रमेशानन्द वैद्य
ठमेल बजारको डबली । डबलीपारिको तीन घरको पिँढी, जहाँ पानी दर्कंदाबाहेक प्रत्येक साँझ अग्रजहरू जम्मा हुन्थे । भुराभुरी डबली र त्यसको आँगनमा कुदाकुद गरेर रमाइरहन्थे ।
पूर्वाभिमुख ती पिँढीमा थरिथरिका कुरा हुन्थे । सात सालको क्रान्तिपूर्वदेखि बीपीले लैनचौरमा भाषण गरेकोसम्मको, चामल मानाको दुई रुपियाँ पुग्नेदेखि सुन तोलाको दुई सय नाघ्नेसम्मको, बजीरमान र गोविन्द चिकँमूको प्याखँ (नाटक) देखि दारासिँह र किङ्कङको कुस्तीसम्मको आदि–आदि । त्यहाँ दर्शक, श्रोता धेरै, वक्ता थोरै । पढेका र देश घुमेका कति थिए र त्यो बेला ।
त्यस सन्ध्या भेलामा एक नवीन अनुहार चिनिन थाल्यो । ती थिए– चेतबहादुर कार्की याने चेतन कार्की । धेरैले ठोकुवा पनि गरेथे उनी लाहुरे नै हुन् । यो ठम्याइलाई गलत भनेर ठान्नु पनि कसरी ? हक्की र निडर स्वभाव, घिन्ताङ–घिन्ताङमा जिउ मर्काइहाल्ने, विनासितन पनि वास सिनिट्ट घुट्क्याउनमा अब्बल, दस÷पन्ध्र घर परसम्म पनि खुलस्त पुग्ने अनि नेतृत्वदायी स्वरका धनी, के लाहुरेको चिनारी होइनन् र यी ! तर उनी लाहुरे होइन, लाहुरे कप्तानको छोरो हो भनेर सायद धेरैले पछि मात्र होश राखे । ती सन्ध्यासभामा चुट्किला हुन्थे, गाना हुन्थे, सूक्ति पनि हुन्थे संस्कृतका सव्याख्या उनीबाट । श्रोता कहिले हाँसोमा मुग्ध, कहिले गानामा मस्त त कहिले ध्यानस्थ चेतन उवाचमा । नाइलनको सारीमा हिलो लाग्ला गीत सुनेर दर्शक, श्रोताको अनुरोधमा धेरैपटक गाउने चेतन कार्की याने चेतबहादुर कार्की ठमेल बजारको एक आकर्षक केन्द्रबिन्दु भए । पछि हुँदाहुँदा उहाँमात्र एक्लो वक्ता, बाँकी सारा दर्शक, श्रोता हुन पुगे ।
ठमेलमा उहाँको व्यक्तित्व एक कुशल फुटबल खेलाडीको हैसियतले पनि प्रख्यात थियो । ओरालो लागेको ठमेल एघारको टोलीमा मैदानको दायाँ–बायाँ, अगाडि–पछाडि र मध्यभागमा देखिने अनुहार पनि उनकै हुन थाल्यो । उनले विपक्षीको पोस्टमा गोल छिराएको भने देखिनँ । तर, टोलीलाई उहाँको प्रविष्टिले धेरै हारबाट जोगाएको थियो । पछि–पछि त देहरादुनबाट ठमेल एघारमा खेलाडीको ओइरो नै लाग्न थाल्यो । गगनसिंह, चेत गुरुङ, रत्नकाजी आदि आदि थुप्रै–थुप्रै । ती आगन्तुक खेलाडीलाई व्यवस्था गर्न नै हम्मे–हम्मे । तिनलाई खानाको बन्दोबस्त, रातमा बासको सुविधा र जर्सीको जोहो पनि । ती सब काममा तिनै चेतन कार्की