प्रा.डा. उषा ठाकुर
सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकविका रूपमा सुपरिचित छन् । श्रेष्ठका कवितामा देशप्रेम, सामाजिक विसङ्गतिप्रति विद्रोहको क्रान्ति, चेतना र युगबोधको प्रबल भावना व्याप्त भएको पाइन्छ । कवि–कर्तव्यप्रति सदैव सचेत र जागरुक कवि श्रेष्ठका रचनाहरू हामीसमक्ष एउटा अनुकरणीय उदाहरण बन्न गएको छ । युगकवि श्रेष्ठका अनुसार– ‘उज्यालो घामको निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो । यो लछार–पछारमा आफूलाई अघि बढाउने बल साहित्यले दिइरहेको हुन्छ । भइरहेको सामाजिक विकृति विसङ्गतिलाई पनि कलापूर्ण ढङ्गले अभिव्यक्त गरेमा त्यो शाश्वत साहित्य हुन सक्छ ।’
मानव जीवनलाई सुन्दर, सुखी, मङ्गलमय बनाउनका लागि कविका दृढ सङ्कल्प स्तुत्य देखिन्छ । समाजमा बसन्त ऋतु ल्याउने आँट र साहस कविले आफ्नो हृदयमा अनुभव गर्छन् र त्यस शुभागमनका लागि समाजका विकृतिहरू, समाजमा सडे–गलेका व्यवस्थाहरूलाई मास्न आवश्यक ठान्छन् किनकि :
‘न झारी पत्ता के ऋतुपति कहीँ आउँछ यहाँ ?’
नेपाली साहित्यका यशस्वी प्रतिभा कवि सिद्धिचरण श्रेष्ठले सौन्दर्यपरक स्वच्छन्दतावादी भावनाबाट नै आफ्नो काव्य–यात्रा प्रारम्भ गरे । तर पछि नेपालीका पीडा–व्यथाले युग–बोध गराएर कविलाई सामाजिक–राजनीतिक चेतनातर्फ उन्मुख गरायो । नेपाली जन–जीवन र नेपाली समाजको यथार्थ बोधले कवि हृदयको भावुकतालाई शनैः शनैः सचेतता र प्रबुद्धता प्रदान गर्दै गयो र उनमा क्रान्तिकारी र विद्रोही भावना पनि उफ्रन थाल्यो ।
‘तेस्र्याई विघ्न बाधा
को रोक्छ हामीलाई
हौँ उर्लदो भयङ्कर
असमेल बाढी हामी ।’
निश्चय नै नेपाली साहित्यको इतिहासमा उनको योगदान उल्लेखनीय छ । आफ्ना रचनाहरूको माध्यमबाट कविले सामाजिक समस्याहरू, युगीन भावनाहरूलाई अभिव्यक्त गरेर समाजमा चेतना व्याप्त गरे, युवा वर्गलाई उद्बोधित गरे, क्रान्तिको आह्वान गरे, समाजमा एकता र समानताको भावना अभिव्यक्त गरेर समाजलाई अजस्र पे्ररणा दिए । बहुमूल्य योगदानहरूले गर्दा नै उनलाई ‘युगपुरुष’को महिमाले विभूषित गरिएको छ । देशको दर्दनाक स्थितिको जीवन्त चित्रण अन्यत्र दुर्लभ देखिन्छ । यस्तो प्रतीत हुन्छ, मानौँ जनताका हृदयमा नै समाएर कविले युगको आवाजलाई जनताका ढुकढुकीमा प्रतिध्वनित गरेका छन् ।
एकातर्फ उनको ‘परिचय’ जस्ता कविता देश–प्रेमले ओत–प्रोत, नेपाली स्वाभिमान र वीरताले भरिएका छन् । ‘चम्क युवक’ कवितामा वीरतालाई ललकार्दै देशका लागि त्याग र बलिदानको आह्वान युवामाझ गरिएको छ । यस्तै अन्य कतिपय कविताहरूमा मानवतावादका पक्ष लिएर युगका ‘शिखरपुरुष’ भएर सिंहगर्जन गरिएको छ । ‘मंगलमान’ काव्यलाई मानव कल्याणकारी दिशामा जनमुखी चेतना फैलाउने एउटा सफल प्रयास भन्न सकिन्छ । जसमा सामाजिक–राजनीतिक प्रतिविम्ब प्रतिफलित हुनुका साथै अन्याय र शोषणविरुद्ध प्रश्न सबल रूपमा चित्रित भएको देखिन्छ ।
