logo
२०८१ मंसिर ९ आईतवार



चुरोटको लत

शनिवार |


चुरोटको लत


यमबहादुर दुरा


चुरोट तथा सुर्तीजन्य पदार्थप्रति मानव जातिको मोह धेरै छ । ‘अरस्तु र अन्य दार्शनिकले जेसुकै बोलून्, सुर्तीजन्य पदार्थको समकक्षमा ती कुरा आइपुग्दैनन् । जुन व्यक्ति सुर्तीजन्य पदार्थविना बाँच्छ, ऊ जिउनलायक रहँदैन ।’ फ्रान्सेली नाटककार मलिया (सन् १६४५–१६७३) को यो उद्धरणले सुर्तीजन्य पदार्थप्रति मानिसकोे उच्च आशक्ति रहेको उजागर गर्छ ।
चुरोट र मानव मनोविज्ञानबीचको ‘केमेस्ट्री’ पनि गज्जबकै छ । चुरोटले स्वास्थ्यमा पार्ने गम्भीर प्रकृतिको नकारात्मक असरबारे बुझ्ने शिक्षित जनसङ्ख्या थपिँदै गए पनि, धूमपानविरुद्ध जनचेतनाको ग्राफ उकालो लाग्दै गए पनि, चुरोटमा करको दायरा वर्षैपिच्छे फराकिलो पार्दै लगे पनि, चुरोटको बट्टामा वीभत्स तस्बिर राखेर अम्मलीलाई सचेत गरिए पनि, चुरोटप्रेमीको सङ्ख्यामा कुनै कमी नआएको अध्ययनले पुष्टि गरिसकेको छ ।
मानव जातिले युगौँदेखि उपभोग गर्दै आएको सुर्तीजन्य पदार्थ मानव संस्कृतिको एक हिस्सा बनिसकेको छ । सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पार्ने असरबारे पूर्ण जानकार हुँदाहुँदै पनि यसको मोहपासमा विश्व जनसमुदाय परेकै छन् । धूमपानको संसारलाई नियाल्दा चुरोटलगायत सुर्तीजन्य पदार्थप्रति मानिसको मोहभङ्ग हुने कुनै छाँटकाँट देखिँदैन ।

ऐतिहासिक पाटो
सुर्तीजन्य पदार्थको इतिहास पाँच हजार वर्षभन्दा पुरानो देखिन्छ । मध्यमेक्सिकोबाट यसको खेती सुरु भएको पाइन्छ । आदिम प्रकृतिको चुरोट खाने परिपाटी नवौँ शताब्दीतिर मेक्सिकोबाट सुरु भएको अभिलेख भेटिन्छ । समयक्रममा क्यारेबियन, मध्यअमेरिका तथा दक्षिण अमेरिकामा चुरोट खाने चलन विस्तार हुँदै गएको पाइन्छ ।
सन् १४९२ मा क्रिस्टोफोर कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनलाई सुर्ती उपहार दिएको इतिहास भेटिन्छ । रेड इन्डियनहरू सुर्तीलाई पवित्र वस्तु ठान्छन् । त्यसपछि युरोपेली समुद्री यात्रीहरूले सुर्तीजन्य पदार्थ तथा सुर्तीको बिरुवा युरोप पु¥याएपछि त्यहाँ यसको खेतीपाती र उपभोग हुन थाल्यो । सत्रौँ शताब्दी पुग्दा नपुग्दै युरोप र अमेरिकामा चुरोटले उद्योगको रूप लियो । युरोपमा औद्योगिक क्रान्ति सुरु भएपछि चुरोटको लोकप्रियता झनै बढेर गयो ।
अनलाइन विश्वकोश ‘ब्रिटानिका’का अनुसार सत्रौँ शताब्दीको सुरुवाततिरै एसिया र अफ्रिकामा सुर्तीको खेती हुन थालेको थियो । नेपाली समाजतिर फर्कंदा चुरोट सेवन गर्ने चलन धेरै पछि आएको देखिन्छ । नेपालका ग्रामीणजनले मूलतः कङ्कड (भुसा) लाई चिलिममा भरेर खाने परिपाटी थियो । समयक्रममा विदेशीको सम्पर्कमा रहेका घरानियाँ व्यक्ति तथा लाहुरेले चुरोट खान थाले । उनीहरूबाटै नेपाली समाजमा ‘चुरोट संस्कृति’ भित्रिएको देखिन्छ ।