व्यस्त हुन्थे, कहिले श्याम दाइ (वडाध्यक्ष्य राजमान श्रेष्ठको सुपुत्र)को घरमा, कहिले भगवानबहालस्थित भगत मालाकारको घरमा । ती काममा उहाँलाई मनग्य सहयोग गर्नेहरूमा केयुरशमशेर, शिवराज पाठक अग्रपङ्तिमा थिए नै साथमा तन, मन र धन भएका स्थानीय टोलवासीहरू पनि । अनि के चाहियो ? टोलीले त्रिभुवन च्यालेन्ज सिल्ड जित्यो, वीरगन्जको अमात्य कप जित्यो । यसरी नै भैरहवालाई पनि जित्यो । यो क्रम केही वर्ष चल्यो, पछि टुट्यो । टुटाइका कारणमध्ये एक उहाँको ठमेलबाट अन्त प्रस्थान पनि हो ।
ठमेलमा बस्नुहुने तत्कालीन डीएसपी रोमबहादुर थापा (पछि आईजीपी पनि हुनुभयो) को उत्प्रेरणा र सायद भरोसाले चेतनले प्रहरीको टोलीबाट पनि फुटबल खेल्न पुगे । तर, प्रहरी जागिरको आस लत्याएर आमसमाजमै फर्के र साधारण नागरिकसरह रहन बस्न थाले । दिनचर्या फेरि उही, खेलकुद प्रतियोगिताको समय उस्तै व्यस्त, अरू बेला सन्ध्या समय डबली अगाडिको उही पिँढी अनि सरररर चेतनोवाच ।
पिँढीमा उभी–उभी घण्टौँसम्म धाराप्रवाह बोलिरहन सक्ने उनलाई देखेर अचम्मित नहुने विरलै होला । सोच्थे होलान् कोही, यिनले रातभर दिनभर घोकेर आएको हुन्छ, नत्र कहाँ सक्थे नि ! काम पनि छैन जस्तो छ । आखिर लाहुरे कप्तानको छोरा न हो पैसाको के भुखा !
अङ्ग्रेजी पनि फर्रर्र बोल्ने लाहुरेको छोराले जब अमेरिकीले खोलेको केटीहरूको स्कुल (सेन्ट मेरिज)मा पढाउन पुगे, आश्चर्यचकित टोलवासीमाझ उनको मानमा बढोत्तरी भयो । सबै दङ्ग, प्रफुल्लित । यो भुराको कुरा छोडौँ । निकै पढेका रहेछन् यिनले, टोलमा कानेखुसी हुन थालेथ्यो । बीएस्सी पास गरेको, एमए पनि खप्लक्क निलेका थिए यिनले भन्ने बोध टोलवासीमा हुन थालेपछि यिनको वरिपरि झुम्मिन खोज्नेको सङ्ख्या बढ्यो । तर, यिनमा अभिमान पलाएको कुनै दृश्य कहिल्यै कतै प्रकट भएन ।
स्वाभिमानी यिनले कसैबाट लाभको अपेक्षा राखेको पाइएन । कुनै पनि पसलमा उधारो लिएको पनि सुनिनँ । भट्टीमा त उधारो चल्दै चल्दैन । टोलवासी एकाधलाई यो सुविधा प्राप्य होला भोलिसम्मलाई, त्यस्तो गाँइगँुइ पनि सुनिएन ‘वास’का सौखिन उनीबारे । शुभेच्छुकले ‘पासा’ व्यवहार गरेको यिनलाई खुब मन पथ्र्याे । तिनको निम्ता भने यिनी सहज स्वीकार गर्थे । ती साँझ लम्बिएर आधा रातसम्म पनि तन्किन्थे, भन्थे कोहीले त भाले बासेपछि मात्र आ–आफ्ना कोठातिर लागेका हुन् रे !
