logo
२०८१ मंसिर ९ आईतवार



कथा : माघ ३

शनिवार |


कथा : माघ ३


अर्जुन थापा

माघ ३ गते दिउँसो ४ बजे ‘१९०५ रेस्टुरेन्ट’ मा भेट्ने कार्यक्रमअनुसार अघिल्लो दिनदेखि नै ऊ आफूलाई सिँगार्नतिर लाग्छ । कपाल काटी, कपालमा मेहन्दी लगाइ, अनुहारको राम्ररी मसाज गरी आएको थियो । उक्त कार्यक्रममा के लगाएर जाँदा बढी आकर्षक देखिन्छ भनेर दराजमा भएका सबै लुगा लगाएर हेरेको थियो । लुगाअनुसार जुत्ता र मोजाको सेट पनि मिल्नुपर्छ भनेर अघिल्लै दिन किनेर ल्याएको थियो ।
हातमा लगाएको ‘टि–सोट’ घडीले २ बजेको सङ्केत गर्छ । हतारहतार लुगामा आइरन गरेर कोठा बाहिर निक्लिन्छ । केही भुलेको जस्तो लागेर फेरि कोठामा छिर्छ । दराजमा सजिएर रहेका पर्पm्युमहरूमध्ये उसको मन पर्ने ‘अरमानीकोड’ निकालेर आफ्नो शरीरमा छर्कन्छ ।
भेट्ने कार्यक्रम ४ बजे भए पनि ३ बजे नै पुग्छ ऊ त्यहाँ । रेस्टुरेन्टको भित्तामा झुन्डिएका एब्सट्रयक आर्टहरूले उसलाई कुनै आर्ट ग्यालरीमा पुगेको अनुभव दिए । मधुरो ज्याज म्युजिक बजिरहेको हुन्छ । दराजमा राखिएका केही पुस्तकमा झट्ट आँखा पुग्छ उसको । ‘एभ्रिवान ह्याज अ स्टोरी’ साभि शर्माको बहुप्रसिद्ध रोमान्टिक उपन्यास लिएर रेस्टुरेन्टको बाहिरपट्टिको सानो बगैँचामा आउँछ ।
सानै भए पनि मिलाएर बनाएको बगैँचा, त्यसमा जातजातका फुलिरहेका फूलहरू, साथमा पुतलीहरू आआफ्नै तालमा नाचिरहेका । एउटा पुतली उड्दै टेबुलमा राखेको उसको मोबाइलमा आएर बस्छ । ती सबै दृश्य हेरिरहेको उसको मन भने रेस्टुरेन्टको बाहिरपट्टिको मुख्य गेटमा हुन्छ ।
घडी हेर्छ ४ः३० बजी सकेछ । अझै कोही देखिँदैन गेटमा । यो डेढ घन्टाको बीचमा दस ग्लास पानी पिइसकेको उसलाई के लाग्न थाल्छ भने आजको कार्यक्रम व्यर्थ गयो । भित्रबाट ल्याएको किताब त्यसै टेबलमाथि नै हुन्छ । मोबाइलमा बसेको पुतली अघि नै उडेर गइसकेको थियो । रेस्टुरेन्टमा मान्छेहरू भरिँदै छन् । तर एक कुनामा एक्लो छ ऊ । जुन उत्साहका साथ भित्र पसेको थियो, अहिले लुत्रुक्क परेर फर्किने तरखर गर्न खोज्दैछ ।
‘‘आई एम सरी पूरै गाडी जामले गर्दा आउन नै ढिला भयो’’ भन्दै ठिङ्ग उसको सामुन्ने उनी देखा पर्छिन् ।
उनलाई देख्नेवित्तिकै ऊ फुरुङ्ग हुन्छ । दुवै जना आमनेसामने बस्छन् । कालो लामो कपाल, कालै लामो स्कर्ट लगाएकी, लुगासँग मिल्ने खालको कालो पर्स बोकेकी । मोबाइलको कभर पनि हलुका कालै । नेल पोलिस पनि लुगाको रङसँग मेल खाने ठिक्कको सुन्दर आँखा, हल्का ब्राउन कलरको लिपस्टिक र हल्का मेकअपमा फिल्मको नायिकाजस्तै देखिएकी थिइन् ।
