ढाका टोपीले निधारको पसिना पुस्दै उहाँले भन्नुभयो, ‘जुन काम गरेर पनि खानलाई त दुःख हुन्छ नै । तर, बानी पारेपछि काम गर्न दुःख हुँदैन, काममै रमाउन सिकिन्छ ।’
इता, भक्तपुरका तुइसिङ कुटूले खर्पनमा तरकारी राखेर व्यापार गर्न छोड्नुभएको पाँच वर्ष भयो । उहाँले खर्पनको साटो साइकलमा राखेर तरकारी बेच्न लैजानुहुन्छ । व्यापार गर्न काठमाडौँ, ललितपुर र भक्तपुर जाने कुटू भन्नुहुन्छ, ‘१५ वर्षको छँदादेखि खर्पनमा राखेर तरकारीको व्यापार गर्थें । अहिले ७५ वर्ष भइसकेँ ।’ सानोछँदा बाँसबाट तयार गरिएको खर्पन बोकेको सम्झँदै उहाँ थप्नुहुन्छ, ‘अहिले हिँडेर जाने गाह्रो हुन्छ । त्यसैले साइकलमा लगेर बेच्छु ।’
उपत्यकाका ज्यापू समुदायले खेतिपातीका क्रममा खाजा, मल, बीउ, धान–पराललगायत सामान बोक्न खर्पन प्रयोग गर्थे । माइती–मावलीदेखि एक ठाउँबाट अर्को ठाउँमा सामान पु¥याउन खर्पन नै प्रयोग हुन्थ्यो । ‘खर्पन ज्यापूको मौलिक संस्कृति हो,’ संस्कृतविद् ओम धौभडेलले भन्नुभयो, ‘जहाँ पनि संस्कृति, परम्परा, चालचलन बहुआयामिक नै हुन्छ । हाम्रो समाजको मौलिकतासँग जोडिएको खर्पन संस्कृति लोप हुनु समाजकै विविधता घट्नुजस्तै हो ।’ आधुनिकताले गर्दा पछिल्लो समय खर्पनमात्र होइन, हाकुपटासी र दौरा–सुरुवालको प्रयोग पनि घट्दै गएको छ । ‘पहिले–पहिले खर्पनमा सामान डुलाउनेहरू सडकमा प्रशस्तै हुन्थे, अचेल निकै कम छन्,’ धौभडेल भन्नुहुन्छ, ‘नयाँ पुस्ताको त यसमा रुचि नै छैन ।’ खर्पन संस्कृति कहिले सुरु भयो भन्ने यकिन छैन । ‘खासगरी खर्पन नेवारभित्र पर्ने ज्यापूकै संस्कृति हो,’ संस्कृतिविद् धौभडेलले भन्नुभयो । ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले आजभन्दा करिब १५ सय वर्षपहिले राजा नरेन्द्रदेवको पालामा भारतको आसामबाट रातो मच्छिन्द्रनाथको रथ खर्पन आकारकै भाँडामा बोकेर ल्याइएको जानकारी दिनुभयो । ‘त्यो औजार बनाउने व्यक्ति पाटनका ज्यापू थिए । पछि उहाँले यसलाई खर्पन नाम दिनुभयो,’ महर्जनले भन्नुभयो, ‘उतिबेला किसानलाई खेतिपातीको काममा खर्पन निकै उपयोगी थियो ।’ उहाँले खर्पनको धेरै महŒव छ । खर्पनको संरक्षण गर्नु अति आवश्यक छ । तर, अचेल खर्पन भावी पुस्तालाई देखाउन सङ्ग्रहालयमा राखिने गरेको तीतो यथार्थ पस्किनुभयो ।
खर्पन संरक्षणमा पालिका
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले नेवार समुदायको अत्यन्त महŒवपूर्ण मानिने खर्पन संस्कृति लोप हुने अवस्थामा रहेको स्वीकार्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोप हुन लागेको सरसामानको संरक्षणका लागि साँस्कृतिक घर (कल्चरल हाउस) बनाउन छलफल भइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आधुनिकतासँगै खर्पन लोप भएको भन्दै नयाँ पुस्तालाई हाम्रो संस्कृति र परम्पराबारेमा बुझाउने प्रयास भइरहेको छ भन्नुभयो । ललितपुर नगरपालिकाका प्रमुख चिरिबावु महर्जनले भने प्रविधिको विकाससँगै समाज पनि परिवर्तन हुने बताउनुभयो । ‘नेवार समुदायमा खर्पनको धेरै महŒव छ,’ उहाँले भन्नुभयो, ‘सजिलोका लागि विकल्प पनि अपनाउनुपर्ने हुन्छ ।’ अहिले खेत नभएका कारण खर्पन जोगाउन पनि गाह्रो भएको प्रस्ट पार्दै उहाँले थप्नुभयो, ‘मेरो पनि पहिला धेरै खेत थियो तर अहिले छैन, खर्पनको आवश्यकता नै परेन । मेरा नातिपनातिले खर्पन भनेको के हो अब थाहा पाउँदैनन् ।’
उहाँले खर्पनमात्र नभएर, नेवार समुदायका धेरै साँस्कृतिक महŒव भएको वस्तु लोप हुने अवस्थामा पुगेको छ । त्यसैले ज्यापू समाजले परम्परात सामानलाई सङ्ग्रहालयमा राखेको जानकारी दिनुभयो ।
तीन प्रकारका खर्पन
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार खर्पन तीनप्रकारका हुन्छन्– चकोंल्हँ, वाचाकोंल्हँ र गकोंल्हँ । चकोंल्हँ खर्पन खुला आकारको हुन्छ । नेवार समुदायका किसानले हलुका सामान बोक्न यसको प्रयोग गर्छन् । वाचाकोंल्हँ खर्पन डोको आकरको हुन्छ । मसिनो पारेर चोयाले यस्तो खर्पन बुन्ने गरिन्छ । गकोंल्हँ खर्पन डाली आकारको गहिरो हुन्छ । नेवार समुदायले कालो धान (हकुवा) भिœयाउने बेला यही खर्पन प्रयोग गर्छन् ।
‘पहिले–पहिले प्रयोग गरिने सबैखाले खर्पन बाँस र विशेषप्रकारको रूखकै चोयाबाट बनाइन्थ्यो,’ संस्कृतिविद् जोशीले भन्नुभयो, ‘अहिले भने फलामका डन्डीबाट पनि खर्पन बनाउन थालिएको छ ।’ सबै समाज र संस्कृति परिवर्तनशील भए पनि समाजको गरिमा गुम्नेगरी संस्कृति लोप हुनु दुःखद हो । खर्पन संस्कृतिले नेवार समुदायमा ठूलो महŒव बोकेको छ ।’ उहाँका अनुसार दस वर्ष अघिसम्म उपत्यकाका चोकैपिच्छे खर्पनमा अन्न र तरकारी बेच्ने किसानकोे भीड लाग्थ्यो । अचेल खर्पन बोक्ने मान्छे भेटाउन मुस्किल छ ।