मनोरञ्जन, सरहदपारिको कथा व्यथा, व्यङ्ग्य चेतनको तुनिरमा कहिले नरित्तिनेगरी भरिएका वाणहरू हुन् ।
अन्तिबाट सलिं (माटोको पाला), बटुको, गिलास जेमा पनि धारो खसाल्दा भाँडाभरि आँखाहरू टम्म जम्ने रुपियाँ मानाको वासमा उनको आँखा पनि जम्थे पक्कै । यो लत कसरी बसे त भन्दा अनुमान गर्न सकिन्छ, ठमेल एघारले खेल जित्दा साँझ खुसी मनाउन खानपिनको व्यवस्था हुन्थ्यो । बानी पनि होला स्याङ्जाली लाहुरे पुत्रको । त्यस्तै शुभेच्छुकले सहभोजको आयोजनाले पनि । फेरि त्यस्तो वासमा आँखा नलगाउने पनि को होला र स्वाद पाइसकेपछि ।
मगमग सुन्तला बसाउने वास मोहरको आधा गिलास पाइँदोरहेछ । एकै सासमा सट मारेर ल्वाङ, सुकुमेल चपाउँदाको आनन्द बेग्लै । त्यो उहाँको मनपर्ने रहेछ (आधा शतक वर्षपछि भेट हुँदा उहाँले बताउनुभएथ्यो) । तर, चेतनले ठमेलमा चेत गुमाएको थाहा भएन, लर्बराएको पनि ज्ञात भएन र पाइला ढलपल भएको कुरा झनै वाहियात रह्यो ।
दुई÷चार लाइनकै किन नहोस् चोटिला, रसिला, प्रेमिल पङ्ति तत्क्षण गमेर सुनाउन सक्ने खुबी वासकै कारणले हो कि ! होइन, अरू बेला पनि उस्तै वीरधाराबाट पानी झरेजस्तै हुन्थ्यो उहाँको उवाच ।
यस्तो व्यक्तित्वको सानिध्य पाउन एउटा लाछी केटोले पछ्यायो धेरै दिन बारहरू । सहज भने भएन । पछ्याउँदै जाँदा साताहरूपछि बिदाको बिहान चिया समयमा चेतन पस्ने एउटा चिया पसल फेलाप¥यो । चिया पसल ठमेल चोकमा, अचेल यो चोकलाई नर्सिङ चोक भनिन्छ । बाहुन बाजेको घर, अमृतप्रसाद प्रधानको घरपारि उत्तर दिशामा, त्यसको दलानमा छापाखाना थियो । त्यहाँ तामाङनी दिदीको चिया पसल थियो । पछि ठँहिटी कुसुबियालाछिको भोट व्यापारी बज्राचार्यले किने जहाँ ‘उत्से’ रेस्टुराँ बन्यो ।
नर्सिङ चोकमै पश्चिम फर्केको मिठाइ पसल अगाडि पनि भेटिन्थे उनी सन्ध्या भेलाको समय नहुँदासम्म । पेडा र बर्फी किन्ने बहाना (?) मा गल्कोपाखादेखि ठँहिटी क्वाबहालसम्मका, सम्भवतः अति दूरबाट पनि तन्नेरी, प्रौढ र बूढाहरू जम्मा हुन्थे । सबका सब भलाद्मीपारामा तर एकको मनभित्रको चोर अर्कोले चिन्थे । तैँ चुप, मै चुपको त्यस्तो बेला उनलाई आफूतिर फर्काउनु दुसाध्य हो ।
