logo
२०८२ असार २ सोमवार



सादवी सम्झना

शनिवार |


सादवी सम्झना


कुमारी लामा


‘ब्यान्ड अल ओभर अरब वल्र्ड’
यिनै हरफ थिए, जसले मलाई त्यस पुस्तक पल्टाउन बाध्य पारेको थियो । सन् २०१० को एक घमाइलो दिन । टहलिँदै पुगेथेँ दक्षिण–पूर्वी लन्डनको उलिच पुस्तकालय । केही समय भएको थियो, मेरो लन्डन टेकाई । धेर–थोर चटारा सकेपछिको पुस्तक खोजाइको उपज थियो, पुस्तकालय विचरण । विशाल पुस्तकालयभित्र आँखा डुलाउँदै गर्दा एउटा सेल्फमा ठ्याक्क नजर अडियो । सायद कभरको रङले मेरो नजर खिचेथ्यो । पुस्तक उठाई ओल्टाइपल्टाइ गरेपछि भने ठ्याक्कै अठ्याइहाल्यो । सबैभन्दा बढी उत्सुकता जगाएथ्यो ‘अरब राष्ट्रहरूमा ब्यान्ड गरिएको’ भन्ने हरफले । व्यग्र भई गएँ त्यस पुस्तक र लेखकबारे बुझ्न । लेखकको नाम दोहो¥याएर पढेँ । तर कहिले नसुनेको नाम । मेरा लागि उनी साँच्चै अपरिचित तर खुलदुलीमय भइन् । उनी ः नवाल एल सादवी, इजिप्सियन लेखक ।
सादवीबारे बुझ्ने छिटो माध्यम गुगल सर्च । सुरुवात त्यसरी नै भयो । उनको नाम र चर्चाबारे केही कुरा थाहा लाग्यो । खासगरी अरब वल्र्डमा उनको नाममात्र नभई बद्नामी पनि उल्कै रहेछ । अरबभरि नै उनको पुस्तक बन्देज गरिनु चानचुने कुरा कहाँ हो र ? जब निरङ्कुश शासक कमजोर महसुस गर्छन्, तब आफ्नो कमजोरी लुकाउन लेखकको विचारलाई यसरी नै बन्देज लगाउन थाल्छन् । सादवी पेसाले चिकित्सक र मनोविद् भए पनि महिला अधिकारकर्मी र खरो राजनीतिक विश्लेषकका रूपमा पनि प्रख्यात छिन् । एक अजनवी लेखकबारे यति जानेपछि मेरो हातमा भएको उनको उपन्यास ‘दी नोभल’ पढिसिध्याउने हुटहुटी बेस्सरी चुलिइसकेको थियो । नोभलको शीर्षक ‘दी नोभलले’ नै खिचिसकेको थियो मेरो मन । केही दिनमै पढिभ्याएँ र चकित परिरहेँ । भिन्न सामाजिक, आर्थिक पृष्ठभूमिका चार महिला पात्रको विषय उठान गरिएको उपन्यासले राम्रै झड्का दिएथ्यो । शक्तिशाली विषयका बाबजुद शैली र प्रस्तुतिको नवीनता । वाह ! परिचयको सुरुवात अप्रत्यासित सही सुन्दर भयो । त्यसपछि भने म सादवीका हरेक गतिविधितिर सधैँ चनाखो रहेँ ।
सादवी सम्झना आज एक्कासि यति टाठो हुनुका कारण हो– उनको मृत्युको खबर । एक दशक बढी भइसकेछ हाम्रो किताबी परिचय । केही दिन ढिला गरी आइपुग्यो मछेउ उनको देहावसनको खबर । लेखक बारबारा निम्री अजिजको लेखले फेरि एकपटक सादवी सम्झना झरिलो पारिदिएको छ । प्रतिरोधी चेतनाका पर्याय सादवीले उनान्नब्बे वर्षसम्म सक्रिय रूपमा लेखिन्, बोलिन् । यही मार्च २१ मा यस लोकबाट बिदा भइन् । उनीबारे लेख्दै गर्दा एउटा प्रश्न जोडले रङमगिँदै छ दिमागमा ।
खासमा अर्थपूर्ण जीवन बाँची जाने कति हुन्छन् संसारमा ?
अरबौँको भीडमा निकै कम । होइन र ?
त्यही थोरैमध्येकी एक हुन्– नवाल एल सादवी ।
