कमल सुवेदी
विश्व सिनेमाले एक सय पच्चीस वर्ष पूरा गरिसकेको छ । फ्रान्सका लुमियर दाजुभाइले सुरु गरेको यो अभियान आज डिजिटल युगमा प्रवेश गरेको छ । यो अवधिमा सिनेमाबारे थुप्रै बहस भए । मुकयुगबाट ध्वनियुगमा आउनुका साथै श्यामश्वेतयुगबाट रङ््गीनयुगसम्म आइपुग्दा थुप्रै उतारचढाव पनि देखिए । सिनेमाको उत्पत्तिदेखि आजसम्म बनेका चलचित्रलाई सिनेमाशास्त्रीले सङ्गीतप्रधान, वृत्तचित्रात्मक, नारीवादी, अपराधबमूलक, हरर, विज्ञान, कला आदि भनेर वर्गीकरण गरेका छन् । तर, कला सिनेमाले नै यो क्षेत्रमा बहस तथा आन्दोलनको उठान गरेको छ । वृत्तचित्रात्मक प्रस्तुतिबाट अघि बढ्दै यसले सन् १९३० को आसपासमा चार्ली चाप्(िलनजस्ता हास्यकलाकार पायो । चाप्लिनको अभिनयपछि अमेरिकी सिनेमाले हलिउडको नामबाट आफूलाई संसारमा चिनाउन थाल्यो ।
हलिउड युग
अमेरिकी सिनेमामा चार्ली चाप्लिनसहित म्याक्स सिनेटको प्रविष्टिपछि अन्य देशका सिनेकारको पनि हलिउडप्रति आकर्षण बढ्यो । सन् १९३२ देखि १९४५ सम्म हालीमुहाली ग¥यो हलिउडले तर डबिङ प्रविधिको सूत्रपातपछि त्यहाँका सिनेमाहरू जर्मनी, फ्रान्स तथा स्पेन आदि देशमा प्रदर्शन हुन थाले । अमेरिकाको रेडियोसिटी सङ्गीतालय सिनेमा परिसरमा रूपान्तरण हुनु, भेनिस चलचित्र महोत्सव सुरु हुनु, मेरियन सी कुपर तथा अर्नेस्ट बी स्कोइडस्याककको ‘किङकङ’ जस्तो सिनेमा बन्नु आदि कारणले हलिउडले विश्वमा आफूलाई स्थापित गरायो । यसअघि नै ह्युगो मास्टरवर्गको चलचित्रसम्बन्धी पुस्तक ‘द फोटो प्ले’ तथा एडोल्फ आर्नहिमको चलचित्र ‘एज अ आर्ट’ले सिनेमाबारे चर्चा चलाउन थालिसकेको थियो ।
रसियाको हस्तक्षेप
हलिउड युगमा यौन र हिंसाले प्रमुखता पायो । यस्तो अवस्थामा रूसी सिनेमामार्फत यसकोे विकल्प खोजियो । अलेक्जेन्डर पुस्किन, लियो टल्सटाय, दस्तोवस्की, एन्तोन चेखब तथा मेक्सिम गोर्की आदिले साहित्यमा नेतृत्व गरिरहेका थिए । व्यवस्था पनि समाजवादी थियो । यसको प्रभाव सिनेमामा पर्ने नै भयो । यस्तो अवस्थामा भासिली गोन्चारभजस्ता निर्देशकहरू पनि उदाए । जसले सोभियत सिनेमालाई विश्वसिनेमाको स्तरमा उभ्याए । वर्गसङ्घर्ष उच्च तहमा पुगेका बेला सिनेमालाई सामाजिक रूपान्तरणको माध्यम बनाएर हलिउडलाई विस्थापित गर्न यसलाई सातौँ कलाका रूपमा घोषणा गरियो । सन् १९१९ मा समाजवादी नेता लेनिनले सिनेमालाई राष्ट्रियकरण पनि गरे । झेल्याबुझ्स्कीको ‘पोलिस्कुका’ यसैबेला बन्यो । गोर्कीको उपन्यासमा आधारित ‘आमा’ तथा ‘सेन्ट पिटर्सवर्गको आत्मा’ भीआई पुभोम्किनले बनाए । यसैगरी, सर्जेई आइजेस्टाइनले ‘ब्याटलसिप पोटेम्किन’ बनाए । विश्वसिनेमामा यो कोसेढुङ्गाका रूपमा रहेको छ ।
इटालेली सिनेमा
पहिलो विश्वयुद्धपछि हलिउडका हास्य र प्रकृतिवादी सिनेमाले इटालीको सिनेमालाई गाँजिरहेको थियो । यहीबेला रोबर्टाे रोजिलिनी र डी सिका निर्देशकका रूपमा उदाए । यिनले सिनेमालाई मानवजीवनसित सरोकार राख्ने विधाका रूपमा पनि विकास गरे । डी सिकाले ‘सु साइन’ र ‘बाइसाइकल थिप्स’ तथा रोबर्टो रोजिलिनीले ‘रोम अ ओपनसिटी’ बनाए । यी सिनेमापछि विश्वभर नै नयाँ बहस चले । विश्वसिनेमाको यो चरणलाई नवयथार्थवादी चरणका रूपमा परिभाषित गरिएको छ ।
