विनोदमोहन आचार्य
सदाझैँ त्यस दिन पनि पूर्वबाट लाली छर्दै सूर्यदेव धर्तीमा झुल्कने सुरसार गर्दै थिए । चराचुरुङ्गी चिरबिर–चिरबिर गर्दै रूखबिरुवाका डालीमा यताउति गर्दै थिए । बिस्तारै–बिस्तारै सूर्यका सप्तरङ्गी किरण रमेशको घरका झ्याल–ढोकाका छिद्राबाट तँछाड–मछाड गर्दै कोठा–कोठाका भित्तामा ठोक्किँदै थिए ।
प्रायः बिहान अबेरसम्म ओछ्यानमै घुरिरहने रमेशको त्यसदिन भने एकाबिहानै निद्रा टुटेको थियो । उसकी पत्नी सम्झना भने सखारै उठेर घरधन्दामा लागिसकेकी थिइन् । रमेश झुल्केघामसागै उठ्यो । सिरक पट्यायो । डसनामुनि राखिएको एउटा खामले उसको ध्यान खिच्यो । त्यो खामभित्रको चिट्ठीमा आद्योपान्त बेहोरा यस्तो थियो–
आदरणीय पतिदेवज्यू,
सिलसिला कहाँबाट सुरु गरौँ ? सँगसँगै बस्दा, खाँदा, सुत्दा बोल्ने मौका नपाएको कहाँ हो र ? अपितु मनका कुरा कोट्याउन नपाउँदै विषयान्तर वा प्रसङ्गको दिशान्तर भइदिनाले मेरा रहर वा व्यथा–पीडाका कथा मनभित्रै गुम्सिए, कति मनमै सडे, कुहिए । मनका चाह, उकुसमुकुस हजुरबाहेक अरू कसैका सामु पोख्न पनि नमिल्ने । भनिन्छ ‘मनका वह अरू कसैलाई नकह ।’
मनका चाह आफ्नो पतिका सामु बिस्कुनजसरी सुकाउने रहर कसकी श्रीमतीमा हुँदैन होला र ? यो उपयुक्त मौकाको खोजीमा कति भौँतारिएँ, कति चक्कर काटेँ तर यो अवसर मलाई कहिल्यै जुरेन । त्यसैले विवशतावश कापीका यी खाली पानामा मसीसँगै कोइलीले विरहहरू आफ्नै भाकामा पोखेझैँ मनभित्रका विरह यो सानो चिट्ठीमार्फत हजुरसमक्ष पस्किँदै छु । आशा छ– ध्यानपूर्वक पढिदिनुहुनेछ ।
हेराइ र बुझाइ आ–आफ्नै हुन्छन् । आफन्तजन र दुनियाँको हेराइ र बुझाइमा लाग्दो हो, यो जोडीजत्तिको सुखी र खुसी जोडी यस संसारमा सायदै होला किनकि हामी दुईजना पढेलेखेका छौँ, पहाडको हुनेखाने परिवारमा जन्मेकी चेली म, त्यस्तै मध्यमवर्गीय परिवारमा जन्मेको हजुर । हजुरको पनि नोकरी मेरो पनि नोकरी । घामपानी छेक्ने एउटा सानो घर पनि छ । ईश्वरले छोरा र छोरी हाम्रो हातमा थमाइदिएका छन् । दुनियाँलाई लाग्दो हो– कति सुखी परिवार ।
मैले कतै पढेकी थिएँ, पतिपत्नीबीच परस्परमा भावनात्मक सहयोग अर्थात् एक–अर्कामा सुख–दुःख साटासाट गर्दा नै दुवैजनामा खुसी र सन्तोष मिल्छ रे । पत्नी भनेको घरको शोभा हो । अझ गृहलक्ष्मी नै । पति, पत्नीका लागि था“क्रा हुन् भने पत्नी लहरा हुन् । थाँक्रोको जति भर हुन्छ, लहरा उति नै फैलिँदै टाढासम्म पैmलिन्छ रे । तर, मलाई लागिरहेछ