नपुग्दो केही थिएन तर उनी लफडा गरी बस्थिन् । पछि त मसुर लफडावाज नै कहलिइन् । अरब राष्ट्रहरूमा उनको नामभन्दा बद्नाम र विवाद बढ्ता भयो । डाक्टरी पेसाको शान–सौकत र आरामको जीवन थियो । तर, उनीभित्र पितृसत्तात्मक समाजले महिलामाथि लादेका अनेकन मान्यताप्रति घोर आपत्ति बढ्दै गयो । आफ्नै अनुभव र अनेक जिम्मेवारीसँगै मौलाएको चेतनाका कारण उनी इजिप्टमा व्याप्त महिलामाथिको विभेद र हिंसाका अनेकन रङसँग साक्षात्कार हुँदै गइन् । साथमा बढ्दै गयो उनीभित्र प्रतिरोधको लप्का । सानोछँदा हजुरआमाबाट सुनेको कुराले उनलाई पछिसम्म असर पारेको थियो । हजुरआमा बारम्बार दोहो¥याउँथिन्, ‘एउटा केटो भनेको कम्तीमा पन्ध्र केटी बराबर हो ।’ हजुरआमामा स्थापित यस विभेदी मनोभावबीच सायद उनले आफ्नो अस्तित्व साह्रै फिका पाइन् । जीवनभरको उनको सङ्घर्ष आफ्नै अस्तित्व स्थापना गर्नु त थियो नै साथमा समाजले महिलामाथि गरिरहेको हिंसाको पर्दाफास गर्नु पनि थियो । दबाइएका महिलाका पीडालाई बाहिर ल्याउनु पनि थियो । र थियो, महिलाविभेदी समाजको चिन्तनमा ल्याउनु थोर–बहुत परिवर्तन । जीवनभर उनी त्यसैका लागि लडिरहिन् । दुई वर्ष स्वेच्छिक निर्वासनमा बसिन् र देश फिर्नेबित्तिकै सन् १९८१ म पक्राउ परिन् । विनागतिलो कारण उनी ६ हप्ता जेलमा जाकिइन् । त्यसअघि पनि अनेक घटना घटिसकेको थियो उनको जीवनमा । पुरुषतन्त्रको हालिमुहाली रहेको त्यस बन्द समाजका लागि उनी ‘थे्रट’ बनिन् । एक समाज भँडुवा कहलिइन् । महिलामाथिको हिंसाको पराकाष्ठाबारे भण्डाफोर गरेकी थिइन् उनले पहिलो गैरआख्यान पुस्तक ‘वुमन एन्ड सेक्स’ (१९६९) मार्फत । त्यस पुस्तकमा ‘फिमेल सर्कमसेसन’ (क्लिटोरस छेदन) का विषयमा कडा आलोचना गरेकी थिइन् । सभ्यताको मुखौटा पहिरिरहेको समाजको नकाव उतार्ने दुस्साहास गर्ने सादवीलाई कसरी त्यस ढोङी समाजले रुचाउनु र । उनी सदाको शत्रु भइन् जड सामाजिक मानसिकता बोकेकाहरूका लागि ।
मुख खोलेबापत राम्रै मूल्य चुकाएकी छन् सादवीले । ‘वुमन एन्ड सेक्स’को प्रकाशन र विवादपछि उनले जनस्वास्थ्य विभागको प्रबन्ध निर्देशकको पद त गुमाइन् नै साथमा मेडिकल एसोसिएसनको उपमहासचिव पदबाट पनि च्यूत भइन् । उनीमाथि असङ्ख्य अङ्कुश लगाउने प्रयत्न भए । गरिए । उनले प्रकाशन गर्ने स्वास्थ्यसम्बन्धी पत्रिकासमेत ब्यान्ड गरियो । जडसूत्रवादी मनोविज्ञान बोकी हिँड्नेका लागि सधैँ उनी टाउको दुखाइ बनिरहिन् । उनको जीवनका केही व्यक्तिगत घटना पनि त्यस समाजका लागि पाच्य थिएन । महिलाको स्वतन्त्रता र यौनिकतामा सधैँ लगाम खिचिरहने समाजका लागि उनका तीन विवाह वास्तवमै अपाच्य थियो । त्यसकै परिणाम थियो– सन् १९९२ मा अतिवादीको सफाया सूचीमा उनको नाम पर्नु । आफ्नो स्वतन्त्रता र अस्तित्वका लागि लडेकी महिलाका लागि त्यसखाले धम्कीले खास अर्थ राख्थेन । उनी निडरतासाथ बोलिरहिन् । लेखिरहिन् । समाजको बन्देजलाई किन टेर्थिन् र । बरु मन्जुर थियो देश छाड्न । उनले फेरि देश छाडिन्, सन् १९९३ मा । त्यसयता धेरैजसो अमेरिकाकै युनिभर्सिटीमा अध्यापन र लेखनमा व्यस्त रहेकी थिइन् उनी ।
उमेर उक्लेसँगै आफूमा उग्रताको पारो झनै बढेको सहजै स्वीकार्ने उनले असमानता, अन्याय र अत्याचारविरुद्ध बोल्न कहिल्यै पछि परिनन् । धार्मिक, सामाजिक र साँस्कृतिक विकृतिविरुद्ध त बोलिन् नै, साथमा समग्र सामाजिक, राजनीतिक विसङ्गतिप्रति पनि उनी कटाक्ष गर्थिन् । गल्फ युद्धविरुद्ध अभियान नै चलाएकी थिइन् । सन् २०१० यता फैलिएको अरब स्प्रिङमा मुबारक सरकारविरुद्ध उनी खरो उत्रिएकी थिइन् । सेताम्मे केश बोकेकी सादवी आफ्नो उमेरभन्दा अधिक जोशसाथ कायरोको तहरिर स्क्वायरमा उत्रिनु चानचुने कुरा थिएन । उनको उपस्थिति केवल देखिनुका लागि थिएन । उनी खासमा मुबारक राजको निरङ्कुशताविरुद्ध आवाज बुलन्द पार्न अनेकन विरोधसभामा सामेल भएकी थिइन् । परिणामतः धार्मिक अतिवाद प्रेरित मुबारक राजको अन्त्य भयो । अरब स्प्रिङको उछालसँगै इजिप्टले पाएको निकास सादवीजस्ता लोकतन्त्रवादी र न्यायप्रेमीका लागि ठूलो जित थियो ।
