logo
२०८१ मंसिर ९ आईतवार



मदनका पाइला पछ्याउँदै...

शनिवार |


मदनका पाइला पछ्याउँदै...


मोहन प्रकाश

सिन्धुपाल्चोकको चौतारामा पहिलो पाइला टेक्नेबित्तिकै मेरा दृष्टिलाई लोभ्याएको दृश्य थियो– उत्तरतर्फ देखिने सेलाङ डाँडोले । चौताराबाट धागोको सोतोजस्तो देखिने कच्ची सडकले सेलाङ डाँडोलाई छोएर कतै हराएको देखिन्थ्यो । त्यो सडकमुनि भेडागाउँ पथ्र्याे । भेडागाउँ मास्तिर अविरल झरिरहने झरना आफैँमा मनमोहक देखिन्थ्यो । त्यसपछि कैयौँचोटि सेलाङ डाँडो पैतालाले नापियो । उक्त डाँडो काटेर सेलाङ गाउँ हँुदै जलबिरे पुगेर रात पनि बिताइयो ।
पीपलडाँडा हँुदै झाडीखोलामा पुगेर दर्जनौँपटक चिसो पानीमा डुबियो । भुतछाँगो चौतारानजिकको सबैभन्दा आकर्षक ठाउँ हो, जहाँ कैयौँपटक पुगेर टाउकोमा पानीको झड्का थापियो । कटुवाल गाउँ हँुदै, बतासे, देवीडाँडाबाट तलको खोलामा पौडी खेलेर देउराली हँुदै चौतारा निस्केको । भोटेकोसीमा डुब्नै भनेर कतिचोटि इर्खुबाट ओरालो झरियो । सेलाङबाट फुलपिङ, देवीडाँडा हँुदै देउरालीबाट चौतारा पुगेको । चौताराबाट कुभिन्डे हँुदै इर्खु निस्किएको । सानो सिरुबारीबाट ठाडो उकालो चढेर ठूलो सिरुबारी पुगेको र रातिको १० बजे बास बस्न पुगेको । हर्लङबर्लङ पुगेर केराघारी हँुदै भीरकुना निस्किएको । दारेगौँडा र पानीट्याङ्कीको माथि चट्टानमा बसेर चौतारा नियाल्ने प्रायः दैनिकी नै बनेको थियो । यस्तै गोसाइँकुण्ड, पाँचपोखरी, भैरवकुण्डबाट जुगल हिमालको काखसम्म पुगेका स्मृतिहरू तरङ्गित भइरहन्छन् सिन्धुको सम्झनामा ।
चौताराबाट देखिने अर्को मनमोहक दृश्य थियो– फुलपिङकोट र याङ्लाकोट बीचको गल्छीमुन्तिरको झरना । मजस्तो घुमक्कडलाई त झन् हिँड्ने बहाना भए पुग्थ्यो । झरना, डाँडो या एकान्त बस्ती भए पुग्थ्यो । खुट्टा चिलाउन थालिहाल्थे । कहिले बिदा छ भनेर हात क्यालेन्डरका पाना पल्टाउन थालिहाल्थे । शिक्षण पेसामा बिदा धेरै पाउनु नै वरदान साबित भएको थियो, पदयात्राका लागि । यस्तैमा क्यालेन्डरमा राता तीन दिन फेलापरेपछि हामी तीन भाइले बनाइहाल्यौँ अर्को यात्राको योजना– याङ्लाकोट टु दुगुनागढी । हामी तीनमध्येका दुई थिए– सिन्धुपाल्चोकका रैथाने, त्यसमा म थिएँ– ताप्लेजुङे । रैथाने भए पनि दुवै यात्राका सौखिन, गफका पारखी र रोमान्सका उस्ताद ।
उकालोमा देवीडाँडालाई फन्को मार्दै गर्दा धर्तीमा अँध्यारो छाइसकेको थियो । फुर्वाले टर्च निकाले । फुर्वाको अगाडि लागे राजु । म पछाडि परेँ । बलेफीको झोलुङ्गेपुल छोडेर हामीले जलबिरे टेकिसकेका थियौँ । आजको बासस्थान जलबिरे सायद हाम्रै पर्खाइमा थियो । हामी एउटा होटलभित्र पस्यौँ ।
बिहान होटलको डाइनिङमा चिया खान निस्कँदा त्यहाँ भेटिए दुई इन्जिनियर । जो त्यही चौताराबाट देखिने फुलपिङकोट र याङ्लाकोटको गल्छीबाट झर्ने झरना हँुदै बग्ने जलबिरेखोलामा हाइड्रो पावर निर्माणका लागि सर्वे गर्न खटिएका रहेछन् । हाम्रो यात्राका बारेमा तिनले खुब चासो र जिज्ञासा राखे । कुरैकुरामा ती दुईमध्येका एकले मलाई देखाउँदै, ‘तपाईं प्रहरी हो’ भनेर सोधे ।
