logo
२०८१ मंसिर ९ आईतवार



तारा अवलोकनको अवसर

शनिवार |


तारा अवलोकनको अवसर


जयन्त आचार्य


कोरोनाको दोस्रो लहरले हरेक क्षेत्र ठप्प छ । बाहिर निस्कने, हिँड्ने, डुल्ने वातावरण छैन । कार्यालयको काम घरबाटै गर्नु परिरहेको छ भने विद्यालय पढ्ने केटाकेटी घरैबाट शिक्षा लिन बाध्य छन् । निषेधाज्ञाले गर्दा धेरै कुरा सुचारु हुन सकेका छैनन् । यसले नकारात्मकता पैदा गरेको छ । तर, मोटरगाडी नगुडेकाले, कलकारखाना बन्द भएकाले, धूँवा, धूलो निस्किन नपाएकाले वातावरणमा भने सुधार भइरहेको छ । वातावरण सफा भएकाले आकाश अवलोकन गर्न सजिलो तथा स्पष्ट हुुन थालेकोे छ । मनसुन सुरु हुने बेला भएकाले आकाश बादलले त ढाक्छ नै । तर, बादल नलागेको बेलामा आकाशका ग्रह, तारा, नक्षत्र स्पष्ट देखिन्छन् । साँझमा आकाश अवलोकन गर्दा छुट्टै किसिमको आनन्द अनुभव गर्न सकिन्छ । कवि शिरोमणि लेखनाथ पौडेलले आकाश हेर्दा लागेका जिज्ञासा यसरी व्यक्त गरेका छन्–
निशाविशे माथि सधैँ वरीपरी
अनन्त ज्योति गजमोतीले सरी
झुलिरहेका किन हो ती को हुन
लाइ मालुम छ कि यो कुरा मन ?