चुरोट र जनस्वास्थ्य
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थ प्रयोक्तामध्ये आधाभन्दा बढीको ज्यान यसैका कारण जान्छ । ज्यान गुमाउनेमा न्यून तथा मध्यम आय भएका जनसमुदाय नै बढी पर्छन् । प्रत्येक वर्ष सुर्तीजन्य पदार्थले विश्वभर ८० करोड मानिसको जीवनलीला समाप्त पारिदिन्छ । त्यसमध्ये १२ लाख मानिसको ज्यान सुर्तीजन्य पदार्थको अप्रत्यक्ष प्रयोगका कारण जान्छ ।
यसमा अर्को रोचक पक्ष पनि छ, सुर्तीजन्य पदार्थको प्रयोगले मात्र होइन, यसको उत्पादन प्रक्रियामा सरिक हुँदा पनि स्वास्थ्यमा असर पर्छ । सुर्तीजन्य पदार्थको खेतिपाती गर्ने, स्याहारसुसार गर्ने, ओसार्ने तथा थन्क्याउनेक्रममा पनि स्वास्थ्यमा नकारात्मक असर पर्छ । यसप्रकारको स्वास्थ्य समस्या ‘ग्रीन टोब्याको सिकनेस’ नामले परिचित छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडा अनुसार सुर्तीजन्य पदार्थ खाएर हुने रोगको उपचारमा विश्व जनसमुदायको थाप्लोमा १.४ खर्ब अमेरिकी डलरबराबरको आर्थिक व्ययभार पर्छ ।
विश्व स्वास्थ्य सङ्गठनकै आँकडाअनुसार नेपालमा सुर्तीजन्य पदार्थ खाएर हरेक वर्ष २७ हजारभन्दा बढी मानिसले जीवन गुमाउँछन् । चुरोट तथा मदिराले जनस्वास्थ्यमा पार्ने गम्भीर असरलाई ध्यानमा राख्दै नेपालले सञ्चारमाध्यममा चुरोट तथा मदिराको विज्ञापनमा दुई दशकअघि नै रोक लगाइसकेको छ ।

चुरोट अर्थतन्त्र
चुरोटले जनस्वास्थ्यमा बर्बादीको शृङ्खला निम्त्याउँदा निम्त्याउँदै पनि यसले विश्व–अर्थतन्त्रमा गज्जबको योगदान दिएको तथ्य पनि उत्तिकै स्मरणीय छ । सुर्तीजन्य पदार्थको खेतिपाती, निर्यात, प्रशोधन र परिष्कृत वस्तु उत्पादन प्रक्रियामा साना किसानदेखि ठूला कारोबारीसम्मले लाभ उठाएका छन् । यसबाट धेरैका लागि रोजगारीको मेसो जुटेको छ ।
‘टे«ड फाइनान्स ग्लोबल’ नामक एक आर्थिक संस्थाको वेबसाइटमा प्रकाशित आँकडाअनुसार ७६० अर्ब अमेरिकी डलरबराबरको सुर्तीजन्य पदार्थ विश्वभर प्रतिवर्ष कारोबार हुन्छ । यसमा चिनियाँ बजारमा हुने कारोबारको आँकडा समाविष्ट छैन । विश्वभर ६८० अर्ब अमेरिकी डलरबराबरको त चुरोट नै बिक्री–वितरण हुन्छ । सुर्तीजन्य पदार्थबाट जनस्वास्थ्यमा नकारात्मक असर परिरहे पनि नेपालले प्रतिवर्ष अर्बौं रुपियाँको सुर्तीजन्य पदार्थ आयात गर्दै आएको नेपाल राष्ट्र बैङ्कले जारी गर्ने तथ्याङ्कबाट खुल्छ ।