उनको ‘च्यामिनी’, ‘अछूत’ कविताले सामाजिक वैषम्यका समस्यालाई ठूलो चुनौती दिएको छ । ‘मेरो प्रतिविम्ब’ कवितामा सिङ्गो नेपाली जनजीवन, युगीन परिवेश र तत्कालीन सामाजिक वैषम्यमाथि व्यङ्ग्यको माध्यमले तीव्र प्रहार गरिएको छ । नारीलाई भने कविले स्नेहमयी, ममतामयी, प्रेरणामयी सर्वमङ्गलको रूपमा काव्यमा प्रतिष्ठापित गरेका छन् ।
विश्व बन्धुत्व भावनाको प्रसार गर्दै कविले यो मान्यता प्रस्तुत गरेका छन् कि धर्तीका सबै मानव ईश्वरका सन्तान हुन् । सबै मानव आपसमा भाइ–भाइ हुन् । वर्ण, जाति, धर्म आदिका नाममा भेद–भाव गर्नु हाम्रो हृदयको सङ्कीर्णता हो । ‘अभेद’ शीर्षक कवितामा समानताका यस्तै भावनालाई व्यक्त गरिएको छ ।
यसरी देशप्रति भक्ति–भावना, देशमा एकता, समानता ल्याउने प्रयास देश–निर्माणका लागि आह्वानको साथै कवि श्रेष्ठले विशाल मानवतावादी भावनालाई अलि राम्ररी प्रश्रय दिएका छन् । सम्पूर्ण विश्व–मानवका कल्याण कामनाका लागि उनको मन अधीर रहेको छ । उनका हृदयमा व्याप्त लोक–चेतनाको भाव उत्तरोत्तर बलियो हुँदै गएको हामी पाउँछौँ । यस धरामा मानवताको कल्याण होस्, यो भावना नै कविको प्राथमिकतामा परेको छ । प्रेम र शान्तिले परिपूर्ण मानवताका अमर सन्देश नै कवि–जीवनको सार्थकता बन्न पुगेको छ ।
कविका राष्ट्रिय गीतहरूमा कहीँ जातिगत, धर्मगत वा स्थानभेदको आधारमा सङ्कीर्णता छैन । बरु धर्म, जाति, वर्ण, लिङ्ग, स्थान आदि भन्दा धेरै माथि उठेर, अत्यन्त व्यापकताका साथ सिङ्गो नेपाललाई अङ्गीकार गरेका छन् ।
समाजमा फैलिएको प्राचीन रूढिहरूले, जीर्ण परम्पराहरूले, कुरीतिहरूले हाम्रो एकतालाई, हाम्रो आपसी प्रेमको भावनालाई छिन्न–भिन्न गरिरहेका छन् । मानवीय विकासको बाटोमा बाधा उत्पन्न गर्ने यी जर्जर परम्पराहरूलाई नाश गरेर समाजमा शान्ति र सुव्यवस्था ल्याउने दायित्व कविको हुन्छ ।
जन–जीवनमा व्याप्त अशान्ति, असन्तोष, घृणा र द्वेषलाई समाप्त गर्ने उद्देश्यले मानव–कल्याणका दिशामा कवि श्रेष्ठ पनि सक्रिय सहभागी भएका छन् । वास्तवमा जनहितका लागि नै उनले कविता लेख्नुभएको छ ः
‘बाटो मेरो छेकी रहेको
एक अजङको साँढेलाई
लौरो लिकन दूर लघारे
मैले कविता लेखेँ ।’
जीवनका सङ्घर्षले कविलाई सधैँ नवशक्ति प्रदान गरेको छ । मार्गका विघ्नबाधाले उनलाई कहिल्यै हतोत्साहित गरेको छैन । बरु सङ्घर्षको सामना गर्दै अझ वेगवान भएर उनी साहित्य साधनामा गतिशील र समर्पित हुनपुगेका छन् । आफ्ना कविताका माध्यमबाट जनतालाई पनि सुख–दुःखको पर्वाह नगरी परिश्रमी र लगनशील भएर जीवन पथमा अगाडि बढ्नका लागि कविले प्रेरणाप्रद सन्देश दिएका छन्–