यस प्रश्नको उत्तर गणितज्ञ तथा ज्योतिषि नयराज पन्तले यसरी दिएका छन्
विशाल छायापथ हुन् कुनै कुनै
हुन् तारकागुच्छ, विकारी हुन् कुनै ।
कुनै त हुन् नव्य, कुनै भयुग्म हुन्
प्रकाशक ज्योति सबै यिनी हुनन् ।।
यस्ता प्रश्न उत्तर सधैँ उपयोगी नै हुने गर्छन् भने यस्ता कुरामा सबैको जिज्ञाशा हुनु स्वाभाविकै पनि हो ।
जेठ, असार महिनामा साँझपख पश्चिम आकाशमा सूर्यास्तपछि शुक्रग्रह स्पष्ट देख्न सकिन्छ । सूर्य जहाँबाट अस्ताउँछ होे त्यहीँनेर केही माथि शुक्र अवलोकन गर्न सकिन्छ । शुक्र ग्रहलाई आकाशको सबैभन्दा राम्रोे ग्रहका रूपमा चिन्ने गरिन्छ भने पश्चिमी जगत्मा यसलाई प्रेमको ग्रहका रूपमा हेर्ने गरिन्छ । नेपालमा पनि यस ग्रहको अवलोकन गर्नाले प्रेमसम्बन्ध अझ बलियो हुँदै जाने भनी फलित ज्योतिषीहरूले सल्लाह दिने गर्छन् । साथै जसको कुण्डलीमा शुक्र बलियो भएर बसेको हुन्छ, उनीहरूको प्रेमविवाह हुन्छ भनी फलादेश गर्ने गरिन्छ । जसरी चन्द्रमामा कला घटबढ भएको हामी स्पष्ट देख्छौँ, त्यसरी नै शुक्र ग्रहलाई टेलिस्कोपबाट हेरियो भने कला घटबढ भएको देख्न सकिन्छ । यस्तै बुध ग्रहमा पनि कला घटबढ भएको हामीले देख्न सक्छौँ । सूर्य र पृथ्वीबीचमा रहेका ग्रहमा कला घटबढ भएकोे टेलिस्कोपबाट हेर्दा देखिन्छ । हिन्दु समाजमा शुक्र ग्रहलाई राक्षसको गुरुका रूपमा हेर्ने गरिन्छ भने यो बिहान र साँझमात्र देखिने भएकाले यसलाई साँझको ग्रह वा बिहानको ग्रह भनेरसमेत चिन्ने गरिन्छ ।
शुक्र ग्रहको नजिकै एउटा रातो–रातो तारा पनि देख्न सकिन्छ । त्यो तारा मङ्गल ग्रह हो । मङ्गल ग्रह पनि जेठ, असार महिनामा साँझमै अवालोकन गर्न सकिन्छ । पृथ्वीबाट जन्मिएको भनेर मङ्गलको अर्को नाम कुज पनि हो । संस्कृतमा ‘कु’ भनेको पृथ्वी र ‘ज’ भनेको जन्मेको अर्थ लाग्छ । यस्तै रातो भएकाले यसलाई लोहिताङ्ग भनेर पनि नामकरण गरिएको छ । मङ्गल ग्रहकोे दिन र रात हुने समय पनि पृथ्वीको जस्तै करिब बाह्र–बाह्र घण्टाको हुने गर्छ । यसैकारण मङ्गलमा जीवनको सम्भावना छ कि भनेर वैज्ञानिकहरू खोजी गरिरहेका छन् । हालसालै मङ्गलमा नासाले एउटा यान अवतरण गराउन सफल भएको छ भने चीनले पनि त्यहाँ आफ्नो यान अवतरण गरेको समाचार आएको छ ।
असारको २० गतेपछि बुध ग्रह बिहानको समयमा अवलोकन गर्न सकिन्छ । बुध सूर्यको नजिकै भएकाले यसले सूर्यको वरिपरि घुम्न ८८ दिनमात्र लगाउँछ । बुध नाङ्गो आँखाले देख्न सकिने ग्रह भए पनि यसलाई आकाशमा धेरै बेर देख्न भने सकिँदैन । सूर्योदय हुनुभन्दा केही अघि सानोे तारा पूर्व दिशामा असार अन्त्यसम्म बिहानको समयमा देख्न सकिन्छ । बुध ग्रहलाई नपुङ्शक ग्रहका रूपमा फलितज्योतिषीहरू हेर्ने गर्छन् ।
साँझ केही अँध्यारो भएपछि हाम्रो टाउकाको सिधा माथि केही उत्तर दिशामा सप्तर्षि तारामण्डल हिजोआज देखिने र सजिलै चिन्न सकिने ताराको समूह हो । यो समूहलाई प्रश्नचिह्नजस्तो भनेर भन्ने पनि गरिन्छ । पुच्छर भएको चङ्गाको आकार भनेर पनि खगोलविद्हरू भन्ने गर्छन् । यो ताराको समूहलाई वैशाखदेखि भदौसम्मै अवलोकन गर्न सकिन्छ ।
यसमा रहेका सातवटा तारालाई विभिन्न ऋषिका नामबाट पनि चिन्ने गरिन्छ । मरिची, अङ्गिरा, अत्री, पुलस्त्य, पुलह, क्रतु र वशिष्ठ गरी यी नाम हाम्रो समाजमा प्रचलित तथा प्रख्यात भएर बसेका छन् । वशिष्ठको नजिकै वशिष्ठकी श्रीमती अरून्धतीसमेत रहेको नाङ्गो आँखाले देख्न सकिन्छ । यसलाई आधुनिक खगोलविज्ञहरू युग्म (वाइनरी) तारा भन्ने गर्छन् । यो समूहलाई बिग डिपर, द ग्रेट बियर वा उर्षा मेजर भनेर पनि आधुनिक खगोलविद्हरू भन्ने गर्छन् । यो तारामण्डल संसारभरि नै विभिन्न नामबाट चिनिन्छ र आफ्नो–आफ्नो संस्कृतिमा समाहित भएको छ ।