नेपाली ब्रान्ड
विगतमा के–कस्ता नामका चुरोट प्रचलनमा थिए ? यो कुरा धेरैको स्मृतिबाट गायब भइसकेको छ । नेपाली नामका कति ब्रान्ड अस्तित्वमा थिए ? यसको व्यवस्थित अभिलेख भेटिन्न । एकाध लेखकले आफ्ना कृतिमा यदाकदा उल्लेख गरेका तथा लोकगीतमा वर्णित भएका आधारमा पुरानो समयमा नेपाली समाजमा प्रचलित चुरोटको ब्रान्डबारे केही थाहा पाउन सकिन्छ ।
हृदयचन्द्रसिंह प्रधानकृत ‘सालिक’ निबन्ध सङ्ग्रहमा ‘बहादुर’ चुरोटको प्रसङ्ग भेटिन्छ (पृ.१) । जनकलाल शर्माले आफ्नो निबन्ध सङ्ग्रह ‘भूमिकै भूमिका’मा ‘फूलमार’ चुरोटको नाम लिएका छन् (पृ.९२) । जनकवि केशरी धर्मराज थापाले आफ्ना कृतिहरू ‘गण्डकीका सुुसेली’ (पृ.१२८) र ‘लोक संस्कृतिको घेरामा लमजुङ’ (पृ.४३१) मा क्रमशः ‘आशामार’ र ‘लाल्टिनीमार’ चुरोटको प्रसङ्ग कोट्याएका छन् । केशवराज पिँडालीले आफ्नो निबन्धमा ‘गोरखा’ चुरोटको नाम लिएका छन । यिनीहरूमध्ये ‘आशामार’बाहेक अरूको उत्पादक को थिए भन्ने खुल्दैन । समयले पछि पारिसकेकाले यस्ता पुरानो ब्रान्डको अहिले कतै पनि नाम–निशान भेटिँदैन ।
लोकगायक तीर्थबहादुर गन्धर्व (विक्रम संवत् २०१०–२०७०) ले भएभरका चुरोटका ब्रान्ड गीत गाउनेक्रममा रोचक शैलीमा भट्याउँथे । यो प्रसङ्ग अभैm पनि लोकस्मृतिमा ताजै छ । लोकगायक कृष्णसुधा ढुङ्गानाका अनुसार तीर्थबहादुर गन्धर्वले एक÷डेढ मिनेटमा सबैजसो नेपाली ब्रान्डका चुरोटको नाम फलाकेर भ्याउँथे ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा २०२१ सालमा स्थापित जनकपुर चुरोट कारखानाले ‘गरुड’, ‘चुचुरा’, ‘ज्वाला’, ‘जनकी’, ‘मुनाल’, ‘कस्तूरी’, ‘हिमचुली’ आदि चुरोट बजारमा ल्यायो । यसैगरी, सोही चुरोट कारखानाले नै ‘सयपत्री’, ‘लालीगुँरास’, ‘याक’, ‘कोसेली’, ‘गैँडा’, ‘देउराली’, ‘आशा’जस्ता ब्रान्डका चुरोट उत्पादन गरेको देखिन्छ । कुनै समयमा ‘गोल्डफ्लेक’, ‘पर्वत’जस्ता चुरोट बजारमा भेटिन्थे ।

