तेजेश्वरबाबु ग्वंगः
अथः आरम्भ
शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिघ्र्यानगम्यं
बन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ।।
संस्कृत वाङ्मयको चर्चित र लोकप्रिय श्लोक हो यो । चर्चित हुन लोकप्रिय बन्नु पर्दोरै’छ । लोकप्रिय भएरै चर्चित हुँदोरै’छ । यो श्लोक वर्णन गर्छ – आकृतिमा अत्यन्त शान्त, शेषनागको शøयामा शयन गरेको र नाभिस्थलबाट कमलको फूल फुलेको, दैवी लीलाका परिपालक, विश्व विधानकै विधायक सर्वव्यापि आकाश जतिकै नीलो वर्णका सृष्टि संरक्षक, योगीहरूका यौगिक अन्तरध्यान दृष्टिमा प्रकट हुने विष्णु अवतार । श्रीमद्भागवत् गीतामा बाल्यकालमै कण्ठाग्र गरेको श्लोक । त्यसबेला अर्थ न बर्थ गरेर पाठ गरेको अझै ताजा छ । यो सृष्टि संरचना गर्भिक श्लोक । हजुर आमाका वात्सल्यपूर्ण अदवमा गजव कण्ठाग्र गरेको । छयासी वर्ष छ महिने यो जुनीमा घैँटोमा घाम लागेछ बल्ल । घैँटोमा लाग्नै पर्दोरहेछ । घैँटो भन्नु पारम्परिक माटोको घैला मात्र हुँदोरहेनछ । घैँटोको प्रसङ्ग प्रतीकात्मक रहेको छ । प्रतीक आफ्नै देह÷शरीरको । पितापुर्खाले व्यञ्जनात्मक अर्थमा घैँटोमा घाम लाग्नु भनेका हुन् । यसको सामान्य किसिमले हाम्रो समाजमा उज्यालोको पर्याय हुन आउँछ । उज्यालोको पर्याय चेतना बन्छ । चेत खुलेको मानिस नितान्त विवेकी हुन्छन् कि त अत्यन्त धुर्त । हरेक सन्दर्भका दुई वा दुईभन्दा बढी पनि पक्ष हुन्छन् । बल्लतल्ल बुझ्न थालेछु । मलाई उज्यालो मन पर्छ, अँध्यारोमा केही नि देख्दैनौँ हामी । रात अँध्यारो हुन्छ । रातमा सुत्छौँ हामी । प्रकृतिको नियम यो । अनेक विधि विधान र प्रविधि लगाएर बालेको बत्तीको उज्यालो कृत्रिम । हामी प्राकृत प्राणी प्रकृतिसितै आल्हादित हुन्छौँ । निदाउन हामी बिजुली बत्ती निभाएर सुत्छौँ । प्रकृतिसित बिमुखिन सक्दै सक्दैनौँ । घोत्लिँदै खोत्लिन थाल्दा कति न कति यस्ता प्रसङ्गहरूका चाङ थपिन्छन् ।
प्रसङ्गकै प्रसङ्ग
प्रसङ्ग नागपासको विछ्यौनामा आनन्दपूर्वक लेटेको नारायणको नाभिस्थल । त्यहीँबाट बुर्लुक्क निस्की उठेको कमलको सुन्दर फूल । कमलको फूलबीच ब्रह्मा, विष्णु, महेश्वर । पौराणिकता निर्लिप्त समाज हाम्रो । विश्वस्त छन् । विश्लेषण र विवेचना विश्वास गर्नुको तारतम्य– अन्ध विश्वासी बन्नु । तर्कपूर्ण विवेचना मनोविज्ञानयुक्त प्रस्तुति । बहुविध समाजका विद्वतजन वर्गलाई दिल वहलाई विश्वस्त बनाउँछ । दिल बहलाउन सक्दा मन चङ्गा हुन्छ । मन चङ्गा बन्छ भन्नु पनि प्रतीकात्मकै । चङ्गा शरद ऋतुको मन्द हावामा अकासिन्छ । अकासिनु मगनमस्ती हुनु । मगनमस्ती बन्नु हलुङ्गो जीउ हुनु । हलुङ्गो जीउ हुनु आनन्ददायक जीवन व्यतीत गर्नु । यसरी नाभि महात्म्य हाम्रा पूर्वीय जीवन दर्शनमा प्रचूर मात्रामा रहेको छ । त्यसलाई पौराणिकताबाट वैज्ञानिक आधारमा विवेचना विश्लेषण गर्नु हाम्रै जुनीको थाप्लोको नाम्लो हो । कर्तव्य र दायित्व पनि ।
प्रसङ्ग जताबाट जसरी जोडिए पनि नाभि महात्म्य । नाभि महात्म्य मातृ महात्म्य । गर्भागृहमा बस्दा प्रत्येक जीवात्माले नाभि नलीबाटै पौष्टिक आहार–पोषणतŒव प्राप्त गर्छन् । आमाले गरेका भोजनका पौष्टिक तŒव भ्रुणले प्राप्त गरी नौ महिने गर्भे बालकले पूर्णता प्राप्त गर्छन् । सामान्य ज्ञानका प्रसङ्ग यी । जन्मेका प्रत्येक नाबालक चियाँचियाँ रोदन साथ बाउँछ मुख । आमाले वक्षस्थलका मुण्टो बालकका मुखमा राखिदिन्छिन् । आमा र सन्तान दुवै मगनमस्त बन्छन् । आमा प्रसव वेदना पूरै बिर्सिन्छे । नवजात शिशु भ्रुण लीलाका पीडा मातृकोषमै बिसर्जन गर्छ । नाइटो महिमा अपरम्पार । यो सांसारिक लीला ! यस्तै लाग्छ !