केही दिनअघि ‘जलबिरेमा सात किलो सुनसहित एक व्यक्ति पक्राउ’ भन्ने समाचार मिडियामा छाएको थियो । हामी हिँड्न लागेको मार्गलाई खासाबाट चोरबाटोका रूपमा पनि प्रयोग गरिँदोरहेछ । ती इन्जिनियरले सोचेछन्– यो मार्गमा सुराकी गर्न यी पदयात्रीको भेषमा हिँडेका होलान् । मेरो र राजुको ‘हेयर स्टाइलले’ पनि तिनलाई त्यो शङ्का लागेको हुनुपर्छ । हामी घुम्न हिँडेको भन्दा तिनले पत्याउँदै पत्याएनन् । उल्टै ‘फोकटमा त्यत्तिकै यत्रो बाटो को हिँडछ यार’ भन्दै हामीलाई उडाए ।
हामी जलबिरेको झोलुङ्गेपुल टेक्नेबित्तिकै फुर्वाले आफ्नो डीएसएलआर क्यामेरा चारैतिर घुमाउन थालिसकेका थिए । त्यसपछि सुरू भयो हाम्रो याङ्लाकोटको ठाडो उकालो यात्रा । गफको सुरमा सालघारीको उकालोले हार मान्यो । यस्तै सालघारीको ठाडो उकालो पहिले नुवाकोट दरबार पुग्दा पनि चढेको थिएँ । तर, त्यहाँ मलाई एक्लो देखेर पो हो कि सालघारीले चिटचिट पसिना झारेको थियो । यहाँ भने हामीलाई समूहमा देखेर होला सालघारी लुत्रुक्क परेझैँ लाग्यो ।
पैरेको एउटा घरमा पुगेर चिसो पानीले यात्राको प्यास मेटायौँ हामीले । पैरे २४ घरपरिवार भएको विश्वकर्माको बस्ती रहेछ । त्योभन्दा माथि बाटैमा एउटा ढुङ्गेधारोबाट पानी झरिरहेको थियो । बीचमा एउटा मन्दिर भएको यो बाक्लो बस्तीको नाम ढाँटी रहेछ । नेवारको बाहुल्य रहेको यो बस्ती जलबिरे र याङ्लाकोटको करिब मध्य बिन्दु हो । अर्थात् हामीले याङ्लाकोटको आधा बाटो नापिसकेका थियौँ । त्यहाँ मास्तिरको जङ्गलको एउटा खुला ठाउँबाट पश्चिमतर्फ चौतारा बजारको मनमोहक दृश्य देखियो । त्यहाँबाट केहीक्षण उकालो चढेपछि एउटा ओखरको बोटमुनि भेटियो थकाइ मार्ने चौतारो । फुर्वाले जोडिहाले मोबाइलमा सानो स्पिकर । तीनैजनाका गोडा भुँइ छाड्न थालिहाले । मस्तले तीन भाइ गीतको तालमा उफ्रियौँ ।
एउटा पहिरो गएको भीरमा हातपाउ टेकेरै चढ्नुप¥यो । यही भीरबाट पहिले भोटका व्यापारीलाई पैसा लुटेर झारिन्थ्यो रे ! यो चट्टानी भीर तल फर्केर हेर्ने हिम्मत हामी कसैले गरेनौँ । भीर कट्नेबित्तिकै ढुङ्गा फोडिरहेका केही महिला भेटिए । एउटी महिलाको काखमा दुई÷तीन वर्षको बालक थियो । अर्की महिलाको देबे्रहातबाट उडिरहेको थियो चुरोटको धूवाँ ।
याङ्लाकोट टेक्दै गर्दा पश्चिममा चौतारा बजार खुम्चिएर एक मुठ्ठीको देखियो । दक्षिणमा फुलपिङकोट याङ्लाकोटसँगै काँधमा काँध मिलाएर बसेको थियो । छेवैको ढुङ्गेचौतारोमा बसेर धेरैबेर हाम्रा आँखाका डल्ला वरिपरिका दृश्यमा नाचिरहे ।
समग्रमा याङ्लाकोट भनिए पनि तल्लो भागलाई कलङ्सा, मध्यलाई चौबुटे र सिरानलाई याङ्लाकोट भनिँदोरहेछ । अहिले हामी चौबुटेमा पाइला सार्दै छौँ, जहाँ तामाङ र विश्वकर्माको मिश्रित बस्ती छ । सिरानको भागमा बाक्लो तामाङ बस्ती छ । करिब पाँच सय घर भएको यो बस्तीलाई जिल्लाकै ठूलो र घना बस्ती भनिन्छ ।
