रामप्रसाद पन्त
संस्कृत साहित्यका विद्वान् आचार्य मम्मटले साहित्यलाई ‘....कान्ता सम्मिततयोऽपदेश युजे’ भनेका छन्, अर्थात् साहित्य भनेको प्रेयसीको बोलीजस्तो प्रिय र सुभाषित हुन्छ । उत्तरवर्ती साहित्यकारहरूले पनि जसले समस्त मानवजातिको कल्याण गर्छ, त्यही नै साहित्य हो भनेका छन् ।
साहित्यको विशेषता नै हो, परिवर्तित समाजसँग समाहित हुँदै प्रवाहित हुनु । समाजले साहित्य र संस्कृतिलाई पछ्याउनु तथा साहित्यले मानवीय क्रियाकलापलाई औँल्याउँदै भविष्यको सूचना वा सङ्केत दिनु । यही नै समन्वयात्मक सम्बन्धको शाश्वत पक्ष हो । यसै अन्तरकुन्तरबाट साहित्य सिर्जिएको हुन्छ र थाहै नहुने गरी साहित्यले समाजलाई सुपथतिर अग्रसर गराइरहेको हुन्छ ।
भानुभक्त पूर्वकालका सुवानन्ददास, शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल आदिले सुरु गरेको साहित्यिक धारालाई भानुभक्त कालमा यदुनाथ पोखरेल, रघुनाथ पोखरेल, वसन्त शर्मा आदिले नयाँ मोड दिए । भानुभक्तको रामायणले नेपाली साहित्यमा मौलिकताको जग बसाल्यो ।
मोतीराम कालमा नेपाली साहित्यको निकै परिष्कार भयो । त्यस बेला युवाकवि मोतीरामलगायत कुलचन्द्र गौतम र सोमनाथ सिग्द्यालजस्ता विद्वत् शिरोमणिहरू नेपाली साहित्यमा देखा परे । यी साहित्यकारहरूलाई शम्भुप्रसाद ढुङ्गेल, राजीवलोचन जोशी, चक्रपाणि चालिसे, पहलमानसिं स्वाँरजस्ता साहित्यकारहरूले काँधमा काँध थाप्ने काम गरे ।
कविशिरोमणि लेखनाथ पौड्यालले नेपाली साहित्यलाई आधुनिक कालतिर डो¥याए भने महाकवि देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, माधव घिमिरे, धरणीधर कोइराला, केदारमान व्यथित, हृदयचन्द्रसिंह प्रधान र पारसमणि प्रधानजस्ता साहित्यकारहरूले साहित्यमा विविध प्रयोग ल्याएर नेपाली साहित्यलाई उच्च शिखरमा पु¥याए । त्यस बेला (शारदाकाल) को साहित्य निकै उर्वर रह्यो ।
यसैगरी गोविन्द गोठाले, विजय मल्ल, दौलतविक्रम बिष्ट, रमेश विकल, पोषण पाण्डे, प्रेमा शाह, शङ्कर लामिछाने, युधीरशमशेर थापा, तारानाथ शर्मा, वासुदेव लुइँटेल, पारिजात, परशु प्रधान, कृष्णचन्द्रसिंह प्रधान, भैरव अर्याल, कमल दीक्षित, सत्यमोहन जोशी, मविवि शाह, भूपि शेरचन, मोहन कोइराला, शङ्कर कोइराला, वासु शशी, पारिजात, वैरागी काइँला, हरिभक्त कटुवाल, कुलमणि देवकोटा र तुलसी दिवसलगायत कवि साहित्यकारहरूले पनि नेपाली साहित्यिक घर निर्माण गर्नका लागि अरू इँटा थपेर नेपाली साहित्यको जग बलियो बनाउने काम गरे ।
