राजाराम फुयाल
जुन दिन ‘च्छो रोल्पा’को नाम सुनेँ, सुनेको दुई हप्तापछि त्यो ठाउँमा पुग्ने भाग्यमानी मान्छे हुँ म । कुरो २०५५ सालतिरको हो, नेपालका सबै पत्रपत्रिका, रेडियो, टेलिभिजनले च्छो रोल्पा ताल फुट्दै छ, यसले नेपाल र भारतका केही भू–भागलाई असर गर्छ भन्ने आÞसयका समाचार पस्किरहेका थिए । समाचार पढेर, सुनेर छक्क परिरहेको थिएँ । जाबो एउटा ताल फुट्दा पनि नेपाल र विहारसम्म असर गर्ला त भनेर विश्वस्त हुन सकिरहेको थिइनँ । तर, मिडियाले लेखिरहेका थिए । भनिरहेका थिए । मेरो अपत्यारसँग उनीहरूलाई के सरोकार !
तालको नाम धेरै सुनेपछि ‘हैन यो ताल हेरौँ न त एकपटक कस्तो रै’छ’ भन्ने लाग्यो । ‘पछि फुटिहाल्यो भने त हेर्न पाइन्न’ भन्ने पनि लाग्यो । यो कुरो साथी राकेशलाई भनेँ । ऊ पनि तयार भयो । अनि हामी दुईजना लाग्यौँ च्छो रोल्पा घुम्न दोलखातिर । चरिकोटसम्म मोटर चढेर पुग्यौँ । अनि पैदल यात्रा गरेर सात दिनमा ‘च्छो रोल्पा’ घुमेर आएका थियौँ त्यतिखेर । त्यहाँ पुग्ने रहर भने मेटिएको थिएन ।
नियमित शनिबार पदयात्रा गरिरहनेक्रममा भेट भएका केही मित्रहरूको माझ ‘च्छो रोल्पा’ जाने कुरो उठ्यो । केही साथीहरू त तुरुन्त तयार भइहाले । तर, कोभिडका कारण देखाएर त्यहाँका धर्मगुरुलगायत समाजका अगुवाहरूले नआउन भनेपछि हाम्रो पाइला रोकियो । सौभाग्यवश, गत चैतमा त्यहाँ जाने मौका मिल्यो । सविना अधिकारी, किरण ओझा, नवराज आर्याल, भाइराजा महर्जन, नम्रता योगी र मसहित एउटा टिम बन्यो । अनि लाग्यौँ हामी छजना ‘च्छो रोल्पा’तिर ।
सफा आकाश, उदाउँदै गरेको सूर्यका किरण, खाली आँखाले हेर्नै नसकिनेगरी चारैतिर टल्केका हिमाल, अनि हिउँ झरेर बनेको हिमतालमा हिमालकै प्रतिविम्ब । यति मनमोहक दृश्य एकसाथ देख्ने अवसर जु¥यो हामीलाई गत चैत २७ गते । काठमाडौँबाट एक दिनको बसयात्रा तथा साढे दुई दिनको पदयात्रापछि हामी दोलखाको उत्तरी क्षेत्रमा रहेको ‘रोल्वालिङ उपत्यका’मा अवस्थित नेपालको सबैभन्दा ठूलो हिमताल च्छो रोल्पामा पुग्यौँ । च्छो रोल्पामा पुगेर उभिएका मात्र के थियौँ, मन त्यसै–त्यसै रोमाञ्चित हुन पुग्यो । ज्यान चङ्गा भयो । बाटोका सारा थकान मेटिए ।
सिन्धुपाल्चोकको खाडीचौर, मुडे हुँदै दोलखाको सदरमुकाम चरिकोट पुग्दा ११ बजिसकेको थियो । यहाँबाट केही यात्रुलाई लिएर बसले गति लियो । कालिन्चोक गाउँपालिकाको सुन्द्रावती, सुनखानीका खेतहरू हेर्दै जाँदा समय बितेको पत्तै भएन । दिउँसो १ बजे सिङ्गटीबजार पुग्यौँ । यहाँ दुई घण्टा रोकिएपछि बस गुड्यो । तामाकोसीको तीरैतीर गोङ्गरखोला हुँदै छेतछेत बजार पुग्यौँ । हाम्रो बस यात्रा यहीँसम्मको हो । यहाँबाट सुरू भयो ‘च्छो रोल्पा’ पुग्नका लागि ४० किमिको पदयात्रा । छेतछेतदेखि नै सुन्दर झरनाहरूले स्वागत गर्न थाल्छन् । पदयात्रामा साना तथा ठूला अनगिन्ती झरनाहरूको दर्शन गर्न पाइने भए पनि छेतछेतको बजारबाटै देखिने झरनाले भने हामी सबैको मन लोभ्यायो । केहीबेर यही रमणीय झरना हेरेर हामी लठ्ठ प¥यौँ ।