अहिले यो कोरोना भाइरस नव प्रजाति प्रकरण (न्यु भेरियन्ट) को प्रकोपमा झनै प्रकोप महामारी चुलिएको बेला नाइटो महिमा गम्भीर लाग्छ । नाइटो महिमा त आमाको महिमा ! आमा बिना नाइटो महिमा गाउने ठाउँ नै छैन कतै भन्छु । लाग्छ ‘पद्म नाभम् सुरेशम्’ भन्नु सृष्टिको आदिकाल महात्म्य गाइरहेछौँ हामी यस घडी । महात्म्य जहिलेसुकै जहाँसुकै गाए पनि हुन्छ । महात्म्य कुनै काल वाचक वोधि तत्व होइन । बुद्ध जयन्तीका अवसरका घडी यो गाथा गाइरहेछु । बुद्ध पनि सर्वसाधारणजस्तै गरी जन्मे, हुर्के बढेका महायात्री हुन् । उनका जीवनयात्रा सम्पूर्णतामा महायात्रा नै सावितिएका छन् । उनका महायात्राका मूलमन्त्र–लाग्छ परित्याग ..... ! उनले घर परिवार त्यागे । राजकूल त्यागे । बुबाआमा त्यागे । जीवन साथी–प्रियसी त्यागे । बालक छोरो राहुल त्यागे । त्यागको प्रखर उदाहरण यी । त्यागमै बुद्ध दर्शन छ । त्यागमै बुद्ध वाणि सुन्छु । त्यागमै बुद्धवाणि अनुरणित रहने छ–विश्वभरि सर्वत्र । एकछत्र, एक समान !
‘पद्मनाभम् सुरेशम्’ आराधना युगमा बुद्धकालीन समय सन्दर्भ उदय हुनु पूर्वकै प्रतिष्ठापन भयो । नत्र ब्रह्मा, विष्णु, महेश्वरका साथै सिद्धार्थ गौतम बुद्ध पनि उही पङ्क्तिमा समाहित रहने थिए । बुुद्ध पनि वोधि सत्व प्राप्ति पछि लोकले भगवान भनिन थालेका चेतन अधिकारी हुन् । लाग्छ लोकहितक र कल्याणमूर्ति बन्न सक्दा नै देवत्व प्राप्त गर्न सकिँदो रैछ । यस्तैमा हामी युगान्तकारी प्रतिपादन हुन सकेको भेट्टाउँदा रहेछौँ । प्रसङ्ग पद्मनाभं सुरेशम् रहेको छ । मायादेवीको मातृनाभ–नाइटोको महिमासित निसन्दिग्ध जोडिएको छ । नाइटो मायादेवीको पनि उस्तै हो । जसबाट जीवन्त ऊर्जाशील प्राण सञ्चालन गर्छ । सिद्धार्थ गौतमका पनि उही नाभिस्थल जसले वोधिसत्व प्रस्फुरण गर्ने ऊर्जा उद्भव गराए । नाभि महात्म्य हाम्रा पूर्वज धनवन्तरी, चरक आयुर्वेद मूलक तपस्वीहरूले गाएकैै थिए । हामी अनुशरण गर्दैछौँ मर्मबोधि ज्ञानामृत बनेर ।
नाभिलाई सबल, सक्षम, सार्थक बनाइराख्न हाम्रा ऋषिमुनिहरूले नाभि चलायमान बनाइराखे । नाभि चलायमान र कर्मठ राख्न सक्दा बहिरङ्ग र अन्तरङ्गहरू सशक्त गतिवान बन्दोरैछ । योगाभ्यासी स्वामी रामदेवले नाभिस्थल लगायत सम्पूर्ण पेट हल्लाउने क्रियायोग हामीले देख्ने गरेकै छौँ । नाभिस्थललाई निरन्तर चलायमान गतिवान राख्न सक्दा हाम्रा जीवन यौवनमय बन्दोरहेछ । यति मात्र होइन नाभिका सशक्त चलायमान गतिले हाम्रा मस्तिष्क र त्यसका सार्थक गतिले मानव इच्छाशक्ति र चिन्तन क्रियामा सद्विवेकी भाव तरङ्ग डोलायमान राख्न सकिँदो रहेछ । अहिलेलाई नाभि महात्म्य गाउँदा गाउँदै मन मस्तिष्कको चिन्तन गतिलाई यहीँ विसर्जन गर्ने अनुमति मागेँ ...!!