‘थाँक्रोलाई काँक्रो दियो, थाँक्रैमात्र धनी ।’
दिन प्रतिदिन छोराछोरी पनि अब त हुर्किसके । कुरा पनि बुझ्ने भइसके । वास्तवमा बाबुआमासँगको भावनात्मक सम्बन्ध वा सामिप्यताबाट नै छोराछोरीमा आत्मसन्तुष्टि मिल्छ रे । बाबुआमासँगको सामिप्यता नै उनीहरूका लागि अमूल्य पुँजी हो रे ।
अघिपछि जन्मे पनि यी दुवैजना सँगसँगै हुर्के, बढे, झाँगिए । छोराछोरी भनेका बाबुआमाका लागि मुटु हुन्, मुटुका धड्कन हुन् । सन्तानका मुटु दुख्दा आमाको पनि मुटु चसक्क हुने रहेछ । यी सन्तानले कतै आ“ँखाबाट आँसु झारे, यो मन झनै व्यथित हुने रहेछ । वास्तवमा उनीहरू हाम्रा भविष्यका भरोसा अनि सहारामात्र नभई, समग्रमा देशका भविष्य पनि हुन् ।
जीवनभर मैले न कुनै सहानुभूतिको अपेक्षा गरेँ न त उच्च जीवनस्तरको लालसा नै । सँगै रहँदा–बस्दा छोराछोरी, श्रीमतीलाई ‘केही भन्नु छ’ भनी कहिल्यै सोध्नुभएको छ ? उमेरस“गै मीठो खाने, राम्रो लाउने, नयाँ–नयाँ ठाउँ घुम्ने देख्ने, पाएसम्म मीठा–मीठा परिकार सँगै बसेर खाने रहर वा आकाङ्क्षाले हामी परिवारको पनि मनमा वीजारोपण त गरेको होला नि । तर, हजुरबाट हाम्रो मनोविज्ञान बुझ्ने प्रयास भयो त ?
मैले कतै पढेकी थिएँ, लोग्नेमान्छेको आँखामा मायाको संसार हुन्छ, मायाको सागर हुन्छ । परिवारजन त्यही मायाको संसारमा रम्न, त्यही मायाको सागरमा डुबुल्की मार्न लालायित हुन्छन् नै । घर पनि एउटा संसार हो, मीठो सपना पनि हो रे ।
बिदा वा गोष्ठी पारेर यसो घरमा आएका बखत साँझबिहान खानासँगै खाउँला, गफगाफ गरौँला, मनका चाहना, रहरको बिस्कुन सुकाउँला भन्ने कल्पना ग¥यो, जहिल्यै पनि फुत्त घरबाहिर निस्किहाल्ने, अनि अबेर गरी आइदिने । लौ आजलाई भइहाल्यो, भोलि बिहान गफ गरौँला भन्यो चित्त बुझायो । भोलिपल्ट पनि अबेरसम्म घुरेरै सुत्ने हजुरको बानी । हामी परिवारप्रति हुरुक्कै हुनुपर्नेमा हजुरको यस्ता स्वभाव र व्यवहारबाट म अवाक् भए“ । मनभित्रका रहर मनभित्रै उकुसमुकुस भइरहे । कति सडे, कति कुहिए । ती पीडा आँसुसँगै पोखिए ।
जुन दिन हाम्रो विवाह भएथ्यो, जग्गेमा हजुरको रूप र यौवन देख्दा मनमनै कल्पना गरेकी थिए“, हाम्रो जोडी कति मिलेको । हाम्रो जोडी चखेवाको जोडी जसरी रम्नेछ, जम्नेछ । जिन्दगीभर सुख–दुःख खुसी एक–अर्कामा बा“डिनेछ । विश्वास र समझदारीको मिठासपनले हाम्रो दाम्पत्य जीवन मखमली फूलझैँ ढकमक्क फुल्नेछ, झाँगिनेछ, यस्तै–यस्तै ।