यसरी अत्याधुनिक युगतिर उन्मुख भएको नेपाली साहित्यलाई हामी दुई भागमा विभाजित गर्न सक्छौँ । पहिलो हो – यथार्थवादी साहित्य र दोस्रो हो – नवयुगीन साहित्य । वि.सं. १९९२–२०२० को समयलाई हामी यथार्थवादी युग भन्न सक्छौँ भने त्यसपछिको समयलाई नवयुग । यथार्थवादी युगका सफल प्रयोक्ता बने– गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइराला । यसैमा पनि सामाजिक यथार्थताको सफल प्रयोगको रूपमा मैनाली देखा परे भने फ्रायडीय सिद्धान्तको अनुशरण गरेर कोइरालाले मनोवैज्ञानिक यथार्थलाई नेपाली साहित्यमा घुलमिल गराए । यसैगरी माक्र्सको प्रभावमा परेर हृदयचन्द्र सिंह प्रधान र रमेश विकल आदिले समाजवादी साहित्यमा कलम चलाए । तदनन्तर नेपाली साहित्य झन् परिष्कृत र परिमार्जित हुँदै गयो । साहित्यलाई नयाँ प्रयोग दिने क्रममा तेस्रो आयाम, राल्फा, अस्वीकृत समाज, अमलेख, बुटपालिस, सडक कविता क्रान्ति र चैत्र तीनजस्ता साहित्यिक आन्दोलनहरू भए । ती आन्दोलनका अभियन्ताका आआफ्नै दृष्टिकोण थिए । केही साहित्यिक सिद्धान्तकेन्द्री थिए, केही राजनीतिक परिवर्तनसँग सम्बद्ध थिए ।
उक्त आन्दोलनहरूमध्ये २०२० तिर वैरागी काइँला, इन्द्रबहादुर राई र ईश्वरबल्लभले परम्परागत लेखनविरुद्ध चलाएको आयामेली आन्दोलन सफल आन्दोलन बन्यो । साहित्यमा लम्बाइ, चौडाइ, उचाइ र गहिराइ मापन गरी साहित्यिक आयतनको परिकल्पना गर्नु नै यसको सैद्धान्तिक क्रान्ति थियो । अहिले भने ईश्वरवल्लभ र इन्द्रबहादुर राईको अवसान भइसकेको छ । सहयात्रीहरूको अनुपस्थितिसँगै आएको वृद्धत्वका कारण वैरागी काइँलाले आयामको आन्दोलनलाई अगाडि बढाउन सकेका छैनन् । तेस्रो आयामपछि देखापरेका बुटपालिस, अस्वीकृत समाज र राल्फा लगायतका प्रयोगहरू पनि प्रयोगसँगसँगै प्रभावहीन भई अस्तित्वमा रहिरहन सकेनन् । इन्द्रबहादुर राईले जीवनको उत्तराद्र्धमा प्रयोगमा ल्याएको लीलालेखन र उत्तरआधुनिक लेखनहरूका मूल्य र मान्यतालाई केही उत्तरवर्ती लेखकहरूले पछ्याउने काम गरेका छन् ।
नेपाली साहित्याकाशमा देखापरेका वर्तमान साहित्यकारहरूको सङ्ख्या जसरी तीव्र गतिमा वृद्धि हुँदै गइरहेको छ, त्यस अनुपातमा साहित्यको स्तरीयता र परिष्कृतिमा परिवर्तन आउन सकेको छैन । समय र परिस्थितिले जन्माएका हाम्रा पूर्वज कवि लेखनाथ, देवकोटा, सम तथा गद्यकविताका प्रथम प्रयोक्ता रिमाल, मनोविज्ञानका जन्मदाता कोइराला, सामाजिक यथार्थवादका प्रयोक्ता मैनाली र सामाजिक जागरणका अग्रणी युगकवि सिद्धिचरणजस्ता साहित्यकारहरूले सिर्जना गरेको साहित्यको अनुपातमा आज हामीले जेजति हासिल गर्नुपर्ने थियो त्यो पाउन सकेका छैनौँ ।
यसका विभिन्न कारणहरू मध्ये पहिलो कारण हुनसक्छ– नेपाली साहित्यमा जुन प्रयोगको प्रवेश हुनुपर्ने थियो, त्यो भइसक्यो । दोस्रो कुरा हुनसक्छ– जनसङ्ख्या वृद्धिको अनुपातमा चौगुणाका दरले साहित्यकारको वृद्धि हुनु र जस्तोसुकै साहित्य भए पनि उच्चता र न्यूनताको कुनै मापदण्ड नहुनु । तेस्रो कारण हुनसक्छ– आफ्नो र परायाको भेदभाव गरी विशुद्ध साहित्यलाई विवादास्पद बनाई साहित्यिक गुट तयार गर्नु र एकले अर्काेमाथि प्रशंसा वा प्रहार गर्नु, अर्थात् साहित्यमा राजनीतीकरण हुनु । अन्तिम कारण हुनसक्छ– सच्चा साहित्यसाधकको पहिचान गर्न नसक्नु र सम्मान दिन नसक्नु ।
