श्याम अधिकारी
ब्रह्म शब्द आर्य जातिको वैदिक परम्पराका साहित्यमा व्यापक प्रयोग भएको छ । खासगरी दर्शनशास्त्रका क्षेत्रमा यो शब्द व्यापक प्रयोग भएको छ । संसारको सृष्टि, पालना र विनाशमा ब्रह्मको भूमिका नियामक मानिएको छ । ब्रह्मसूत्रजस्ता वेदान्त दर्शनका गहन आधारभूत रचना विद्वान्ले तयार गरेका छन् । ब्रह्मको उल्लेख नभएका धार्मिक, पौराणिक, वेद, वेदाङ्ग दर्शनका कुनै रचना छैनन् । त्यसैले ब्रह्म के हो र यसको सक्कली स्वरूप के हो भन्ने कुराको अर्थ र व्याख्या पनि भिन्नभिन्न रहेका छन् ।
सामान्यतया ब्रह्म शब्दको अर्थ स्वयम् विस्तृत अर्थात् ठूलो र अरूलाई पनि विस्तार गर्ने अर्थात् ठूलो पार्ने, फैलाउने भन्ने हुन्छ । यही विशाल स्वरूप जब अण्डाकार छ भन्ने बुझाउन ब्रह्माण्ड भन्ने शब्द हामी प्रयोग गर्दै आएका छौँ । यसबाट प्रस्ट हुन्छ कि पृथ्वीमात्र होइन, समस्त यो आकाशका ग्रह, तारा आकाश गङ्गा, ब्ल्याक होल आदि सबै नै ब्रह्माण्ड हो । यसलाई आधुनिक पाठ्यभाषामा खगोल, अङ्ग्रेजीमा कस्मिक भनिन्छ । हाम्रा प्राचीन वेद र उपनिषद् आदिमा ब्रह्मलाई ईश्वर, संसारका रचनाकार, विश्वकर्मा, परमात्मा आदि मानिएको छ । तर, त्यसबेलामा पनि ब्रह्मका बारेमा अनेक संशय र अनुमान गरिन्थ्यो । यो जानिनसक्नु विषय हो भन्ने कुरा वृहत् आरण्यकोपनिषद्को तेस्रो अध्यायको छैटाँै ब्राह्मणमा तत्कालीन विद्वान् ऋषि याज्ञवल्क र विदूषी गार्गीबीचको यो संवादले प्रस्ट पार्छ– गार्गी अन्तरीक्ष, आदित्यलोक, चन्द्रलोक, आदि कसरी केमा ओतप्रोत छन् भनेर सोध्दै जान्छिन् र याज्ञवल्क जवाफ दिँदै जान्छन् । तर, जब अन्तिममा ब्रह्मलोक केमा कसरी ओतप्रोत छ भनेर प्रश्न गर्छिन् । अनि याज्ञवल्क भन्छन्– अब तिमी योभन्दा बढी प्रश्न नसोध । ब्रह्मलोक विषयमा अतिप्रश्न गर्न मनाही छ । टाउको फुट्छ ।
ब्रह्मका बारेमा धेरै मतान्तर यसले गर्ने कामका बारेमा र यसको स्वरूपका बारेमा हो । यहाँ चर्चा गर्न खोजिएको विषय ब्रह्माण्डको रचना या संसारको सृष्टिका बारेमा हो । यो संसारको सृष्टि ईश्वरले विचार पु¥याईकन गरेका हुन् वा आफैँ प्राकृतिक स्वरूप बन्दै गएको हो भन्ने भिन्न विचार वेद, उपनिषद् र दर्शनशास्त्रमा पाइन्छ । छान्दोग्योपनिषद्को तेस्रो अध्यायको १९औँ खण्डमा भनिएको छ– आदित्यो ब्रह्मेत्यादेशस्तस्योपव्याख्यानमसदेवेदमग्र आसीत्ततसदासीत्तत्समभवत्तदाण्डम् निरवर्तत सम्वत्सरस्य मात्रामसयत तन्निरभेद्यतते आण्डकपाले रजतं च ह