अघिल्लोचोटि यहाँ आइपुग्दा एक स्थानीयले भनेका थिए, ‘याँ बिहा गरेर आउने केटीलाई आफ्नो घर चिन्नै दुई दिन लाग्छ ।’ यो तर्क गलत लाग्दैन । एक–अर्कामा जोडिएर बनेका घरभित्रका गल्लीहरू चिन्न नवआगन्तुकलाई हम्मेहम्मे पर्छ । पुरानो याङ्लाकोट झन् बाक्लो रहेछ । कति घर जीर्ण हँुदै गएकाले खेतका फाँटहरूमा नयाँ पक्की घरहरू बन्दै गरेका देखिन्थे । ऐतिहासिक एकत्रित यो बस्ती विस्तृत बस्तीमा रूपान्तरण हँुदै थियो ।
महिला भकारो सोरिरहेका, कँुडो बनाइरहेका, पानी ओसारिरहेका, पँधेरामा बसेर भाँडा माझिरहेका थिए । महिलाका दाँजोमा पुरुषको चहलपहल कमै देखिन्छ । यत्तिकैमा हाम्रो सामुन्नेको बाटोमा करिब ६० नाघेकी एउटी बूढी धुन्चे बोकेर हामीतिरै ठोक्किन आइपुग्छिन् । उनका निर्दोष आँखाले, ‘म भरिया बूढी केको फोटो खिच्छौ, ममा कुनै सौन्दर्य छैन’ भनेझैँ लाग्छ । तर, फुर्वाको डीएसएलआरले क्लिक–क्लिक गर्दै आँखा झिम्क्याउँछ, ‘सौन्दर्य आँखाले देखिने चीज कहाँ हो र बूढी, यो त तिम्रो कर्म र अन्तरहृदयमा लुकेको हुन्छ । तिम्रो हृदय हीराभन्दा सुन्दर र गङ्गाभन्दा पवित्र छ ।’ क्यामेराको फोकस कति चाँडो बुझिछिन् बूढी फुरुङ्ग हँुदै हाँस्छिन् ।
पेटमा मुसा दौडन थालेकाले हामी खानाको खोजीमा थियौँ । तर, बाटैमा भेटिएकी अर्की बूढीले हामीलाई उनकै छोराको होटलमा पु¥याइन् । त्यहाँ मःमः, चाउमिन र पकौडामात्र रहेछ । तर, आसाङले हामीलाई भात पकाइदिने भए । ‘याङ्लाकोट’ तामाङ भाषाको शब्द रहेछ । यसको नेपाली अर्थ ‘पुनर्जन्म’ रहेको कुरा आसाङले बताए । कुनै बेला तŒवबोध प्राप्त एक लामाले यहाँ पुनर्जन्म पाएकाले यो ठाउँको नाम याङ्लाकोट रहन गएको रहेछ । भात खाउन्जेलमा आसाङले हामीलाई याङ्लाकोटको फेहरिस्त सुनाए ।
चौताराबाट मात्र कहाँ झरना देखिँदोरहेछ र ! असली झरना त यहाँ पो लुकेको रहेछ । होटल छाडेको १० मिनेटमै वास्तविक झरनाले हामीलाई दर्शन दियो । त्यो झरनामाथि देखिएको झोलुङ्गेपुलले प्रकृतिको सौन्दर्य अझ बढाएको भान हुन्थ्यो । तर, हाम्रा पाइला त्यता पर्नेवाला थिएनन् । त्यो बाटो पश्चिम लाग्यो । हाम्रो बाटो पूर्व । विपरीत ध्रुवमा हामी एक–अर्काबाट तन्कन थाल्यौँ ।
करिब आधा घण्टा हिँडेपछि पाटीचौर नामको नेवार बस्ती भेटियो । उपत्यकाबाट फैलिएर नेवारहरू देशका कुना–काप्चासम्म छरिएका भेटिन्थे । तर, जहाँ पुगे पनि बस्तीको संरचना र घरको बनोटले नै नेवारी परिचय झल्किहाल्थ्यो । पाटीचौर काटेर जङ्गलको छोटो बाटो चढ्दै गर्दा वनमा वस्तु चराएर खेल्दै गरेका १०÷१२ जना केटाकेटी भेटिए ।
यहाँ भने हामीले रमाइलो गर्ने विचार ग¥यौँ । सालघारीको बीच र फराकिलो ठाउँमा गीत घन्कायौँ । हामी तीन भाइ गीतका तालमा नाच्न थालेपछि भएभरका बालबच्चा थुप्रिहाले । त्यसपछि करिब १५÷१६ जनाको सामूहिक नृत्य सुरू भयो । वरिपरिका बालबालिका थुप्रिनेक्रम जारी थियो । करिब एक घण्टा हामी यी बा(लबालिकामाझ रमायौँ । बाटोमा आलुका सुन्दर फाँटहरू छिचोल्दै पुनः हामी जङ्गलको गर्भमा हरायौँ । नजिकको पहाडको फेदमा एक हूल बटुवा थकाइ मार्दै गफमा भुलेका थिए । वनभरि लालीगुराँस ढकमक्क फुलेर बटुवालाई लोभ्याइरहेका थिए ।