छेतछेतबाट झोलुङ्गेपुल तरेपछि तामाकोसीपारि गौरीशङ्कर संरक्षण क्षेत्र सुरू हुन्छ । दुई घण्टाको ठाडो खुड्किलाको उकालो चढेपछि पुगिन्छ– सुन्दर सिमीगाउँ । निगुरो र सिमीको दालसँग खाना जति मीठो थियो, त्योभन्दा मीठो थियो सिमीगाउँको आतिथ्यता । सहयात्री सविना खानपानमा बहुतै सोखिन । निगुरो खान पाउने भएपछि दङ्ग पर्दै लोकल आलु पनि अर्डर गरिहालिन् । होटल साहुनीले पनि एक फिट लामा टुसा पलाएका आलु उसिनेर दिइन् । खोजेजस्तो स्वाद र मिठास नभएकाले त्यो आलु भने हामीले सबै खान सकेनौँ ।
सिमीगाउँको रात्रिखानाले ज्यान तङ्ग्रिएपछि आरामले निदायौँ । भोलिपल्ट बिहान पाँच बजे उठ्यौँ । साहुनी पनि छिट्टै उठिन् हाम्रा लागि । कालो चिया दिइन् । झोलामा भएको बिस्कुट र चिया खाएर साहुनीसँग बिदा मागेर हामी बिहानको खाना खान क्याल्जे पुग्ने सोचले हिँड्यौँ । उत्तिसे नजिकैको पुल पार गरेर उकालो जङ्गलको बाटो साइन बोर्ड र ठाउँ–ठाउँमा फोहोर फाल्ने डस्टबिनसहितको व्यवस्थित पदमार्ग हिँड्दै सुर्मुचे पुग्यौँ ।
सविनाले हामीभन्दा अघि नै पुगेर चाउचाउ बनाउन लगाइसकेकी थिइन् । सुपवाला चाउचाउले ज्यान तताएर हामी फेरि हिँड्न थाल्यौँ । क्याल्जेमा खाना खाने हाम्रो उद्देश्य थियो । हाम्रा पाइला रफ्तारमै थिए । क्याल्जेमा खाना खाएर साँझ बेदिङ नै पुग्ने हाम्रो लक्ष्य थियो । होटलवाली दिदीले हाम्रो अर्डरबमोजिम दालभात पकाइन् । हामीले मिठै मानेर खायौँ । केहीबेरको आरामले सबैको ज्यानमा फेरि तागत भरियो । बेदिङ पुग्न हतार थियो हामीलाई ।
क्याल्जेबाट हिँडेर हामी दोग्याङ पुग्यौँ । त्यहाँ पनि केही होटल र लजहरू रहेछन् । दोग्याङ रोल्वालिङ खोलाकिनारमा रहेछ । यहाँ फराकिलो चौर र खुला ठाउँ पनि रहेछ । खोलाको आवाजले निकालेको मीठो सङ्गीतले थकित् ज्यानलाई केही क्षण भए पनि राहत दियो । हाम्रो टिमको एक सदस्य नम्रता योगीले यहाँबाट यात्रा परित्याग गरिदिइन् । उकालो देख्नेबित्तिकै चिच्याउने र अनुहार खुम्च्याउने उनको बानीबाट हामी सबै अभ्यस्त नै थियौँ, शनिबारे पदयात्राका क्रममा । सिमीगाउँको कठिन उकालो पार गरिसकेकाले अबचाहिँ उकालोसँग डराउन्नन् कि भन्ने लागेको थियो तर उनमा उकालो चढ्ने हिम्मत अझै भरिएन । उनलाई हौसला दिने प्रयास पनि ग¥यौँ । तर, कुनै उपायले उनलाई छोएन । नम्रता आफ्नै जिद्दीपनमा रहिन् । लौ त लौ भनेर उनलाई त्यहीँ दोग्याङमै बस्ने व्यवस्था गरेर हामी पाँचजना अगाडि बढ़्यौँ ।
