logo
२०८२ असार १ आईतवार



आदिम गीत

शनिवार |


आदिम गीत


शशी लुमुम्बू

हे बौद्धनाथ !
म एक यात्री–पृथ्वीको
म एक बिन्दु— सृष्टिको
हिँडेर करोडौँ पाइला
काटेर हजारौँ घुम्ती
तरेर कैयौँ जङ्घार
फेरेर असङ्ख्य जूनी
आइपुगेको छु तिम्रै–शरणमा
खोज्दै–जीवनको अर्थ !

हे बौद्धनाथ !
शिशिरको मन्द मन्द पवनको
मुलायम र शीतल स्पर्शले
राष्ट्रिय झन्डाझैँ
सुस्तरी सुस्तरी फर्फराइरहेका
यी रङ्गीविरङ्गी लुङ्दार हेर्दै
गरिरहेछु परिक्रमा– स्तुपको
मनमनै कामना गर्दै्– विश्वशान्तिको
निमग्न घुमाउँदैछु–माने !

तिम्रा गम्भीर र शान्त नयनमा
एकाकार गराउँदै
आफ्ना अस्थीर नयन
दर्शनले उठाउँदै गनगनचुम्बी गजुर
बाल्दैछु जोरबत्ती,
फैलियून्, यी बत्ती पृथ्वीभरि
छरून्, खरबौँ ज्योति– शान्तिका
र, गरून् नष्ट जरुवा अन्धकार !

भय र आतङ्कका
स–साना पोथ्राहरूमुनि
डराई डराई चारा टिपिहिँड्ने
यी परेवाका हाँच
उडून्–
निलो गगनको विशाल फैलावटमा
निर्भयपूवर्क हावामा कावा खाँदै
र, गाउन सकोस् युगले
विस्तारै विस्तारै
विस्मृतितिर धकेलिँदै गरेको
एउटा आदिम गीत ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?