सुवर्णं चाभताम् । आदि । यसको अर्थ हुन्छ– आदित्यलाई ब्रह्म मान्नेहरू भन्छन्– सुरुमा यो संसार केही थिएन । पछि यो अस्तित्वमा आएको हो । यो देखिँदा अण्डाकारमा देखियो । अण्डा ठूलो आवाज गरेर विस्फोट भयो अनि दुई भाग भयो, एउटा सुनको अर्को चाँदीको । सुनको भाग स्वर्ग भयो, चाँदीको पृथ्वी । त्यही विस्फोटबाट सूर्य पनि बनेको हो । छान्दोग्योपनिषदको यो भनाइ आधुनिक विज्ञानको बिग ब्याङ अर्थात् महाविस्फोटको सिद्धान्तको जनक मान्दा कुनै फरक पर्दैन ।
संसारको रचना भगवान्ले सोचेर, विचार गरेर अहिले जस्तो छ, त्यस्तै बनाएका हुन् भन्ने कुरालाई ऋग्वेदले पनि अन्धानुकरण गरेको छैन । ऋग्वेदको दशम मण्डलको ७२औँ सूक्तमा ब्रह्मणस्पतिई नै ब्रह्म भनिएको छ भने ८१ र ८२ सूक्तहरूमा संसारको रचना विश्वकर्माले गरे भनिएको छ । तर, दशम मण्डलकै १२९औँ सूक्तको सातौँ मन्त्रमा स्पष्ट भनिएको छ– यो सृष्टि कसले, कसरी गरेको हो होइन ? यो कुरा कि यो संसारको अध्यक्षले जान्छन् अथवा उनलाई पनि थाहा छ छैन भन्न सकिँदैन ।
यो अस्याध्यक्षःपरमे व्योमन्त्सोअङ्ग वेद यदि वा नवेद ।
यही सूक्तले भनेको छ– सुरुमा सत् पनि थिएन, असत् पनि थिएन, आकाश पनि थिएन, ब्रह्माण्ड नै थिएन, मृत्यु थिएन, अमरत्व पनि थिएन, अस्तित्व थिएन, अन्धकार थियो । नासदासीन्नो सदासीत्तदानीम् नासीत् रजो नो व्योमा परो यत् । यसैगरी, ७२औँ सूक्तको दोस्रो मन्त्रमा भनिएको छ– देवानाम् पूव्र्ये युगे असतः सत् अजायत । अर्थात् देवताभन्दा अघि असत्बाट अर्थात् अनस्तित्वबाट सत् अर्थात् अस्तित्व देखापरेको हो । देवानाम् युगे प्रथमे असतः सदजायत ७२को मन्त्र ३ । यसरी हाम्रा प्राचीन विद्वान्हरूले ऋग्वेदकालदेखि नै अन्धविश्वास होइन, शङ्का संशय र अनुसन्धानलाई अवसरमात्र दिएका थिएनन्, स्टेफन हकिङजस्ता भौतिकशास्त्रीले जस्तै बिग ब्याङ र ब्ल्याक होलको सिद्धान्तको प्रतिपादनको नजिक पुगेका थिए भन्ने देखिन्छ । पछिका धर्मगुरुहरूले ब्रह्मलाई साकार रूपका राजाजस्ता बनाएर आदेश गर्ने भगवान्को रूप दिँदै जानाले पनि मौलिक चिन्तनको परम्परा हराउँदै गएको हो । तर, ब्रह्म अर्थात् ब्रह्माण्डको उत्पत्तिभन्दा अघि असत् र अन्धकार रहेको, यो ठूलो आवाजका साथ विस्फोटबाट विस्तार हँुदै गएको, त्यसपछि नै सूर्यको रचना भएको, यो नष्ट हँुदै जाने, यो अण्डाकारमा रहेको आदि भनेर तीन÷चार हजार वर्षअघि नै आर्यहरू आधुनिक भौतिकशास्त्रको सिद्धान्त नजिक पुगेका रहेछन् भन्ने देखिन्छ ।