निर्मला रेग्मी
म आफ्नै ठान्दछु तिमीलाई टाढा हुन्छ्यौ किन
तिमीमै लीन भई बाँच्न खोज्छु प्रत्येक दिन ।
नजाऊ बीचमै छोडी मेरो यो बाग उजाडिन्छ
तिमी बिनाको यो जीवन सधैँभरि नै उदासिन्छ ।
विभिन्न रूप छन् तिम्रा ऋतुपिच्छे सुहाउने
त्यो तिम्रो दृश्य देखेर अति यो मन रमाउने ।
जताततै पुग्छ्यौ तिमी नपुगेको कहाँ छ र
बनेर आउँछ्यौ हरदम तिमी आँखामा तस्बिर ।
टुहुरो बन्दछन् सारा आज तिमीले छाडी गए
कसरी बाँच्दछन् यहाँ यदि तिमी नभइदिए ।
म बिर्सन्न कदापि त्यो सम्झनाले सताउँछ
तिम्रो रूप छटा हेर्दा सारै आनन्द आउँछ ।
तिमी छौ कति राम्री सुटुक्क मेरो मन हर्दछ्यौ
तिमीलाई चिनेँ मैले तिमी सुन्दर प्रकृति हो ।