साँस्कृतिक आयाम
जनस्वास्थ्यको दृष्टिले चुरोट त्याज्य वस्तु भए पनि साँस्कृतिक दृष्टिले ग्राह्य वस्तु हो । गाउँघरमा मन राख्ने र साख जोगाउने जिनिसमा गनिन्छ चुरोट । कुनै समयमा छुट्टी आएका लाहुरेले गाउँवासी भेट हुँदा चुरोट दिएर मन राख्ने चलन थियो । हाटबजार, जात्रा, भोजजस्ता सामाजिक जमघटमा वल्लो गाउँ, पल्लो गाउँका चेलीबेटी–माइतीबीच भेटघाट हुँदा एक–अर्कालाई चुरोट दिएर शिष्टाचार कायम गर्ने चलन थियो, जुन बोली र हृदय साटासाट गर्ने माध्यम बन्थ्यो । चेलीबेटी–माइतीबीच उपहार आदान–प्रदान गर्नेक्रममा दिइने वस्तुको सूचीमा चुरोट तथा कलात्मक चिलिम पनि पर्थे ।
कतिपय समुदायको वैवाहिक अनुष्ठानमा चुरोट अनिवार्य मानिन्छ । दुरा, गुरुङ, मगरजस्ता जनजाति समुदायको विवाहमा चुरोट प्रयोग हुन्छ । विवाहको क्रममा दुलहीको घरमा जन्ती पुगेपछि निश्चित विधि–विधान पूरा गरेपछि जन्तीलाई निश्चित ठाउँमा लगेर बसालिन्छ । त्यसपछि स्थानीय चेलीबेटीले चुरोट, ल्वाङ, सुपारी, सुकुमेल आदि दिएर जन्तीलाई स्वागत गर्ने चलन आजपर्यन्त छ । जुन ग्रामीण समाजको शिष्टाचारभित्रै पर्छ ।
यसैगरी, जन्तीलाई भान्छा गराउनुभन्दा अघि बाँसबाट निर्मित ठूलो हुक्का दुलाहाका अगाडि टक्र्याउने चलन पनि छ । यो त सानो दृष्टान्तमात्रै हो । यसका अरू साँस्कृतिक आयाम पनि छन्् । हुक्का तान्ने परम्परा नेपाली संस्कृतिकै एक हिस्सा मानिन्छ । विगतमा गुडगुडे हुक्का, डल्ले हुक्काजस्ता विविधप्रकारका हुक्का गाउँघरमा प्रचलित थिए । अहिले सहरका कतिपय रेष्टुराँमा हुक्का तान्ने परिपाटी विकास भएको छ । चुरोटको आधुनिकतम् रूप इ–सिग्रेटले पनि फेसनकै रूप लिइसकेको छ ।

साहित्यमा चुरोट
जगजाहेर नै छ, चरोट मोहिनी अम्मल हो । चुरोटको अगाडि धेरै अम्मली नतमस्तक हुन्छन् । धूमपानको नशामा डुबिसकेपछि त्यसबाट मुक्ति पाउन धेरैलाई हम्मेहम्मे पर्छ । कतिपयले हाँसैहाँसोमा भन्ने गर्छन्, ‘बरु ब्वायफ्रेन्ड वा गर्लफ्रेन्ड छाड्न सकिएला तर चुरोट छाड्न सकिन्न ।’ कतिले यतिसम्म पनि भन्छन्, ‘मलाई त धूमपानविरोधी लेख लेख्न पनि चुरोटै चाहिन्छ । एक÷दुई सर्को चुरोटको धूवाँ निलेपछि मात्रै लेख फुर्छ ।’
चुरोटको नशाले निम्त्याएको सहज–अजहज परिस्थितिबारे साहित्यिक क्षेत्र मौन रहने कुरै रहेन । ब्रिटिस नाटककार साइमन ग्रे (सन् १९३६–२००८)ले चुरोटको लतबारे आफ्ना अनुभूति समेटेर ‘स्मोकिङ डायरिज्’ नामक पुस्तक लेखे । आफ्ना औपन्यासिक कृति ‘एनिमल फार्म’ लेखेर विशेष ख्याति कमाएका ब्रिटिस उपन्यासकार जर्ज अरबेल (सन् १९०३–१९५०)ले पठन संस्कृति र चुरोट सेवनबीच देखापर्ने वर्गीय विभेदबारे मार्मिक प्रसङ्ग समेटेर ‘बुक भर्सेस सिग्रेट’ नामक कृति जन्माए ।
नेपाली साहित्य पनि चुरोटको लतबारे मौन छैन । व्यङ्ग्य विधाका दुई चम्किला नक्षत्र केशवराज पिँंडाली (विसं १९७१–२०५५) र भैरव अर्याल (विसं १९९३–२०३३)ले चुरोटको लतले निम्त्याएको अप्ठेरोपनबारे बेजोड व्यङ्ग्यात्मक निबन्ध कथेका छन्, जो आजपर्यन्त धेरैको स्मृतिमा ‘मास्टर पिस’ बनेर घुमिरहेका छन् ।
‘खै खै’ शीर्षकमा कथिएको निबन्धमा केशवराज पिँडाली भन्छन्, ‘बाबुले हकाई–हकाई, आमाले फकाई–फकाई कति भने ‘केटाकेटीमा चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनुपरिरहेछ । खानु के छ र, उही पनि यो महँगीको चुरोट न हो ! आफ्नो रगत पसिनाको पच्चीस प्रतिशत आम्दानीलाई डाँडो कटाउनु छ र जिउ बिगार्नु छ ।’
भैरव अर्यालले ‘चुरोट ः केही झिलिमिली संस्मरण’मा चुरोटको लतमा परेकाको कथा–व्यथा उतारेका छन् । अर्याल लेख्छन्, ‘मैले तीन÷चार वर्ष मासु छोडेँ, कति दिन नुन छोडेँ, कति लामा–लामा अवधिसम्म आफ्ना प्रिय वस्तु र प्रियतमहरू छोडेँ तर एक साता पनि धूमपानलाई बिल्कुलै छाड्न सकिनँ ।’ यही सिलसिलामा उनी अर्को सजीव व्यङ्ग्य कस्छन्, ‘व्यापारीले बातैपिच्छे धरोधर्म भन्नु र मैले सासैपिच्छे चुरोट खान्न भन्नु एकै भयो ।’
चुरोट त्याग्न नसक्नेहरूबीच अमेरिकी लेखक तथा व्यङ्ग्यकार मार्क ट्वीन (सन् १८३५–१९१०) को व्यङ्ग्यपूर्ण अभिव्यक्ति चर्चित छ । उनले चुरोट त्यागबारे भनेका छन्, ‘संसारमा चुरोट छोड्नुजत्तिको सजिलो काम कुनै छैन । मैले हजारौँपटक चुरोट छाडेको छु ।’