इटालीमा सन् १९२२ देखि शासनसत्तामा रहेका फाँसीवादी नायक मुसोलिनीको हस्तक्षेपले सिनेमालाई आक्रान्त पा¥यो । उनले आफ्नो गुणगानयुक्त सिनेमाको निर्माणलाई मात्र सहयोग गरे । जसकारण रचनात्मक दृष्टिकोण भएका सिनेमाको निर्माण बन्द भयो । यस्तो अवस्थालाई चिर्दै त्यहाँ नवयथार्थवादी आन्दोलन चल्यो सन् १९४५ देखि १९५१ सम्म । फाँसीवादी शासन सत्ताबाट सिर्जित सङ्कटपूर्ण जीवनलाई सिनेमाका माध्यमबाट प्रस्तुत गर्ने कार्य यो आन्दोलनबाट प्रकट भयो । मुसोलिनीको युगबाट इटाली मुक्त भएपछि यो आन्दोलनले केही राहत महसुस ग¥यो । सेसर जभात्तिनी तथा भिस्कोन्तीजस्ता चलचित्रकर्मीले लोकेसनमै गएर छायाङ्कन गर्ने र चरित्रअनुसारको पेशामा वास्तविक रूपमै संलग्न व्यक्तिलाई कलाकारका रूपमा अनुबन्ध गर्ने कार्य नवयथार्थवादी निर्देशकले अपनाए ।
फ्रान्सको नयाँ लहर
मूलतः चलचित्रमा राष्ट्रिय पहिचानको खोजी फ्रान्समा आएको नयाँ लहरबाट भएको हो । इटालीको नवयथार्थवादी आन्दोलन आधा दशकमै धराशयी भयो । यहाँ चलचित्रमार्फत नयाँ यथार्थको खोजी भयो । विज्ञहरूले यो अभियान उठाए । त्यहाँका तत्कालीन राष्ट्रपति वियोन ब्लमले अमेरिकी चलचित्रको बोलावाला हटाउन पहल गरे । सन् १९५३ मा त्यहाँका संस्कृतिमन्त्री आन्द्रे माल्रक्सले विशेष चलचित्रमा सरकारी लगानी हुने नीति ल्याएपछि परम्परागत सिनेमा किनारा लागे । सन् १९५४ मा ‘कहिएर्स दु सिनेमा’ फिल्मी पत्रिकाको सुरुवात भयो । यो पत्रिका प्रकाशनपछि चलचित्रमा नयाँ लहर देखाप¥यो । फोटोकपी शैलीका यथार्थभन्दा पृथक्ता खोज्नु नयाँ लहरको उद्देश्य थियो । रोमहर, रिभेत्ते, त्रुफो तथा गोदार्डजस्ता चलचित्रकर्मीले यसको नेतृत्व गरे । सिनेमामा पृथकताको खोजी गरियो । जसलाई सिनेमाशास्त्रीले अटर सिद्धान्त भने । सानो लगानीमा लोकेसनमा गएर छायाङ््कन गर्ने कार्य इटालेली नवयथार्थवादी सिनेमाको विशेषतालाई नयाँ लहरले पनि पछ्यायो । जाँ पाल सात्र्र तथा अल्वेयर कामुको अस्तित्ववादी प्रभाव ग्रहण गर्दै जाँ लक गोदार्डले ‘ब्रेथलेस’ बनाए, जुन नयाँ लहरको उदाहरणयोग्य सिनेमा हो । एक दशकजति चलेको यो आन्दोलनले निर्देशकको भूमिकालाई सर्वाेपरि मानेको छ । त्रुफोको ‘दी फोर हन्डे«ड ब्लोज’ अर्काे नयाँ लहरको सिनेमा हो । यसले विश्वका चलचित्र समीक्षकको ध्यान तानेको थियो । आन्द्रे ब्राजिन, सराह बर्नहट, अलेन रेने तथा माउलिस चबालियरजस्ता अभिनेता तथा निर्देशकले यो आन्दोलनको विकासमा ठूलो योगदान दिए ।
बेलायतको आन्दोलन