कतै साना काठका आकर्षक साँघु, कतै झोलुङ्गेपुल तथा कतै पक्की पुल तर्दै हामी ठानग्दिङ पुग्यौँ । बाटोमा पानी र हिउँ पनि प¥यो । केहीबेर रुझ्न बाध्य भयौँ । ओत लाग्ने ठाउँ कतै पाएनौँ । ठानग्दिङमा एक दम्पती होटल चलाएर बसेका रहेछन् । यहाँ खाजा खायौँ । वरपरका सबै डाँडा हिउँ परेर सेताम्मे थिए । हिँड्ने बाटोबाहेक सबैतिर हिउँ नै हिउँ थियो । चिसो पनि अत्यधिक नै थियो । यस्तो वातावरणमा पनि हामी रमाएका थियौँ । हिँड्न उत्साह बढिरहेको थियो ।
अब हाम्रो गन्तव्य हो सुन्दर बेदिङ गाउँ । प्रकृति र संस्कृतिको सङ्गम हो– बेदिङ गाउँ । यहीँ बास बस्ने योजनाले हाम्रा पाइला लम्किरहेका थिए । बेदिङमा बास बस्न पुग्दा झमक्कै साँझ प¥यो । सबैतिर चकमन्न छ । धमिलो उज्यालोमा घर त देखिन्छ तर सबैका आँगन सुनसान । बल्ल–बल्ल एउटा घरमा बत्ती बलेको देखियो । ढोकामा पुगेर बोलायौँ । तर, कोही बोलेनन् । ढोका त खोल्दै खोलेनन् । अर्को अँध्यारो घरमा पनि बोलायौँ । त्यहाँबाट भने दुइटी बहिनीहरू निस्के । संयोगले त्यो होटल नै परेछ । त्यहीँ बास पाइयो । दुई दिदीबहिनीले दालभात पकाएर हामीलाई न्यानो आतिथ्य दिए । हामी खÞुसी भयौँ । थकानले तुरुन्त निदायौँ पनि । भगवान् शिव र पार्वतीको प्रतीकका रूपमा रहेको गौरीशङ्कर हिमालको काखमा रहेको छ– बेदिङ । शेर्पा जातिको बसोववास रहेको यो ठाउँमा ८० घर र जनसङ्ख्या चार सयजति रहेछ । बेदिङबाट ८० जनाले सगरमाथाको सफल आरोहण पनि गरिसकेका रहेछन् । त्यसैले यो गाउँलाई ‘हिमआरोहीको’ गाउँ भनेर पनि चिनिँदोरहेछ ।
यात्राको तेस्रो दिनमा थियौँ हामी । ‘च्छो रोल्पा’सँग भेट हुने दिन । मन प्रफुल्लित थियो । हाम्रो बाटो नाँ हुँदै ‘च्छो रोल्पा’ पुग्नुपर्ने । बेदिङमा घर तथा होटल हुने सबैको घर र होटल नाँमा पनि रहेछ । पुसदेखि फागुनसम्म नाँ पूरै हिउँले पुरिने भएकाले मानिस बेदिङ झर्ने रहेछन् । गर्मीयाममा फेरि नाँ उक्लिने । यहाँबाट तीन घण्टाको यात्रामा अकल्पनीय प्राकृतिक सौन्दर्यको रसानुभूति पनि ग¥यो हामीले ।
‘च्छो रोल्पा पुग्नुअघिको अन्तिम गाउँ हो ‘नाँ’ । यहाँ चौरमा चरिरहेका चौंरीसँग सेल्फी खिच्यौँ । होटेल ‘नाँ भ्यु प्वाइन्ट’मा खाना खायौँ । यहाँबाट करिब दुई घण्टा हिँडेपछि हामीले हाम्रै आँखा अगाडि पायौँ ‘च्छो रोल्पा हिमताल’ । उदाउँदै गरेका सूर्यका किरण चारैतिर हिमालमा परेर टल्केको हिउँ र तालमा परावर्तन भएर देखिएका दृश्यलाई हाम्रो क्यामेराले जति कैद ग¥यो, त्योभन्दा बढी हाम्रो आँखा र मस्तिष्कले ग¥यो । ३.४५ किमि लम्बाइ र ०.५ किमि चौडाइमा फैलिएको यो तालको अधिकतम गहिराइ २७० मिटर रहेछ ।
