logo
२०८१ मंसिर ९ आईतवार



डढेलोपछि पनि वसन्त आउँछ (कविता)

शनिवार |


डढेलोपछि पनि वसन्त आउँछ (कविता)


अमृता स्मृति


हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बूढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला÷नभेटिएला
आमाका पैतालाका डोबहरू !

न कुनै आहत
न कुनै पदचाप
समय आफैँं मलामी आफैंँ मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ
ए ! खान
चित्र प्रर्दशन गर्न
किलोको आड चाहिएजस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !

झुल्किन्छ–झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, भावर, चुरे र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फुल फक्रिसके होलान् ?
जङ्गलमा डढेलोपछि पनि रुख÷बिरुवा पलाउँछन् ।
जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।

(‘राष्ट्रिय कविता महोत्सव २०७८’ मा द्वितीय कविता ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?