पृथ्वीबाट १०४ प्रकाश वर्ष टाढा रहेको मरिची तारा नीलो रङको छ । सप्तर्षि तारामण्डलमा रहेकोे मरिची तारा आकाशमा देखिने सम्पूर्ण तारामा अठ्तीसाँै चम्किलो तारा हो । यस मण्डलको पुच्छरमा रहेको तारा नै मरिची तारा हो । कश्यप ऋषिका पिता मरिची ऋषि वेदान्तका प्रणेताका रूपमा पनि चिनिन्छन् ।
सप्तर्षि तारामण्डलको पुच्छरतिरबाट दोस्रो तारा वशिष्ठ तारा हो भने यस तारा नजिकै अरून्धतीसमेत रहेकी छन् । त्यसैले यसलाई युग्मतारा भनेर पनि जान्न सकिन्छ । यो तारा असाध्यै चम्किलो तारामध्येमा पर्छ । योे यति चम्किलो छ कि हाम्रोे साठीवटा सूर्य एकैठाउँमा भएर जति चम्किलो हुन्छ, त्यति नै यो तारा चम्किलो छ । हाम्रो समाजमा अरून्धती तारालाई देखाउँदा पनि नदेख्ने मानिसको आँखा अत्यन्त कमजोर भएको मान्ने गरिन्छ । वशिष्ठ ऋषिलाई वेदान्तवेत्ता तथा अरून्धतीनाथ समेत भनेर चिनिन्छ ।
सप्तर्षि तारामण्डलको पुच्छारतिरबाट तेस्रो तारा अङ्गिरा हो । यो तारा हामीबाट करिब ८२ प्रकाश वर्ष टाढा छ । सप्तर्षि तारामण्डलको यो सबैभन्दा चम्किलो तारा हो । यो यति धेरै चम्किलो छ कि हाम्रो सयवटा सूर्य एकैठाउँमा राख्दा जति उज्यालो हुन्छ, त्यति नै यो चम्किलो छ । अङ्गिरा वा अङ्गिरस ऋषिलाई मानिस र देवताका दूतका रूपमा समेत चिनिन्छ ।
सप्तर्षि तारामण्डलको चारवटा ताराको नाम क्रमशः अत्री, पुलस्त्य, पुलह र क्रतु हुन् । यी चारवटा ताराको समूहले योे मण्डलको चङ्गाको जस्तो आकार बनाउँछन् ।
सप्तर्षि तारामण्डलले ध्रुवतारालाई सधैँ घुमिरहेका हुन्छन् । ध्रुवतारा चिन्नका लागि पनि यही ताराका समूहको सहाराबाट अत्यन्त सरल हुने गर्छ । पुलह र क्रतु तारालाई जोड्ने सरल काल्पनिक रेखामा ध्रुवतारा देख्न सकिन्छ । क्षितिजबाट करिब २४ डिग्रीको उचाइमा उत्तरतिर एउटा सानो पिलपिल गरिहेको तारा नै ध्रुवतारा हो । ध्रुवतारा एक अचल ताराका रूपमा हेरिए पनि यसको गति अत्यन्त कम छ । अर्थात् ध्रुव ताराले तीन सय साठी डिग्रीको वृत्तमा एक चक्कर लगाउन करिब छब्बीस हजार आठ सय वर्ष लगाउँछ । हिन्दु समाजमा नवदम्पतीलाई उनीहरूको दाम्पत्य जीवन स्थिर तथा उच्च भइरहोस् भनेर ध्रुवतारालाई देखाई चिनाउनेसमेत गर्ने गरिन्छ । ध्यानीहरू ध्यान गर्दा ध्रुवाभिमुख भएर मनलाई ध्रुवतारामा मिलाउन सके मन स्थिर भई आत्मबोध गर्न सकिने कुरामा विश्वास गर्छन् ।
जेठको अन्त्यदेखि असारभरि रातको १० बजेसम्म धैर्य गरी आकाश अवलोकन गर्नुहुन्छ भने पूर्व क्षितिजमा (सूर्य उदाएको ठाउँतिर) शनि ग्रह पनि नाङ्गो आँखाले देख्न सकिन्छ । यो ग्रह आफ्नो बाटोमा अत्यन्तै बिस्तारै हिँड्ने भएकेले यसको नाम पनि शनैश्चर भनी हाम्रा प्राचीन आचार्यहरूले राखेका छन् । संस्कृतमा शनै भनेको बिस्तारै र चर भनेको हिँड्नु भन्ने अर्थ लाग्छ । शनि ग्रहलाई फलित ज्योतिषीहरू पापफलदायक ग्रहका रूपमा हेर्ने गर्छन् । आधुनिक खगोलविद्हरू यो ग्रह सूर्यबाट अत्यन्त टाढा भएकाले चिसो ग्रह हो भनी यसलाई चिन्छन् । यसमा रहेको एउटा उपग्रह (टाइटन) अर्थात् शनिको चन्द्रमा पृथ्वीभन्दा पनि ठूलो छ । जसले शनिलाई परिक्रमा गरिरहेको हुन्छ । टाइटन भने नाङ्गो आँखाले देख्न सकिँदैन । टेलिस्कोप वा ठूलो पावर भएको बाइनाकुलरले भने टाइटन र शनि ग्रहको बलयसमेतको अवलोकन गर्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?