‘‘के पिउँछौ ?’’ प्रश्न गर्छ ऊ ।
‘‘कोक भए हुन्छ ।’’ मुसुक्क हाँसेर भन्छिन् ।
‘‘तिमी रिसाएको त छैनौ नि ? एउटा कुरा भनौँ ? समयमा पुगेँ भने मेरो त्यो काम सफल नै हुँदैन । त्यसैले अलिक ढिला पुग्छु भनेको त पूरै ढिला नै हुन गयो ।’’ मज्जाले हाँस्छिन् उनी । दुई महिनाअगाडि पहिलो पटक फोनमा कुरा गरेको थियो उनीसँग । पहिलो पटक नै उनको स्वर सुनेर मन्त्रमुग्ध भएको थियो । विवाहका लागि उसले धेरै केटी मान्छेको फोटो हेरिसकेको थियो । थाहा छैन यी दुई महिनाको बीचमा मनमनै यही केटीसँग विवाह गर्छु भनेर निर्णय लिएको थियो । जसअनुरूप आज भेट गर्ने कार्यक्रमअनुसार दुवै ‘१९०५ रेस्टुरेन्ट’ मा आएका थिए ।
‘‘अन्तमा हाम्रो भेट भई नै हाल्यो । म धेरै खुसी छु तिमीलाई आफ्नो आँखा अगाडि पाउँदा । फोटोभन्दा पनि राम्री पाएँ तिमीलाई मैले ।’’
‘‘रियल्ली थ्याङक्यु, को, कसरी, कहाँ भेट हुन्छ कसैले भन्न सक्दैन नि । लाइफ भनेको यस्तै हो । साँच्ची मेरो मामु पनि तिमीलाई भेट्छु भनेर जिद्दी गर्दै हुनुहुन्थ्यो । मैले नै रोकँे अर्को पटक लिएर आउँछु भनेर ।’’
‘‘लिएर आउनुपर्ने नि उहाँलाई । हुनेवाला ज्वाइँ कस्तो रहेछ भनेर हेर्न मन लागेको होला ।’’
‘‘हा हा हा ! हुन सक्छ । अनि सुनाउ तिम्रो बारे केही ।’’
‘‘सुन्ने र भन्नेजति त हाम्रो फोनमै सकिसक्यो होइन र ?’’
‘‘तिम्रो दुलही हुन लायकको छु त म ?’’
‘‘एक सय एक प्रतिशत पर्फेक्ट छौ मेरा लागि । यी दुई महिनाको बीचमा जेजति कुरा भए त्यसबाट नै म पूर्ण रूपमा सन्तुष्ट छु तिमीबाट । मान्छेको सबैभन्दा राम्रो उसको व्यवहार हुनुपर्छ, बाँकी कुरा मेरा लागि त्यति महìव राख्दैनन् । जहाँसम्म तिम्रो कुरा छ, तिमी हरेक हिसाबले निपूर्ण छौँ । तिमीजस्तो श्रीमती पाउनु आफूलाई भाग्यमानी सम्झनेछु म ।’’ ‘‘तिमीले मलाई सगरमाथाको टुप्पोमा पु¥याइ दियौ त ?’’
वेटरले कफी र कोक ल्याएर टेबलमा राखिदिन्छ । मेनु पल्टाउँदै गर्दा उनलाई हेरिरहन्छ । हुनेवाला श्रीमती, मनकी राजकुमारी जसले उसको निद्रालाई खलबलाई दिएकी छिन् । अचेल उसको काम भनेकै फेसबुक खोलेर उनको प्रोफाइलमा गएर उनका फोटोहरूलाई हेरिबस्नु भएको छ । उनलाई साथ लिएर अनेकौँ सपनाका महल बनाइसकेको छ सुटुक्क उसले ।
‘‘तिम्रो हातका औँलाहरू कति सुन्दर साथमा कति चिटिक्क पारेर लगाएको नेल पोलिस । मलाई फेसेनेबल मान्छे मन पर्छ । समयअनुसार चल्न सक्नुपर्छ हामीले ।’’
‘‘यो सक्कली नङ होइन नि । नेल आर्ट गरेर बनाइएको आर्टिफिसियल नङहरू हुन् ।’’
‘‘जे भए पनि तिमीलाई सुट गरेको छ त्यो नै ठूलो कुरा हो ।’’