यसकारण चेतना उमार्न त्यो चिया पसलमा छिर्ने निश्चय गरेँ, चेतन नजिक हुन । एक÷दुईजना भन्दा खासै बढी मान्छे हुँदैनथ्यो त्यहाँ । तर, छिरूँ कसरी ? पैसा हुनुप¥यो नि ! छिरेपछि आधा गिलास चियालाई पाँच पैसा र चनालाई दस पैसा त बेहोर्न सक्नुप¥यो नि ! स्कुल जाँदा पाइने पाँच पैसा खाजा खर्च जोगाएर बल्लतल्ल जम्मा हुने बचतले शनिबार बिहान सिनेमा हलमा कन्सेसनको टिकट काट्न गाह्रो हुन्थ्यो । जेनतेन जोहो गरेको पैसा बोकेर एक बिहान हलतिर नकुदी चिया चना खान छिरेँ ढुकचुक गर्दै ।
कुनाको बेन्चमा उही मेरो चेतन, चेतनको अगाडि एउटा टेबल । बायाँ कुहिना टेबलमा, मुठ्ठी पारेको पन्जा गालामा । ध्यानमग्न नाकमुनि आधा वास भरिएको सिसाको गिलास ।
चना र चिया सकियो, पैसो तिरियो साहुनी दिदीलाई । फर्केर कुनातिर पाइला बढाउने बबुरोमा साहस उम्रेन । दुस्साहसपूर्वक जसोतसो गरेर उनको अगाडि उभिन पुगेँ, चुपचाप खल्तीबाट टुक्रो कागज निकालँे । ‘हजुर यो म..म मेरो’ भनेर टेबलमा राखेँ । के लेखेको थिएँ, खासै सम्झना छैन । तर, यस्तै–यस्तै थियो ः का का कौवा भन्छ मलाई, घैलामाथि दैच्युरा छ देऊ मलाई, घैलाभरि असर्फी ती सब तँलाई ।
सरर हेर्नुभयो, भन्नुभयो अक्षर राम्रो छ । उनीसँगको जीवनको पहिलो संवादपछि मेरो ‘अकविता’ खल्तीमा कोचेर निस्केँ ।
दिनहरू बित्दै गए, संवादविनाको सामिप्य भने रहिरह्यो ।
यस्तैमा ठमेलमै रहँदा बस्दाताका उनी पोखरामा माछा हुर्काउन जानुभयो । लहडी चेतनलाई पोखराको सडकमा गाडी गुडाउन मन लागेछ । ठमेलकै नारायण दाइ (नारायणप्रसाद फैजू श्रेष्ठ) बाट वीरगन्ज, रक्सौल, भैरहवा र बन्दै गरेको सिद्धार्थ राजमार्ग गर्दै धेरै व्यहोरा बेहोरेर पोखरामा एउटा रसियन जिपलाई टेकाइछाडे, भाडामा चलाउन दिए । लहडले उनलाई साथ दिएन, जिप अर्कैलाई हस्तान्तरण गर्न विवश भए ।
यी कुरा विक्रमाब्दको बीसको दशकको पूर्वाद्र्धका हुन् । त्यतिबेला चेतन कार्की बेखा बा (बेखा मानन्धर)को १६/२९ नम्बरको घरमा बस्नुहुन्थ्यो र पछि महाँकाल बाजे (जिशिअ ईश्वरीप्रसाद लुइँटेलका पिता)को १६÷८ नम्बरको घरमा सर्नुभयो । त्यही घर बसाइमै ठमेलकी चेली गङ्गा बस्नेतलाई दुलही बनाएर भिœयाउनुभएको थियो उहाँले ।
यही समयमा ठमेलमा नायिका भुवन थापा १५/९० नम्बरको घरमा, साँस्कृतिक संस्थानका महाप्रबन्धक महेन्द्रप्रसाद खनाल १५/८६ नम्बरको घरमा, र १६/५४ नम्बरको घरमा साहित्यकार, समालोचक, अनुसन्धाता जनकलाल शर्मा बस्नुहुन्थ्यो । कविशिरोमणि लेखनाथ बाजे (घर नम्बर १६÷८०) त स्थायी बासिन्दा हुनुहुन्थ्यो ।
ठमेलको गौरव गाथा श्रीवृद्धिमा यी स्वनामधन्य हस्तीको लहरमा समादरणीय चेतन कार्की पनि एक हुनुहुन्थ्यो । सादर नमन ।