बिहे हुनु केही समय अघिसम्म अपरिचित हामी दुई, बिहेको जग्गेमा बस्दा लाग्यो– जीवनमा हीराको टुक्राभन्दा पनि अमूल्य उपहार पाए“ । जीवनभरका लागि सहारा भेट्टाएँ । कुम जोडिँदामात्र पनि मन तरङ्गित भई भित्रभित्र काउकुती लागेजस्तो अनौठो अनुभूति गरेँ । यसरी बिहेको त्यो दिन जग्गेमै मीठो कल्पनाले मभित्र अनगिन्ती आकाङ्क्षाले वीजारोपण गरेको थियो । तर, टुसाउन नपाउँदै ती रहरका मुनाहरू एकाएक ओइलिएर जान थाले, कारण हजुरकै व्यवहारले । मन त सधैँ तन्नेरी नै हुन्छ भन्थे । उमेर त मेरो घर्किसकेको त थिएन तैपनि पीडाका बोझले होला, यो तन, यो मन त्यसै बूढो भएजस्तो लागिरहेछ । पुरुषको अपनत्व र स्नेहभावले एउटा नारीको हृदय सधँै आल्हादित हुन्छ भन्ने सुनेकी थिए“ । तर, पछिल्ला दिनमा यो मन आल्हादित भएको महसुस गर्न पाएकी छैन । हरवसन्तयामका रातका प्रहर जाग्राम बसेर नै छिचोल्न पुगे“ । लाग्छ– हजुरको दिनचर्या रङ्गीन टीभीका पर्दाजसरी बिते पनि मेरो मन भने श्यामश्वेत टीभीका पर्दा जसरी सदा उदास नै रहिरह्यो ।
यसरी मनभित्र वीजारोपण भएका आकाङ्क्षा, भरोसा, रहरका मुनामा ठेस लाग्नेगरी आफन्तजनबाट व्यवहार भइदिँदा मुटु त त्यसै भक्कानिएर आउने रहेछ । अनि वेगले हुन्डरी चल्नेरहेछ । मन त झनै अशान्त हुने रहेछ । त्यतिखेर छोराछोरी कतै भुलेको वा मीठो निद्रामा परेको मौका छोपी एकान्तमा आ“सु निख्रिन्जेल रुनुबाहेक अरू विकल्प हुँदोरहेनछ । जब आँसुको थैली रित्तिन्छ, तब मन पनि हलुङ्गो ह“ुदोरहेछ । हुन त कतिपय नारीको घरसंसार जलेको पनि होला । यद्यपि, मेरो घरसंसार जलेको नभए पनि मन भने जली नै रह्यो ।
हजुरका यस्तो अल्लारे स्वभावका कारण मनमा बेलाबखत अनेक शङ्का र उपशङ्काका ज्वारभाटा हुत्तिएर आउँछन् । अनि उत्तिखेरै मनका रहर, विश्वास र आकाङ्क्षा वा मीठा सपना बढारेर लैजान्छ । फुत्तफुत्त घरबाट बाहिर जाने, अबेरसम्म हराउने कारणले कुनै अप्रिय वा असहिष्णु समाचार यी कानमा ठोक्किने त होइनन् भन्ने शङ्काको आँधीबेहरीले मनभित्र हुन्डरी मच्चाउने गर्छ । चर्न भनी घरबाहिर छाडेको घोडा पनि लिन नगईकन घर सम्झेर आफैँ फर्किंदैन रे भनेझैँ मनमा कुरा खेल्छ, हुन्डरी चल्छ । अनि हजुरलाई खोज्न जाउ“ कि जस्तो पनि लाग्छ । तर, बेसुरमा लिन कहा“ जाऊ“ ?