दोस्रोपटक पुग्दा ताल निकै फरक देखियो । ढुङ्गैढुङ्गाको पहाडमा बसेर पहिले हेरेको ताल अहिले चौरमा बसेर हेर्न पाइयो । सानो ककरोबाट तालको पानी निस्केको थियो पहिले, अहिले लगभग १५ फिट फराकिलो कुलो नै बनिसकेको रहेछ । अझ आवश्यकता प¥यो भने त्यो कुलोबाट पानी थप पठाउन र छेक्नसमेत मिल्ने बनाइएको रहेछ । केही विपत् परिहाल्योे भने तुरुन्त छेकथुन गर्न डोजरलगायतका यन्त्र–उपकरण तयारी अवस्थामा रहेछन् । सरकारले ताल जोगाउन अथवा कुनै कारणले जोखिम बढ्यो भने त्यसको समाधानका खÞातिर यति भए पनि जोहो गरेको देख्दा मन प्रफुल्ल पनि भयो ।
जाडोयाममा पूर्ण रूपमा जम्ने यो तालको माथि सजिलै हिँड्न सकिने रहेछ । व्यवस्थित बनाइएको बाँधबाट निस्केको यही तालको पानी नै रोल्वालिङखोलाको उद्गमस्थल रहेछ । यहाँबाट तीन घण्टा हिँड्यो भने दूधकुण्ड र तीन दिन हिँड्यो भने टासिलाप्चा पास हुँदै नाम्चे पुग्न सकिन्छ । तालको डिलमा बसेर खाजा खायौँ । थर्मसमा बोकेको कफीले त्यो उचाइको चिसोलाई बिर्साइदियो । फर्किन मन नहुँदानहुँदै समयको पावन्दीले गर्दा करिब एक घण्टाको बसाइपछि ‘च्छो रोल्पा’सँग बिदा मागियो ।
हामी नाँ झर्दै थियौँ । हिमपात भयो फेरि । हिउँमा रमाउँदै तल झ¥यौँ । नाँ हुँदै बेदिङ नै पुगेर बास बस्ने योजना मुताबिकÞ हिँड्न थाल्यौँ । साँझ बेदिङ आइपुग्यौँ पनि । यात्राको मीठो अनुभूतिले सबै खÞुसी भए पनि १२ घण्टा लामो हिँडाइले लखतरान थियौँ । सबिनामा भने बेग्लै जोश जाँगर थियो । आफैँ दाल, भात, तरकारी पकाउन उनी अग्रसर भइन् । उनको जाँगर देखेर होटलवाली बहिनी छक्क परिरहेकी थिइन् । आफैँले पकाएर सबिनाले सबैलाई खान दिइन् । टिममा उनको तारिफ हुन थाल्यो । हिँड्न नसकेर दोग्याङमा बसेकी नम्रता पनि बेदिङ नै आइपुगेकी थिइन् । यसले पनि साथीहरूमा उत्साह र जोश बढेको थियो ।
भोलिपल्ट बिहान सबेरै उठेर हामी बेदिङबाट छेतछेतका लागि हिँड्यौँ । हाम्रा लागि दृश्य दोहोरिँदै थिए । साँझ ६ बजे छेतछेत आइपुग्यौँ । बास बस्न एउटैमात्र होटल रहेछ । छ÷सातजना भाइहरू त्यही होटलको आँगनीमा बसिरहेका थिए । मलाई देख्नेबित्तिकै ‘दाइ च्छो रोल्पा पुगेर आउनुभएको हो’ भनेर सोधे । मैले ‘हो’ भनेर मुन्टो हल्लाएँ । ‘तपाईंहरू पनि जानूस् गज्जब छ’ भनेँ । ‘आज यहाँ बसेर भोलि बिहान जाने दाइ’ भने उनीहरूले । यो कुरो सुनेर एकछिन त म अत्तालिएँ । उनीहरू यहाँ बसे भने त हाम्रा लागि बस्ने होटल नै हुँदैनथ्यो । मैले उनीहरूलाई ‘यहाँ होइन, एक घण्टा पर सिमीगाउँमा पुगेर बस्नूस्, भोलिलाई सजिलो हुन्छ’ भनेर सल्लाह दिएँ । उनीहरू पनि मेरो कुरा मानेर सिमीगाउँ नै जाने भए । म बल्ल आरामले बस्न पाउने भएँ भनेर ढुक्क भएँ । होटलमा गएर झोला बिसाएँ । साथीहरू केहीबेरमा आइपुगे । हामीले पदयात्राको बिट मारेका थियौँ । भोलिपल्ट बस चढेर काठमाडौँ फर्कियौँ । हामीसँग थप एक दिन भएको भए राष्ट्रिय गौरवको आयोजना ‘अप्पर तामाकोसी’ हाइड्रोपावर घुम्ने इच्छा थियो । यहाँ घुम्ने इच्छा भने अधुरै रह्यो ।