रत्न प्रजापति
उसले अकस्मात् नै निम्तो गरेर आफन्त, छिमेकी र साथीभाइलाई भोजमा बोलायो । भोजको सिजन थिएन । बिहे, व्रतबन्ध अथवा कुनै चाडपर्वको बेला थिएन । निम्तो सुनेर उसको छिमेकी सोचमग्न भयो । केको भोज होला ?
छिमेकीले अनकनाएर सोध्यो, ‘‘केको उपलक्ष्यमा होला यो भोज राधेश्याम दाइ?’’
उसले नअनकनाइकन भन्यो, ‘‘कुनै उपलक्ष्यमा होइन । ऋण तिर्ने भोज हो ।’’
ऋण तिर्ने भोज ? सुनेर छिमेकी छक्क प¥यो । भोजको पनि ऋण तिर्नुपर्ने कस्तो बेला आएछ ! छिमेकी थप अन्योलमा प¥यो । यो जानैपर्ने भोज हो कि नगए पनि हुने भोज हो ? छिमेकी सोचमग्न हुन थाल्यो । छिमेकी एकछिनसम्म नबोलेको सुनेर उसैले भन्यो, ‘‘सपरिवार आउनुपर्छ है । हजुरलाई चुल्है निम्ता हो ।’’
आजसम्म उसले कसैलाई बोलाएर भोज खुवाएको थाहा छैन । आज अकस्मात् भोजका लागि चुल्है निम्ता पाउँदा छिमेकी छक्क होइन, तीनछक्कै प¥यो । चाडपर्व, बिहे, व्रतबन्ध केहीको साइत नभएको बेलामा उसले केको उपलक्ष्यमा भोज खुवाउन थाल्यो ? छिमेकीको मनमा अनेक प्रश्न उब्जिए ।
देशमा राजनीतिले नयाँनयाँ मोड लिइरहेको समय थियो । ऊ पनि जिन्दगीभर राजनीतिमै लागेको मान्छे । विभिन्न आन्दोलन र क्रान्तिमा सहभागी भएको मान्छे । पार्टीको सक्रिय कार्यकर्ता । अनि समाजसेवी पनि । राजनीतिक मोडसँगै उसले पनि कतै गतिलो आम्दानी हुने ठाउँमा नियुक्ति पो पायो कि ? कतै यही खुसीमा त उसले यो भोज खुवाउन लागेन ? छिमेकीको मनमा एउटा अनुत्तरित प्रश्न उब्जियो ।
राजनीतिमा उसका समकालीनहरू धेरै नेता भए र ठूल्ठूला पद पाए । धेरै राजनीतिक लाभ लिए । तर ऊ कहिल्यै नेता भएन अथवा नेता बन्न सकेन । कुनै राजनीतिक लाभ पनि लिएन अथवा लिन जानेन । बरु राजनीतिमा इमानको खडेरी परेको बेलामा पनि उसले कहिल्यै त्यो इमानदारी छाडेन । पार्टीको एउटा इमानदार कार्यकर्ताको परिचय दिन उसले कहिल्यै भुलेन । राजनीतिको आडमा उसले कहिल्यै धनसम्पत्ति जोडेन अथवा जोड्ने प्रयत्न गरेन । बरु पुरानो कोट लगायो, तर नयाँ विचार बोकेर हिँड्यो । तर उसको विचारको कहिल्यै कदर भएन । उसको इमानदारीको पनि कहिल्यै सम्मान भएन । तनाव सहेर अभावमा बाँच्यो । तर इमानलाई बन्धकी राखेन । छोराछोरीको माग र आवश्यकतालाई पूरा गर्न नसक्दा लघुताभास र हीनताबोधले ग्रस्त भएर बाँच्यो । स्वास्नीको कचकचलाई पनि उसले सहज र स्वाभाविक रूपमा ग्रहण गर्दै आयो ।
दुःखपछि सुख आउँछ भन्दै उसले परिवारलाई सम्झाइरह्यो । तर त्यो सुख कहिल्यै आएन उसको परिवारमा । अभावैअभावमा बाँचिरहेको उसको परिवारमा आज अकस्मात् के खुसी आयो होला ? जसका कारण उसले साथीभाइ र इष्टमित्रलाई भोजको निम्तो गरिरहेछ ? त्यो छिमेकीको दिमागले केही गर्दा पनि कुनै उत्तर पत्ता लगाउन सकेन ।
