मुरारीराज मिश्र
नारी हुन् प्रेमको बाली, उब्जने खेतका गरा ।
उब्जाइ खुसीको बाली, पार्छिन् गृह हराभरा ।।
सहन्छिन् दुःखका भारी, गुनासो गर्दिनन् उनी ।
निस्वार्थ भाव मात्रै छ, लोभ देखिन्न क्यै पनि ।।
वसन्त ऋतु हुन् नारी, हरियाली सबैतिर ।
फुल्दछन् फूल मायाका, प्रेम सिंच्दा उनीतिर ।।
नारी हुन् कोकिलाकण्ठी, सुनौँ लाग्ने सधैँभरि ।
राखौँ लाग्छ उनैलाई, यी आँखाकै वरिपरि ।।
स्नेहको मह घोलेर, सबैलाई पिलाउँछिन् ।
म छु है दुःखको साथी, भनी ढुक्क बनाउँछिन् ।।
सुखमा रम्दछिन् साह्रै, पीडामा हात थाम्दछिन् ।
बनेर बलियो खम्बा, नारी गृह सम्हाल्दछिन् ।।
भालेको डाकदेखि नै, फुर्सद मिल्दैन तापनि ।
थाकेको छु म भन्दिनन्, नारीले कहिल्यै पनि ।।
जिन्दगी कसरी ज्यूने, नारीले त्यो बताउँछिन् ।
पिएर आँसुको प्याला, नारी हाँस्न सिकाउँछिन् ।।
देवता बस्न सक्दैनन्, सबैका घरमा भनि ।
पठाए दैवले नारी, पृथ्वीमा जाऊ लौ भनि ।।
मायाकी खानी हुन् नारी, आमा र पत्नी रूपमा ।
भविष्य बन्छ नारीकै, स्नेहपूर्ण विवेकमा !!