सादवीभित्रको आक्रोश र विद्रोहीपनाका पछाडि उनको जीवनका केही घटनाले विशेष अर्थ राख्छन् । सन् २०११ अक्टोबर २३ मा इन्डिपेन्डेन्टसँगको कुराकानीमा उनले खोलेको विगतले पनि त्यही सङ्केत गर्छ । उनी केवल ६ वर्षकी थिइन्, जतिबेला उनलाई चारजना परिवारकै महिलाले ‘पिन डाउन’ गरे र धारिलो ब्लेडले उनको क्लिटोरस छिनालिदिए । उनी दुखाइको चरमतासँगै रगतको आहालमा लतपत भइन् । केही समयमा उनको गुप्ताङ्गको घाउ त निको भयो तर उनले महसुस गरेको पीडाबाट भने कहिल्यै तङ्ग्रिन सकिनन् । संस्कारजन्य मान्यताका आडमा भएको त्यस वीभत्स घटना महिला शरीर नियन्त्रणको एक उदाहरण हो । धार्मिक र साँस्कृतिक अतिवादी ठेकेदारहरू महिलाको शरीर र त्यसमा पनि अझ महिलाको यौन स्वतन्त्रतामाथि यी र यस्तै अनेक तिकडमबाजी गर्दै सदा लगाम लगाइरहन्छन् ।
यसखाले मनोविज्ञानको पछाडि समग्रमा महिलामाथिको पितृसत्ताको संरचनागत दृष्टिकोणले सरोकार राख्छ । निरङ्कुश पुरुषतन्त्रात्मक मान्यताले महिलालाई पुरुषको सहायक अर्थात् ‘सबअर्डिनेट’का रूपमा हेर्छ । त्यसको अलावा महिला शरीरलाई वस्तुकरण गर्ने पनि यही समाजिक मूल्य–मान्यता नै हुन् । वस्तुसरह पारिएको महिला शरीरमा चाहेअनुरूपको निर्मम व्यवहार गर्न उनीहरूलाई सधैँ छुट हुने नै भयो । महिलाको स्वाभाविक शारीरिक चाहमाथि बन्देज लगाउन गरिने अङ्ग छेदन यसैको एक उदाहरण हो । पितृसत्तात्मक मान्यताको पृष्ठपोषकका रूपमा रहेका यस्ता कार्यविरुद्ध सादवीले जहिल्यै आवाज उठाइरहिन् । उनले ‘फिमेल जेनिटल म्युटिलेसन’
(एफजिएम) विरुद्ध अनेकन अभियान चलाइन् । उनीलगायत अधिकारकर्मीको लगातारको प्रतिरोधपश्चात् सन् २००८ मा इजिप्टले एफजिएलाई कानुनी रूपमै बन्देज लगायो । त्यसयता गुपचुप घटना घटे पनि लाखौँ छोरीहरू क्लिटोरेक्टोमीजस्तो अमानवीय कार्यबाट जोगिएका छन् ।
नवाल एल सादवी एक जब्बर आइमाई, जो कहिल्यै आफूले लिएको बाटोबाट पछि हटिनन् । बाँचिन् आफ्नै सर्तमा, आफ्नै पारामा । के मतलब संसारको उनलाई । कुरा काट्ने त बग्रेल्ती थिए । या उनलाई चुप पार्न उद्यत शक्ति कति–कति । चाहेकै हो, बालखैबाट उनको अस्तित्वको घाँटी निमोठ्न । नियन्त्रणमा राख्न अग्लाइएका मान्यतागत तारबारले बाटो छेक्न खोजेकै हो । तर, सकेनन् कसैले रोक्न उनको वेगलाई । हाम्रो परिचयको माध्यम बनेको उपन्यास ‘दी नोभल’को ती युवती जोसँग नामसम्म पनि हुँदैन तर उनी स्वनिर्णयमा अडिग स्वतन्त्र महिलामा कायाकल्पित हुन्छिन् । प्रसिद्ध तर दम्भी लेखक रुस्तमको अनावश्यक अहम्लाई ठेगान लगाउने उनै त हुन् । पितृसत्ताका हिमायती त्यस पुरुषलाई क्षोभ र ग्लानिको पोखरीमा चुर्लुम्म पारेर स्वतन्त्र उडानमा वेगिने ती युवती कतै सादवीकै अल्टर इगो त होइन । खैर, विश्लेषणको पाटो पाठकलाई नै जिम्मा । एक साहसी स्रष्टा नवाल एल सादवीप्रति भने अघोर श्रद्धा ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?