पढाइमा अब्बल थियो ऊ । तर जिन्दगीमा भने ऊ पुछारमा परिरह्यो । समकालीन साथीहरू धेरै अगाडि पुगिसक्दा पनि ऊ जहाँको तहीँ रह्यो । अरू घर–बङ्गलामा बस्ने र सररर कारमा गुड्ने हुँदा पनि उसले भने बल्लबल्ल गाउँमा अंशवापत पाएको जग्गाजमिन सबै बेचेर काठमाडौँमा साढे तीन आना जग्गा किन्न सक्यो । ऋण लिएर त्यसमा तीन कोठाको एकतले घर बनाउन सक्यो । सकेसम्म सार्वजनिक सवारी पनि नचढेर ऊ गोल्डस्टार जुत्ता लतार्दै लुखुरलुखुर हिँडिरह्यो । अरूका छोराछोरी विदेशमा पढ्न जाँदा उसका छोराछोरी सरकारी छात्रवृत्तिको खोजीमा लागिरहे । त्यसमा पनि उसले केही सहयोग गर्न सकेन । राजनीतिक शक्तिको प्रयोग गर्न उसले कसैको खुसामद गरेन । आफ्नै क्षमतामा उभिनुपर्छ भन्ने उसको मान्यता थियो । उसको यो मान्यताका कारण उसका छोराछोरी धेरै वटा अवसरबाट बन्चित भए । अन्त्यमा केही नलागेर विरक्त भएर छोराछोरी दुवै घरै छाडेर हिँडे । छोरा कहाँ गयो थाहा छैन । छोरी कहाँ गई थाहा छैन । छोराछोरीले पनि हामी यहाँ छौँ भनेर खबर गर्ने चेष्टासम्म गरेनन् । छोराछोरीको चाहना नबुझ्ने र उनीहरूको माग र आवश्यकता पूरा गर्न नसक्ने ऊ नालायक बाबु ठहरियो । नालायक बाबुलाई छोराछोरीले पनि सम्झन आवश्यक ठानेनन् । श्रीमतीले भने आफ्नो धर्म छाडिन । ऊ लोग्नेको दुःखसुखमा साथै रही ।
भोजमा उसले सबैलाई बोलाएको थियो । तर उसले पार्टीका नेताहरू भने एक जना पनि बोलाएको थिएन । सबैले यस कुरामा अचम्म माने । गर्न पनि उसले अचम्मै गरेको थियो । जुन पार्टीमा ऊ संलग्न थियो र सक्रिय थियो, त्यही पार्टीका एक जना पनि नेतालाई उसले बोलाएको थिएन । भोजमा उसका साथीभाइ, आफन्त, नातागोता, छिमेकी र सहरका केही नाम चलेका बुद्धिजीवी, शिक्षक, पत्रकार, वकिल, साहित्यकार, डाक्टर, इन्जिनियर, उद्योगी, व्यापारी, प्रहरी र कर्मचारी पनि थिए । तर पार्टीका नेता तथा कार्यकर्ता एक जना पनि नहुनु त्यो भोजको एउटा विशेषताकै रूपमा रहेको थियो । सबै जना एकआपसमा खासखुस गर्दै थिए, ‘सबै छन्, तर पार्टीका नेता एक जना पनि छैनन् नि !’ पार्टीका नेतालाई किन नबोलाएको भनेर सोध्न चाहिँ कसैले पनि सोधेनन् ।
पार्टी प्यालेस त्यति भव्य थिएन । तर भोज भव्य थियो । थरिथरिका परिकार थिए । भोजका निम्तालुहरू ती थरिथरिका परिकारको स्वादमा रमाइरहेका थिए । खानेहरूलाई खानमा मजा थियो । पिउनेहरूलाई पिउनमा मजा थियो । सारांशमा भन्नुपर्दा भोज भव्य थियो ।