‘बेला भयो उठौँ लौ
हे देशका जवान
खोलौँ सबै मिलेर
सामथ्र्यको मुख ।’
देशमा व्याप्त अन्याय–अत्याचार तथा विषमता हटाउनका लागि उनी जीवन–पर्यत्न क्रियाशील भए । उनका समग्र कविता–यात्राका गहिराइपूर्वक अध्ययन गरेपछि हामी पाउँछौँ कि विषमता विरुद्धका उनका स्वर सम्पूर्ण मानवताका कल्याण–हित–कामनामा उत्तरोत्तर प्रबल हुँदै गएको पाइन्छ । सम्पूर्ण संसारका मानव हित–कामना उहाँका कविताहरूमा बढ्दै गएको हामी पाउँछौँ । ‘स्व’ का भावना ‘हामी’मा विलीन हुँदै सम्पूर्ण संसारलाई नै विषमता शून्य देख्न चाहने कविको योगदान वास्तवमा अत्यन्त महìवपूर्ण छ । कविका सिर्जनशीलताको मूल उद्देश्य विषमता शून्य संसारको कल्पना हो ः
‘युग–युगको अपमान, घृणा शोषण अनि अत्याचार
खतम गराउन उत्रिरहेको मेरो जाज्वल्य विचार ।’
लगभग छः दशकभन्दा लामो अवधिसम्म नेपाली वाङ्मयको सेवा गर्दै उनले सामाजिक चेतनाको विकासमा उल्लेखनीय कार्य गरे । साथै मानवतावादी भावनालाई पनि फिजाउनमा सक्रिय योगदान दिए । वास्तवमा उनको बहुमूल्य योगदानको उचित कदर हुनै पर्छ । उनको हार्दिक अभिलाषा थियो ः
‘कविता रच्दै शान्ति फिजाउँ
प्राण प्राणमा प्रेम जगाउँ ।’
प्रेम र शान्तिको व्यापक सन्देश लिएर उनले अनेकौँ पटक विदेशमा नेपालको सही प्रतिनिधित्व गरेका छन् । आफ्नो मुलुकको प्रतिष्ठा र गौरव बढाउनका साथ अन्तर्राष्ट्रिय मैत्री तथा सद्भावलाई विकसित तुल्याउन उनले अत्यन्त प्रशंसनीय कार्य पनि गरेका छन् ।
कवि सिद्धिचरण (विसं १९६९–२०४९) लाई त्रिभुवन पुरस्कार (२०४७), रत्न श्री सुवर्ण पदक (२०३१), पृथ्वी प्रज्ञा पुरस्कार (२०४५), वेदनिधि पुरस्कार (२०४६) तथा प्रबल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदि मान–सम्मान, पुरस्कारले विभूषित गरिएको थियो ।
सङ्क्षेपमा उनका कविताले सबल राष्ट्रियताको शङ्खनाद गरेको छ । अन्याय, शोषण र अत्याचारविरुद्ध सङ्घर्षका लागि आह्वान गरेको छ । मानिसलाई कर्म गर्ने प्रेरणा दिएको छ, मानवता विरोधी तìवहरूलाई समाप्त गरेर विश्वमा शान्ति फिजाउने सन्देश दिएको छ । साथै विश्वबन्धुत्व र मानवताको चर्को स्वरले बिगुल फुकेको छ ।
लोक–कल्याण, मानव–कल्याणका दिशामा समर्पित उनका जनमुखी चेतनाले भरिएका कविताले उनलाई नेपालका ‘ज्योतिपुरुष’का रूपमा प्रतिष्ठित गरेको छ । नेपाली वाङ्मय क्षितिजमा उज्ज्वल नक्षत्र भएर उनका कविताले सदैव हाम्रा लागि प्रेरणाका आलोक भएर हाम्रो पथ–प्रदर्शन गरिरहनेछ । उनले प्रदान गरेको मानवतावादका दिव्य सन्देश सधैँ गुन्जिरहने छ । आफ्नो बहुमूल्य साहित्यिक देन र उपलब्धिहरूमा उनी सदैव जीवित रहनेछन् ।