लोकभाकामा चुरोट
लोकजीवनको ऐनाको रूपमा लोकगीतमा
चुरोटसम्बन्धी प्रसङ्ग नआउने कुरै भएन । लोकगीतका फाँकी र फुँदाहरूमा चुरोटको प्रसङ्ग जोडिएकै पाइन्छ । विगतमा गाउँघरमा चेलीबेटी–माइतीबीच भेटघाट हुँदा चुरोट आदान–प्रदान हुने परिपाटीबारे माथि नै कुरा आइसकेको छ । उनीहरू चुरोट आदान–प्रदानक्रममा चिनापर्ची हुन्छ, नचिनेमा साइनोपात खोजिन्छ । यही सामाजिक रीतभाँत र मनोविज्ञानलाई लोकगायक लालबहादुर खातीको गीतले अङ्गीकार गरेको छ ः
 
हातैमा चुरोट सलाई
के भनेर बोलाऊँ तिमीलाई
हाम्रो लोकजीवनले विनाभेदभाव सबैसँग नाता गाँस्छ । लोकजीवनले चुरोटको कच्चा पदार्थ सुर्तीसँग पनि नाता गाँसेकै छ । अनि त, हाम्रो लोकलयमा सुर्ती र प्रीति हातेमालो गर्न आइपुग्छ ः
खान्नँ म त लाम्पाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती
जनकवि केशरी धर्मराज थापाले गण्डकी भेगको लोकजीवनलाई सूक्ष्म किसिमले अवलोकन गरेपछि उनले २०३० सालमा ‘गण्डकीका सुुसेली’ नाम कृति जनसमक्ष ल्याए । त्यस कृतिमा लोकजीवन र चुरोटबीच विद्यमान नाताको एउटा सानो झलक भेटिन्छ (पृ.१२८) ः
आशामार चुरोटको गन्ध
कति मया लाइरहनी याँभन्दा
बिसौनीनेर
चुरोट लतले निर्माण गरेको विरोधाभासपूर्ण आर्थिक, साँस्कृतिक परिवेशबारे जति चर्चा गरे पनि अपर्याप्त हुन्छ, जसबाट विवाद र बहसको अनन्त शृङ्खला जन्मन्छन् । चुरोटको लत अतिशय जटिल सामाजिक, साँस्कृतिक गुत्थी हो, जहाँ तीता र मीठा दुवै अनुभूति एकैठाउँमा गुजुल्टिएको अवस्थामा भेटिन्छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?