भोज भव्य थियो र भोज खाइरहेका मान्छेहरूको मनमा एउटै प्रश्न थियो, ‘छोराछोरीलाई राम्रो स्कुल र कलेजमा पढाउन नसक्नेले यति भव्य भोज कसरी खुवायो ?’ सबैको मनमा प्रश्न थियो, तर उत्तर कसैसँग थिएन । उसको इमानदारीलाई चिनेकाहरूले उसले घुस र कमिसन खाएर कमाएको होला भनेर अनुमान गर्न र सोच्न सकिरहेका थिएनन् । बरु कसैकसैको मनमा यस्तो प्रश्न भने उठिरहेको थियो, ‘कतै कुनै ठेकेदार वा व्यापारीले प्रायोजन त गरेन यो भोजलाई ?’ लगत्तै अर्को प्रश्न मनमा उठ्थ्यो, ‘यस्तो इमानदार व्यक्तिबाट के काम फत्ते गर्न सकिन्छ भनेर कसैले यति धेरै पैसा खर्च गर्ला ?’ प्रश्नहरू प्रश्नकै रूपमा रहे । उत्तर कसैसँग थिएन । तर उसले भव्य भोज खुवाएको भने सत्य थियो ।
कोही–कोही रक्सीले अलिअलि मात्तिएर उसलाई सोध्दै थिए, ‘‘होइन, राधेश्यामजी, यति भव्य भोज केको उपलक्ष्यमा हो ?’’ ऊ दुई हात जोडेर भन्दै थियो, ‘‘अरू केही उपलक्ष्यमा होइन । मैले अरूकोमा धेरै भोज खाएँ । बिहेको भोज खाएँ । व्रतबन्धको भोज खाएँ । एनिभर्सरीको भोज खाएँ । जन्मदिनको भोज खाएँ । पास्नीको भोज खाएँ । छोराछोरी विदेश पठाउँदाको भोज खाएँ । छोराछोरी विदेशबाट फर्कंदाको भोज पनि खाएँ । व्यवसाय सुरु गर्दाको भोज खाएँ । व्यवसाय सफल भएको उपलक्ष्यमा पनि भोज खाएँ । अनि चाडपर्वको बेला पाहुना भएर पनि भोज खाएँ । यसरी मैले धेरैको भोज खाएँ र धेरैको ऋण बोकेँ । तर मैले कसैलाई भोज खुवाउन सकेको थिइनँ । आज त्यही ऋण तिर्न यो भोज खुवाएको हुँ । म जिन्दगीमा सधैँभरि ऋण बोकेर बाँच्न चाहन्नँ र ऋण बोकेरै मर्न चाहन्न । म ऋणमुक्त हुन चाहन्छु र ऋणमुक्त भएरै मर्न चाहन्छु । मैले यो भोज म ऋणमुक्त हुनका लागि खुवाएको हुँ । अरू केही कारणले होइन, केही कारण छैन ।’’
उसको कुरा सुनेर भोज खानेहरू छक्क परे । यो कलियुगमा पनि यति सीधासाधा र इमानदार मान्छे यही समाजमा हुँदारहेछन् भन्ने सोचेर झन् तीनछक्क परे । ऊ भने ऋणमुक्त हुन पाएको खुसीले निकै प्रसन्न थियो । ऊजस्तै उसकी श्रीमती पनि प्रसन्न थिई । जति जनाले भोज खुवाउनुको कारण सोधे, ती सबैलाई उसले एउटै उत्तर दिइरह्यो । ऋणमुक्त हुन पाएकोमा उसले आफूलाई धन्य सम्झ्यो ।
राति अबेरसम्म भोज चल्यो । रात छिप्पिँदै गएपछि भोजका निम्तालुहरू क्रमशः पातलिँदै गए । उसको अनुहार पनि क्रमशः पातलिन थाल्यो । भोज सकिँदासम्ममा उसको अनुहार पूरै अँध्यारो भइसकेको थियो । त्यसको कारण सोध्न अब त्यहाँ कोही निम्तालु बाँकी थिएनन् ।
ऊ पार्टी प्यालेसको बिल चुक्ता गरेर घर फक्र्यो ।
भोलिपल्ट बिहान अबेरसम्म उसको घरको ढोका खुलेन । छिमेकीले सोचे, हिजो राति अबेरसम्म भोज थियो । थाकेर नउठेका होलान् । मध्याह्नसम्म पनि घरको ढोका नखुलेपछि भने छिमेकीलाई शङ्का लाग्यो । दुई जना छिमेकी मनमा शङ्का बोकेर उसको घरको आँगनमै गएर हेर्न गए । घरभित्र कुनै चालचुल थिएन । बरु घरको मूलढोकामै एउटा सूचना टाँसिएको थियो, ‘एक हप्ताभित्र घर खाली गरिदिनुहोला... ।’