logo
२०८१ मंसिर ९ आईतवार



आनन्द (कविता)

शनिवार |


आनन्द (कविता)


धनराज गिरी

छोरो हुर्किन गो विचित्र उसको पारा भयो लम्कियो
ज्ञानी सज्जन भो विशाल मनको तारा भयो चम्कियो
ध्यानी हो अझ ऊ पढी अघि बढी आलोक भो गाउँमा
जिज्ञाशा उसको अनेक मनमा विज्ञानको नाउँमा ।

सोध्यो प्रश्न यही “पिता, भुवनमा के हुन्छ आनन्दमा ?”
मान्छे पीर भुली डुली गगनमा बाँच्ने कसोरी यहाँ ?
कस्तो मानिस हो सुखी अझ खुशी आनन्द के हो बुवा ?”
मान्छेको मन यो अजीव बुझियो बन्ने कसोरी रुवा ?”

“छोरा, आज बडो खÞुशी मन भयो आऊ तिमी पासमा
पैलो सर्त सुपुत्र जान सजिलो त्याग्ने अपेक्षा यहाँ
दानी बन्न सके नदी रुख बने सारा निराशा गयो
औतारी मनु बन्छ यो मुलुकमा आनन्द आफ्नो भयो ।

सच्चा मानवता सुकर्म गतिलो हो धर्म सेवा गरे
मान्छेको कविता रचेर मनमा कल्याण धेरै गरे
हो “आनन्द” यही गरे हित बढी लोभी नबन्ने सदा
मैलो यो मनको पखाल अहिले चोखो रहे सर्वदा ।

शिक्षाले व्यवहारले सुमनले मान्छे विवेकी बने
मौरी हौ कमिला बने वन डुले राम्रो छिमेकी बने
योगी हौ सहयोग पायस सुधा आनन्द छोरा यही
बोली मिष्ट विशिष्ट शिष्ट गर है पीडा अनेकौँ सही ।

आमाको गुरुको पिता वचनको सम्मान गर्नू झुकी
प्रेमी सागर हौ पवित्र नर हौ बत्ती तिमी हौ टुकी
सारा यो धरती धनी गगन यो मान्छे विवेकी बने
हो यो स्वर्ग समान जान जनले बाटो सुनौलो खने ।

राम्रो हुन्छ समाजवाद घरमा स्वाधीन हामी भए
नेपाली पनको अनन्त जनको होला भलो यो रहे
मेरो पुत्र छ सूत्र हेर सजिलो आनन्द हो सादगी
राखे उच्च विचार सार भवको आनन्द भो जिन्दगी । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?