चाकडीवाद साहित्यको सबभन्दा ठूलो शत्रु हो । एउटा सिर्जनशील, स्वतन्त्र र स्वाभिमानी साहित्य स्रष्टाले जब चाकडी गर्न थाल्छ, त्यसको पतन त्यहीँदेखि सुरु हुन्छ । त्यस्ताले केवल आफ्नो र साहित्यको मात्र अवनति गराउँदैन, सशक्त र स्वाभिमानी साहित्यकारको शिर निहुँ¥याउन पनि बल पु¥याउँछ । त्यस्तो क्रियाले साहित्यमा कलङ्क लगाइदिन्छ । पवित्र र प्रभावशाली साहित्यकारको अस्तित्व मेटाइदिन्छ । साहित्य त यस्तो वस्तु हो, जसले सिङ्गो युगलाई बोकेको हुन्छ । सधैँ मानवकल्याणको काम गरेको हुन्छ र मानववादलाई स्वीकारेको हुन्छ । त्यसैले साहित्यकारमा हुनुपर्ने सबभन्दा ठूलो गुण हो मानवतावाद । जसले दायाँबायाँ देखिने अस्तव्यस्त भीड र लोभलालचबाट मुक्त भएर मानवकल्याणको अपेक्षा अनुरूप साहित्य लेख्छ, साहित्यकारलाई सधैँ सद्मार्गतिर लाग्ने सङ्केत गरिरहन्छ, उसद्वारा सिर्जित साहित्य सधैँ पूज्य र अमर हुन्छ ।
साहित्यले प्रत्यक्ष वा परोक्ष रूपमा सम्पूर्ण राष्ट्र र जनताको बौद्धिक एवं सांस्कृतिक समुन्नतिमा ठूलो योगदान पु¥याएको हुन्छ । जुन देशमा साहित्य र संस्कृतिको रक्षा हुँदैन, साहित्यलाई अपहेलना गरिन्छ र अनुत्पादक भन्न थालिन्छ, त्यस बेला त्यो देश दूरवस्थातिर धकेलिन्छ । जुनसुकै देशलाई चिनाउने वा बुझाउने त्यहाँको भाषा र संस्कृति हो । अनि देशलाई समयानुसार विकासोन्खुम दिशातिर अग्रसर गराउँदै लैजाने त्यहाँको साहित्य हो । अतः जुन देशको अस्तित्व कायम राख्न हामी मनसा, वाचा र कर्मणाले समर्पित हुन्छौँ र साहित्यिक उन्नयनमा लाग्छौँ, तबमात्र देश र समाज समुन्नतिको बाटोमा लाग्छ । अन्यथा त्यो देशले दूरवस्था भोग्न बाध्य हुनुपर्छ ।
हाम्रो साहित्य, संस्कृति र कलाको फाँट कम उर्वर छैन । भाषा साहित्यको उन्नयनमा हामी विश्वसामु कम क्षमतावान् छैनौँ । यो जानिबुझीकन पनि हामीले आफ्नो अस्तित्वको पहिचान गराउन सकिरहेका छैनौँ । हाम्रा साहित्यिक प्रतिष्ठानहरू पनि जति क्रियाशील भएर लाग्नुपर्ने हो, त्यति क्रियाशील हुन सकिरहेका छैनन् तर निराशा मान्नुपर्ने स्थिति भने छैन ।
साहित्यकार, कलाकार राष्ट्रका आभूषण हुन् भनिन्छ । तर ‘आभूषण लगाए पनि हुन्छ, नलगाए पनि हुन्छ’ भनेझैँ व्यवहार पनि देखिन्छ । यो व्यवहारमा परिवर्तन हुन जरुरी छ । अनिमात्र सभ्य, सुसंस्कृत र कल्याणकारी समाजको निर्माणमा टेवा पुग्छ । कल्याणकारी समाज निर्माण नभएसम्म देश जतिसुकै शक्तिसम्पन्न र अर्थसम्पन्न भए पनि समग्र सम्पन्नताका आधारहरू पूर्ण हुन सक्तैनन् । सरकारले पनि साहित्यकार, कलाकारको सम्मान गर्नुपर्छ, साहित्यको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । यसका लागि केन्द्रदेखि स्थानीय तहसम्मका वडावडामा पुस्तकालयहरू स्थापना गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसपछि स्वाभाविक रूपमा समाजमा आपराधिक क्रियाकलापहरू पनि कम हुँदै जान्छन् र कल्याणकारी समाज निर्माण भएको प्रत्याभूति हुन्छ ।