बेलाबखत हजुर धेरै दिनपछि घर आउँदा, भेट हुन पाउ“दा खुसीको सीमा नै रहँदैन । तर, झोला बिसाउन नपाउँदै घरबाट फुत्त बाहिर निस्कने बानीले मन खिन्न हुन्छ । धेरै दिनपछि बाबालाई देख्नासाथ उज्यालो अनुहार बनाएका छोराछोरीले क्षणभरमै निधारमा गाँठो पारेको देख्दा आमाको मन चसक्क भइहाल्ने रहेछ ।
छोराछोरी भन्ने गर्छन्– बाबा आएपछि हामी सबै सँगै बसेर खाने । अनि हजुरकै बाटो हेरेर हामी प्रतीक्षा गरिराख्छौँ । तर, अबेरसम्म पनि नआइदिँदा छोराछोरी नियास्रो मान्दै खाना खान्छन्, लुसुक्क ओछ्यानमा गई सुत्छन्, बिचरा ! म भने गेटतिर फर्केर हजुरकै बाटो हेरी बसिरहेकी हुन्छु । पर्खिरहेकी हुन्छु ।
घरमा त आउने तर जुनबेला आए पनि
हुने ? आउँदै तिर्खाएर आउने अनि त्यो प्यास र तिर्खा भने हामी नारीले जसरी पनि मेटाइदिनुपर्ने ? पुरुषले परिवारको मनोविज्ञान बुझिदिनुभने नपर्ने ? साथै यसरी घरमा आउँदा निष्ठुरी आगोझैँ तातेर आउने । हामी नारी भने पुरुषका सामु जतिखेर पनि नौनी बनेर पग्लिदिनुपर्ने ? सायद ‘नारीको हारेको कर्म’ ।
ओछ्यानमा गयो निद्रा पटक्कै लाग्दैन । आँखा निदाउन खोज्छ मन निदाउँदैन, मन निदाउन खोज्छ आँखा निदाउँदैन । यसरी कति रातका प्रहर त अनिद्रामा नै छिचोल्ने गरेकी छु । मनमा जे–जति पीडा भए पनि मनभित्रै थिचेर आफन्तजनका सामु मन्द मुस्कान छर्दै यथोचित सत्कार गर्ने गरेकै छु । छोराछोरीका लागि मात्र नभई, हजुरको खुसीका लागि पनि दिनरात हड्डी घोटिरहेकै छु । जेहोस् मन जति नै व्यथित भए पनि एउटा आदर्श पत्नीका नाताले हजुरप्रतिको श्रद्धा र आदरभावको विम्ब कदापि भत्किन दिएकी छैन र दिने पनि छैन । सासुआमाले छोरीसरह नै स्नेहभाव राख्नुभएको छ । घरव्यवहारमा कुनै गुनासो गर्नुभएजस्तो लाग्दैन । वृद्धा भए पनि मलाई सघाउनुहुन्छ, सबै काम सल्लाहले गर्नुहुन्छ ।
यो चिट्ठी पढ्दा हजुरलाई लाग्दो हो, श्रीमतीजी त अन्तरमुखी पो रहिछन् । हुन त हामी पत्नीका पनि अवगुण होलान् । हामीबीच भौतिक रूपमा सम्बन्ध त भए होलान् तथापि कतिपय कुरामा सायद यस्तै असमझदारी पनि । हामीबीच बेलाबखत संवाद हुन सकेको भए वा हाम्रो सम्बन्ध एउटा खुला किताबझैँ भइदिए दुवैले एक–अर्कालाई अवश्य बुझ्ने थियौँ होला । यसरी बेलाकुबेला हजुरको मन घरबाहिर दौडिने धृष्टता किन गर्छ ? मैले बुझ्न सकेकी छैन । हो, मनको घोडा दौडिन खोज्ला तर त्यो घोडाको लगाम त जो सवार हो, उसैले खिच्ने हो नि । त्यसरी बेलगाम दौडिन खोज्ने घोडालाई आफ्नै मनको तबेलामा बलियो गरी बाँध्ने काम त हजुर स्वयम्ले नै गर्ने हो नि ।
मेरो यो प्रस्तुति चिट्ठीमात्र नभएर समग्रमा मजस्तै व्यथित नारीको कथा–व्यथाको विम्ब पनि हो । यो चिट्ठी आँसुको मसीले भरिएको पानाहरूको लिखत पनि हो । आशा छ, चिट्ठीका यी पानामा हजुरको नजर परिसकेपश्चात् विगतमा जसरी कुदिरहने मनको घोडालाई अबका दिनमा मनकै तबेलामा बलियो गरी बाँधेको व्यहारमा देख्न भोग्न पाए“ भने म कृतज्ञ हुनेछु । साथै जिन्दगीमा मागेभन्दा, चाहेभन्दा बढी चीज पाएको अनुभूत गर्नेछु ।
अन्त्यमा, लेख्दा–लेख्दा यी खाली पाना कति भरिए पत्तै भएन । हात पनि थकित भइसकेछ । लेख्दै गर्दा यी पानामा आँसु कति पोखिए पत्तै भएन । मोतीका दानासरहका आँसु लत्पतिएको चिठी भएकाले जतनसाथ सम्हालेर राखिदिनुहोला । रात पनि छिप्पिसकेछ । जस्केलाबाट बाहिर हेर्दा ताराहरू पनि झरेर गइसकेछन् जस्तो छ । हवस् त पतिदेवज्यू, शुभरात्रि ।
हजुरको उही दुखिया पत्नी ।