हामी देउराली आइपुगेका थियौँ । पुराना घरहरूमा लहरै लुङ्दरहरू हावामा नाचिरहेका थिए । तल भोटेकोसीकिनारमा खासा जाने नागबेली मोटरबाटो देखिन्छ । हाम्रो सामुन्ने पुनः याङ्लाकोटमा देखिएजस्ता लहरै पुराना स्तुपहरू देखिन्छन् । खासाको माथितिर हिमाली शृङ्खला आकाशमा तैरिएको देखिन्छ । मानौँ नया(ँयुगका मदनहरू झोला भिरेर भोटतर्फ अघि बढ्दै छन् । यी दृश्यसँगै मुनामदनका हरफहरू मस्तिष्कमा दौडन्छन्–
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढु्ङ्गा र माटो नङ्गा र उजार ।
केही क्षण हिमाल हेर्दै टोलाएर हामी यो मार्गलाई
‘भोट टे«ल’ घोषणा गर्छौं । तर, मेरो मन भने अचानक
‘मदन टे«ल’ पो ठीक होला कि भन्ने तर्क गर्छ । ‘हेर, निर्णय भनेको बहुमतको पो हुन्छ, तेरो एक्लो जिद्दीले हुन्छ ? फेरि महाकविले नै ‘भोटको बाटो’ भनेर लेखिसकेपछि उहाँकै शब्दलाई तँ पनि स्वीकार,’ मनको प्रतितर्क ठिकै लाग्छ ।
हामी घुमथाङ पुग्दा दृश्यहरू अचानक परिवर्तन हुन्छन् । जताततै हरियाली छाएको देखिन्छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको घरमा पुग्दा रात झमक्क परिसकेको थियो । उनकै काका बलबहादुर श्रेष्ठको घरमा हामी शरण लिन पुग्छौँ । काकाको जस्तो सत्कार सायद सौभाग्यले मात्र जहीँतहीँ भेटिन्छ । भात पकाएर, ख्वाएर नसुतुन्जेलसम्म उनले हाम्रो साथ छोडेनन् । काकी र दुई छोरीले त्यत्तिकै सत्कार गरे । बिहान पनि काकाले चिया नपिई हिँड्नै दिएनन् ।
हामीले भीरखर्कको बाटो समायौँ । बाँसका झ्याङहरू समात्दै, कहीँ घाँसका बुट्टा र भीरका ढुङ्गा टेक्दै भीरखर्कको भीर काट्यौँ । एउटा गहँुबारीको फाँट काटेपछि नाककुच्चे पुगियो । सुरूमा त यो नाम सुन्दा हामी तीनै भाइ हाँसेका थियौँ । बाटो यस्तो ठाडो भीरको थियो कि उकालो ओरालो हिँड्नेक्रममा कोही न कोहीको नाक यो भीरमा ठोक्किएर कुच्चिएको हुनुपर्छ । धन्न हामी भाग्यमानी साबित भयौँ, त्यो घटनामा पर्नु परेन ।
नाककुच्चे तल भोटेकोसीमा झोलुङ्गेपुल देखियो । यो पुलले हामीलाई सखुवा भन्ने ठाउँसँग जोड्यो । सखुवाबाट हाम्रो यात्राका एक हस्ती फुर्वा छुट्ने भए । उनले अरनिको राजमार्गबाट दक्षिणको मोटर समाते । हामी दुई भाइ भने दुगुनागढी टेकेरै आउने रहरले उत्तरतर्फ लाग्ने भयौँ । तर, धेरैबेर कुर्दा नि बस नआएपछि मोटरबाटो हिँड्न हामी कस्सियौँ । बाटोको दाहिनेतिर एउटा पानीघट्ट भेटियो । एक वृद्धा चुरोटको सर्को तान्दै मकै पिस्दै थिइन् । हामीलाई घट्टको छाप्रोभित्र देखेर उनी मुस्कुराइन् । घट्ट आफ्नै तालमा घुमिरहेको थियो । आमाका दुःख र पीडाहरू सायद चुरोटको धूवाँसँगै आकाशमा गुजुल्टिएर उड्दै थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?