‘‘तिमी कति सजिलै अर्काको कुरा बुझ्छौ । तिमीजस्तो केटा श्रीमान्को रूपमा पाउने केटी मान्छे भाग्यमानी नै हुन्छे ।’’
उनले गरेको प्रशंसा सुनेर ऊ दङ्ग पर्छ । बिस्तारै उठेर ब्यागमा हात पु¥याउँछ । ब्यागभित्र एउटा सानो बट्टामा डायमण्ड रिङ हुन्छ । एक खुट्टा भुइँंमा टेकेर उक्त रिङलाई उनको अगाडि तेस्र्याउँदै ‘विल यु म्यारी मि’ भनेर प्रपोज राख्ने विचार गरेको थियो उसले ।
‘‘किन उठेको तिमी, कहीँ जानु छ र ? भर्खर ६ त बज्यो’’ भन्दै होटल भित्रबाट वेटरलाई केही मगाएको जस्तो इशारा गर्छिन् ।
हातमा सानो केक ल्याएर टेबलमाथि राखी दिन्छ वेटरले । उसलाई माघ ३ गते नै किन बोलाएकी रहेछिन् भन्ने अनुमान लगाउँछ बल्ल ऊ ।
‘‘सरी, आज तिम्रो जन्मदिन भन्ने नै थाहा पाइन । के भाको म त्यत्रो हाम्रो कुरा हुँदा पनि तिम्रो जन्मदिन नसोधेको मैले ।’’
उनी मुसुमुसु हाँस्दै रेस्टुरेन्टको बारमा बसेर वियर पिउँदै गरेको मान्छेलाई हातले इशारा गर्छिन् । ‘‘मिट माई ब्वाइफ्रेन्ड शुभम् । आज मेरो नभएर उसको जन्मदिन हो माघ ३ । प्लिज, मलाई तिमीले बुझ्छौ भन्ने पूरा विश्वास छ । तिमीजस्तो असल साथीसँग मिलेर शुभम्को जन्म दिन मनाउन पाउनु हामी दुईकै लागि सौभाग्य हो ।’’ उनले भनिरहँदा ऊ दुई जनालाई स्तब्ध भएर पालै पालो हेरिरहन्छ । कुनै शब्दहरू निक्लिरहेका हुँदैन उसको ।
‘‘मेरो घरमा कुनै हालतमा म र शुभम्को सम्बन्धलाई मञ्जुरी दिँदैनन् । तर हामी एकअर्का बिना बाँच्न नसक्ने भइसकेका छौँ । त्यसैले हामी दुई विवाह नगरी जीवनभर सँगै बाँच्ने भनेर कसम खाएका छौँ । जुन कुरा मेरो र उसको घरपरिवाले बुझ्दैनन् । झन् तिम्रो विवाहको कुरा आएपछि त घरमा मेरो विवाहलाई लिएर दिनरात झगडा पर्न थालेको छ । मेरो आमाबुबालाई दुःखी भएको हेर्न सक्दिनँ म । त्यसैले तिमीलाई सब कुरा बताउँछौँ भनेर हामी दुईले यहाँ बोलाएका हौँ तिमीलाई । फोनमा यी सब कुरा भन्नुभन्दा पनि भेटेर नै भन्दा उत्तम ठान्यौँ हामीले ।’’
‘‘उनले तपाईंको धेरै तारिफ गर्छिन् । त्यसैले हामी तीनै जना मिलेर मेरो जन्मदिन मनौँला र हाम्रो समस्या पनि राखौँला भनेर आजैको दिन छानेका हौँ’’ भन्दै शुभम् केकमा रहेको मैनबत्ती बाल्न थाल्छ ।
‘‘शुभम्लाई जन्मदिनको शुभकामना’’ भन्दै शुभम्को अनुहारमा केक लगाइ दिन्छिन् ।
सानो केकको टुक्रा निकालेर खुवाइदिन्छ
शुभम्ले पनि ।
अघि मोबाइलमा आएर बसेकी पुतली र आँखा अगाडि रहेकी मनकी पुतली दुवैलाई तुलना गर्छ । क्षणभरमै दुवै पुतली उड्छन् । अनि उसको मनका चाहना र सपना पनि पुतलीझैँ उडेर जान्छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?