वृत्तचित्र शैलीमा सिनेमा निर्माण गर्नु नै बेलायती नयाँ लहरको विशेषता हो । चार वर्षमात्र चल्यो यो आन्दोलन । पराम्परागत जासुसी तथा हास्यसिनेमाको विपक्षमा यथार्थवादी कथावस्तुको चयन यसको विशेषता हो । दोस्रो विश्वयुद्धपछि बेलायतमा बनेका सिनेमामा यस्तो गुण पाइन्छ । सिनेमालाई स्वतन्त्रता दिनुपर्छ भन्ने मूल नारालाई समेटेर प्रकाशित ‘सिक्वेन्स’ नामक पत्रिकाबाट यो आन्दोलन सुरु भयो । टोनी रिचार्डसन, कार्ल रिइत्ज तथा लिन्डसे एन्डर्सनले प्रतिपादन गरेका हुन् यो अवधारणा । टोनी रिचार्डसनको निर्देशन रहेका सिनेमाहरू ‘लुक ब्याक इन एङ्कर’ तथा ‘दी इन्टरटेनर’ नयाँ लहरका सिनेमा हुन् । छोटो अवधिभित्रै यो धारका सिनेकर्मीको फुटपछि आन्दोलन तुहियो तर अल्बर्ट फिन्ने, एलान बेट्स, टिम कुर्टेन तथा रिचार्ड ह्यारिसजस्ता कलाकारको उठान यही आन्दोलनबाट भएको हो । यही अवधिमा बेलायतमा अमेरिकी सिनेमा एक्कासि भित्रिएकाले पनि यो आन्दोलन छिन्नभिन्न भएको हो ।
जर्मनीमा नयाँ यथार्थवादी
जर्मनीमा छ वर्षसम्म चल्यो नयाँ यथार्थवादी आन्दोलन । यो आन्दोलनले जर्मनेली सिनेमालाई ऐतिहासिक युगमा उभ्यायो । कथ्यभन्दा दृश्य प्रस्तुतिमा जोड दिइयो । वेशभूषा, दृश्यविधान, ध्वनि, प्रकाश संयोजन तथा छायाङ्कनको पक्षमा यसले उल्लेख्य उपलब्धि हासिल ग¥यो । यो आन्दोलन चाँडै नै छिन्नभिन्न भए पनि यसले स्थापित गरेका मान्यता पछिकाले पनि पछ्याए । यसै आन्दोलनको छाताभित्र बनेका सडक सिनेमा जर्मनीमा चर्चित रहे । निर्देशक एफ.डब्लु.मुर्लाेको ‘लास्ट लफ’ यो आन्दोलनको महत्वपूर्ण सिनेमा हो ।
भारतको कला सिनेमा
बङ्गाली सिनेमाले भारतमा उठान गरेको धारलाई कला सिनेमा, नयाँ सिनेमा वा समानान्तर सिनेमा भनेर चिनिन्छ । मूलतः यो आन्दोलन नभएर परम्परागत शैलीलाई तोड्दै पृथक्ताको खोजी गरिएको अभियान हो । फ्रान्सको नयाँ लहरपछि विश्वका प्रयोगवादी निर्देशकले परम्पराविपरीत सानो लगानीमा यथार्थवादी कथावस्तु रहेको र लोकेसनमा गएर नै छायाङ्कन गर्ने परिपाटीलाई यो अभियानले आत्मसात् गरेको पाइन्छ ।
लोकप्रिय कलाकारलाई बहिष्कार गरी स्थानीय कलाकार लिनु र प्राकृतिक दृश्यमा नै छायाङ्कन गरेर सिनेमा बनाइन्छ । मूलधारका सिनेमाको विपक्षमा सिनेमा बनाएर जोखिम उठाउने कार्य जापानी निर्देशक आकिरा कुरोसावाले गरे । उनले ‘रासोमोन’ निर्माण गरेका थिए । भारतीय निर्देशक सत्यजित रायले उनीबाट प्रेरणा लिएका थिए । डी सीकाको ‘बाइसाइकल थिप्स’ हेरेपछि रायले गैरपेशेवर कलाकारलाई लिएर लोकेसनमै गएर सिनेमा बनाए । ‘पाथेर पाञ्चाली’ यसको उदाहरण हो । यसपछि भारतमा समानान्तर सिनेमा अभियान सुरु भयो । बलिउडमा मूलधारका सिनेमाको वर्चस्व रहेका बेला कलकत्ताबाट कलासिनेमाको विकास भयो । बङ्गाल क्षेत्रमा साँस्कृतिक जागरण उन्नत भएको अवस्थामा सत्यजित राय, चिदानन्द दास गुप्ता आदि मिलेर सिनेमा समाजको स्थापना गरे । रायको ‘पाथेर पाञ्चाली’ बन्नुअघि नै बङ्गाली भाषामा निमाई घोषको ‘छिन्नमुल’ तथा विमल रायको ‘दो बिघा जमिन’ बनिसकेका थिए । यसले ‘पाथेर पाञ्चाली’ बन्नलाई आधारभूमि प्राप्त ग¥यो । अनि गुरु दत्तको ‘प्यासा’, ‘साहव बिबी और गुलाम’जस्ता सिनेमाले रायले खनेको बाटोलाई फराकिलो बनायो । समानान्तर सिनेमा आन्दोलनमा मृणाल सेनको ‘भुवन सोम’ प्रदर्शनपछि कला र व्यावसायिकताको सन्तुलन खोज्न थालियो । गुल्जार, सइद मिर्जा, केतन मेहता तथा कल्पना लाजमी आदिले यो धारलाई जोगाए ।
