logo
२०८१ मंसिर १० सोमवार



आयकर कानुनको सँगालो

शनिवार |


आयकर कानुनको सँगालो


कानुनी पेसा अँगालेर बटुलेको अनुभवलाई अधिवक्ता शरदप्रसाद कोइरालाले पुस्तकका रूपमा सार्वजनिक गर्नुभएको छ । ‘आयकर कानुन’ नाम दिएर उक्त पुस्तक सार्वजनिक भएको हो । आयकर कानुनमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी हुने देखिन्छ । पुस्तकमा शुभकामना मन्तव्य दिनु हुँदै सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले कानुनमा भएका प्रावधानहरूको सैद्धान्तिक आधार एवं व्यावहारिक प्रयोगलाई सरल रूपमा बुझ्न पुस्तक सहयोगी हुने उल्लेख गर्नुभएको छ । यस्तै प्रस्तुत पुस्तक करदाता, कानुनका शिक्षक तथा विद्यार्थी, कानुन एवं लेखा क्षेत्रमा कार्यरत व्यक्ति र आयकर कानुनका सम्बन्धमा ज्ञान आर्जन गर्न चाहने सबैलाई गहकिलो सामग्री हुनेमा पनि उहाँले जोड दिनुभएको छ ।
खासगरी कानुनी विषय आफैँमा जटिल विषय हो । सबैले सबै कानुनका बारेमा जानकारी राख्न सम्भव छैन र एकहिसाबले जरुरी पनि छैन । तर कर कानुन यस्तो विषय हो जसले जन्मदेखि मृत्युपर्यन्त प्रत्येक व्यक्तिलाई प्रत्यक्ष–परोक्ष रूपमा सम्बन्ध राखिरहेको हुन्छ । त्यसैले कर कानुनका बारेमा धेरैथोरै जानकारी सबैले राख्नु त्यत्तिकै जरुरी छ ।
कानुनी रूपले करसँग सम्बन्धित धेरै ऐन, नियमहरू एक अर्कामा आकर्षित हुन्छन् । त्यसैले सम्पूर्ण ऐन नियमका पुस्तकहरू सङ्ग्रह गरेर अध्ययन गर्नुपर्ने बाध्यतालाई यस पुस्तकले धेरै हदसम्म सहजीकरण गरेको छ । पुस्तकलाई आयकरको सन्दर्भमा ‘अल इन वान’ का रूपमा लिँदा पनि हुन्छ । पुस्तकलाई ३४ परिच्छेदमा विभक्त गरेर विश्लेषण गरिएको छ । परिच्छेदका शीर्षकहरूमा करसम्बन्धी सैद्धान्तिक व्यवस्थाहरू, नेपालको कर प्रणाली, करको आधार, आयका शीर्षक, कर छुट, कट्टी हुने रकमहरू, कर लेखाङ्कन र समय, दीर्घकालीन करार, रकमहरूको परिमाणीकरण बाँडफाँट र चारित्रीकरण, वार्षिक वृत्ति किस्तबन्दी बिक्री र वित्तीय पट्टाअन्तर्गतका भुक्तानीको चारित्रीकरण, विशेष परिमाणीकरण (पुनः चारित्रीकरण), पुँजीगत लाभ, प्राकृतिक व्यक्तिसम्बन्धी प्रावधान, निकायहरूका लागि विशेष व्यवस्था, बैङ्किङ तथा बीमा व्यवसायसम्बन्धी विशेष व्यवस्था, अवकाश कोष, आय नोक्सानी लाभ र भुक्तानीको स्रोत, अन्तर्राष्ट्रिय कर एवं वैदेशिक कर मिलान, विशेष प्रकारका सेवा व्यवसाय, वैदेशिक कर मिलान, कर प्रशासन र आधिकारिक कागजात, स्थायी लेखा नम्बर (अङ्क), करदाताको अधिकार र कर्तव्य, अभिलेख र सूचना सङ्कलन, करको भुक्तानी, स्रोतमा अग्रिम कर कट्टी, किस्ताबन्दी र अग्रिम कर, आय विवरण, कर निर्धारण, कर सङ्कलन मिन्ह र फिर्ता, कानुनी उपचार, शुल्क तथा ब्याज, फौजदारी कसुर, आयकरसम्बन्धी विविध प्रावधान रहेका छन् ।
कुनै पनि पेसा व्यवसाय सुरु गर्नुभन्दा अगाडि सोसँग सम्बन्धित नीति, नियमबारे जानकारी राख्नु आवश्यक हुन्छ । करयोग्य कारोबार गर्ने व्यक्ति वा निक(ायले कर कानुनबारे जानकारी नराख्ने हो भने उसको व्यावसायिक उद्देश्य परिपूर्ति हुन सक्दैन । जानाजान वा अन्जानमा गरिएका कानुनी प्रतिकूलताका कारोबारहरूले लगानीकर्ताको श्रम, पुँजी र लगानी मात्र नोक्सान हुँदैन ख्यातिसमेत डामाडोल हुन जान्छ । आम्दानी गर्दा रोजगारी, लगानी, व्यवसाय वा आकस्मिक लाभ जसरी गरे पनि राज्यलाई नियमानुसार कर तिर्नु सम्बन्धित व्यक्ति वा निकायको पहिलो र अनिवार्य सर्त हो । यसरी सरकारलाई कर कहिले तिर्ने, कसरी तिर्ने वा ढिलो गरी तिरेमा के हुन्छ वा आयकर कानुनअनुसार राज्यले करदातालाई कस्तो दण्ड र जरिवानाको भागीदार बनाउँछ जस्ता विषय यस पुस्तकमा स्पष्टसँग उल्लेख गरिएका छन् । राजस्व न्यायाधीकरण वा सर्वोच्च अदालतबाट विभिन्न विषयमा गरिएका फैसलाहरूलाई समेत ऐन, नियमहरूको दफा–उपदफामा सप्रसङ्ग उल्लेख गरिएकाले पुस्तकका हरेक विषय सूची उत्तिकै महìवपूर्ण छन् ।
कानुनको विषयमा हाम्रो समाजमा केही चर्चित भनाइहरू छन् । ‘कानुनका नौ सिङ हुन्छन्’, ‘नेपालको कानुन दैवले जानून्’ आदि । हो, कुनै पनि कानुनको साना साना छिद्रहरूले जोकसैलाई पनि समस्यामा पारेको हुन सक्छ । कर प्रशासकबाट कर परीक्षणका क्रममा होस् वा आयकर कानुनको व्याख्या गर्ने क्रममा करदाताहरू माथि अनावश्यक करको भार थोपरिएको पनि हुन सक्छ । यस्तो अवस्थामा करदाताले कानुनी उपचारका लागि केकस्ता विधि र प्रक्रिया अपनाउन सक्छन्, त्यसका समय र सीमा केकस्ता छन् जस्ता व्यावहारिक कठिनाइ वा उल्झनका विषयलाई पनि पुस्तकले विशेष सम्बोधन गरेको छ । प्रकाशक रामहिरा पाठक रहनुभएको छ । मूल्यका हिसाबले कृति अलि महँगो नै छ । उपयोगिता, सान्दर्भिकता, विषयवस्तुको सम्बोधन वा अन्य हिसाबले प्रस्तुत पुस्तकको मूल्यलाई मध्यम नै मान्नुपर्छ । झण्डै आठसय पचास पृष्ठ रहेको पुस्तकको मूल्य भने एकहजार सातसय रुपियाँ कायम गरिएको छ ।

इन्द्र पौड्याल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?