यी सिनेआन्दोलनका केही प्रतिनिधिमात्र हुन् । यीबाहेक थुप्रै आन्दोलन इतिहासमा पाइन्छन् । सन् १९९५ मा डेनमार्कका चलचित्रकर्मीले चलाएको अन्दोलन हो– डग्मा । यसका उठानकर्ता हुन्– लार्स भान ट्रियर, थोमस भिन्टर वर्ग, क्रिस्टिना लिभरिड आदि । लोकेसनमा नै छायाङ्कन गरिनुपर्ने, सङ्गीतलाई कम महŒव दिइनुपर्ने, विशेष प्रकाश व्यवस्था, समय र भूगोलको तालमेल तथा ३५ एमएमको रिल हुनुपर्ने आदि मान्यतालाई उनीहरूले यो आन्दोलनको घोषणापत्रमा उल्लेख गरे । हलिउडको वर्चस्वलाई भञ्जन गरी फ्रान्सेली अटर सिद्धान्तको पनि विपक्षमा रहनु डग्मावादी सिनेकर्मीको विशेषता हो । युवा चलचित्रकर्मीको परिवर्तनप्रतिको चाहना लार्स भान ट्रिगरको ‘ब्रेकिङ द वेभ्स’ र ‘द इडियट्स’मा देखिएको छ । यो आन्दोलनले आफूलाई टिकाउन भने सकेन ।
नेपालको सन्दर्भ
राजा महेन्द्रले पञ्चायतको प्रचार–प्रसारमा सिनेमालाई उपयोग गरे । यसपछि प्रविधिले पनि फड्को मा¥यो । तर, वैचारिक प्रभाव २०४६ सालको आन्दोलनपछि देखियो । कवितारामको ‘मुक्तिसङ्घर्ष’, प्रेम सेर्माको ‘देउमाईको किनारामा’ र तुलसी घिमिरेको ‘बलिदान’ले परिवर्तनकारी विचारलाई अभीष्ट बनाएको पाइन्छ । यीमध्ये ‘बलिदान’ले सार्थक रूपमा जनसमर्थन पायो । २०५२ सालदेखि माओवादीले जनयुद्ध सुरु गरेपछि त्यसको छायाँ नारायण पुरीको ‘आगो’मा देखियो । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपछि मुलुक शान्तिप्रक्रियामा आयो । त्यसपछि सिनेमामा माओवादी विषयले प्रवेश पायो । माओवादी विचारको आत्मसात् गर्ने सिनेमा शिवजी लामिछानेको ‘लालसलाम’ र ‘जलजला’, विमल पौडेलको ‘जनयुद्ध’, नवल खड्काको ‘आवाज’, विजय बस्नेतको ‘सहिद’ आदि प्रदर्शनमा आए ।
मुलुकको द्वन्द्वग्रस्त कालखण्डको चित्रण गर्दै केपी पाठकको ‘मैना’, मनोज पण्डितको ‘वधशाला’, छिरिङरितार शेर्पाको ‘उमा’, नारायण पुरीको ‘अल्पविराम’ आदि सिनेमा बने । यही अवधिमा ‘दासढुङ्गा’, ‘दसगजा’, ‘भीमदत्त’ आदिले राष्ट्रिय समस्याको उठान गरे । यी चलचित्र निर्माण र प्रदर्शन हुनु कुनै आन्दोलन र अभियानको द्योतक त होइन तर परम्परागत ढर्राप्रतिको आक्रमणचाहिँ अवश्य हो ।
यहीबीच सिनेमामा वैकल्पिक धारको चर्चा पनि पाइन्छ । छिरिङरितार शेर्पा, नवीन सुब्बा, मनोज पण्डित, दीपेन्द्र के खनाल, विनोद पौडेल, मीनबहादुर भाम आदि निर्देशकको नाम यो धारसित जोडेर चर्चा गरियो । यस्तै ‘पशुपतिप्रसाद’, ‘धनपति’, ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘सेतो सूर्य’ आदिले पृथक् परिचय बनाए । यही बेला राष्ट्रिय चलचित्रको चर्चा पनि भयो । ‘सीमारेखा’, ‘दसगजा’, ‘भीमदत्त’, ‘कालापानी’, ‘नेपाल प्यारो छ’ आदिलाई यस्ता चलचित्र पनि भनियो ।